आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्लग

एक्काइसौँ शताब्दीमा राजतन्त्रको वकालत : दास मानसिकता

बुधबार, २७ मङ्सिर २०८०, १५ : ०८
बुधबार, २७ मङ्सिर २०८०

पछिल्लो समय राजतन्त्रको माग गर्दै राजावादीहरू सडक प्रदर्शनमै उत्रिन थालेका छन् । २०४६ सालको आन्दोलन ल्याएको प्रजातन्त्र र २०६२–०६३ सालको आन्दोलनपछि प्राप्त लोकतान्त्रिक गणतन्त्रकालमा उनीहरू टाउको लुकाउन कांग्रेस र विभिन्न कम्युनिस्ट पार्टीमा घुसेर बसेका थिए । केही पूर्वपञ्चहरू र परिवर्तनपछि कांग्रेस–कम्युनिस्ट पार्टीमा ओत लाग्न आएका द्वैध चरित्र भएकाहरू लोकतान्त्रिक व्यवस्थाको उदारताको फाइदा लिँदै अहिले सक्रिय राजतन्त्रको वकालत गरिरहेका छन् । उनीहरूको आन्दोलन आफ्नो हकअधिकारका लागि नभई सामन्तवादको अवशेष चिहानमा मिल्काइएको राजतन्त्रको सिनो ब्युताउन । उनीहरूकै परिभाषमा पनि राजाले त माग, आन्दोलन गर्दैनन्, गराउँदैनन् । राजाज्ञा–आदेश कानुन हुने राज परम्परामा हुकुम प्रमाङ्गी पो गर्दछन् त राजाले । तसर्थ सडिसकेको राजतन्त्रको भूत व्युँताएर सक्रिय राजशाहीको परिकल्पना गर्नु भनेको स्वस्थ दिमागको उपज हुन सक्दैन ।

तर अहिले एकखाले राजावादीहरू राजतन्त्रको वकालत गरिरहेका छन् भने अर्को खाले राजावादीहरू राजसंस्थाको पुनस्र्थापना भनिरहेका छन् । राजतन्त्रमा राजाको प्रत्यक्ष शासन नायकत्व हुन्छ भने राजसंस्थाले जनताबाट निर्वाचित प्रतिनिधिमार्फत शासनसत्ता चलाउने र अफू संवैधानिक परिधिभित्र बस्ने हुन्छ । संस्था भनेको विधि–विधान, नियम–कानुनअनुसार चल्छ भने राजतन्त्र भनेको हुकुम, आदेश, मर्जीबाट चल्छ । त्यहाँ शासकलाई कुनै नियम–कानुन लाग्दैन । कुनै अदालत वा न्यायिक निकायमा कुनै उजुर बाजुर गर्न पाइँदैन, लाग्दैन । गर्न पाइँदैन । अब यी दुईखाले राजावादीहरूले कस्तो रजाशाही मागेका हुन् ? 

राजतन्त्र त २०४६ सालको आन्दोलनले पञ्चायती व्यवस्था ढालेसँगै सकियो । २०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा संवैधानिक राजसंस्था स्थापित भयो । आफ्नै दाजु वीरेन्द्रको वंशविनाशको जनआरोप खेपिरहेका ज्ञानेन्द्र शाहले व्यापक जनविरोध हुँदाहुँदै पनि राज्यसहायक हुँदै संवैधानिक राजसंस्थाको स्थानमा बस्न भने पाएकै हुन् । तर उनमा राजा भएको एकाध वर्षमै आफ्ना स्वर्गीय पिता महेन्द्रको जस्तो सक्रिय राजतन्त्रको हुकुमी शासक हुने भूत सवार भयो र नेपालबाट निरङ्कुश राजतन्त्र सधैँका लागि गयो ।

स्वाभिमानी महान् नेपाली जनताको कठोर सङ्घर्ष र नेपाल आमाका हजारौँ–हजार वीर सहिदहरूको उच्च बलिदानबाट प्राप्त संसारकै उच्चतम शासन प्रणाली लोकतान्त्रिक गणतन्त्र मुठीभर सामन्तका दलाल, दासहरूले चाहँदैमा हट्ने त कुरै छाडौँ, हल्लिँदा पनि हल्लिँदैन । 

यो व्यवस्थालाई सञ्चालन गर्ने स्थानमा बसेका वर्तमानमा लोकतान्त्रिक विधिबाटै सत्तामा पुगेकाहरूको आचरण र व्यवहार सच्चिएन भने, जनमुखी कार्यक्रमहरू ल्याइएन भने, भ्रष्टाचारको दलदलबाट मुलुकलाई निकास दिइएन भने, विगतदेखि वर्तमानसम्म सत्तामा पुगेकाहरूले गरेको भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारवाही गरिएन भने आगामी निर्वाचनमा त्यस्तालाई जनताले चुनावको मैदानमै दण्डित गर्नेछन् । उनीहरूलाई चुनावबाटै पाखा लगाउने, हटाउने प्रबन्ध पनि यही लोकतन्त्रमा मात्र हुन्छ । कुनै एउटा व्यक्ति वा परिवार वा पार्टीको अधिनायकवादी शासनमा त्यस्तो शासकलाई विधिको माध्यमबाट हटाउन सकिन्न । हटाउनुपरे सङ्घर्ष गर्नु पर्छ, शासक दमनमा उत्रन्छ र रक्तपात हुन्छ । अनि कोही खराब भयो भने हटाउन पाउने संवैधानिक, कानुनी प्रावधन र आवधिक निर्वाचनको प्रवन्ध भएको मुलुकमा हटाउनै नमिल्ने अधिनायकवादी शासक किन चाहिएको होला ? 

लोकतन्त्र भनेको जनताद्वारा जनताका लागि जनताले गर्ने शासन अर्थात् सभ्य मानिसले सभ्यहरूबाट चुनिएर सभ्यमाथि नै शासन गर्ने प्रणली हो । कुनै व्यक्ति, वंश–परिवार, एकदलीय वा सैनिक तानाशाही अधिनायकवादमा असभ्य मान्छेले सभ्यलगायत सबैमाथि शासन गर्दछ । लोकतन्त्रमा खराबमध्येको कम खराब मानिस मात्र शासन सत्तामा पुग्छ भन्ने मानिन्छ । किनकी खराबलाई जनताले चुन्दैनन्, रोज्दैनन्, खोज्दैनन्, छान्दैनन् र मान्दैनन् भन्ने मान्याता राखिन्छ । त्यसैले एकपटक पद–ओहदामा पुगेपछि जतिसुकै खराब र अयोग्य भएपनि उसको दर सन्तालाई वंश परम्पराकाआधारमा जन्मदै शासक मान्नुपर्ने दास परम्परालाइ आन्तसम्मान भएको स्वाभिमानी, चेतनशील मानिसले स्वीकार्नै सक्दैन । 

प्रत्येक नेपाली नागरिक राज्यको उपल्लो निकायमा पुग्न सक्ने खुला अवसरको उपयोग, सदुपयोग गर्नेतर्फ लाग्दछ । न कि कुनै सामन्तको सन्तानको गुलाम हुन चाहन्छ । राजतन्त्रको आडमा जनतामाथि शोषण, दमन र उत्पीडन मच्चाउँदै आएको दरबारीय अभिजात्य वर्गको पृष्ठपोषक पञ्चायत अवशेषले बेला बेला टाउको उठाउने गरेको छ । यो सबै वर्तमान राजनीतिमा सक्रिय बुढा नेताहरूको बेढङ्गे पाराको उपज पनि हो । अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर बुढो पुस्ताले अभिभावकीय भूमिका निर्वाह गर्न जति ढिला हुन्छ, त्यति नै जनतामा निराशा बढेर जानेछ । पुरानो पुस्ताले लोकतन्त्रका लागि सङ्घर्ष ग¥यो, जेल, नेल, यातना भोग्यो । यसका लागि धन्यवाद दिँदै लोकतन्त्रका लागि लडेका दलका नयाँ पुस्ताले नेतृत्व हस्तान्तरणका लागि अनेक काण्डमा गन्हाइसकेको पुरानो पुस्ताका नेताहरूमा वैधानिक दबाब सिर्जना गरेर अघि बढ्नु पनि आजको अपरिहार्य आवश्यकता बन्दै गएको छ । नेता खराब भए नयाँ नेता जन्माउने हो । जनताले आफैँ नेतृत्व लिने हो, कुनै सामन्तवादको अवशेष, चिहानमा सडेको सिनो बोकेर हिँड्ने होइन ।

 राजावादीबिचकै रडाको

साढे चार सय वर्ष पुरानो राजतन्त्रको इतिहास ज्ञानेन्द्रकै कुबुद्धिका कारण समाप्त भएको हो । त्यसैले उनीभन्दा असल पात्रको खोजी पनि राजावादीहरूले नै गर्न थालेका छन् । ज्ञानेन्द्रबाट राजतन्त्र जोगाउन नसकिने ठहर पूर्वपञ्चहरूको एक झुन्डले गर्दै आएको छ । उनीहरू पारस पनि राजा हुन लायक नभएका, ज्ञानेन्द्रको पनि छवि जनतामा त्यति राम्रो नभएको हुँदा नाति हृदयन्द्रलाई राजा बनाउने अभियानमा लागेका छन् भने ज्ञानेन्द्रद्वारा पालित–पोषितहरू खेसिएको राजगद्दी ज्ञानेन्द्रलाई नै फिर्ता गराएर उत्तराधिकारीलाई जिम्मा लगाउनुपर्ने मत राखी रहेका छन् । यसका लागि राजावादीहरूले नेपालका कट्टर हिन्दुवादी सङ्घसंस्थाका मानिसका साथै पुजारी, पण्डित र धर्म गुरुहरूको सहारा खोजिरहेका छन् । उनीहरूलाई भारतीय संस्थापन र त्याहाँको हिन्दु जनमतको समर्थन रहने विश्वास रहिआएको छ ।

अझ राजावादीहरूको अर्को एउटा समूह त महेन्द्रका जेठा छोरा रवीन्द्र वीरविक्रम शाहका जेठा छोरा बविन्द्र वीरविक्रम शाह जीवितै रहेको हुँदा राजाको असली हकदार यी साइला राजा ज्ञानेन्द्र नभएर बबिन्द्र हुन् भनिरहेका छन् । बबिन्द्र राजा महेन्द्रकी जेठी श्रीमती गीता गुरुङपट्टिका जेठा छोरा रवीन्द्रका पनि छोरा हुन् । रवीन्द्र जेठा, वीरेन्द्र माइला, ज्ञानेन्द्र साइला र धीरेन्द्र कान्छा छोरा हुन् महेन्द्रका । महेन्द्रले रवीन्द्रलाई राजकुमारको उपाधि पनि दिएका, महेन्द्र मर्दाखेरी रवीन्द्र काजकिरियामा समेत बसेका र रवीन्द्रका सन्तान जेठो हाँगो भएको हुँदा राजा उनैका छोरा बबिन्द्रलाई बनाउनुपर्ने भन्दै एक समूह हिँडेको छ । शाह वंशीय राज परम्पराअनुसार राजाको जेठो छोरा राजा हुने चलन रही आएको छ । त्यही कारण छोरा महेन्द्रको जेठो छोरा त रवीन्द्र नै हुन्, अनि उनकै सन्तान राजा हुनुपर्छ भन्ने यो समूहको योजना छ ।

अर्को समूह जगतप्रकाशजङ्ग शाहका जेठा छोरा नवीनप्रकाशजङ्ग शाह नै शाह वंशका असली हकदार हुन् भनेर झन् जोड–तोडले प्रचार गरिरहेको छ । नवीनप्रकाशजङ्ज शाह भनेका रणबहादुर शाह वि.सं. १८३४ –१८५५ का ब्याइते महारानी सुवर्णप्रभाका जेठो छोरा रणउद्दतको जेठो हाँगो हो । रणबहादुर शाहले बागमतीमा नुहाउँदै गरेकी तिरहुते विधवा बाहुनी कान्तावती झालाई अति नै मन पराएर रानी बनाउने प्रस्ताव गर्दा आफ्नो सन्तानलाई राजा बनाउने भए मात्र बिहे गर्ने भनेको र रणबहादुरले कान्तावतीको त्यो वाचा मानेको हुँदा तिनै तिरहुते ल्याइते बाहुनी पट्टिका गीर्वाणयुद्ध वीरविक्रम शाहलाई राजा बनाए । गीर्वाणले वि.सं. १८५५ – १८७३ शासन गरे । यसमा पनि रणबहादुरकी जेठी महारानी राजराजेश्वरीपट्टि छोरी मात्र भएका कारण माहिली रानी सुवर्णप्रभालाई बिहे गरेका थिए । माहिली रानीपट्टि रणउद्दत र शमशेर शाह दुई छोरा थिए । शमशेर शाहको सन्तानको विषयमा केही भन्न सकिएन । तर रणउद्दत शाहको जेठो हाँगो जगतप्रकाशजङ्गका जेठा छोरा नवीनप्रकाशजङ्ग शाह अहिले पनि जीवितै छन् । उनैलाई राजा बनउनु पर्छ भन्ने राजावादीहरू पनि देखिँदैछन् ।

अपराधको दल–दलमा फँसेको राजतन्त्र फर्काउन चुनौती 

केही पूर्वपञ्च र तिनले खोलेका पार्टीका कार्यकर्ता, केही बहुलठ्ठीपूर्ण लहडी मान्छे र नेपालको प्रजातान्त्रिक, लोकतान्त्रिक–आन्दोलनमा कुनै योगदान र भूमिका नभएका मानिसहरू राजतन्त्र फर्काउने कुरा जोडतोडले प्रचार गरिरहेका छन् । ज्ञानेन्द्र आफैँलाई पनि राजा हुन्छु, मलाई राजा बनाऊ भनेर हिँडेका छैनन् । उनीमाथि अधिराजकुमार हुँदा रातो पासपोर्टको दुरूपयोग गरेर मूर्ति चोरी गरेको, नमिता–सुनिता हत्याकाण्ड, लागु औषध कारोबार, पिसकोर, छिन्ताङ, टिम्बुरबोटे काण्ड, पत्रकार पदम ठकुराठीमाथि गोली प्रहार गरेको जस्ता जघन्य अपराधमा भूमिगत गिरोह परिचाल गरेको र कतिपय घटनामा आफैँ पनि संलग्न भएको सङ्गीन आरोप लागेको छ ।

त्यस्तै आपm्नै दाजु वीरेन्द्रको वंश विनाश हुने गरी नारायणहिटी नरसंहार गराएर राज्य सहायक हुँदै सबै दोष जति दीपेन्द्रको टाउकोमा थोपरेर राजा समेत हुन सफल भएको अधिकांश नेपाली जनताको बुझाइ रहेको छ । दरबार हत्याकाण्ड कसले गरायो र दोषी को हुन् भन्ने विषय अझै पनि रहस्यकै गर्भमा छ । आठ वर्ष राजगद्दीमा बस्दा पनि ज्ञानेन्द्रले नारायणहिटी हत्याकाण्डको छानबिन गरी दोषी पत्ता लगाउने काम नगरेका कारण शङ्काको सुई उनैतिर सोझिएको छ । व्यापारिक पृष्ठभूमि भएको, राजकाज भन्दा नाफा र कमाइमा रमाउने उनको पुरानै सोच र शैलीका कारण पनि उनी राजा बन्न लायक त छैनन् । तर नियतीले उनलाई तीन वर्षको उमेरमा २००७ सालमा पहिलो पटक र ५४ वर्षको उमेरमा दोस्रो पटक २०५८ सालमा राजा भएका थिए । ज्ञानेन्द्र संवैधानिक र अधिनायकवादी सक्रिय राजतन्त्र चलाएर जनतामाथि घोर दमन गरेको सास्ती भोग्ने स्वतन्त्रताप्रेमी नेपाली जनताले भूलिसकेका छैनन् ।

अब रह्यो ज्ञानेन्द्रपछि उनका छोरा पारस शाहको । पारसले त म राजा बन्नका लागि जन्मेकै होइन भनेर सार्वजनिक रूपमै भनिसकेका छन् । उनी आफैँ राजावादी होइन, नेपालवादी बन । सबै नेपालवादी बनौँ देश बन्छ, म राजासाजा बन्ने होइन, मलाई यही लोकतन्त्रको स्वतन्त्रतामा इन्जोय गर्नदेऊ भनिरहेका छन् । पारसको छवि, लागुऔषधको प्रयोग, गुण्डागर्दी, लडाइँ झगडाको के कुरा गर्नु र ? यस्तालाई राजा बनाउने सपना देखिरहेका छन् कठै राजावादीहरू । 

द्रव्य शाहको पालादेखि ज्ञानेन्द्रसम्म आइपुग्दा चार सय ६५ वर्र्ष लामो नेपालको राजतन्त्रले देशलाई अन्धकारको युगमा पुर्योयो । जनतालाई दास बनाएर राख्यो । यिनको पुर्खाको शासनकालमा मानिसहरूलाई जनावर जसरी हाटबजारका बिक्री गरिन्थ्यो । अरू देशमा विश्वविद्यालयहरू चार पँच सय वर्ष पहिलादेखि नै खुलेका थिए । नेपालमा जनताका छोरा छोरीले पढ्न पाउँदैन थिए । त्यो विभेद्, यिनैका पुर्खाले गरेका हैनन् ?

सधैँ जालझेल, षडयन्त्र, दमन, शोषण, अन्याय, अत्याचारको भरमा शासनसत्ता टिकाउँदै आएका थिए । द्रव्य शाहले राज्य हत्याएको बेलादेखि नै छिमेकी राजा रजौटाहरूमाथि चरम दमन, कोतपर्व, भण्डारखाल पर्व, अलौ पर्व, नारायहिटी पर्व जस्ता अनेकन आततायी घटना, परिघटना र रगतको आहालमा डुबेको नेपालको सामन्ती राजतन्त्रको पुनरागमनको वकालत दलाल र दासबाहेकले गर्न सक्दैन । जनताको छोराछोरी आफैँ राज्यको सर्वोच्च निकायमा जनताबाट अनुमोदित भएर पुग्नसक्ने संवैधानिक प्रावधान हुँदाहुँदै आफूमाथि शासन गर्न अरू नै सामन्तको सन्तान चाहिन्छ भनेर उसको दासत्व स्वीकार गर्नेहरूकाप्रति दया गर्नु शिवाय अरू के नै गर्न सकिन्छ र ?

राजतन्त्रलाई जसले हटायो, फिर्ता ल्याउन परे त्यसले मात्र ल्यउन सक्छ । त्यो भनेको नेपालको संसद् हो । संसदले चाह्यो भने केही परिवर्त हुन सक्लान् । तर त्यसका लागि राजावदीहरूले चुनावमा दुई तिहाइ ल्याउनु अनि वैधानिक बाटोबाटै जे गर्नु छ, त्यही गरे भइगयो नि । किन यो सडकमा भद्दा नाटक मञ्चन गर्नु, गराउनु ? 

लोकतन्त्रभन्दा उन्नत शासन प्रणाली दुनियाँमा कहीकतै छैन । जनता सार्वभौम हुने शासकहरूले प्रत्येक पाँच पाँचवर्ष जनताबाट अनुमोदन भएर मात्र साशन सत्तामा बस्न पाउने व्यवस्थामा मात्र शासक जनतप्रति उत्तरदायी हुन्छ । स्वेच्छाचारी भयो, जनविरोधी काम ग¥यो भने अर्को चुनावमा जनताले पराजित गरेर दण्डित गर्नसक्छन् । तर राजा महाराज स्वेच्छाचारी, अत्याचारी, प्रजातन्त्र विरोधी, अधिनायकवादी भएका अनेक उदाहरण हाम्रौ मुलुकमा अनेकौँ छन् । यस्तो अवस्थामा त्यस्तो शासकलाई हटाउन सक्ने कस्तो विधिको परिकल्पना गरेका छन् ? 

तसर्थ आजको विज्ञान र प्रविधिको आधुनिक युगमा पुरातन राजतन्त्रको सोच नै उपयुक्त छैन । जनताले त आफ्ना लागि आफैँ सङ्र्घष गरेर अधिकार खोसेर लिएका हुन् । पूर्वराजाले आफू नागार्जुन र शीतल निवासमा बसेर अरूले नै लडाइँ लडेर मलाई गद्दीमा राखिदिन्छन् भनेर असम्भव कुरामा मख्ख नपरेकै राम्रो । न त ज्ञानेन्द्रमा राजगद्दीमा बस्न पाऊँ भनेर आन्दोलन गर्ने नैतिक हैसियत छ । उनले त्यो राजगद्दी पनि स्वाभाविक रूपमा प्राप्त गरेका होइनन्, अपुतालीमा पाएका हुन् । अपुतालीमा (सित्तैँमा) पाएको कुराको कुनै माया हुँदैन । त्यसैले नेपालमा राजतन्त्र फर्किंदैन । यसको कुनै सम्भावना नै छैन । बरु ज्ञानेन्द्रले पार्टी खोलेर लोकतान्त्रिक अभ्यास गर्दै जनताबाट अनुमोदित भएभने चाहिँ शासन सत्ताको सर्वोच्च स्थानमा पुग्नसक्ने सम्भावनालाई भने लोकतन्त्रमा नकार्न सकिन्न ।

हुमागाईं नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण हुमागाईं
कृष्ण हुमागाईं
लेखकबाट थप