शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
थुनुवाको रहस्यमय मृत्यु प्रकरण

७ दिनअघि मृत्यु भएका बन्दीको अझै पोस्टमार्टम भएन, छानबिन समिति गठन

समितिले प्रतिवेदन नदिएसम्म पोस्टमार्टम नगर्ने आफन्तको अडान
बुधबार, २७ मङ्सिर २०८०, १६ : ०७
बुधबार, २७ मङ्सिर २०८०

विराटनगर । विराटनगरस्थित जिल्ला कारागार मोरङमा पुर्पक्षको लागि थुनामा रहेका एक जना बन्दीको रहस्यमय मृत्यु भएकोबारे छानबिन गर्न स्थानीय प्रशासनले चार सदस्यीय छानबिन समिति बनाएको छ । 

आफन्तले छानबिन समितिको माग गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले छानबिनका लागि भन्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहको संयोजकत्वमा  समिति गठन गरेको हो । 

समितिका अन्य सदस्यहरूमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् । उक्त समितिलाई भुजेलको मृत्यु भएको घटनाका सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताएका छन् ।

पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशर बहादुर भुजेलको गत बिहीबार बेलुका झन्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटनालाई उनका परिवारले रहस्यमय भन्दै पोस्टमार्टम नगर्ने र घटनाको छानविन हुनुपर्ने अडान लिएका थिए । भुजेललाई कारागारभित्रै मरणासन्न हुने गरी कुटपिट गरेर उपचारका लागि ल्याइएको र मृत्यु भएको आफन्तको दाबी छ । 

भुजेलको मृत्यु हुनुभन्दा एक घण्टा अगाडि ४ बजे मृतकका भान्जी एलिना भूजेललाई खबर गएको थियो । मृतकका आफन्तले शव हेर्दा कुटपिट गरेको देखिएको र टाउकोमा चोट तथा  रगत देखिएको दाबी गरेका छन् । 

श्रीमानलाई कारागारभित्रै कुटपिटपछि घाइते बनाएर अस्पताल ल्याएको आशङ्का भएको भुजेलकी श्रीमती रामकुमारी भुजेलले बताइन् । पोस्टमार्टम गरेपछि छानबिन डिसमिस हुने अवस्था रहेको भन्दै आफन्तले कोशी अस्पतालको शव गृहमै शव राख्ने र छानबिन प्रतिवेदन आएपछि मात्रै पोस्टमार्टम गर्न दिने बताएका छन् । ‘अहिलेसम्म शव बुझेका छैनौँ,’ भान्जी एलिनाले भनिन् । 

Capture

कारागार प्रशासनले भने पेट दुख्ने र बान्ता हुन थालेपछि भुजेललाई बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याएको थियो । कोशीको आइसियु खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई हस्पिटलले भनेको थियो । तर, उनको उपचारको लागि अरू अस्पताल नलगिँदा उनको मृत्यु भएको थियो ।

मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी रहेका छन् । कारागार भित्र नाइकेको निर्देशनमा भाइ नाइकेहरूले कुटपिट गर्ने गरेको गुनासो बेलाबेलामा आउने गरेको छ । यस्तै कैद भुक्तान गरी निस्किएकाहरुले दिएको जानकारी अनुसार मोरङ कारागरामा १० दिन (१, ११ र २१ गते) भित्र कारागार भित्रको खानपिन गरेको हिसाब (बन्डा) नमिलाए कैदीबन्दीहरुलाई चौकीदार र उनका निर्देशनमा नाइके, भाइ नाइकेहरूले यातना दिने गर्छन् । 

यातना दिएको कारणले कतिपयको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु हुने गरेका घटनाहरु पनि छन् । आफन्तले भने पटपटक पिसाव लाग्यो भन्नु र पेट दुख्या भन्दै शौचालय जानुमा भुजेलको अण्डकोषमा कुटपिट भएको लक्षण भएको दाबी गरेका छन् । 

मगर गत कार्तिक ६ गते जबरजस्ती करणीमा पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दायर गरेपछि मोरङ अदालतले मगरलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशपछि मगर कार्तिक अन्तिम सातादेखि मोरङ कारागारमा थिए । मोरङ कारागारमा शुक्रबारसम्म  ९४७ पुरुष र  ९५ महिला गरी १ हजार ४२ जना कैदीबन्दी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप