पूर्वराजा ज्ञानेन्द्रले पनि भेटेका थिए श्रीनिवासाचार्य
मनोज भुजेल
सुनसरी– युवा सन्त श्रीनिवासाचार्यमाथि गएराति गोली प्रहार भयो । यो विषयलाई लिएर हिन्दु धर्मावलम्बीहरुले विरोध जनाएका छन् ।
बिराटनगरको वडा नम्बर १४ जोतुवास्थित राम जानकी मन्दिरको धर्मशालामा आयोजना भएको पुराणमा सहभागि हुन आएका श्रीनिवासाचार्यलाई गएराति अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
गएराति शौचालय जान निस्किएका श्रीनिवासाचार्यमाथि तीन राउण्ड गोली प्रहार भएको बताइएको छ ।
उनको बिराटनगरस्थित न्युरो हस्पिटलमा उपचार भैरहेको छ ।
नेपाललाई हिन्दु राष्ट्रका रुपमा नामाकरण गनुपर्ने उनको माग रहँदै आएको थियो ।
आक्रमणलाई लिएर धार्मिक क्षेत्रका गुरुहरुले विरोध जनाएका छन् ।
दीनबन्धु शास्त्रीजी महाराजले धार्मिक क्षेत्रका अगुवामाथि भएको आक्रमणलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताएका छन् ।
घाइते भएका श्रीनिवासाचार्यले सुनसरीको प्रकाशपुरमा आफनै निवासमा केही दिनअघि पुराण लगाएका थिए ।
पुराणमा पूर्वराजा ज्ञानेन्द्र शाह समेत उपस्थित थिए ।
पूर्वराजा ज्ञानेन्द्रसँग उनको चैत्र २ गते भेट भएको थियो ।
शाह र श्रीनिवासाचार्यबीच हिन्दु घर्मको रक्षा र हिन्दु राष्ट्रका बिषयमा एक घण्टा गोप्य कुराकानी समेत भएको थियो ।
पूर्वराजा शाह र श्रीनिवासाचार्यवीच भेटघाट भएको केही दिन बित्न नपाउँदै गएराति उनलाई गोली प्रहार गरिएको घटनालाई लिएर बिरोध र्याली निकाल्ने तयारी भइरहेको छ ।
उनको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ ।
घटनास्थलमा गोलीका दुईवटा खोका भेटिएको मोरङका एसपी अरुणकुमार बीसीले जानकारी दिए ।
उनले गोली प्रहार गर्ने अज्ञात समुहको खोजीकार्य भइरहेको पनि बताएका छन् ।
गोली प्रहार भएकोस्थानमा चेतावनीयुक्त पर्चा भेटिएको छ ।
पर्चामा आदिवासी मंगोल समुदायलाई आचार्यले हेप्ने गरेको र हिन्दूवादी भएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको उल्लेख छ ।