महतो र झाको बहिष्कारबिच लोसपाको केन्द्रीय समितिको बैठक सुरु, तस्बिरहरु
काठमाडौँ । वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अनिल झाको बहिष्कारबिच लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक महतोले बहिष्कार गरेका हुन् ।
गत असोज ८ गते सो पार्टीको ३११ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक गरेपछि यो पहिलो बैठक हो । पदाधिकारीसहित सार्वजनिक केन्द्रीय समितिप्रति वरिष्ठ नेता महतो र झा असन्तुष्ट थिए । मधेस आन्दोलन तथा पार्टीमा योगदान दिएका थुप्रै नेताहरूलाई केन्द्रीय समितिमा नराखेको भन्दै नेता महतो र झाले असन्तुष्टि जनाउँदै आएका थिए । खास गरी महतो निकटका थुप्रै नेताहरू केन्द्रीय समितिमा परेका छैनन् । उनले बैठकमा सो विषयमा पनि कुरा उठाएका थिए ।
असोज १६ गते बसेको लोसपाको पदाधिकारी बैठकमा अध्यक्ष महन्थ ठाकुरले पदाधिकारी हेरफेर गर्ने, केन्द्रीय समितिमा मान्छे थप्ने, भएका त्रुटिहरू सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । ‘तर बैठक सकिएको दुई महिनाभन्दा बढी भइसकेको र ती मागप्रति कुनै सुनुवाइ नभएका कारण आफू बैठकमा नजाने निष्कर्षमा पुगेका नेता महतोले बताए । उनले भने, ‘त्यस्तो बैठकमा किन जाने जहाँ कुरा मात्र हुन्छ, एजेन्डा मात्र प्रस्तुत हुन्छ तर त्यो कार्यान्वयन हुँदैन छलफलका लागि मात्र बैठक बस्ने होइन, बैठकमा भएका निर्णयहरू कार्यान्वयन गर्ने हो तर त्यस्तो देखिएको छैन ।’
पदाधिकारी बैठकमा पार्टीका अध्यक्ष ठाकुर स्वयम्ले प्रतिबद्धता गरेका कुराहरू लागु नगरेका कारण बैठक बहिष्कार गरेको उनले बताए । २०७८ भदौमा गठन भएको लोसपामा लामो रस्साकसीपछि गत असोजमा बल्ल केन्द्रीय समितिले नाम सार्वजनिक गरेको थियो । पार्टी गठन भएको दुई वर्षपछि केन्द्रीय समितिको नाम सार्वजनिक भएको हो ।
२०७४ को चुनावमा प्रतिनिधिसभातर्फ १७ सिट ल्याएर तेस्रो शक्ति बनेको महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले २०७९ को चुनाव लोसपाबाट लडेको थियो । त्यसबेला सो पार्टीले थ्रेसहोल्ड पनि कटाउन सकेको थिएन । उनले चुनावअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनाएका थिए ।
तर त्यो पार्टी एक वर्षसम्म पनि टिक्न सकेन र विभाजन भएर लोसपा बन्यो । लोसपाले २०७९ मा भाग लिँदा प्रतिनिधि सभातर्फ ४ सिटमा सीमित भयो । मधेस प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा ३ सिट मात्र ल्याउन सकेको लोसपाले स्थानीय तहको चुनावमा चार पालिका प्रमुख मात्र जित्यो । जब कि २०७४ को स्थानीय चुनावमा २६ वटा पालिका प्रमुख जितेको थियो ।
लोसपामा नेता तथा कार्यकर्ता नभएको होइन । विभिन्न आन्दोलनलाई नेतृत्व गरेका, पटक पटक मन्त्री बनेका, सांसद बनेका नेताहरू लोसपामा छन् तर ती सबै निष्क्रिय छन् । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी अहिले श्रममन्त्री छन् । राजेन्द्र महतो र अनिल झा पार्टीका वरिष्ठ नेता हुन् । उनीहरू पनि निष्क्रिय भएर बसेका छन् ।
लोसपाको ३११ सदस्यीय केन्द्रीय समितिमा ६३ जना पदाधिकारी छन् तर अहिले सबैजना निष्क्रिय छन् । ६ जना वरिष्ठ उपाध्यक्ष र १५ जना उपाध्यक्ष छन् । त्यस्तै १६ जना महासचिव छन् । त्यस्तै आठ जना उपमहासचिव, ११ जना सचिव, एक जना प्रवक्ता र एक जना सह–कोषाध्यक्ष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपाली समाजमा उत्तरआधुनिकता बढी चर्चित वा पछिल्लो समयको एउटा मूल प्रवृत्ति बनेको छ’
-
भक्तपुरमा मनाइयो चिनियाँ नयाँ वर्ष, तस्बिरहरू
-
प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा मुख्य आरोपी सञ्जय रोय दोषी ठहर
-
इरानमा दुई न्यायाधीशको गोली हानी हत्या
-
ललितपुरमा कुकुरहरूको प्रतिस्पर्धा, तस्बिरहरू
-
मोहन बस्नेत ‘हप्ते सीआईडी’ : सरल सहयात्री