फणा उठाएर एउटा गोमन सर्प प्रत्येक साँझ ओशोको प्रतीक्षामा हुन्थ्यो
सम्बुद्ध व्यक्तिको उपस्थिति वसन्त ऋतुमा फुल्ने गुलाबको फूलजस्तै हो । त्यसको सुन्दरता र सुगन्ध धेरै टाढासम्म पैmलन्छ र त्यसलाई पहिचान गर्ने ग्रहणशीलता र संवेदनशीलता भएका सबैलाई आकर्षित गर्दछ । सम्बुद्ध व्यक्तिको उपस्थितिले मानिसलाई मात्रै होइन रुख, बोट–बिरुवा, जनावर, चराचुरुङ्गी र अन्य जीवलाई पनि प्रभावित गर्दछ, उनीहरूले त्यसको प्रत्युत्तर दिन्छन् ।
बुद्धको जीवनमा यस्ता धेरै घटनाको उल्लेख पाइन्छ, जब जनावरले उनको बुद्धत्वप्रति असाधारण संवेदनशीलता देखाएका छन् । एकपटक बुद्ध भिक्षुहरूको साथमा हिँडिरहेका थिए । उनलाई हानि पु¥याउने उद्देश्यले उनका इष्र्यालु भाइ देवदत्तले नालगिरी नामको पागल हात्ती छाडिदिए । अनेक वितण्डा मच्चाउँदै नालगिरी जब बुद्धको नजिक आइपुग्यो, बुद्धलाई आक्रमण गर्नुको साटो बिस्तारै शान्त भयो, झुकेर बस्यो अनि बुद्धको सामु नतमस्तक भई लमतन्न परी दण्डवत ग¥यो – एक सम्बुद्ध व्यक्तिलाई आफ्नो सम्मान देखाउँदै ।
शिवपुरी बाबाले पनि धेरैपटक यस्ता घटना उल्लेख गरेका छन् । उनी अमरकण्टक र नेपालका जंगलमा बस्दा जनावरहरू उनलाई भेट्न आइपुग्थे, आफूहरूका समस्या र झगडाहरु लिएर ।
शिवपुरी बाबाका निकटतम सहयोगी माधवबाजे, जसले पछि बुद्धत्व प्राप्त गरे, उनले शिवपुरी बाबाका धेरै कथा बताउँथे, जो उनले बाबासँग बस्दा आफैँ देखेका थिए । उनले मलाई सुनाएका थिए कि जब बाबा शिवपुरी डाँडामा बस्थे, चितुवा, बाघ र अन्य जनावर बाबाको छेउमा शान्तिपूर्वक आएर बस्दथे, बाबाले तिनीहरूलाई मिश्रीका डल्ला फ्याँकी दिन्थे प्रसादको रूपमा, उनीहरू त्यो खान्थे अनि चुपचाप जान्थे ।
यस सन्दर्भमा सबैभन्दा असाधारण घटना रमण महर्षिको जीवनमा घटेका छन् । पाँच जनावर (गाई, स्याल, काग, कुकुर र बाँदर)ले महर्षिको कृपा र करुणाका कारण समाधि प्राप्त गरे । त्यो गाई, जसको नाम लक्ष्मी थियो, ऊ रमणको ऊर्जासँग यति एकाकार थिई कि प्रत्येक बिहान उसले रमणको खुट्टा नढोगुञ्जेल केही पनि खान्नथी । एकपटक ऊ अत्यन्तै बिरामी परी । महर्षि आएर उसको टाउको आफ्नो काखमा राखी प्र्रेम र करुणाले छुँदै आशीर्वाद दिए । त्यो कृपा पाएपछि उसले शान्तिपूर्वक आफ्नो शरीर छाडी । त्यस्तै, अन्य चार जनावरले पनि रमणको ऊर्जाप्रति अनौठो रूपमा प्रतिक्रिया गर्दथे र उनको ऊर्जाबाट लाभान्वित बने । यी जनावरले शरीर छाडेपछि रमणले तिनको समाधि बनाउन लगाए र आज पनि रमण आश्रममा यी बुद्धत्व प्राप्त गरेका पाँच जनावरको समाधि रहेका छन् ।
भगवान्को जीवनमा पनि यस्ता धेरै घटना छन्, जहाँ जनावर, चराचुरुङ्गी र रुखहरूले उनको उपस्थितिप्रति विशेष व्यवहार गरेका छन् ।
एउटा सर्प शिष्य
ओशो जबलपुर विश्वविद्यालयमा अध्यापक थिए, उनी नेपियर टाउनको एउटा सानो बङ्गलोमा बस्थे । उनले चढ्ने साइकल त्यो सहरमा सबैभन्दा सफा साइकलको रूपमा प्रसिद्ध थियो ।
सधैँ टिलिक्क देखिने त्यो साइकललाई ओशो स्वयंले मर्मत र सरसफाइ गर्थे । चाहे साइकल चलाउँदा होस्, चाहे रोल्स रोयस चढ्दा, सरसफाइ र सौन्दर्यताका लागि उनको दृष्टि एकदमै उच्च थियो । नेपियर टाउनको उक्त बङ्गलोको अगाडि एउटा सानो बगैँचा थियो । ओशो आफैँ त्यसको हेरचाह गर्थे, फूलहरू रोप्थे । त्यहाँ प्रशस्तै गुलाब, शाही चमेली र रातको चमेलीका बोटहरू थिए । त्यो बगैँचा तिनीहरूको सुवासले सुगन्धित रहन्थ्यो । उनको बगैँचा जंगलजस्तो हुन्थ्यो, किनकि उनी बोट–बिरुवा काँटछाँट गर्न मन पराउँदैनथे ।
प्रत्येक दिन, विश्वविद्यालयबाट फर्किएपछि उनी बगैँचामा हिँड्थे । फूलका पंक्तिबद्ध बोटहरूको छेउमा एउटा सानो पथ थियो र त्यहाँ बिस्तारै हिँडेर उनी आनन्द लिन्थे । त्यो बगैँचामा एउटा अनौठो कुरा हुन्थ्यो । आफ्नो फणा उठाएर एउटा गोमन सर्प प्रत्येक साँझ ओशोलाई विश्वविद्यालयबाट फर्कने समयमा पर्खिएर बस्थ्यो । फर्किएपछि ओशो उसलाई एकपटक प्रेमपूर्ण नजरले हेर्थे । त्यसपछि ऊ पनि ओशोसँगै बगैँचामा डुल्थ्यो । ओशो बगैँचाको एक छेउबाट अर्को छेउसम्म हिँड्थे । त्यो सर्प पनि फूलहरू भएतिरको झारहरूमा ओशोसँगै हिँड्थ्यो । जब ओशो फर्कन्थे, ऊ पनि फर्कन्थ्यो र ओशो त्यहाँ हिँडुन्जेल ऊ पनि सँगसँगै हिँड्थ्यो ।
अरुका लागि यो अनौठो कुरा थियो, तर ओशोका लागि यो अत्यन्तै सामान्य कुरा थियो । त्यो सर्पलाई कुनै प्रकारको हानि नगर्नु भनेर उनले सबैलाई निर्देशन दिएका थिए । प्रवचन र कार्यक्रममा सहभागी हुन ओशो विभिन्न सहर जानुपथ्र्यो, त्यस समयमा पनि त्यो सर्प ओशोलाई त्यहीँ आएर पर्खन्थ्यो र घाम अस्ताएपछि मात्र ऊ झाडीतिर फर्कन्थ्यो । ओशो त्यो घरमा बसुन्जेल यो घटना भइरह्यो ।
मैले आफ्नो जीवनभर महसुस गरेको छु कि सर्पहरू ऊर्जाप्रति संवेदनशील हुन्छन् र सम्बुद्ध व्यक्ति र आध्यात्मिक ऊर्जातर्फ आकर्षित रहन्छन् । जहाँ ध्यान हुन्छ, त्यहाँ वरपर मैले सर्पहरू आउने गरेको पाएको छु । तपोवनको मौसम सधैँ चिसो भए पनि, यो पहाडमा अवस्थित भए पनि यहाँ विभिन्न प्रकारका सर्प छन् र कहिलेकाहीँ म बस्ने घर वरपर, कहिले ध्यान हल त कहिले समाधिको क्षेत्रमा सर्प हिँडिरहेका देखिन्छन् । तीस वर्षदेखि हामी यहाँ बसिरहेका छौँ तर तिनीहरूले आजसम्म हामीलाई दुःख दिएका छैनन् र हामीले पनि उनीहरूलाई हानि पु¥याएका छैनौँ ।
१४ वर्षको उमेरमा ओशोले मृत्युको प्रयोग गरिरहेका थिए, किनकि एक प्रसिद्ध ज्योतिषीले उनको मृत्यु १४ वर्षमा हुने भविष्यवाणी गरेका थिए । प्रत्येक दिन उनी एउटा पुरानो शिव मन्दिरमा जान्थे र त्यहीँ मृत्यु कुरेर पल्टिरहन्थे । त्यहाँ पनि एउटा सर्प आउँथ्यो र मन्दिरको भुइँमा सुतेका बेला ओशोको शरीरमाथि चढेर घस्रिँदै अगाडि जान्थ्यो ।
जब ओशो आफ्नो तमसको निष्क्रिय कालमा थिए, सागर विश्वविद्यालयमा विद्यार्थी थिए, उनको होस्टेल एउटा पुरानो आर्मी ब्यारेकको भवनमा थियो । झाडी र रुखहरूले घेरिएको त्यो स्थानमा छ्यापछ्याप्ती सर्प थिए । ओशोले भनेका छन् कि त्यहाँ पनि एउटा सर्प आउँथ्यो र उनको खाटमुनि बस्दथ्यो । ती सर्पबारे ओशोले भन्थे, ‘मैले उनीहरूलाई बाधा पु¥याइनँ र उनीहरूले पनि मलाई बाधा पु¥याएनन् ।’
ओशो र उनको प्रिय रुख
ओशो र मदन कुँवर पारेखको पहिलो भेट सन् १९६० मा भेट भयो, महाराष्ट्रको उत्तरपूर्वी सहर वर्धामा भएको एक जैन महोत्सवमा । ओशोलाई त्यहाँ वक्ताका रूपमा बोलाइएको थियो । मदनले त्यहाँ आफ्ना केही कविता सुनाएकी थिइन् । अरु केही स्थानीय कविहरू पनि आएका थिए । ओशोले तुरुन्तै उनलाई आफ्नो पूर्वजन्म कि आमा भएको पहिचान गरे । मदनलाई पनि ओशोप्रति गहिरो प्रेम र आकर्षण महसुस भयो । आफ्नो पूर्वजन्ममा बिछोडिएको प्रिय पुत्रसँग पुनः मिलन गर्ने ठूलो अभिलाषा पूर्ण भएको अनुभूति भयो । उनीहरू एक–अर्कालाई आमा–छोराको रूपमै व्यवहार गर्थे । उनीहरूबिच धेरै प्रेमपूर्ण सम्बन्ध थियो ।
पछि मदनले संन्यास लिएर माँ आनन्दमयी बनिन् । ओशोले उनीसँग सयौँ पत्राचार गरेका छन् । जुन पछि दुईवटा पुस्तक ‘क्रान्ति बीज’ र ‘भावना के भोजपत्रो पर ओशो’मा समाविष्ट छन् ।
मदनलाई ओशोप्रति गहिरो प्रेम थियो र ओशोको कार्यवृद्धि गर्न उनलाई विभिन्न प्रकारका उपहार प्रदान गर्थे । जब पतिले मदनलाई कार किनेर दिए, त्यति बेला ओशो जागिरका लागि विश्वविद्यालय जान साइकलमा जान्थे, मदनले आफ्ना पतिसँग भनिन् कि ओशोले साइकल चढिरहँदा आफू भने कसरी कार चढ्नु ? त्यसैले उनले आग्रह गरिन् कि पहिले ओशोका लागि एउटा कार किनिदिनु र त्यसपछि मात्रै आफ्ना लागि । त्यस समय ओशोको तलब केवल ६ सय रुपैयाँ थियो, जुन स्कुटरका लागि पनि पर्याप्त थिएन । जब ओशो कार चढेर विश्वविद्यालय जान थाले, त्यसले उनीप्रति सबैको ध्यान आकृष्ट भयो र विशेष गरेर उनका वरिष्ठहरूमा ईष्र्या पनि पैदा ग¥यो, जो साइकल या स्कुटरमा विश्वविद्यालय आउँथे । ओशो विद्यार्थीमाझ चर्चित भएकाले उनीहरूले पहिलेदेखि नै ईष्र्या गरिरहेकै थिए । ओशोले नयाँ कार चढेर आउनु उनीहरूका लागि झनै असहनीय भयो ।
विश्वविद्यालयमा ओशोको एउटा प्रिय रुख थियो । त्यो अग्लो र फैलिएको शिरीषको रुखमुनि उनले आफ्नो साइकल पार्क गर्थे । विशाल छहारी प्रदान गर्ने त्यस रुखमा मौसममा सयौँ सुन्तले रङका फूल फुल्ने गर्थे ।
त्यस रुखसँग ओशोको विशेष सम्बन्ध थियो । प्रत्येक दिन विश्वविद्यालय आएपछि र फर्कने बेला उनी त्यसलाई अँगालो हालेर अभिवादन गर्थे । कार पनि उनले त्यही रुखमुनि पार्क गर्न थाले, जब कि क्याम्पसका अरु सबैले निश्चित पार्किङ स्थलमा पार्क गर्दथे । साइकल सानो हुने भएकाले त्यसलाई कसैले वास्ता गरेन, तर जब उनले त्यहाँ कार पार्किङ गर्न थाले, सबैलाई आफ्नो ईष्र्या अभिव्यक्त गर्न उपयुक्त बहाना मिल्यो । उनीहरूले उपकुलपतिसमक्ष गुनासो गरे । उपकुलपतिले ओशोलाई बोलाएर बगैँचामा पार्किङ नगर्न आग्रह गरे । उपकुलपतिलाई ओशोले भने, ‘वर्षौंदेखि त्यो रुखसँग मेरो आत्मीय सम्बन्ध छ र मलाई उसको मुनि पार्क गर्न खुसी लाग्छ । मैले त्यहाँ पार्क गरिनँ भने उसलाई पनि दुःख लाग्नेछ र म त्यो गर्न सक्दिनँ ।’
यस विषयले ठूलो विवाद सिर्जना ग¥यो । मानिसहरुले भन्न थाले– नियम सबैलाई बराबर हुनुपर्छ । नत्र हामीले पनि आफूलाई मनपरेको जुनसुकै ठाउँमा पार्किङ गर्छौं ।
उपकुलपतिले फेरि ओशोलाई पार्किङ स्थलमै पार्क गर्न आग्रह गरे । ओशोले उपकुलपतिलाई भने, ‘हेर्नुस् तपाईंले मेरो कुरा बुझिरहनुभएको छैन । मेरो त्यो रुखसँग आत्मीय सम्बन्ध छ । मैले त्यहाँ पार्किङ गरिनँ भने ऊ धेरै दुःखी हुनेछ र मलाई पनि नराम्रो लाग्नेछ ।’
संसार असंवेदनशील छ, यसले प्रेम र कोमलताको भाषा बुझ्छ भनेर अपेक्षा गर्नु हाम्रै भुल हो । आज यो कथा लेख्दै गर्दा कति पाठकले यी भावनाको गम्भीरता बुझ्नुहोला भन्ने प्रश्न मभित्र पनि उठेको छ ।
त्यहाँका मानिसले उपकुलपतिलाई दबाब दिइरहे । उपकुलपतिले पनि पार्किङस्थलमै पार्क गर्न ओशोलाई कडा निर्देशन दिए । ओशोले आफ्नो जीवनमा कहिल्यै सम्झौता गरेनन्, साहसिक निर्णय लिन पछि पनि हटेनन् । उनले उपकुलपतिलाई भने, ‘मलाई प्रेम अभिव्यक्त गर्न यति पनि स्वतन्त्रता मिल्दैन भने यस्ता मुढहरूले भरिएको ठाउँमा म काम गर्न सक्दिनँ ।’
अन्त्यमा उनले राजीनामा बुझाए । यो थाहा पाएर विद्यार्थीले आन्दोलन सुरु गरे, उनलाई फिर्ता नल्याइए विश्वविद्यालय चल्न नदिने घोषणा समेत गरे । ती दिनमा विभिन्न पत्रपत्रिकामा ओशोका लेख प्रकाशित हुन्थे । नवीन विचार र दृष्टिकोणका कारण उनी हिन्दी भाषीमाझ परिचित थिए, विद्यार्थी वर्गले पनि उनलाई धेरै रुचाएका थिए ।
यसरी विश्वविद्यालयभित्र हंगामा भयो र अन्ततः विश्वविद्यालय प्रशासनले घुँडा टेक्न बाध्य भयो । रुखमुनि पार्क गर्न नपाउन्जेल ओशो फर्कन चाहन्नथे । यस कुरामा उपकुलपतिले सबै प्रोफेसरलाई बोलाएर राजी गराए । उनले ओशोलाई पनि बोलाएर क्षमायाचना गरे । शिरीषको बोटमुनि कार पार्क गर्न दिने सर्तसहित ओशोलाई फर्काइयो ।
सन् १९६६ सम्म ओशो सम्पूर्ण भारतभरि प्रख्यात भइसकेका थिए । विश्वविद्यालयबाट राजीनामा दिएर सम्पूर्ण समय भाषण गर्न भनी मानिसहरूले ओशोले आग्रह गर्न थाले । मानिसहरुले यो पनि भने– विश्वविद्यालयको जागिरले तपाईंको अमूल्य समय नष्ट गरिरहेको छ । त्यति पैसा त हामी नै जुटाइदिन्छौँ ।
आर्थिक रूपमा आत्मनिर्भर रहन चाहेकाले विश्वविद्यालयको जागिर छाड्न सुरुमा ओशोले मानेनन् । सन् १९६६ मा अन्ततः उनले आफ्नो सात वर्षे प्राध्यापन जीवनबाट राजीनामा दिए ।
जब ओशोले विश्वविद्यालय छाडे, उनको बिदाइ कार्यक्रम आयोजन गरियो । उपकुलपतिसँग बिदा मागेपछि उनी हतारिँदै आफ्नो आफ्नो प्रिय रुखतर्र्फ गए र त्यसलाई अंकमाल गरेर रोए । सामान्य दृष्टिमा यो पागलपन लाग्छ तर यो एक सम्बुद्ध पुरुष र रुखबिचको शुद्ध प्रेम थियो, जसले उनलाई बुझेको र ग्रहण गरेको थियो ।
ओशोले पछि यो क्षणबारे बोलेका छन्, ‘मैले त्यस रुखलाई आलिङ्गन गरेँ र हामी केही क्षणसँगै बस्यौँ । उपकुलपति दौडँदै म भएको ठाउँमा आइपुगे र भने, ‘कृपया मलाई क्षमा गरिदिनुहोस् । मैले आजसम्म कसैले यति स्नेहपूर्वक एउटा रुखलाई आलिङ्गन गरेको देखेको छैन तर अहिले म देखिरहेको छु, कसरी सबैले पछुतो गरिरहेका छन् । मैले आजसम्म कसैले रुखलाई शुभ प्रभात भनेको वा बिदा मागेको देखेको थिइनँ तर तपाईंबाट मैले यो पाठ मात्रै सिकिनँ, यो कुरा मेरो मनभित्रै छिरेको छ ।’
ओशो जबलपुरमा रहुन्जेल कहिलेकाहीँ उनी त्यो रुखलाई भेट्न गइरहन्थे, तर जब उनको यात्रा धेरै हुन थाल्यो, उनले त्यो रुखलाई भेट्न पाएनन् । उनी चाँडै बम्बई जाँदै थिए, सायद त्यो कुरा रुखले थाहा पाइसकेको थियो । जुन रुख अनगिन्ती फूलहरूसहित फुल्थ्यो, त्यो ओइलाउन थाल्यो र फुल्न छाड्यो ।
दुई महिनापछि उपकुलपतिले ओशोलाई जानकारी गराए कि कसरी उनी गएपछि त्यो रुख निर्जीव बन्दै गयो । दुई महिनापछि उपकुलपतिले ओशोलाई फोन गरे, ‘यो दुःखको कुरा हो र आश्चर्यजनक पनि छ । जब तपाईंले छाडेर जानुभयो, त्यो तपाईंको रुखलाई केही भयो ।’
ओशोले सोधे, ‘के भयो र ?’
उनले भने, ‘त्यो मर्न थाल्यो । अहिले तपाईं आउनुभयो भने मरेको रुख मात्रै देख्नुहुन्छ, न फूल छ न त पात । त्यसलाई के भयो ? त्यही भएर मैले फोन गरेको ।’
यस रुखबारे ओशोले भनेको छन्, ‘अर्को दिन बिहानै, विश्वविद्यालयका कुनै पनि मूर्खहरू त्यहाँ पुग्नुअघि नै म त्यो रुखलाई हेर्न गएको थिएँ । साँच्चै नै फूल फुल्ने ऋतुको मध्यमा पनि त्यसका सबै फूल हराइसकेका थिए । फूलहरू मात्रै होइन, पातहरू पनि हराएका थिए । नाङ्गा हाँगाहरू मात्र बाँकी थिए, आकाशमुनि केवल उभिइरहेका । मैले फेरि त्यसलाई आलिङ्गन गरेँ र पाएँ कि त्यो मृत थियो । पहिले आलिङ्गनमा प्रत्युत्तर हुन्थ्यो भने अहिले कुनै प्रतिक्रिया गर्नलाई त्यहाँ कोही थिएन । रुख बिदा भइसकेको थियो, त्यहाँ उसको शरीर मात्रै उभिइरहेको थियो । सायद वर्षौं उभिइरहनेछ । सायद त्यो अझै उभिइरहेको छ, तर यो केवल मरेको काठ हो ।’
ओशो र एउटा कुकुर
ओशो बम्बई नजिकै रहेको पहाडी शिखर स्थल माथेरनमा ध्यान शिविर सञ्चालन गरिरहेका थिए । त्यहाँ उनीसँग एउटा कुकुर प्रेममा प¥यो र ओशो त्यहाँ बसेको तीन दिनसम्म उनलाई जताततै पछ्याइरह्यो । ऊ ओशोको निकट पुगी चुपचाप उनको प्रवचन सुन्दै उनको ऊर्जामा डुबिरहन्थ्यो । ओशो आराम गरिरहँदा ऊ बाहिर बरन्डामा पर्खिरहन्थ्यो । त्यो कुकुरले ओशोको सान्निध्यमा बस्ने अनौठो चाहना देखायो र जब ओशो बम्बई फर्के, ऊ पनि ओशोलाई बिदा गर्न आँखाभरि आँसु पारेर आयो ।
आफ्नो पुस्तक ‘अ बर्ड अन अ विङ’मा ओशोले यस घटनाको चर्चा गर्दै त्यो कुकुरको मुक्त हुने अभिलाषाको व्याख्या गरेका छन् ।
‘जनावरहरू आफ्नो चोलाबाट मुक्त हुन क्रन्दन गरिरहेका हुन्छन् । माथेरनमा क्याम्प रहेको स्थानदेखि म धेरै टाढा बसेको थिएँ । पहिलो साँझ, जब म आफ्नो बङ्गलोतर्फ जाँदै थिएँ, एउटा कुकुरले मलाई पछ्यायो । वास्तवमै त्यो दुर्लभ कुकुर थियो । त्यसले मलाई पछ्याउन छाडेन । दिनमा तीनपटक म क्याम्प सञ्चालन गर्न जान्थेँ । आधा घन्टाको यात्रा हुन्थ्यो । तीनपटक म सुत्थेँ, ऊ बरन्डामा कुथ्र्यो । म कतै बाहिर खानलाई निस्कँदा पनि उसले मलाई छाडेन । शिविरभरि उसको यही दिनचर्या थियो । ऊ मलाई शिविरसम्म पछ्याउँथ्यो र अरुले ध्यान गरिरहँदा ऊ अरुभन्दा ज्यादा शान्त भएर बस्थ्यो, शिविरार्थीभन्दा पनि गहिरो ध्यानमा । अनि ऊ मसँगै फर्कन्थ्यो ।
अन्तिम दिन जब मैले माथेरनबाट फर्कनलाई रेल चढेँ, उसले रेललाई नै पछ्यायो । ऊ रेलको छेउपट्टि दौडिरहेको थियो, गार्डलाई दया लागेर उसलाई भित्र छिराए । नेरलसम्म ऊ आएको थियो । रेल अत्यन्तै मन्द गतिमा चलिरहको थियो, खेलौनाजस्तै । माथेरनबाट नेरल सात माइल आउन दुई घन्टा लाग्यो, त्यसैले कुकुर हाम्रापछि आउन सक्थ्यो । तर नेरलबाट एक्सप्रेस रेल थियो । जब म नेरलबाट बम्बईको रेल चढेँ, सबैजना प्लाटफर्ममा उभिएर रोइरहेका थिए र त्यो कुकुर पनि आँखाभरि आँसु लिएर उभिइरहेको थियो ।’
‘यी रुख मेरा शिष्य हुन्’
ओशो सधैँ आफ्नो वरपरका बोटबिरुवाप्रति संवेदनशील हुन्थे । आश्रम परिसरभित्रका रुखलाई आफ्ना शिष्य भन्थे । उनी भन्थे कि कोरेगाँव पार्कका सबै रुखले मौनमा उनको शक्ति पिएका छन् । माँ योग मुक्ता ग्रिसकी अभिजात्य परिवारकी उत्तराधिकारी थिइन्, जसले ओशोलाई लाओ त्जु हाउस उपहार दिएकी थिइन्, उनी पुनामा ओशोको बगैँचामा काम गर्थिन् । सन् १९७४ को सुरुमा जब ओशो पुना सरे, उनी आश्रमका बोट–बिरुवा, फूलहरू काँटछाँट गर्थिन् । विशेषतः ओशो हिँड्ने बाटोमा उम्रेका झार–जङ्गल काट्थिन् ताकि ओशोलाई हिँड्न सजिलो होस् ।
एकपटक उनले आश्रमका केही बोटबिरुवा काँटछाँट गरेकी थिइन् । अर्को दिन बिहान ओशोले लक्ष्मीलाई बोलाएर सोधेरे, ‘के मुक्ताले बगैँचामा काँटछाँट गर्छिन् ?’
यही प्रश्न लक्ष्मीले मुक्तालाई बोलाएर सोधिन् । ‘हो, कहिलेकाहीँ म काँटछाँट गर्छु,’ मुक्ताले उत्तर दिइन् ।
‘हिजो राति सबै बोट–बिरुवा तिम्रो गुनासो गर्दै थिए, ती सबैलाई घाउचोट लागेका थिए । कसैको कान थिएन, कसैको खुट्टा, कसैको हात थिएन । तिनीहरू पनि सबै मेरा शिष्य हुन् । जब तिमीहरू तिनलाई दुव्र्यवहार गर्छौ, उनीहरू मसँग आएर गुनासो गर्छन् । तिमी काँटछाँट गर्छौ अनि रातभर उनीहरू मसँग गुनासो गर्छन् । मलाई त्यसरी मिलाएको बगैँचामा बस्न जरुरी छैन, मलाई जंगल नै ठीक लाग्छ,’ ओशोले भने, ‘अबदेखि कसैले बोटबिरुवा काँटछाँट नगर्नू, ती जंगलमा जस्तै घना भएर पलाऊन् ।’
सबैलाई ओशोले आश्रमको बगैँचालाई घना र प्राकृतिक राख्नका लागि निर्देशन दिए । जति ओशोले बोट–बिरुवालाई प्रेम गर्थे, उनीहरूले पनि उनको प्रेममा प्रतिक्रिया जनाउँथे । साथै उनीबाट पोषण पाउँथे । पुना आश्रममा सुरुदेखि नै महाराष्ट्रका एक सोझा मानिस मालीका रूपमा काम गर्थे । उनले मलाई भन्थे, ‘जब कुनै गमलाका कुनै बिरुवा राम्ररी हुर्किंदैनथे, वा तिनमा फूल फुल्दैनथे, मैले तिनलाई ओशोको बार्दली वा बरन्डामा लुकाएर राखिदिन्थेँ । जहाँ ओशो खाना खानुहुन्थ्यो, अथवा ओशोको कोठाको वरिपरि कतै राखिदिन्थेँ । त्यसो गर्दा केही दिनभित्रै ती फूल स्वस्थ हुँदै जान्थे र छिटै हुर्कन थाल्थे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एकताबारे प्रचण्डको उदासीनताप्रति विप्लवले पोखे असन्तुष्टि, नेसपामा अन्योल
-
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
-
माधवसँग भेट्दै बामदेव, छलफलपछि निर्णय लिने
-
वैशाखमा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव हुने
-
पुस १३ देखि पोखरा सडक महोत्सव
-
फाइनल प्रवेशका लागि भएको भिडन्तमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य