सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

हङकङमा आयोजित १०० किलोमिटरको ‘अल्ट्रा रेस’मा नेपालकी सुनमाया च्याम्पियन

रातको समयमा गरिएको दौड गर्दाको कठिन क्षण यसरी सम्झिन्छन्, सुनमाया
आइतबार, २४ मङ्सिर २०८०, १३ : २२
आइतबार, २४ मङ्सिर २०८०

सुर्खेत । हङकङमा आयोजित एकसय किलोमिटरको ‘अल्ट्रा रेस’ प्रतियोगिता नेपालकी अल्ट्रा धावक सुनमाया बुढा च्याम्पियन बनेकी छिन् । ९ तारिकमा भएको उक्त रेसमा सुनमायाले सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै कीर्तिमानी बनाएकी हुन् ।   ‘द नर्थफेस हन्ड्रेड अल्ट्रा ट्रेल’ च्यालेञ्जिङले आयोजना गरेको उक्त प्रतियोगितामा ३०० भन्दा बढी अल्ट्रा धावकहरु सहभागी भएका थिए ।

रातको समयमा भएपनि सुनमायाले उक्त प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल भइन् ।  द नर्थ फेस टिम एपिएबाट प्रतियोगितामा भाग लिएकी सुनमायाले १४ घण्टा ४० मिनेटमा उक्त रेस पुरा गरेकी हुन् । राति १० बजेबाट दौड सुरु गरेकी उनले बिहान ११ बजेतिर उक्त दौड पुरा गरेकी थिइन् । 

दोस्रो र तेस्रो स्थान चाइनिज अल्ट्रा धावकहरुले जितेका छन् । सुनमाया रातको समयमा ८ किलोमिटरको दुरी बिचमा हराएकी थिइन् । यद्यपि उनले त्योसहित जोडेर १०८ किलोमिटरको दौड पुरा गरिन् । यदि बिचमा बाटो नबिराएको भए उनले अझै पहिला नै दौड पार गर्न सक्थिन् ।  जुम्लामा जन्मिएकी सुनमायाले यसअघि ०७८ मा थाइल्याण्डमा आयोजित ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएर कीर्तिमान बनाएकी थिइन् । त्योबेला उनले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेट एक सेकेण्डमा पूरा गरेकी थिइन् । 

कम कठिन थिएन, रातको दौड
उसो त सुनमायाले थुप्रै प्रतियोगितामा भाग लिई कीर्तिमान बनाएकी छन् । यो पटकको रेस भने रातको थियो । ‘यसअघिका रेसहरु रात परेपनि निकै कम समयको हुन्थ्यो रे । तर, यो पटक दौड नै पुरै रातको समयमा सुरु भयो’ रातोपाटीसँग उनले त्यो बेलाको अनुभव सुनाउँदै भनिन्, ‘रातको समय भएर होला यो पटकको दौड निकै कठिन भयो । एलोभेजन निकै हाई थियो, नेपालमा त माटो हुन्छ, दौडन पनि सजिलो हुने, सफ्ट हुन्छ । तर, यहाँ त उकालो–ओरालो जताततै सिँढी मात्रै समथर भागमा पुरै पिच गरिएको थियो । माटोको ट्रेल त नाम नै थिएन ।’ 

अझ बिचमा बाटो बिराएपछि सुनमायालाई यो गेम जित्ने आशा मर्यो । ८ किलोमिटरको दुरी बाटो बिराउँदा आफु प्रथम हुन्छु भन्ने आशा मारेको उनले बताइन् । उनीसँगै दौडमा भाग लिएका एकजना नेपालीले पनि बाटो बिराएको स्मरण उनले सुनाइन् । ‘प्रतियोगिता जित्नु छ अझ बाटो बिराउँदा निकै आत्तिएँ,’ उनले भनिन्, ‘बाटो भेट्टाउने हो कि हैन भनेर निकै मन आत्तियो । फस्ट नभएपनि तेस्रोसम्म भइन्छ कि भन्ने लाग्थ्यो तर, फस्ट नै भएँ ।’ 

यो पटकको दौड विगतको भन्दा निकै भिन्न र कठिन रहेको उनले बताइन् । उनले अगाडि भनिन्, ‘मोबाइल फोन बोक्नुपर्ने, लाइटमा दौडनुपर्ने, सुरु गर्दा निकै गाह्रो थियो । कतिको खुट्टा नै प्यान्चर भयो । बत्ति मधुरो हुँदा बाटो नै नदेखिने स्थित थियो, दुइवटा लाइट बोकेर गएको थिएँ ।’   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप