जग्गा नामसारी गर्ने व्यक्ति भारतमा, मुआब्जा रोक्काको पत्र फिर्ता

बुटवल । दुई महिना अगाडि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिको नाम दर्ता प्रकरणमा मुछिएका मुख्य व्यक्ति पर्वतराज कान्त मिश्र हाल सरकारी संयन्त्रको सम्पर्कमा छैनन् । जग्गा आफ्नो नाममा गराएका मिश्र भारतमा बसोबास गर्छन् ।
यता २०८० साल वैशाख ८ गते मालपोत कार्यालय रुपन्देहीबाट उनको नाममा जग्गा पास गराउने गिरोह नै अहिले उक्त प्रकरणलाई थामथुम पार्न सक्रिय रहेको छ । यतिसम्म कि गौतमबुद्ध विमानस्थल सुदृढीकरण कार्ययोजना कार्यान्वयन इकाईले मुआब्जा रोक्काको पत्र समेत बुझेको छैन ।
आफ्नो जग्गामा विमानस्थल निर्माण भएको भन्दै मुआब्जाको निवेदन दिएको नम्बरमा सम्पर्क नभएपछि प्रशासनले हुलाकबाट रोक्काको पत्र पठाएको थियो । तर उक्त पत्र पनि हुलाकबाट नै फिर्ता भएको गौतम बुद्ध विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘उनले निवेदनमा दिएको नम्बर सम्पर्क नभएपछि हुलाकबाट पत्राचार गरेका थियौँ, तर उक्त पत्र पनि फिर्ता आएको छ ।’
सिद्धार्थ नगरपालिका–१० का स्थानीय राजु चौधरीले जग्गा किनबेच हुँदा मिश्र कहिल्यै फिल्डमा नदेखेको बताए । उनी भारतबाट आएर होटेलमा एक दुई बसेर फेरि फर्किएको आफूहरूले थाहा पाएको उनको भनाई । उनले भने, ‘मिश्रलाई चिन्ने वा देख्ने मान्छे नै छैनन् । किनभने उनी यहाँ आउँदैनन्, भारतमै बस्छन् । यहाँ उनका दलालहरूले काम गर्छन् ।’
‘भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएको घटना बाहिर आएपछि विभिन्न निकायले छानबिन गरिरहेकाले उनी झन् आउने कुनै नै भएन,’ चौधरीले भने ।
गौतम बुद्ध विमानस्थलबाट मुआब्जाको रकम रोक्का गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने भएकोले जग्गा विवाद आउनसाथ जिल्ला मुआब्जा समितिको संयोजकको हैसियतमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो काम रोकेका थिए । उनले जग्गा नामसारी गर्दा नै विवाद देखिएकोले आफूले राज्य पैसा व्यक्तिलाई नदिने निर्णय गरेको बताए । त्यो बेला मालपोत कार्यालयले गरेको कामको विषयमा पनि केही बुझेर थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगाएको उनले रातोपाटीलाई जानकारी दिए ।
मिश्र भारतमा रहे पनि यहाँ मालपोत धाउनेदेखि अन्य काम अरू व्यक्तिहरूले गरिरहेका छन् । स्थानीयहरूका अनुसार जग्गा हेर्न जाने तथा मालपोत जाने काममा उनी कतै देखिएका छैनन् । केही पहाडी मूलका व्यक्तिहरूले यस्तो काम गरिरहेको स्थानीय राजु यादवको भनाई रहेको छ ।
उनले भने, ‘यहाँ सबै मधेसी मूलका छौँ । यता तिरका मानिस भएमा हामीले चिन्न सक्थ्यौँ होला । तर यहाँ स्याङ्जा, पाल्पा घर बताउनेहरू आउँथे । उनीहरूले नै मालपोतदेखि सबै सेटिङ मिलाएको हुनुपर्छ ।
मुआब्जाको रकम रोकिएपछि केही व्यक्तिहरूले मालपोत कार्यालयमा आएर मिश्रको तर्फबाट अदालती प्रक्रिया जाने बताएको मालपोत स्रोतले रातोपाटीलाई बतायो । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने उनीहरूले अदालत गएको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘यता अदालतबाट कुनै पत्र पनि आएको छैन ।’
मालपोत कार्यालय प्रमुख कुमार आचार्यले अहिले अख्तियारबाट छानबिन भइरहेको र अनुसन्धान टुङ्गोमा पुग्न बाँकी रहेको रातोपाटीलाई बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले पनि छानबिन जारी रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं उपसचिव भेषराज रिजालले अख्तियारले छानबिन गरिहरेकोले धेरै बोल्न नमिल्ने रातोपाटीलाई बताए ।
२०२१ सालमा भूमि सुधार ऐन लागु भएपछि ७ नम्बर फाँटबारीमा सुर्जा मिश्राइनले ३० बिघामध्ये फाँटवारीको अन्तिम महलमा हदबन्दीभन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिघा जग्गा कालिकाजी (भगवान्) लाई दान गरेकी थिइन् । जग्गाधनीले कालिकाजीलाई जग्गा दिएपछि स्थानीयले वर्षौँदेखि त्यहाँ पूजाआजा गर्दै आएका थिए ।
फिल्ड बुकमा कसैको पनि नाम उल्लेख नभएको उक्त जग्गामध्ये ४ बिघा १७ कट्ठा ६ धुर जग्गालाई मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र नायब सुब्बा अजित साहिनले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्रको नाममा दर्ता गराएको कागजी पत्रहरूले देखाउँछ । उक्त स्थानको जग्गाका लागि मुआब्जा माग गर्दै निवेदन परेपछि यो घटना बाहिर आएको थियो । मिश्रले आफ्ना नाममा रहेको जग्गामा विमानस्थल निर्माण भएको भन्दै मुआब्जाबापत करिब ९ करोड रकम दिनुपर्ने माग गरेका थिए । विमानस्थल विस्तारको काम २०७४ सालदेखि सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय