फ्लोरको तयारीमा आधा दर्जनभन्दा बढी फिल्म : कथामा भेराइटी, अधिकांशमा ‘स्टार’

काठमाडौँ । गत दसैँयता नेपाली फिल्मको व्यवसाय राम्रो भएको छ । दसैँदेखि अहिलेसम्म जम्मा पाँच वटा फिल्म प्रदर्शनमा आए । ती फिल्म हुन् ‘परदेशी २’, ‘कौसिद’ र ‘बासेन्जी’, ‘पशुपति प्रसाद २ ः भष्मे डन’ र ‘दिमाग खराब’ । यीमध्ये तीन फिल्म ‘परदेशी २’, ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘दिमाग खराब’ को व्यवसाय राम्रो भयो । लगातार प्रदर्शनमा आएका यी तीन फिल्मको व्यवसायले नेपाली निर्माता, निर्देशकमा उत्साह थप्नु स्वाभाविक हो ।
फिल्मको व्यवसाय राम्रो भएसँगै अहिले फिल्म निर्माण पनि बढ्न थालेको छ । यति बेला ‘महाजात्रा’, ‘फर्की फर्की’, ‘डिग्री माइला’, ‘रङ्गेली’, ‘यो मन त नेपाली हो’, ‘दान्भी’, ‘११ः५५’ लगायतका आधा दर्जनभन्दा बढी फिल्म छायाङ्कनका लागि फ्लोरमा छन्, भने त्योभन्दा बढी सङ्ख्याका फिल्म छायाङ्कनमा निस्कने तयारी गर्दै छ ।
फ्लोरमा निस्कने तयारीमा रहेका फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन रहने ‘वरिष्ठ बलराम’, विश्वास तिमल्सिना र राज ऋषिको निर्देेशन रहने ‘लोकल हिरो’, दीपेन्द्र के खनालको निर्देशन रहने ‘मेयर’, सन्तोष सेनको निर्देशन रहने ‘बलिदान’, यम शेर्पाको निर्देशन रहने ‘कार्साङ’, बसन्त निरौलाको निर्देशन रहने ‘ज्वाइँ साब’ र दिनेश राउतको निर्देशन रहने ‘पूजार सार्की’, सरोज न्यौपानेको निर्माण रहने ‘जेरी २’ लगायत हुन् । यी फिल्ममध्ये केही छिट्टै छायाङ्कनमा निस्किँदै छन् भने केही एक, दुई महिनाभित्र छायाङ्कनका लागि निस्कने तयारीमा छ ।
कस्ता छन् कथा ?
नेपाली फिल्म उद्योगमा एक समय प्रेमकथाको फिल्मको जगजगी थियो । त्यसपछि एक्सनले केही समय बजार ततायो । अहिले फिल्मको कथा अर्गानिक खोज्न थालिएको छ । अर्गानिक कथाको अलवा प्रेमकथा र एक्सन कथामा पनि फिल्म लगातार निर्माण भइरहेका छन् । सर्सती हेर्दा पछिल्लो समय विभिन्न भेराइटी कथामा फिल्म बनिरहेको देख्न सकिन्छ ।
छायाङ्कनको तयारी गर्दै रहेका फिल्म ‘वरिष्ठ बलराम’, ‘लोकल हिरो’, ‘मेयर’, ‘बलिदान’, ‘कार्साङ’, ‘ज्वाइँ साब’, ‘पूजार सार्की’ र ‘जेरी २’ पनि सबै एकअर्काे भन्दा फरक फरक कथामा बन्न लागेका हुन् । सुरेन्द्र पौडेलको निर्देशन रहने ‘वरिष्ठ बलराम’ प्रेमकथा र सामाजिक कथा भनिएको छ । यसका लेखक खगेन्द्र लामिछानेले लेखेका हुन् ।
त्यस्तै निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘मेयर’ सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि आधारित रहेर निर्माण हुन लागेको हो । सरोज न्यौपानेले बनाउन लागेको ‘लोकल हिरो’ रोमान्टिक–कमेडी–सोसल ड्रामा जनरा निर्माण हुने बताइन्छ । सरोजकै अर्काे फिल्म ‘जेरी २’ भने प्रेमकथामा बन्न लागेको हो ।
यस्तै सन्तोष सेनको निर्देशन रहने फिल्म ‘बलिदान’ ले तराई र पहाडको विषयवस्तु कथाको रूपमा उठाउन लागेको छ । यम शेर्पाको निर्देशन रहने फिल्म ‘कार्साङ’ को कथावस्तु शेर्पा समुदायमा आधारित रहने बताइन्छ ।
बसन्त निरौलाको निर्देशन रहने ‘ज्वाइँ साब’ भने सामाजिक प्रेमकथामा बन्न लागेको हो भने दिनेश राउतको ‘पूजार सार्की’ को कथा पनि सामाजिक विषयवस्तु बताइएको छ । ‘पूजार सार्की’ का लेखक विकास सुवेदी हुन् ।
कलाकार कस्ता र छायाङ्कन कहिले ?
‘वरिष्ठ बलराम’, ‘लोकल हिरो’, ‘मेयर’, ‘बलिदान’, ‘कार्साङ’, ‘ज्वाइँ साब’, ‘पूजार सार्की’, ‘जेरी २’ लगायत अहिले आधा दर्जनभन्दा बढी फिल्म फ्लोरमा निस्कने तयारी छन् । फरक यति हो कोही छिट्टै छायाङ्कनमा निस्किँदैछ भने केही महिना, २ महिनापछि मात्र निस्कने तयारीमा छ । एउटा कुरा सबैमा मिल्दोजुल्दो छ । त्यो हो स्टार कलाकार । छायाङ्कनका लागि फ्लोरको तयारी गर्दै रहेको सबै फिल्म स्टार कलाकारले अभिनय गर्दैछन् ।
फिल्म ‘वरिष्ठ बलराम’ केही सातामै फ्लोलरमा निस्कने तयारीमा छ । निर्देशक सुरेन्द्र पौडेलले फिल्म अगामी जनवरीबाट छायाङ्कन सुरु हुने बताए । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, दिव्या रायमाझी, माओत्से गुरुङलगायतको मुख्य भूमिका रहनेछ । फिल्ममा निर्माता रोहित अधिकारी हुन् ।
रोहित अधिकारी फिल्मस् र ओएसआर डिजिटलको सहकार्यमा यो बन्न लागेको हो । ओमप्रकाश अग्रवालसमेत निर्माता रहने फिल्ममा मनोज ओली र रामु न्यौपाने सहनिर्माता रहनेछन् ।
त्यस्तै निर्देशक दीपेन्द्र के खनाल फिल्म ‘मेयर’ माघबाट फ्लोरमा लाने तयारीमा छन् । सागर मैनाली र अरविसा थापाले निर्माण गर्न लागेको फिल्मको कलाकार छनोट भइरहेको छ ।
निर्माता सरोज न्यौपानेले बनाउन लागेको फिल्म ‘लोकल हिरो’ को पनि छायाङ्कनको तयारीमै छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म काठमाडौँ, काभ्रेपलाञ्चोक र झापा जिल्लामा छायाङ्कन हुनेछ । फिल्मको छायाङ्कन फागुनमा हुने निर्माता न्यौपाने बताउँछन् । निर्माता न्यौपाने यसअगाडि पुस वा माघमा फिल्म ‘जेरी २’ छायाङ्कन गर्दैछन् । ‘जेरी २’ मा ‘अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहनेछ ।
‘प्रेमगीत’ निर्माता निर्देशक सन्तोष सेनको निर्देशन रहने फिल्म ‘बलिदान’ को आगामी पुसबाट छायाङ्कन सुरु हुँदैछ । सौगात मल्ल र अर्पण थापा अनुबन्धित भएको फिल्ममा अन्य कलाकार छनोटमै छन् । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मका निर्मातामा पवन ब्राडफोर्ड बिस्ट छन् भने कार्यकारी निर्मातामा चक्रबहादुर चन्द र प्रेम पुरी हुन् । फिल्मको प्रदर्शन मिति आगामी वर्षको दसैँको फूलपाती घोषणा गरिएको छ ।
यम शेर्पाको निर्देशन रहने फिल्म ‘कार्साङ’ फागुनबाट फ्लोरमा निस्कने तयारीमा छ । दयाहाङ राई, सुरक्षा पन्त, बुद्धि तामाङ, शिल्पा मास्केलगायतको अभिनय फिल्ममा रहनेछ । शेर्पाल यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यार्सा फिल्मसको ब्यानरमा बन्न लागेको फिल्म पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
फिल्मको छायाङ्कन बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा हुने बताइन्छ ।
त्यस्तै निर्देशक बसन्त निरौलाको फिल्म ‘ज्वाइँ साब’ छायाङ्कनमा निस्कने तयारीमा छ । मुकुन भुसालको मुख्य भूमिका रहने फिल्मका अन्य कलाकार छनोटमा छ । छिट्टै कलाकार टुङ्गो लगाएर फ्लोरमा निस्कने निर्देशक निरौलाले बताए ।
निर्देशक दिनेश राउतको फिल्म ‘पूजार सार्की’ पनि माघबाट फ्लोरमा जाने तयारीमा छ । प्रदीप खड्का, आर्यन सिग्देल, पल शाह कलाकारका रूपमा छनोट भएको फिल्मको अन्य कलाकार छनोटको क्रममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का
-
नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव गोताखोरले टोलीले निकाल्यो
-
वैशाखमा तोकिएको महाधिवेशन गर्न रास्वपाले मरिहत्ते नगर्ने !
-
पोखरामा एसजे मोटोको क्याफे र ग्यालरी
-
हाइसको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
राय, सुझाव र प्रतिक्रियाबारे छलफल गर्न सर्च कमिटीको बैठक