शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
खेलकुद

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद : चुनौतीसँगै अवसर पनि !

तोकिएकै समयमा प्रतियोगिताको तयारीमा जुट्न केन्द्रलाई कर्णालीको दबाब
आइतबार, २४ मङ्सिर २०८०, ०७ : ३२
आइतबार, २४ मङ्सिर २०८०

सुर्खेत । ०८१ मङ्सिर २–९ गतेसम्म कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद आयोजनाको विषयमा यावत् प्रश्न उठ्ने गरेका छन् । अहिलेसम्म केन्द्र सरकारले कुनै समन्वय, सहकार्य र बजेट नदिँदा आवश्यक भौतिक पूर्वाधार लगायत तथा व्यवस्थापनको विषयमा प्रदेश सरकार एक्लैले सक्ला त भन्ने खालका प्रश्न उठ्ने गरेका छन् । त्यति ठुलो प्रतियोगिता प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन एउटा रङ्गशालाले मात्रै धान्ने अवस्था रहँदैन । त्यसका लागि सङ्घीय सरकारले अन्य जिल्लाहरूमा खेल पूर्वाधार निर्माणका चासो नदिएको प्रदेश खेलकुद विकास परिषद्को भनाइ छ । 

०७९ असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न पश्चात् दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी कर्णालीले पाएको थियो । त्यसयता कर्णाली आन्तरिक तयारीमा जुटेको छ । जिम्मेवारी राष्ट्रिय खेलकुद विकास परिषद्को हो यद्यपि अहिलेसम्म परिषद्ले पनि खासै चासो नै दिइरहेको अवस्था छैन । यद्यपि यावत् समस्याका बिचमा तोकिएको मितिमै आयोजना गरिनुपर्ने दबाब कर्णालीले दिइरहेको छ । 

सङ्घीय सरकार, युवा तथा खेलकुद विकास मन्त्री डिग बहादुर लिम्बु बिहीबार सुर्खेत आई दुई दिन समग्र कर्णालीको खेलकुदको अवस्था बुझे । शुक्रवार दिनभर उनले प्रतियोगिताको तयारीको विषयमा छलफल नै चलाए । जसमा सरोकारवाला सबैको उपस्थिति थियो । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले सङ्घीय सरकारले खेल्नुपर्ने भूमिका अझै नपाइएको बताए ।  निर्माणाधीन प्रदेश रङ्गशालाको प्रगतिका बारेमा जानकारी दिँदै उनले अबको ६ महिना भित्र रङ्गशालाको काम सम्पन्न हुने दाबी गरे । जुन रङ्गशालामा दशौँ राष्ट्रिय प्रतियोगिताको उद्घाटन गरिने छ ।  साथै सङ्घीय सरकारले अन्य जिल्लामा आवश्यकता हेरेर खेल मैदानको निर्माण गरिदिनुपर्ने कुरा पनि उनले राखे । 

प्रतियोगितालाई सहज तरिकाले गर्नका लागि १ अर्ब बराबरको रकम तत्काल केन्द्र सरकारले दिनुपर्ने कुरा उनको थियो । उक्त रकम अन्य जिल्लामा खेलकुद प्रतियोगिताको लागि पूर्वाधार निर्माणमा खर्च गर्नुपर्छ । तर, केन्द्र सरकारले बजेट नदिएको खण्डमा प्रदेशमाथि थप चुनौती बढ्ने देखिन्छ । 

2 (1)

‘बजेटका लागि माननीय मन्त्रीज्यूले जतिसक्दो छिटो व्यवस्थापन गर्नु प¥यो, ‘सदस्य सचिव संज्यालले भने, ‘पुसभन्दा पछि बजेट आए पनि कार्यान्वयन गर्न कठिन हुने देखिन्छ ।’ पुस महिनापछि आएको बजेटले आवश्यक पूर्वाधार निर्माणको लक्ष्य नै भेट्टाउन मुस्किल हुन्छ । 

संज्यालका अनुसार प्रतियोगिता गर्नका लागि सबैभन्दा ठुलो समस्या भनेको जनशक्तिको अभाव हो ।  सबै केन्द्रबाट नै व्यवस्थापन गर्नुभन्दा त्यो कर्णालीकै शैलीमा समाधान गर्नु पर्ने तर्क उनको थियो । उदाहरणका लागि पोखरामा जस्तो होटेलको व्यवस्थापन कर्णालीमा छैन ।

प्रदेशका जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरूले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सबैभन्दा पहिला खेल पूर्वाधारमा लगानीको सुनिश्चितता गरिनुपर्ने तर्क राखेका छन् । 

‘कर्णालीमा आउने खेलाडी, अतिथिहरूले कर्णाली जादैछु भन्ने सबैभन्दा पहिला मानसिक रूपमा तयारी हुनुपर्छ,’ उनी भन्छन्, ‘कर्णालीका गाउँलाई होमस्टेमा विकास गर्न र त्यसको लागि स्थानीय बासिन्दालाई होमस्टे सम्बन्धी तालिम दिने नीति ल्याइनुपर्छ ।’ 

यो प्रतियोगिता कर्णालीमा पहिलो पटक हुन लागेको हो । त्यसैले कर्णालीका लागि एउटा अवसर पनि हो । यद्यपि यहाँको कमजोर भौतिक पूर्वाधारको अवस्था र व्यवस्थापनमा समस्या आउने खतरा उत्तिकै रहेको छ । 

प्रदेशका जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरूले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सबैभन्दा पहिला खेल पूर्वाधारमा लगानीको सुनिश्चितता गरिनुपर्ने तर्क राखेका छन् । 

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले प्रतियोगिता तोकिएकै मितिमा गरिनुपर्ने बताए । ‘कर्णालीमा हुनु भनेको कर्णालीमा आर्थिक समृद्धिको ढोका खोल्नु जत्तिकै हो,’ उनले भने, ‘ तर, यहाँको  भौगोलिक विकटता अनुसार यहाँको हवाई मार्गलाई नियमित बनाउनुपर्छ ।’ कर्णालीमा हवाई उडानको अवस्था पनि सहज छैन । 

त्यो अनुसारको कार्य तालिका अहिले देखिनै सङ्घीय सरकारले लागु गर्नतर्फ ध्यान दिनुपर्ने कँडेलको भनाइ छ । उनी भन्छन्, ‘कर्णालीमा आउने जो सुकैले कर्णालीका पर्यटकीय स्थलहरू हेर्न सजिलो र सहज तरिकाले पाऊँन् र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आउने खेलाडीहरूले चार्टर गर्नुपर्ने अवस्था नआओस् भन्नका लागि सरकारले यसलाई पहिलो प्राथमिकता दिनु पर्छ । प्रतियोगिताबाट कर्णालीको आर्थिक वृद्धिदर र सरकारको राजस्व बढ्ने सम्भावना छ ।’ 

सङ्घीय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले भने बजेट व्यवस्थापनको लागि आफूले आवश्यक समन्वय गर्ने आश्वास दिए । ‘केन्द्र सरकारले आवश्यक बजेट दिनुपर्छ नै,’ उनले भने, ‘म काठमाडौँ गइसकेपछि क्याबिनेटमा पनि कुरा उठाउँछु ।’

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले प्रतियोगिता सम्पन्न गर्न सङ्घीय सरकार र राखेपको ठुलो भूमिका रहनुपर्ने बताए । तयारीको लागि सङ्घीय सरकार र राखेपले सहजीकरणका लागि कार्यालय स्थापना गरेरै भए पनि अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ । 

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले स्वास्थ्य र शिक्षाको बजेट काटेर खेलकुदको तयारी थालिएको बताए । तर, केन्द्र सरकारले न बजेट दिएको छ न कुनै कार्यक्रममा कर्णालीको खेलकुद विकासको लागि योजना नै अघि सारेको छ । ‘प्रतियोगिता हुने भन्ने भएपछि कर्णालीमा उत्साह छाएको छ, यो उत्साहलाई खुसीमा बदल्नको लागि सङ्घीय सरकार र राखेपकको भूमिका महत्त्वपूर्ण हुनुपर्छ । सङ्घीय सरकारले छिटो भन्दा छिटो भन्दा काम गर्नुपर्छ ।’ 

सङ्घीय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले भने बजेट व्यवस्थापनको लागि आफूले आवश्यक समन्वय गर्ने आश्वास दिए । ‘केन्द्र सरकारले आवश्यक बजेट दिनुपर्छ नै,’ उनले भने, ‘म काठमाडौँ गइसकेपछि क्याबिनेटमा पनि कुरा उठाउँछु ।’ साथै राखेप र आफ्नोतर्फबाट अब मासिक रूपमा अनुगमन गरिने पनि उनले बताए । 

rangasalako anugaman gardai

चुतौतीका बिच आयोजना हुने नहुने शङ्का–उपशङ्का भइरहँदा मनी लिम्बुले भने तोकिएको मितिमै सम्पन्न गर्न सङ्घीय सरकार अग्रसर हुने र त्यसको लागि कुनै शङ्का नगर्न आग्रह गरे । लिम्बुले प्रतियोगिताको विषयमा शनिवार कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरूसँग पनि छुट्टै छलफल गरेका छन् । मुख्यमन्त्री राजकुमार शर्माले प्रतियोगितालाई भव्य र सभ्य बनाउन सहयोग गरिने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप