आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोखरामा लोकल रक्सी ब्राण्डिङ गर्न कस्सिए युवा

मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : ४३
मङ्गलबार, २६ मङ्सिर २०८०

पोखरा । टेवल छेउमा नौला बोतल छन् । बोतलको पिँधतिर कागजमा लेखिएको छ– ‘नट फर सेल, वन्ली फर टेस्टिङ ।’ अर्थात् चाख्न पाइन्छ, किन्न पाइँदैन ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय व्यापार मेलामा राखिएको एउटा स्टलमा युवाहरु उभिएर मेला भर्न आएका दर्शकलाई कोदोको रक्सी चखाउन व्यस्त छन् । उनीहरु स्टलमा आइपुग्ने जोकोहीलाई भन्छन्, ‘रक्सीको टेस्ट लिनुस्, तपाईंको प्रतिक्रिया लेखेर जानुस् ।’

कोदोको रक्सीको स्वाद चखाउनका लागि उनीहरु मेलामा आएका हुन् । अनुसन्धानमा लागेका महेश बराल र उनका साथीहरु मिलेर लोकल रक्सी चखाउन स्टल नै राखे । उनीहरुले ठाउँठाउँमा पुगेर परम्परागत शैलीले रक्सी बनाउने विधि सिकेका छन् ।

‘रक्सी बनाउने सिद्धान्त सबैको एउटै हो । जाँड बनाउने, त्यसबाट निस्केको बाफलाई चिस्याएपछि रक्सी बन्छ,’ उनले भने, ‘परम्परागत शैलीमा भट्टीमा रक्सी पार्छन् । त्यसमा लेवल हुँदैन । हामीले नै डिजाइन गरेर डिस्टिलेसन प्लाण्ट बनाएका छौँ । यसमा गुणस्तर छ ।’

डेढ वर्षदेखि उनीहरुले मर्चासमेत आफैँ बनाउँछन् । ‘हाम्रो टेक्नोलोजी प्रयोग गरेर सरल रुपमा कसरी रक्सी बनाउन सकिन्छ र त्यसका कमजोरी कसरी सुधार्न सकिन्छ भनेर निकै लामो अध्ययन ग¥यौँ । डेढ वर्षसम्मको अनुसन्धानपछि अहिलको रक्सी तयार भएको हो,’ बराल भन्छन्, ‘क्वालिटीको रक्सी बनाउन सक्ने भएका छौँ । तर राज्यले गुणस्तर कायम गरिदिएको छैन । मुख्य समस्या त्यसमा छ ।’

यद्यपि ह्विस्की र रमको स्टान्डर्ड अनुसार नै लोकल रक्सीको गुणस्तर कायम गरिएको उनले सुनाए । अहिलेसम्म उनीहरुले बेच्न थालेका छैनन् । ‘बेच्नका लागि कानुनी व्यवस्था छैन । हामी अनुसन्धानकै चरणमा छौँ,’ उनले भने, ‘सरकारले सहज बनाइदियो भने छिटै बजारमा ल्याउन सक्छौँ ।’

उनीहरुले अनुसन्धानकै मापदण्ड अनुसार कम्पनी बनाएर उत्पादन गरेका छन् । उनीहरुको आफ्नै ल्याव पनि छ ।

‘इन हाउस टेष्ट गरिरहेका छौँ । यसलाई आउट सोर्सिङ गरेर काठमाडौँ पठाउछौँ । यसमा हुनुपर्ने गुण छ कि छैन, नहुनुपर्ने गुण केही निस्किएको छ कि भनेर चेक गर्छौं,’ बरालले थपे, ‘आन्तरिक रुपमा हरेक उत्पादनको परीक्षण गर्छन् भने बृहत् रुपमा ४ महिनामा काठमाडौँ पठाउछौँ । यो रक्सी घरमा बनाइएका भन्दा धेरै गुणस्तरीय बनेको छ ।’

मिथानल घटाए रक्सीको गुणस्तर बढी हुने उनीहरुको भनाइ छ । ‘मिथानलका कारण धेरै समस्या आउँछ । यसको मात्रा निकै कम हुनुपर्छ, इथानल चाहिँ धेरै हुनुपर्छ । हामीले इथानल मात्रै निकाल्छौँ । यो रक्सी खाएर बिहान उठ्ने बेलामा टाउको दुख्ने अवस्था हुँदैन । मुख गन्हाउने जस्ता समस्या आउँदैन,’ बरालले भने ।

यो रक्सीमा मिथानलको अंश ०.००१ प्रतिशत मात्रै देखिएको ग्रीन गोल्ड डिस्टिलरीका संस्थापक सदस्य ललित कुवँरले जानकारी दिए । उनका अनुसार घरमा बनाउँदा मिथानल छुट्याउन सकिन्न, लिमिटमा खाँदा स्वास्थ्यलाई खासै बिगार पनि गर्दैन ।

kodoko rakshi

राज्यबाटै मापदण्ड तय भए लोकल रक्सी नेपालको हितमा निकै फलदायी हुने कुँवरको भनाइ छ । ‘राज्यले मापदण्ड तोकिदिनुपर्छ । रक्सीलाई ट्याक्सको दायरामा ल्याउँदा राज्यलाई केही आम्दानी पनि हुन्छ । बजारमा आउँदा समस्या हुँदैन,’ उनले अघि भने, ‘७५० मिलीलिटरको ६ सय हाराहारी खर्च निस्किन्छ । धेरै उत्पादन गर्दा लागत केही घट्न सक्छ ।’

उनीहरुले डेढ वर्ष अघि नै ग्रीन गोल्ड डिस्ट्रीलरी दर्ता गरेका छन् । समूहमा १० जना छन् । फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट, मार्केटिङ जस्ता विज्ञसहितको टिम छ । यो टोलीलाई औद्योगिक व्यापार मेलासम्म आउने बाटोको पुल बनेका छन् गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।

उनीहरुले पाण्डेको भाषण छापिएको पत्रिकाको फोटोकपी पनि सँगै राखेका छन् । उनीहरुको स्टलमा आएर रक्सीका पारखीहरुले रक्सी चाख्छन्, आवश्यक सुझाव दिन्छन् । आफूहरु मुख्यमन्त्रीको भाषण सुनेरै मेलामा आएको उनीहरुले बताए ।

पाण्डेले पछिल्लो समय लोकल रक्सी र गाँजा खेतीलाई वैधानिक बनाउने घोषणा सार्वजनिक कार्यक्रमबाटै गर्छन् । दुवैका लागि विधेयकको मस्यौदा बनिसकेर छलफलको चरणमा रहेको पाण्डेले बताए ।

घरेलु मदिरा व्यवस्थित रुपमा चलाउन सके विदेशबाट हुने रक्सी आयात निकै कम गर्न सकिन्छ । प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमै लोकल रक्सीको उत्पादन र ब्राण्डिङ गर्ने उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप