शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

रुसी सेनामा भर्ना भएका डायमण्ड सी भन्छन्,‘पुटिनको सिपाही बनेकोमा कुनै गुनासो छैन’

मङ्गलबार, २६ मङ्सिर २०८०, २१ : ३६
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव‘ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएर सेक्रेटरी समेत भइसकेका डायमण्ड सी म्याग्देली हाल रुसी सेनामा भर्ती भएका छन् । उनले पुटिनको सिपाहीको रूपमा बन्दुक बोकेको प्रति कुनै गुनासो नरहेको स्पष्ट पारेका छन् ।

सीले आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै नलाग्ने बताउँदै जोखिमपूर्ण यात्राको पाइला-पाइलामा चुनौती भए पनि हार कहिल्यै नमान्ने र गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् रहेको जिकिर गरेका छन् । युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई अतिरञ्जित गरिएकोमा उनले आपत्ति समेत जनाएका छन् । ‘युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई  आधार बनाएर सामाजिक सञ्जाल/मिडिया हाउसहरू मार्फत रुस विरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी/युरोपियन गठबन्धन एवम् तिनका एजेन्टहरूको मतियार बन्न सकिन्न,’ उनले भनेका छन् ।

रसिया भर्ती हुन आउन खोज्नेहरूलाई अहिले भर्ती बन्द रहेकाले दलालहरूको भ्रममा नपर्न आग्रह पनि गरेका छन् ।

यस्तो छ उनको भनाई:

प्रिय साथीहरू

सार्वजनिक रूपमा एउटा जानकारी:-

म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछि नेपाली मूलधारका मिडिया (कान्तिपुर,अनलाइनखबर, रातोपाटी, शिलापत्र आदी)मा आबद्ध मिडियाकर्मी साथीहरू वाट त्यहाँको अवस्थाबारे केही बोल्दिनुपर्‍यो  भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ।

 यसबारे यहाँ आएका अरू साथीहरूले के बोल्छन्, के गर्छन् त्यो उनीहरूको विषय भयो तर म सार्वजनिक रूपमा के भन्न चाहन्छु भने हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमूल परिवर्तनको लागी बन्दुक बोकेर झन्डै १ दशक रगत/पसिना बगाइयो, अंशमा केही परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न सकिएन परिणामतः आज पनि सत्ता/शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पुँजीपतिहरूकै जगजगी छ,परिवर्तनको लागी दशकौँ योगदान गरेका हजारौँ योद्धाहरू आज परिवार पाल्नकै लागी विदेशका गल्ली गल्लीमा भौँतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ । यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ।

पृष्ठभूमि, कथा/व्यथा भिन्न भिन्न होलान् तर बाध्यताले दोहोर्‍याएका हजारौँ नेपाली युवाहरू अहिले रसियन सेनामा भर्ती भई युद्धको मोर्चामा खटिइरहनु भएको छ। युद्धरत देशको(यो सामान्य सैनिक जागिर जस्तो होइन)सैन्य फौजमा कार्यरत रहँदा सकारात्मक/नकारात्मक सबै विषय अनुभूत गर्न सकिन्छ यद्यपि यी विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु।

युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ? युद्ध मैदानमा प्रवेश गरिसकेपछि के-के हुन्छ?के-के गर्नुपर्छ?के-के भोग्नुपर्छ? सैन्य संठगनभित्र के गर्न पाइन्छ/के गर्न पाइन्न?सैन्य कानुन/अनुशासन के-कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरू पक्कै पनि अनविज्ञ हुनुहुन्न तसर्थ विषयवस्तु लाई यसरी सरल रूपमा बुझिदिनुहुन म विशेष आग्रह गर्दछु। 

युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार बनाएर सामाजिक सञ्जाल/मिडियाहाउसहरूमार्फत रुसविरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी/युरोपियन गठबन्धन एवम् तिनका एजेन्ट हरूको मतियार बन्न सकिन्न।न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति  कुनै पश्चात्ताप छ न त आज भिन्न उद्देश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रूपमा बन्दुक बोकेको प्रति कुनै गुनासो छ।आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन।जोखिमपूर्ण यात्राको पाइला-पाइलामा चुनौती त छ नै यद्यपि हार कहिल्यै मानिँदैन,गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ।

अन्त्यमा :-

सयौँ साथीहरूले रसिया भर्ती हुन आउनुपर्‍यो,के-कसरी हो?च्यानल मिलाइदिनुपर्‍यो भनेर म्यासेज गरिराख्नु भएको छ,एक-एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन तसर्थ यसै सार्वजनिक सूचना मार्फत जानकारी- यहाँ अहिले भर्ती बन्द छ,दलालहरूको भ्रममा नपर्नुहोला।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप