बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

एलपीएल क्रिकेटमा शुक्लाफाँटा र धनगढी क्रिकेट एकेडेमीको जित

मङ्गलबार, २६ मङ्सिर २०८०, १७ : १९
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) टी–२० क्रिकेटको मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् । शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई र धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गरेका हुन् ।

पहिलो खेलमा शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनले  कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले हरायो । समुहगत चरणको तीनवटै खेल खेलिसक्दा दुई जित र एक हारको नतिजा निकालेको शुक्लाफाँटाले समुह ‘ए’ बाट सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेको छ ।

आफूले खेलेको दुबै खेलमा जित हासिल गरेको धनगढी स्पोर्टस क्लब अन्तिम खेलमा खप्तड इन्डोरसँग पराजित भएमा शुक्लाफाँटा र धनगढीमध्ये नेट रन रेटका आधारमा एक टोली सेमिफाइनल पुग्नेछ । शुक्लाफाँटाले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८.४ ओभरमा अलआउट हुनुअघि ९३ रनमात्र बनाउन सकेको थियो ।

कैलालीका नरेन साउदले १७ रन बनाए । कैलालीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । शुक्लाफाँटाका बलर बसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले दुई–दुई विकेट लिए । भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । शुक्लाफाँटाका लागि प्लेयर अफ दी म्याच घोषित किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए ।  उनले केवल ४२ बलमा एक छक्का र १० चौका प्रहार गरे ।

यसैगरी विशाल ऐरले ४३ बलमा दुई छक्का र ६ चौकाको मद्दतले ५४ रनको योगदान गरे । लोकेश जोशीले पनि ३७ रन बटुले । कैलाली क्रिकेट क्लबका बलर विनोद बोहराले तीन तथा धर्मराज जोशीले दुई विकेट लिए ।

दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा सेकेण्डरी स्कुललाई ८१ रनले हरायो । एक सय ७१ रनको लक्ष्य पछ्याएको शारदाले १५.५ ओभरमै अलआउट हुनुअघि ८९ रनमात्र बनाउन सक्यो । धनगढी र शारदा दुवै टोली उपाधि होडबाट बाहिरिइसकेका छन् ।

शारदाका लागि अभिषेक मल्लले ४१ र जीवन चन्दले ११ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । प्लेयर अफ दी म्याच घोषित धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्री एक्लैले चार विकेट लिए । उनले ३.५ ओभरमा केवल १६ रन खर्चिएका थिए । विजय रानाले दुई तथा हिक्मत महरा, मान साउद र निरज ऐरले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । धनगढीका लागि मान साउदले सर्वाधिक ३७ रन बनाए । सचिन साउदले ३५, यूवराज खत्रीले २९ र विजय रानाले २३ रन जोडे ।

एक सय १५ रनमा सात विकेट गुमेको अवस्थामा मान र यूवराजले अविजित ५५ रनको साझेदारी गरेका थिए । बुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ बजे क्रिकेट एक्सिलेन्स सेन्टर र जेएस स्पोर्टस–११ सुपर स्टार्सबिच तथा दोस्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र कैलाली मल्टिपल क्याम्पसबिच हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप