बालकथा : विपत्तिबाट यसरी बच्न सकिन्छ
कतिपय मानिसमा एक्लै हिँड्ने, एक्लै बस्ने, एक्लै खाने बानी हुन्छ तर यो राम्रो होइन । सामान्य अवस्थामा ठिकै भए पनि समय सधैँ एकनासको हुँदैन । जस्तोसुकै कठिन अवस्था आए पनि साथी बनाउने वा साथीसँग बस्नेहरूले सजिलै त्यसको सामना गर्न सक्छन् । एक्लै हिँड्नेहरूले भने महँगो मूल्य चुकाउनुपर्ने हुन सक्छ । भाइबहिनीहरूको जानकारीका लागि यहाँ यस्तै कथा प्रस्तुत गरिएको छ ।
धेरै पहिलेको कुरा हो मृग, परेवा र मुसामा राम्रो दोस्ती थियो । उनीहरू सँगै हिँड्थे, सँगै बस्थे, सँगै खान्थे । आपतविपद पर्दा एकले अर्कोलाई सघाउँथे । एक दिन कतै जाँदै थिए उनीहरूमध्येका साथी मृग शिकारीको जालमा फस्न पुग्यो । अब आपत पर्यो । के गर्ने गर्ने । तैपनि उनीहरूले धैर्य छाडेनन् र परेवाले सान्त्वना दिँदै भन्यो–
‘मित्र हो ! यतिबेला हामीमाथि नसोचेको विपत्ति आइलाग्यो तर यो विपत्ति साथी मृगको मात्र नभई हामी सबैको हो । त्यसैले सबै मिलेर उम्कने प्रयास गर्नुपर्छ ।’
परेवाको कुरामा समर्थन जनाउँदै मुसाले भन्यो–
‘ठिक भन्यौ मित्र ! विपत्ति सबैको हो तर उम्कने पो कसरी ? कुनै तरिका सोचेका छौ भने भन है । जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तत्पर छु ।’
त्यसपछि परेवाले आफ्नो योजना सुनाउँदै भन्यो–
‘म सिकारी कहाँ छ भन्ने पत्ता लगाई कुनै तरिकाले अलमल्याउने काम गर्छु । त्यति बेलासम्म तिमीले काट्नुपर्छ ?’
‘हो ठिक भन्यौ, त्यसै गरौँ’ भन्दै मुसा जाल काट्न लाग्यो । परेवा सिकारी खोज्न हिँड्यो । केही पर पुगेको थियो सिकारी त्यतै बसेर शिकारको प्रतीक्षामा रहेको देख्यो । त्यसपछि उसले जीवनको बाजी लगाएर शिकारीलाई झम्टने काम गर्यो । पहिले त सिकारीले कुरै बुझेन । जब दालमा केही कालो छ भन्ने लाग्यो तब परेवाको वास्ता नगरी जाल भएतिर कुद्यो ।
त्यति बेलासम्म मुसाले जाल काटिभ्याएको थिएन । त्यसैले सिकारी खुसी हुँदै मृगलाई समाउने तरखर गर्न लाग्यो तर परेवा पनि हार खाने वाला थिएन । उसले थप जुक्ति निकाल्यो र आफ्ना समूहका थप परेवालाई बोलाएर शिकारीतिर मुकाविला गर्न लाग्यो । अब शिकारीलाई मृगभन्दा पहिले परेवालाई पन्छाउनुपर्ने भयो । ठिक यही बेला मुसाले जाल काटिभ्याएकोले मृगले ज्यान बचायो ।
परेवाका कारण मुखमा आएको शिकार उम्केको देखेर सिकारी रिसायो र परेवालाई नै समातिर लाग्यो । आफूलाई बचाउन ज्यानको बाजी लगाउने परेवाको जीवन सङ्कटमा परेको मृगले सहन सकेन र खोच्याएको अभिनय गर्यो । उता खोच्याएको देखेर शिकारीलाई मृग घाइते भएको रहेछ भन्ने लाग्यो र परेवालाई छाडेर मृग भएतिर दौड्यो तर मृग घाइते भएको थिएन । उसलाई छक्याउन अभिनय गरेको थियो । त्यसैले सिकारी नजिक आइपुग्दासम्म उसले सुइँकुच्चा ठोक्न भ्यायो ।
मृग भागेपछि सिकारीले परेवातिर हेर्यो तर परेवा पनि यतिबेलासम्म उडिसेको थियो भने मुसा पनि दुलोभित्र छिरिसकेको थियो । त्यसपछि सिकारी खुइय गर्दैै टाउको समातेर घरतिर लाग्यो । यसरी ती तीनले सामुहिक प्रयास गरी विपत्तिबाट ज्यान बचाए ।
पञ्चतन्त्रमा आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर समूहमा रहेर एकले अर्कोलाई सहयोग गर्ने हो भने विपत्तिबाट बच्न सकिन्छ भन्ने कुरा भने सत्य हो ।