रोनाल्डोका कारण जापानको राजनीतिमा तरङ्ग

काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अहिले साउदी अरेबियाको अल नासर क्लबबाट व्यावसायिक फुटबल खेल्छन् । ३८ वर्षीय फुटबल स्टार रोनाल्डोको प्रवेशले पछिल्लो समय साउदी अरेबियाको व्यावसायिक लिगलाई पनि एकाएक चर्चाको शिखरमा पुर्याएको छ ।
तर, रोनाल्डोकै एक खेलका कारण यतिबेला जापानको राजनीति समेत तरङ्गित हुन पुगेको छ । गत जुलाईमा जापानको ओसाकास्थित नगाई रंगशालामा अल नासर र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बिच मैत्रीपूर्ण खेल खेलिएको थियो ।
अल नासरको टोलीमा रोनाल्डो पनि सहभागी थिए । उता, नागासाकीका गभर्नर केन्गो ओइसीको मन पर्ने खेलाडी पनि रोनाल्डो नै रहेछन् । त्यसैले पनि उनी रोनाल्डोको खेल हेर्न त्यतिबेला नागासाकीबाट ओसाका पुगेका रहेछन् ।
अहिले आएर नागासाकीका गभर्नरको त्यही ओसाका भ्रमण नै विवादमा परेको हो । उनले रोनाल्डोको खेल हेर्न आफू व्यक्तिगत खर्चमा नागासाकीबाट ओसाका पुगेको बताएका थिए । उनले उक्त मैत्रीपूर्ण खेलको टिकट पनि आफ्नै व्यक्तिगत पैसाले किनेको दाबी गरेका थिए ।
त्यतिबेला पनि नागासाकीका गभर्नरको ओसाको भ्रमणको खर्चको विषयले ठुलै चर्चा पाएको थियो । तर, अहिले आएर गभर्नर केन्गो ओइसीले त्यतिबेला रोनाल्डोको खेल हेर्न सरकारी रकमको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
उनले खेलको टिकट आफ्नो पैसाले खरिद गरे पनि नागासाकीदेखि ओसाकासम्मको भ्रमण गर्दा अन्य सबै खर्च सरकारी कोषबाट गरेको समाचार बाहिरिएको छ । यस्तो समाचार बाहिरिएपछि विपक्षी दलका नेताहरूले गभर्नर केन्गो ओइसीको चर्को आलोचना गरिरहेका छन् ।
नागासाकीदेखि ओसाकासम्मको दुरी सडक मार्गमार्फत सात सय ३२.१ किलोमिटर पर्छ । आफ्नो विरोध भएपछि त्यतिबेला गभर्नर केन्गो ओइसीले आफू रोनाल्डोसँग छलफल गर्न ओसाका गएको बताएका थिए । त्यो भेटले भविष्यमा देशको खेलकुद क्षेत्रलाई फाइदा पुग्ने दाबी पनि उनले गरेका थिए ।
तर, उनका विरोधीहरूले त्यतिबेला गभर्नर केन्गो ओइसीले रोनाल्डोसँग कुनै छलफल नगरेको दाबी गरिरहेका छन् । विवाद चर्कँदै गएपछि अहिले आएर गभर्नर केन्गो ओइसीको राजीनामा पनि माग्न थालिएको छ ।
त्यतिबेला अल नासर र पीएसजीबिचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । उक्त खेलमा पीएसजीबाट ब्राजिलियन स्टार नेयमार पनि सहभागी भएका थिए । त्यो खेलपछि ३१ वर्षीय नेयमार पीएसजी छाडेर साउदी अरेबियाको क्लब अल हिलालमा आबद्ध भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही
-
गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र