आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जाजरकोट भूकम्पको पीडा

तीन नातिनातिना र बुहारी गुमाएकी वृद्धाको कथा !

मङ्गलबार, २६ मङ्सिर २०८०, ०६ : १२
मङ्गलबार, २६ मङ्सिर २०८०

सुर्खेत । हिजोआज त्रिपाल छेउमा बसेर भुइँचालाले भत्काएको घर, बुहारी, नातिनतिना च्यापिएर मृत्यु भएको स्थान हेर्नु ६१ वर्षीया सरस्वती जैसीको दैनिकी बनेको छ । कठ्याङ्ग्रिँदो चिसो, राति निद्रा नलाग्दा त्रिपालबाहिर आई भत्किएको घर हेरेर रात बिताउँछिन् उनी । उनी भन्छिन्– ‘बरु म बुढी मरेर मेरा लालाबाला बाँचेको भए हुने थियो ।’ 

गत कात्तिक १७ गते मध्यरातमा आएको भुइँचालाले सरस्वतीको परिवारमा ठुलो बज्रपात पार्‍यो । एक्कासि आएको भुइँचालाले पूरै घर ध्वस्त भयो । घर भत्किँदा च्यापिएर ३० वर्षकी बुहारी, दुई वर्षको नाति, ८ र ६ वर्षका दुई नातिनीले ज्यान गुमाए । त्यो कहालीलाग्दो क्षण सरस्वती सम्झिन पनि सक्दिनन् । 

साँझको बेला, चिसो निकै बढिसकेको थियो । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४, छेपारेकी उनी अहिले एक संस्थाले दिएको त्रिपालमुनि बसिरहेकी छिन् । त्यही त्रिपालभन्दा दायाँतर्फ घरको भग्नावशेष छ । साँझको बेला, सरस्वती त्यहीँ हेरेर टोलाइरहेकी थिइन् । आफू च्यापिएर भाग्यले बाँचेको ठाउँ हेरिरहेको उनले बताइन् । 

भूकम्प आएको बेला उनका छोरा मजदुरीका लागि भारतमै थिए । घरमा पाँच जनाको परिवार । भूकम्पमा परी चार जनाको मृत्यु भयो भने सरस्वती बाँच्न सफल भइन् । दुई तलाको घर । सरस्वती माथिल्लो तलाको कोठमा सुतेकी थिइन् । उनी पनि च्यापिएकी थिइन् । तर सास फेर्न पाएकाले बाँच्न सफल भइन् । अरू सबैको निसास्सिएर मृत्यु भयो । ‘मेरो शरीरमाथि काठ तेर्सो पर्‍यो, अनि टाउकोमा कम्बल पनि थियो,’ उनी त्यो क्षण सम्झिन्छिन्, ‘त्यसले खासै चोट लाग्न पाएन र सास फेर्न सकियो ।’ तर काठमाथि भने ढुङ्गा, माटो र काठले थिचेको थियो । 

भुइँचालाले सबैतिर क्षति गरिरहेको थियो । बाँचेकाहरू पनि त्रसित अवस्थामा थिए । च्यापिएकी उनलाई भित्र निकै अफ्ठ्यारो भइरहेको थियो । आधा घण्टासम्म पनि उनलाई उद्धार गर्न कोही आएनन् । सबैलाई भुइँचालाले त्रसित पारेको थियो, कसै कसैको मृत्यु भइसकेकाले सबै आआफ्नो घरगृहमा व्यस्त भएकाले ढिलाइ भएको उनले बताइन् ।

‘खै भाग्यले हो कि के गरेर हो म त बाँचे तर मेरा लालाबाल सबै सकिए,’ सरस्वती जैसी भन्छिन् । उसो त छेपारे बस्तीका ११ जनाले भूकम्पमा परी ज्यान गुमाएका छन् भने सिङ्गो बस्ती नै ध्वस्त छ ।

पछि माथिल्लो गाउँमा युवाहरू दौडेर आए । घर पूरै ध्वस्त भइसकेको थियो । ‘भित्रबाट कराए पनि बाहिर सुनिने रहेनछ, मैले भित्रै उपाय लगाएर बाहिर आवाज जाला भनेर, ढुङ्गाले ट्याकट्याक गरेँ’ उनी भन्छिन्, ‘त्यसपछि बाहिर आएका युवाहरूले सुने । बोलुँभन्दा माटो पेटभित्र जान्थ्यो, अनि मान्छे बाँचेकै छ कि क्या हो भनेर पन्छाउन थाले र उद्धार गरे ।’ आफू बोलेको कसैले नसुनेपछि बाँच्ने आशासमेत मारेको तर बाँच्न सफल भएको उनले बताइन् ।

राति साढे १ बजेपछि मात्रै आफ्नो उद्धार भएको सरस्वती बताउँछिन् । युवाहरूले केही हातले नै पन्छाए, ढिलो हुने भएपछि भेरी करिडोर निर्माणमा त्यहीँ नजिकै राखिएको डोजर ल्याएर चाँडो पन्छाउने प्रयास गरेका थिए । ‘खै भाग्यले हो कि के गरेर हो म त बाँचे तर मेरा लालाबाल सबै सकिए,’ उनी भन्छिन् । उनलाई उद्धार गरुन्जेल अरूको निसास्सिएर मृत्यु भइसकेको उनले बताइन् । उसो त छेपारे बस्तीका ११ जनाले भूकम्पमा परी ज्यान गुमाएका छन् भने सिङ्गो बस्ती नै ध्वस्त छ । तर सबैभन्दा बढी मानवीय क्षति भएको सरस्वतीकै परिवार हो । 

उनलाई दिनमा तीन पटकसम्म भत्किएको आफ्नो घर हेर्न मन लाग्छ रे । कहिलेकाहीँ राति निद्रा नपर्दा बाहिर आएर त्यही हेरेर रात काट्ने गरेको पनि उनले बताइन् ।

उनकी बुहारी त्यहीँको आधारभूत विद्यालयमा कार्यालय सहयोगी थिइन् । घटनापछि रोजगारीका लागि भारतमा रहेका छोरा अहिले भारतबाट घर आइसकेका छन् । घरले उनको सबै सामग्रीमा क्षति पुगेकाले प्रयोग मिल्ने खालको छैन । पाएको राहत र त्रिपालमै उनको दैनिकी बितिरहेको छ । तर उनलाई दिनमा तीन पटकसम्म भत्किएको आफ्नो घर हेर्न मन लाग्छ रे । कहिलेकाहीँ राति निद्रा नपर्दा बाहिर आएर त्यही हेरेर रात काट्ने गरेको पनि उनले बताइन् । भूकम्प गएको एक महिना बित्दा पनि अहिलेसम्म अस्थायी आवास बनेका छैनन् । चिसोले गर्दा निकै समस्या भएको र बिरामी हुने सम्भावना बढेको उनी बताउँछिन् ।  

खोला किनारको उक्त बस्तीमा दिउँसो १२ बजेपछि मात्रै घाम लाग्छ । उनी भन्छिन्, ‘कठ्याङ्ग्रिएर चिसोले मरिन्छ कि भन्ने चिन्ता लाग्न थाल्यो, रुघाखोकी लाग्न थाल्यो ।’ उनलाई त्रिपालको बसाइ निकै असहज भएको छ । ‘त्रिपालभित्र आगो बाल्न मिल्दैन, आगो नबाल्ने हो भने शीतको थोपा जोमाथि पर्छ, त्यो सीधै भित्र आइहाल्छ,’ उनी भन्छिन्, ‘घरभित्रै हुँदा त चिसो छेक्न सकिने अवस्था रहँदैन, यस्तो चिसोको समयमा त्रिपालमा त चिसो छेक्ने अवस्था छैन । ओड्ने ओछ्याउने पनि पर्याप्त छैनन् ।’ नागरिकको ज्यान जोगाउने हो भने सबैभन्दा पहिला राज्यले बासको व्यवस्थापन गरिदिनुपर्ने माग उनको छ । उनले अस्थायी आवासका लागि पाउनुपर्ने अनुदानसमेत नपाएको बताइन् । यद्यपि लगत सङ्कलनको काम भने भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप