बेलायतमा रविको चार दिन, गोर्खा मुद्दा र विद्यार्थीका समस्यालाई प्राथमिकता
लन्डन। चार दिने बेलायत भ्रमणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जनसमर्थन जुटाउन व्यस्त रहे । आफ्नो पार्टीको मिसन ८४ प्रस्ट्याउन तल्लीन उनले बेलायतमा भूतपूर्व गोर्खा र विद्यार्थीका माग सम्बोधन गर्न पनि चासो व्यक्त गरे ।
नेपाली उल्लेख्य बसोबास रहेको अल्डरसटस्थित एम्पाएर हलमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले देश विकासमा विदेश बस्ने नेपालीहरूको ठुलो भूमिका रहेको भन्दै ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए। यसलाई सार्थकता दिन अन्य पार्टीबाट सम्भव नभएकाले एक पटक आफ्नो पार्टीलाई देश बनाउने जिम्मा दिन पहल गर्न उनले आग्रह गरे । एक घण्टा भन्दा बढी लामो भाषणमा उनले देशमा व्याप्त बेथिति र भ्रष्टाचारबारे समय खर्चेका थिए ।
आफू पनि विदेशमा बसेको र विदेश बस्ने नेपालीको समस्याबारे भुक्तभोगी भएकाले यस सम्बन्धमा संसद्मा बारम्बार आवाज उठाउने गरेको उनले बताए । पछिल्लो समय पारित भएको नागरिकता विधेयकबारे आफ्नो पार्टीले संयुक्त छलफल गरेर मात्र अघि बढाउनुपर्ने अडान लिए पनि आफूखुसी पारित गरिएको लामिछानेले बताए ।
विश्वभर नेपाल र नेपालीको नाम उच्च राख्ने भूपू गोर्खाहरूलाईसमेत बेवास्ता गर्न नहुने र उनीहरूको माग तथा मुद्दा यथाशक्य चाँडो सम्बोधन गरिनुपर्ने उनको धारणा थियो । आफू नेपाल फर्किए लगत्तै यस विषयमा पहल गर्ने उनले बताए ।
नेपाली दूतावासमा तय भेटघाटका क्रममा पनि बेलायतवासी नेपालीका माग र समस्याको बारेमा छलफल गर्ने उनले आश्वासन दिए । दूतावासको क्षेत्राधिकारको बारेमा आफूलाई जानकारी भएकोले दूतावासमा सम्भव नहुने विषयलाई आगामी संसद्मा कुरा राख्ने उनले बताए ।
बेलायतमा विद्यार्थीहरूले ठुलो समस्या भोग्नुपरेको विषयमा आफू जानकार भएको र यसका लागि आफू र आफ्नो पार्टीको तर्फबाट सक्दो पहल गर्ने र बेलायतमा एउटा ‘हेल्प डेस्क’ सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । यहाँका नेपालीहरूले भोग्नुपरेका समस्यालाई उक्त हेल्प डेस्कमार्फत समस्या समाधान गर्न आफ्नो पार्टीले काम गर्ने भएकाले यसका लागि सहयोग गर्न उनले बेलायतवासीसँग आग्रह पनि गरेका छन् ।
कार्यक्रममा लामिछानेले भूपू गोर्खाका मुद्दा, नागरिकता सम्बन्धी हालै लागू गरिएको विधेयक, राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित विषयमा राखिएका जिज्ञासालाई प्रस्ट्याएका थिए । 'म तपाईंहरुका समस्या र मुद्दालाई सम्बन्धित ठाउँमा पुर्याउने प्रयास गर्नेछु, तर के कसरी र कहिले सम्बोधन हुन्छ भन्ने बारेमा ग्यारेन्टी गर्न नसके पनि आफ्नो पार्टीले निरन्तर घच्घच्याउने छु', उनले भने ।
अरु पार्टी जस्तो विदेशमा भातृ संस्था खोलेर रकम सङ्कलन गर्ने र परिवारका सदस्यलाई राजनैतिक जिम्मेवारी दिने आफ्नो पार्टीको नीति नभएकाले सच्चा र अनुभवी व्यक्तिले मात्र जिम्मेवारी पाउने उनले प्रष्टयाए ।
कार्यक्रममा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबिजी) ले गोर्खाली हाम्रो पहिचान वंशजको नागरिकता हाम्रो अधिकार भन्ने नारासहितको ज्ञापनपत्र हस्तान्तरण गरे ।
पूर्व गोर्खाहरुले नेपाली नागरिकता ऐन २०६३ को दफा १० को उपदफा १ संशोधन गरि त्रिपक्षीय सन्धि अन्तर्गत भर्ती भएका गोर्खा तथा निजका सन्ततिहरुको नागरिकता निरन्तर कायम रहने व्यवस्था कायम गरियोस् भन्ने माग राखेका छन् ।
यसैगरी भूपू गोर्खारुलाई नेपाल सरकारले बेवास्ता गरेको भन्दै आफ्ना मुद्दालाई सम्बोधन गर्न पहल गरिदिन आग्रह गर्दै परि आएमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ज्यान दिएर अघि बढ्ने अनसनकर्ता गोर्खा धनबहादुर गुरुङले बताए ।
गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष रामशरण सिम्खडाले सरकारद्वारा लागू गरिएको नागरिकता सम्बन्धी विधेयकको स्वागत गर्दै वितरण प्रक्रियामा सहज गरिदिन आग्रह गर्दै ज्ञापनपत्र हस्तान्तरण गरे । जसको सहजताका लागि गैरआवासीय नेपाली सङ्घले काठमाडौँमा हेल्प डेस्क स्थापना गरेको पनि उनले बताए ।
रास्वपा ‘प्रवास नेपाली सम्पर्क विभाग युके’ को निमन्त्रणामा बेलायत आएका लामिछानेले यहाँस्थित नेपाली समुदायसँग विभिन्न स्थानमा अन्तरक्रिया गरेका छन् । बुधबार उनले लन्डनस्थित नेपाली दूतावास तथा बेलायती संसद भवनमा राजनीतिक भेटघाट गरे । उनका साथमा श्रीमति निकिता पौडेल र स्वकीय सचिव एवम् पार्टी केन्द्रीय सदस्य दीपक बेहोरा पनि आएका छन्।
उनी १४ तारिख बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।
रास्वपा ‘प्रवास नेपाली सम्पर्क विभाग युके’ का सभापति पवन शर्मा, प्रवास सम्पर्क विभागका महामन्त्री राजु कँडेल, प्रवक्ता विष्णु चालिसेसहित कमिटीका सदस्यहरूलगायतले विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रम संयोजन गरेका थिए । लामिछानेले बेलायत भ्रमणका क्रममा स्वीन्डन, बर्मिङहम, प्लमस्टिड र अल्डरसटमा सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचनाले लोकतन्त्रलाई बलियो बनाउँछः मन्त्री लामिछाने
-
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
-
एनआरएनका माग क्रमशः पुरा हुँदै जान्छन् : प्रधानमन्त्री
-
प्रधानमन्त्री कप महिला क्रिकेटको ‘सुपर–४’ समीकरण पुरा
-
पदाधिकारी बैठकअघि विद्यार्थी नेताहरूसँग प्रचण्डको छलफल
-
५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार