कोशी प्रदेशमा एमालेको सङ्कल्प यात्रा : पक्राउ पर्ने पहिचानवादीको सङ्ख्या ३० पुग्यो

विराटनगर । नेकपा एमालेको मध्य पहाडी सङ्कल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा प्रहरीले अहिलेसम्म ३० जना पहिचानवादीलाई पक्राउ गरेको जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बाँस्तोलाले उदयपुर, खोटाङ, भोजपुर र धनकुटामा गरी ३० जनालाई पक्राउ गरेको जानकारी दिए । प्रहरीले आज बिहान मात्रै भोजपुरबाट ९ जनालाई पक्राउ गरेको छ । यसअघि मङ्सिर २६ गते प्रहरीले उदयपुर र खोटाङबाट पूर्व मन्त्री तथा नेता गोपाल किराँतीसहित १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा मिना राई, दिनेश राई, पनन राई, विदुर राई छन् । त्यस्तै खोटाङबाट पूर्व मन्त्री किरातीसहित राजेश राई, गन्धमान राई र विजय राई तथा उदिम राई पक्राउ परेका हुन् ।
बुधबार धनकुटाबाट पक्राउ पर्नेहरूमा प्रदेश पहिचान संयुक्त सङ्घर्ष समिति सङ्खुवासभाका संयोजक वीरेन्द्र खारा राई, किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ धनकुटा अध्यक्ष कमलसि तिगेला, नेताहरू उमा चाम्लिङ, जितेन्द्र्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ रहेका छन् । उनीहरूलाई धनकुटा र भोजपुरको सीमामा पर्ने लेगुवाबाट पक्राउ गरिएको हो ।
एमालेको अभियान आज लेगुवाबाट धनकुटा प्रवेश गर्दैछ । टोलीले पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको वसन्तपुरमा सभा गर्ने तयारी गरेको छ । उक्त यात्रालाई प्रभावित पार्न सक्ने भन्दै ती क्षेत्रमा सुरक्षा सतर्कता मजबुत बनाइएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डिआइजी बाँस्तोलाले जानकारी दिए ।
यस्तै भोजपुर सदरमुकाममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने पहिचान पक्षधर ९ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका थिए । भोजपुरमा पक्राउ पर्नेमा जनता समाजवादी पार्टी भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई, जिल्ला सदस्य दिनेश राई, धिरज राई, मणि राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास राईलगायत छन् ।
यसअघि प्रहरीले झापाको दमकमा मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाउँदै उनको गाडीमा ढुङ्गा प्रहार गर्ने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाण्डव चौधरी रहेका छन् । कालो झण्डा देखाउने अन्यको पनि खोजी भइरहेको डिआइजी बाँस्तोलाले बताए ।
पक्राउ परेकाहरू तत्काल नछोडिने
यसैबीच एमालेको अभियान नसकिएसम्म पक्राउ परेका पहिचानवादीहरू नछोडिने प्रहरीले जनाएको छ । एमालेको अभियान पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिँदैछ । आज एमालेले धनकुटा हुँदै तेह्रथुमको वसन्तपुरमा कार्यक्रम आयोजना गरेको छ । वसन्तपुरमा बसेर एमाले टोली शुक्रबार तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा कार्यक्रम आयोजना गरेको छ । यस्तै पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर अभियान सम्पन्न हुने एमालेले जनाएको छ ।
एमालेले पुष्पलाल मध्यपछाडि लोक मार्गसँग जोडिएका मुख्य १० सहरमा देखिएका समस्याको पहिचान र समाधानका निम्ति योजना निर्माणको उद्देश्यका साथ सङ्कल्प यात्रा तय गरेको जनाएको छ । अभियानले कोशी प्रदेशको ४२५ किलोमिटर यात्रा तय गर्ने एमाले कोशी प्रदेश कमिटीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म