बाला चतुर्दशीमा किन छरिन्छ शतबीज ?
बाला चतुर्दशी हरेक वर्ष मङ्सिर कृष्ण चर्तुदशीका दिनमा पर्छ । सोहीअनुसार यो वर्ष मङ्सिर २५ गते सोमबार (मार्ग कृष्ण चतुर्दशी) मा परेको छ । तसर्थ आज (२४ गते) बेलुकादेखि नै पशुपति लगायतका धार्मिक स्थलमा भीडभाड हुन्छ । बाला चतुर्दशी किन भनियो र यसमा किन शतबीज (सप्तधान्य : धान, गहुँ, जौ, मास, मुगी, कागुन र तिल) छर्ने परम्परा रह्यो र कहिलेदेखि सुरु भयो भन्ने बारेमा दुईवटा किंवदन्ती रहेको पाइन्छ ।
पहिलो किंवदन्ति :
पहिला कुनै समयमा पशुपति आर्यघटको वरिपरि बाला नाम गरेको एउटा असुर थियो । त्यो असुरले आर्यघाटमा जलाउन ल्याइएका शवलाई खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गर्दोरहेछ । यसो भएपछि मृतकका आफन्तले त्यस समयका राजालाई उजुर गरेछन् ।
जनताको उजुरी सुनेपछि त्यहाँका राजाले आफ्नो सेनापति ब्रिसलाई बोलाएर बाला नामको असुरलाई मार्न निर्देशन दिए । ब्रिस चाहिँ बालाको साथी र राजाको सेनापति थियो । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसलाई धर्मसङ्कट परेछ । एकातिर राजाको आदेश, अर्कोतिर बाला आफ्नो साथी । यस्तो फसाद परेपछि यसको उपाय पत्ता लगाउन ब्रिसले श्लेष्मान्तक वन मृगस्थलीमा गएर शिवजीको तपस्या गरेछ ।
उसको तपस्याबाट शिव प्रसन्न हुनुभएछ । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई श्लेष्मान्तक वन मृगस्थलीमा शतबीज छर्न आदेश दिनुहुन्छ । यसरी भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई परिवर्तन गरिदिनुभएछ । यही दिनदेखि पशुपति मन्दिर र श्लेष्मान्तक वनको वरपर शतबीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।
दोस्रो किंवदन्ती :
पहिला कुनै समयमा कैलाशबाट भगवान् शिव श्लेष्मान्तक वनमा आई अत्यन्त आकर्षक मृगरूप धारण गरी बसेको वर्षांैवर्ष बितेको पत्तै भएन छ । माता पार्वतीलगायत समस्त देवीदेवतालाई ज्यादै पिर पारेछ । भोले बाबा कहाँ हुनुहुन्छ भनी दिव्यदृष्टिले हेर्दा त भगवान् शिवजी मृगरूप धारण गरी पशुपति क्षेत्रमा वन विहार गरी रहनुभएको देवी पार्वतीले थाहा पाउनुभयो । मृगरूप लिएर भगवान् शिवले श्लेष्मान्तक वन र मृगस्थलीमा घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिँड्नुभयो, बिहार गर्नुभयो ।
मृगरूपी शिवलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले विभिन्न किसिमको बीज छर्नु भएछ । केही हप्तापछि छरिएका बिउहरू उम्रिएर हरियो घाँस भएपछि हरियो घाँस देखेर मृग लेभिएर आउन थाले । आएका मृगमध्ये मृगरूपी भोले बाबालाई चिन्न माता पार्वतीलाई सजिलो भयो ।
यसरी शिवजी मृगरूप बिहार गरेको पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा मानिसलाई पुण्य प्राप्त हुने र पितृहरूको उद्धार हुने विश्वास रहेको छ । यस दिन त्यहाँ छरेको एक गेडा अन्न बराबर एक तोला सुन दान गरेको बराबर पुण्य मिल्ने धार्मिक विश्वास रहँदै आएको छ ।
यो लगातार तीन वर्षसम्म छर्ने र तीन वर्षमा चतुष्ठी होम गर्ने चलन नेपाली समाजमा अद्यावधिक रहँदै आएको छ । यसरी देवी पार्वतीद्वारा सुरुवात भएको शतबीज छर्ने प्रथा र शिवजीले ब्रिसलाई श्लेष्मान्तक वन मृगस्थलीमा शतबीज छर्न आदेश दिएको घटनाले हाम्रो सनातनी समाजमा कालान्तरसम्म जीवन्त संस्कृति बन्यो र युग युगसम्म कायम भइराखेको छ, रहिरहने छ ।
यी सबै कुरा शिवपुराण र स्कन्द पुराणको हिमवत्खण्डको नेपाल महात्म्य बयालिस अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा यस्तो कुरा उल्लेख गरिएको छ । यस दिन काठमाडौँको पशुपतिनाथ वरपर कैलाश, श्लेष्मान्तक वन, आसपासका किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, आर्यघाटको तटमा शतबीज छर्ने परम्परा हो । तर सबै मानिसलाई यहाँ आउन नसक्ने भएकाले त्यस ठाउँको स्मरण गर्दै पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मीको शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको त्रिवेणी धाम, देवघाट धाम, धनुषाको क्षीरेश्वरलगायत देशभरिका शिवालयमा पितृ सम्झनामा सप्तधान्य छर्ने तीर्थालुको घुइँचो नै लाग्ने गर्दछ ।
शतबीज छर्दा सप्तधान्यका साथमा विभिन्न प्रकारका फलफूलहरू पनि रहने गर्दछ । शतबीज छरिसकेपछि पितृका सम्झनामा अग्निस्थापना गरी होम गर्ने पनि चलन छ । यो सप्तधान्य पितृकार्यमा विशेष गरी अर्धदैहितिक् कार्यमा पनि प्रयोग गरिन्छ ।
यसै सन्दर्भमा हाम्रो समाजमा दुईथरी विश्वास बोकेका मानिसले शतबीज छर्ने प्रचलन छ । एकथरी अधिल्लो वर्षमा आफ्नो परिवारजनको स्वर्गारोहण हुनेले मात्र मृतात्माको स्मृतिमा शतबीज छर्दै चिर शान्तिको कामना गर्ने र अर्काथरी पुण्य कमाउने आशा गर्दछन् । यस सम्बन्धमा श्रीमद्भागवत गीतामा श्रीकृष्णले भनेका कुरा हाम्रो लोक सांस्कृतिक गाथामा एउटा भनाइ बनेको छ “स्वधर्मे निधनं श्रेयः परधर्मो भयावह” । यसको मूल तात्पर्य आफ्नो पुर्खाले गरेको परम्परालाई मान्दै जाऊ ।
सार्वजनिक रूपले शतबीज छर्ने अधिल्लो दिन अर्थात् मार्ग कृष्ण त्रयोदशीको दिन भगवान् पशुपतिनाथलाई भण्डारमा रहेका किम्मती गरगहना, सक्कली एकमुखे रूद्राक्ष, नागमणि जस्ता वस्तुहरू पहिर्याइन्छ । त्यसरी पहिर्याएका वस्तुहरू मार्ग कृष्ण औँसीको दिन भण्डारमा पुनः राखिन्छन् ।
पितामाता या पितामह या मातामह अर्थात् हजुरबुवा, हजुरआमा या सात पुस्ताभित्रका (दस भाइ) को जुठो बार्ने या बरखी बार्ने क्रममा सम्पन्न गर्नुपर्ने नियम पूरा गर्नमा कुनै त्रुटिभयो पो कि ? वा सकिएन कि ? भनेर यस दिन मात्र शतबीज छर्नाले पितृ दोषबाट मुक्तिपाउने जनविश्वास पनि रहेको पाइन्छ ।
शतबीज छर्न त्रयोदशीकै दिन राति जाग्राम बसेर चतुर्दशीको बिहान सबेरै महादीप वा दीप बालेर बागमती नदीमा वा अन्य नदी सरोवरमा सेलाइन्छ । व्रतालुहरूले तीन पटक नदीमा डुबुल्की मारेर स्नान गरेर पशुपतिनाथको पूजा गरी शतबीज छर्ने कार्य थालिन्छ ।
यस दिनभर नै शतबीज सरिन्छ । शतबीज छरिसकेपछि खीर, फलाहार, दही, च्यूरा, पुलाउ इत्यादी मिष्ठान्न पदार्थ भोजन गरी खैँजडी, मुजुरा, मादलका साथै शिवलीला, कृष्ण चरित्रसम्बन्धी भजन कीर्तन गाइने परम्परा पनि नेपाली समाजमा विद्यमान छ । केही व्रतालुहरूले अग्नि स्थापना गरी शतबीज छर्ने कार्यको होम पनि गर्ने गर्दछन् ।
बालाचर्तुदशीको दिन मध्यरातमा अन्तिम शतबीज छरिन्छ । जसलाई “कएन्या” भनिन्छ । यो कार्य सम्पन्न भएपछि त्यस वर्षको शतबीज छर्ने कार्य समाप्त हुन्छ । शतबीज छर्दै गर्दा निम्न मन्त्रोच्चारण गरिन्छ । “सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत्, मृगस्थली परिभ्रम्य पुनर्जन्म न विधते” भनी मन्त्र पढ्दै शतबीज छर्छन् । यसरी पृथ्वीलोकमा छरिएको शतबीज पितृहरूको लोकमा गएर अङ्कुरण हुने र यिनै बीजहरूका कारणले पितृ कहिल्यै भोकै बस्न नपर्ने र अन्य मानिसलाई पुण्य मिल्ने विश्वास रहेको पाइन्छ ।
जो कोही मानिस पुण्य प्राप्तिका लागि नदीदोभान वा त्रिवेणीमा गएर स्नान गरी महादीप प्रज्वलन गर्दछ भने देवताका लागि नदीकिनारमा नै राख्ने र पितृका लागि दीप प्रज्वलन गरिन्छ भने नदीमा बगाउने चलन रहेको पाइन्छ । यसरी बालेको बत्ती अविरल पानीको धारसँगै बगेको खण्डमा पितृले वैतर्णी तरेको र बत्ती सहज रूपमा नबगेको खण्डमा पितृले वैतर्णी तर्न नसकेको कहाबत पाइन्छ ।
यसरी दीप प्रज्वलन गर्न शिवालय या शक्तिपीठ नदी दोभानमा पुग्न नसकेको खण्डमा मृतात्माको सम्झनामा घरमै श्रद्धाका साथ बत्ती प्रज्वलन गरेर राख्ने पनि चलन छ ।
आफू आएर शतबीज छरेको कुरा गणेशलाई सुनाउने प्रसङ्ग :
बाला चतुर्दशीका दिन मृगस्थलीका गणेशजीले कान नसुन्ने रोचक प्रसङ्ग भएको पाइन्छ । आजको दिन पशुपतिको विश्वरूप मन्दिर छेउको गणेशजीकोे मूर्तिलाई कान नसुन्ने भगवानका रूपमा लिइन्छ ।
तसर्थ भक्तालुजनले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मूर्तिलाई आफ्नो कुरा सुनाउन खोज्ने चलन छ । जसले बालाचर्तुदर्शीका दिनआफू आएको र शतबीज छरेको कुरा सुनाउन सक्यो उसका पितृले थाहा पाउँछन् भन्ने किंवदन्ती पाइन्छ ।
यस क्षेत्रमा छरेको सप्तधान्य र फलफूल पितृले पाउँछन् भन्ने विश्वास रहेको पाइनछ । यी दुई प्रसङ्गले पशुपति र श्लेष्मान्तक वनमा मात्र शतबीज छर्ने कुरा जनाउँछ । तर सबैलाई त्यहाँ जाने मौका र समय नमिलेमा नजिकको शिव मन्दिर वरपर शतबीज छर्ने चलन भएको पाइन्छ ।
यस दिन बौद्धधर्मावलम्बीहरू पनि स्वयम्भूमा शतबीज छर्न आउने गर्छन् । पितृहरूको नाममा लामा, शेर्पा, तामाङ, गुरुङ आदि जनजातिहरूले पनि अन्न, फलफूल छर्ने गरको भन्ने उनीहरूको भनाइ छ । बौद्धधर्मका वज्राचार्य सम्प्रदायले सो दिनमा देवताहरूको पनि जात्रा हुने भन्ने धार्मिक विश्वास रहेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने