‘भूमिका लेखिदिनु भनेर खाममा पैसा हालेर ल्याउँछन्’
भूमिका लेखिदिनु भनेर खाममा पैसा हालेर ल्याउँछन्, भूमिका लेख्दा आफूले देखेको कुरा लेख्दा नराम्रो भयो भने भोलिदेखि बोलचाल बन्द हुन्छ । लेखेर पठाएको पनि नराम्रो जतिलाई काटेर राम्रो बनाएर छापिदिन्छन् । ‘यो कविता मलाई मन परेन’ भनेर लेखिदियो भने ‘अति राम्रो छ’ बनाएर छापिदिन्छन् । अनि मुद्दा गर्नु के के गर्नु ? यस्ता घटना उनीमाथि मात्र होइन अन्य धेरै साहित्यकार साथीमाथि भएको उनको अनुभव छ । भूमिका मात्र होइन, कुनै पनि किताबको समीक्षा ९० प्रतिशत झुट हुन्छन्, साँचो चाहिँ १, २ प्रतिशत हुन्छ भन्छन् साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा ।
उमेरले ८६ वर्ष पुगेका शर्मालाई भेट्न थापाथली, बानेश्वर, मध्यबानेश्वर, गौशालाको जाम छल्दै फोटोपत्रकार कृष्ण खड्का र पङ्क्तिकार मङ्सिर १३ गते उनको निवास गौरीघाटस्थित ‘अभिव्यक्ति परिसर’ पुग्यौँ । अभिव्यक्ति परिसरको गेटबाट भित्र बायाँतर्फको दोस्रो घरको माथिल्लो तलामा पुग्दा साहित्यकार देविका तिमल्सिनासँग उनी अभिव्यक्ति सम्पादनमै व्यस्त थिए । “बैठकतिर बस्दै गर्नुस्, म आइहाल्छु,” बुढ्यौली हाँसोसाथ उनले भने, “पत्रिका प्रेसमा पठाउने बेला भयो, त्यसैमा अल्झिएको छु ।”
तिमल्सिनालाई बिदा गरेर बैठक कोठामा प्रवेश गर्दैगर्दा दिनहरू कसरी बित्दैछन् भन्ने हाम्रो प्रश्न खस्न नपाउँदै उनले भने– “पत्तै नपाईकन ८५ वर्ष बिते, बिहान उठेर नित्यकर्म गर्छु, चियाखाजा खन्छु, घाम तप्दै बिहान बित्छ । साथीभाइहरूले किताब दिएका हुन्छन्, समय मिल्यो भने अध्ययन गर्छु, मन लाग्यो भने केही सिर्जना गर्नतर्फ लाग्छु ।”
साहित्यिक क्षेत्रका साथीभाइहरूले ८४ वर्ष लागेपछि ठुलो उत्सव मनाइदिए, त्यो उत्सवलाई उनले ‘फयरवेल’ ठानेका छन् । ऋषिमुनिहरूले पनि ८४ वर्ष पुगेपछि यस्तो ‘फेयरवेल’ गर्ने गरेको हाम्रा धार्मिक ग्रन्थहरूमा पनि उल्लेख भएको उदाहरण दिँदै यो बिदा त हो नि भन्छन् उनी । “नेवारहरूले ७७ वर्षमै जङ्को भनेर गर्छन्, बाँच्यो भने ८७ वर्षमा गर्छन्, बिदाइ पार्टी भनेर इष्टमित्र जम्मा भएर, खुवाएर पियाएर पूजा गर्छन्, त्यो गरेको भनेको बिदा गरेको हो,” उनले आफ्नो अवस्था सुनाए । यही सम्झेर उनले ८४ वर्ष पुगेपछि सबै व्यवहार छोड्ने भनेर घरायसी व्यवहार पनि छोराबुहारीलाई जिम्मा लगाए ।
अहिले उनलाई विभिन्न साहित्यिक कार्यक्रम भनेर हरेक दिन चार पाँचवटा कार्यक्रमको निमन्त्रणा आउँछ तर शारीरिक अवस्थाका कारण जाँदैनन् । “महाभारतको लडाइँ सकिएपछि एक दिन अर्जुनको रथ अचानक खरानी भयो, अर्जुनले यो के भएको भनेर कृष्णलाई सोधे, यत्रो युद्धमा भिष्म, कर्णले उहिल्यै ध्वस्त पारेका थिए, मेरो बलले पो थामेको थिएँ भन्ने प्रसङ्ग छ,” उनी भन्छन्, “मेरो शरीर त्यही रथ जस्तो भएको छ, कतिबेला ध्वस्त हुन्छ, अङ्गप्रत्यङ्ग दुख्ने, सड्किने भइरहन्छ ।”
पहिले जस्तो अहिले उनलाई सिर्जनातिर जोश आउँदैन, कहिलेकाहीँ मुड आउँछ, केही देखेपछि स्वाट्ट लेखी पनि हाल्छन् ।
बुढेसकालका यी रोगबाहेक उनलाई २० वर्षअघि हर्ट आट्याक भयो । एक महिना आईसीयूमा बसे । २०३७ सालमै सुगर देखियो, प्रेसर छ, नलागेका रोग केही छैन भन्छन् उनी । “डाक्टरकोमा गएको थाइराइडको औषधी पनि खा भन्छ, प्रोस्टेडको औषधी पनि खा भन्छ, सबै रोग भएरै त भनेको होला,” उनी भन्छन्, “सुगरको, प्रेसरको, मुटुको, रगत पातलो पार्ने कोलेस्ट्रोलको, थाइराइडको औषधी खान्छु, एक फाँको खान्छु ।” उनलाई ५८ सालदेखि डाक्टरले प्रेसरको औषधी खुवाउन थाले तर पोहर साल डेङ्गु भएर ओम अस्पतालमा भर्ना भएपछि नखान सुझाव दिए । अहिले प्रेसरको औषधी खान्न भन्छन् उनी ।
पहिले जस्तो अहिले उनलाई सिर्जनातिर जोश आउँदैन, कहिलेकाहीँ मुड आउँछ, केही देखेपछि स्वाट्ट लेखी पनि हाल्छन् । “सिर्जना माग्न आउनेलाई दिन छाडेँ, त्यस्ताले त रुवाएर छाड्छन् । किनभने नचाहिने कुरा लेख्न लगाउँछन्, उसको विषयमा,” शर्मा भन्छन्, ल मैले विशेषाङ्क निकाल्न लागेँ, त्यसको बारेमा लेखिदिनु पर्यो भन्छन्, कसैका बारेमा लेख्दा झुट लेख्नु पर्छ, त्यस्तो पटक्कै मन पर्दैन ।” झुर कविलाई महान् कवि भनेर लेख्नुपर्ने, आफूले देखेका सबै कुरा लेख्न नसकिने उनको अनुभवले बताउँछ । यसरी लेख्नु भनेको तारिफ गर्न लेख्नु मात्र हो ।
अहिले उनको लेख्ने कार्यमा अब कमी आएको छ । “एउटा पत्रिका चलाउँदै थिएँ, अब छोडेँ,” शर्मा भन्छन्, “दुई वर्ष भयो मैले अभिव्यक्ति चलाई देओस् भनेर कसैलाई जिम्मा लगाउन चाहेँ, बल्लबल्ल दुई जना साथीलाई जिम्मा लगाएको छु ।” उनले साहित्यकारद्वय पवन आलोक र देविका तिमल्सिनालाई सम्पादनको जिम्मा दिएका छन् । आफू हुँदै उक्त साहित्यिक पत्रिका स्मुथ्ली चलाएको हेर्न चाहन्छन् तर पनि अन्तिम समयमा सल्लाह लिन शर्माकहाँ आउने गरेका छन् ।
जन्म र शिक्षादीक्षा
नगेन्द्रराज शर्मा सुब्बा इन्द्रप्रसाद शर्मा घिमिरे माता पद्मादेवी घिमिरेको कोखबाट विसं १९९४ चैत्र २२ गते मन्थली, रामेछापमा माहिला छोराका रूपमा जन्मिएका हुन् । “जन्मिएका १३ भाइ, हुर्किएका १० जना, छ जना दिदी बहिनी चार जना दाजुभाइ, अहिले बाँकी पाँच जना छौँ,” उनी भन्छन्, “म माहिलो थिएँ, अहिले जेठो छु । दुई जना त मभन्दा अघि नै बिते ।”
शर्माले शिक्षादीक्षा घरनजिकै रहेको काले खत्रीको मटानबाट कखरा सिक्न सुरु गरेका थिए । “काले खत्रीको मटानमा पाठशाला जस्तो थियो, चनद्रप्रसाद ढुङ्गाना पण्डित थिए,” उनी भन्छन्, “उनले कति पढेको भन्ने चाहिँ मलाई थाहा छैन, कखरा चाहिँ सिकाए ।” शर्माले त्यहाँ लघुकौमुदीसम्म पढेका थिए ।
रामेछापमै व्रतबन्ध गरिसकेपछि उनका पिताले अङ्ग्रेजी पढ्नुपर्छ भनेर काठमाडौँ पठाएका थिए । “काठमाडौँ आएपछि डेरा लिएर बसेँ, पद्मोदयमा ४ क्लासमा भर्ना भएँ,” विगत सम्झँदै उनी भन्छन्, “पहिले डेरामै बसेँ, पछि २००२ सालतिर बा, काकाहरूले मैतीदेवीमा देवकोटाको नजिकै घर बनाउनुभयो, अनि घरमै सरेँ ।” मैतीदेवीमा अहिले जस्तो कङ्क्रिटका महल थिएनन्, खालि थियो २, ३ वटा मात्र घर भएको उनी सम्झन्छन् ।
मैतीदेवीमा शर्मालाई देवकोटसँग सङ्गत गर्ने मौका मिल्यो । देवकोटाले चिया, चुरोट, मासु किन्न जान उनलाई अह्राउँथे, उनी खुरु खुरु ल्याइदिन्थे । लट्ठी कासा, तेलकासा, चोरपुलिस जस्ता खेल देवकोटाका छोराछोरीसँग खेल्ने गरेको उनी सम्झन्छन् ।
उनका काकाहरू ग्य्राजुएट थिए । भरतराज मन्थलीयले त शास्त्री गरेका थिए । घरमा अलि अलि पढेपछि काकाका साथीहरू पद्मोदयमा शिक्षक थिए, उनीहरूसँग शर्माले ट्युसन पनि पढे । “रामजी भन्ने पद्मोदयका एक शिक्षकले मलाई कक्षा ४ मा भर्ना गरिदिए,” उनी फुर्किंदै सुनाउँछन्, “पद्मोदयबाटै २०१२ सालमा एसएलसी उत्तीर्ण गरेपछि आईए पढ्न दाजुसँग बनारसको अलाहवाद विश्वविद्यालय गएँ ।” बीए अध्ययनका लागि उनी बीएचयूमा भर्ना भए तर मैले पूरा गरेनन् । किनभने बिचमा नेपाल आउने काम पर्यो र आए, फिरेर गएनन् । उनले बीएको तेस्रो वर्ष उत्तीर्ण गरेका थिए तर चौथो वर्ष पढ्न नै नगएको बताउँछन् ।
शर्माका काकाहरू नै साहित्यकार भएकाले मैतीदेवीको घरमा बेलाबेला साहित्यिक जमघट हुने गथ्र्यो । उनका घरमा लक्ष्मीप्रसाद देवकोटा, सोमनाथ शर्मा, व्यास, कुलचन्द्र कोइराला, हरिहरनाथ रेग्मीलगायत भएर कविता सुन्ने सुनाउने गरेको सम्झन्छन् ।
काकाहरूको हात समाएर साहित्यिक गोष्ठीमा
बीसको दशकबाट उनी साहित्यमा प्रवेश गरेका भए पनि २००४ सालमा उनी सरस्वती सदन त्रिचन्द्रमा भएको कविगोष्ठी हेर्न गएका थिए । “राणा कालमा सरस्वती सदनमा ऐतिहासिक कविगोष्ठी भएको थियो,” उनी सम्झन्छन्, “किनभने त्यस्ता कविगोष्ठी हत्तपत्त हुँदैन थिए । मेरा काकाहरू हृदयराज शर्मा र भरतराज शर्मा मन्थलीय साहित्यकार थिए । काकाहरूको हात समाएर म त्यहाँ पुगेको थिएँ ।”
शर्माका काकाहरू नै साहित्यकार भएकाले मैतीदेवीको घरमा बेलाबेला साहित्यिक जमघट हुने गथ्र्यो । उनका घरमा लक्ष्मीप्रसाद देवकोटा, सोमनाथ शर्मा, व्यास, कुलचन्द्र कोइराला, हरिहरनाथ रेग्मीलगायत भएर कविता सुन्ने सुनाउने गरेको सम्झन्छन् । त्यो बेला उनी चिया ओसार्ने काम गर्थे, देवकोटाको घरको व्यस्थापन त्यति राम्रो नभएकाले शर्माकै घरमा यस्ता गोष्ठी हुने गथ्र्यो । त्यो परिवेशले उनलाई साहित्य सिर्जनाका लागि आधार तयार गरिदियो ।
उनको पहिलो रचना भने २०१५, १६ तिर बनारसमा प्रकाशित भएको थियो । “मेरो दाजु दिनेशराज शर्मा बनारसको बीएचयूमा बढ्नुहुन्थ्यो, पद्मोदयबाट एसएलसी उत्तीर्ण गरेपछि दाजुले यहीँ आइज भनेर उतै बोलाउनुभयो र अलाहवाद युनिभर्सिटीमा आईए पढ्न गएँ, पास भएँ, बीएचयूमा भर्ना भएँ ।” उनी प्रसन्न हुँदै सुनाउँछन्, “भरतमोहन, कमल कोइराला, विमल कोइराला सँगै पढ्थे, त्यही बेलामा विद्यार्थी युनियनको पत्रिका ‘छात्रवाणी’ वार्षिक पत्रिकामा मैले कविता पठाएँँ, प्रकाशित भयो ।” प्रकाशित कविता उत्कृष्ट भएकाले पुरस्कारसमेत उनले पाए । सो कविता पढेर पुरस्कृत गर्दा उनलाई धाप दिँदै शेषराज रेग्मीले राम्रो कविता लेख्दारहेछौ भनेको अहिले जस्तो लाग्छ ।
पछि २०२० सालदेखि भने उनलाई लेख्ने रहर अझ बढेर आयो । हेटौँडामा टिम्बर कार्पोरेसन अफ नेपालमा जागिर गर्दा रामपुरमा केदारमान व्यथितले कवि गोष्ठी गरेका थिए । सो गोष्ठी राजा महेन्द्रको उपस्थितिमा नारायणी नदीमा डुङ्गामा चढेर भएको थियो । शर्मालाई पनि निमन्त्रणा थियो, सहभागी भएका थिए । तर अवसर पाउँदा पनि उनी डरले राजासँग बोल्नै नसकेको सम्झन्छन् । त्यहाँ सहभागी भएर फर्किएपछि उनलाई लेख्नुपर्ने रहेछ भन्ने लागेर लेखनतिर आकृष्ट भएका थिए ।
“केदारमान व्यथितले पाँच छवटा महत्त्वपूर्ण साहित्यिक गोष्ठी गरे, गर्न त पञ्चायतका पक्षमा हो तर पनि अधिराज्यभरका साहित्यकारहरूलाई बोलाएका थिए ।” त्यो परिवेश सम्झँदै उनी भन्छन्, “पहिलो त काठमाडौँमा, दोस्रो रामपुरमा, तेस्रो विराटनगरमा, अनि झापा, धनगढीमा गरे, ती सबैमा मैले एटेन्ड गरेँ, धेरै साहित्यकारहरूसँग चिनजान पनि भयो ।” ती साहित्यिक गोष्ठीमा साहित्यकारहरूका लेख, रचना सुन्दा र पढ्दा उनलाई यत्तिको लेख्न त आफूले पनि सक्छु भन्ने उनमा आँट आयो । अनि लेखनतिर आकृष्टि भए ।
उपन्यासको पाडुलिपि बोकेर रत्न पुस्तकतिर
टिम्बर अफ कर्पोरेसन काठमाडौँबाट हेटौँडा सरुवा भएपछि उनका पिताले जागिर छोड्न दबाब दिए । अनि उनी जनकपुर घरमै गएर बसे । जनकपुर बस्दा उनले दुईवटा उपन्यास लेखेका थिए । लेखियो राखियो, इन्फेरिओरिटी कम्प्लेक्स थियो, कसैलाई देखाउन पनि डर लाग्थ्यो उनी भन्छन् । जब उनका भाइ जगदीश घिमिरेले आफ्नो पुस्तक छापिएको समाचार सुनाए अनि शर्माले पनि छाप्न आँट गरे र छापियो । ‘दाजु मैले रत्नपुस्तकमा देखाएँ, छापिदिन्छु भन्यो तीन सय रुपियाँ पनि दियो भनेर जगदीशले सुनाएपछि म पाण्डुलिपि बोकेर रत्न पुस्तक भण्डार पुगेँ” उनी सम्झन्छन् ।
रत्न पुस्तकका रत्नबहादुर साहुले शर्मालाई अन्तरर्वार्ता जस्तो लिए अनि पाण्डुलिपि हेर्छौं, अर्को हप्ता आउनु भनेर पठाए । अर्को हप्ता जाँदा त रत्नपुस्तकका माधवलाल कर्माचार्यले आफ्नो पाण्डुलिपि रातै पारेर करेक्सन गरेको देखे, उनी छक्क परे । नेवारको छोरो नेपालीमा आफूभन्दा जान्ने रहेछ भन्ने उनलाई लाग्यो । तर माधवलाल कर्माचार्यले जस्ताको तस्तै छाप्दा लेखक पनि जेल जानुपर्ने र रत्न पुस्तक पनि बन्द गर्नु पर्ने हुन्छ, अलिकति संशोधन गरे छाप्नुपर्छ भनेर भनेर सुझाव दिए ।
त्यसको कारण उनको उपन्यासमा एउटा पात्र श्यामविक्रम शाह भन्ने रहेछ । त्यसले शाही परिवारलाई प्रतिनिधित्व गर्ने भएकाले शाहको सट्टा अन्य कुनै थर राख्न रत्नले आग्रह गरेका रहेछन् । त्यो संशोधनका लागि शर्मा मञ्जुर भएपछि उनको पहिलो कृतिका रूपमा उपन्यास छापियो । त्यसबापत उनले पाँच सय रुपियाँसमेत पाए । त्यसपछि उनले अर्को उपन्यास पनि त्यहीँ लगेर दिए । दोस्रो उपन्यास पनि रत्न पुस्तकले नै प्रकाशन गरिदियो । महापुरुष, दिवास्वप्न दुईवटै उपन्यास २०२७,२८ सालतिर छापिएका थिए ।
शर्माले ‘अभिव्यक्ति’ प्रकाशन गर्दासम्म पत्रिकाको खडेरी जस्तै अवस्था थियो । भानु, रचना र रूपरेखा जस्ता केही साहित्यिक पत्रिका मात्र प्रकाशन हुन्थे ।
उपन्यास मात्र होइन उनी कथा विधामा पनि पोख्त छन् । उनले ‘दसैँ’ शीर्षको पहिलो कथा लेखेका थिए । त्यो कथा कवि वासुशशीले प्रकाशन गर्ने सञ्चय भन्ने पत्रिकामा प्रकाशित भएको थियो । उनका पीपलको बोटमुनि, एकान्तका आफन्तहरू दुईवटा कथा सङ्ग्रह प्रकाशित छन् । यसका अतिरिक्त विभिन्न पत्रपत्रिकामा अनेकौँ कथा, कविता, लेख, निबन्ध तथा अन्तर्वार्ता प्रकाशित छन् ।
अरू बन्द हुँदा ‘अभिव्यक्ति’ प्रकाशन गर्ने साहस
२०१७ सालमा राजाले एक दलीय व्यवस्था सुरु गरेपछि नेपालका धेरै पत्रिकाहरू बन्द भए । त्यतिबेला दर्ता नगरी समसामयिक सङ्कलन भनेर एक किसिमका पत्रिकाहरू निस्किन्थे तिनलाई सरकारले पूरै रोक लगाएको थियो । दर्ता भएका पत्रिकाका छापिने म्याटर पनि अञ्चलाधीशबाट पास गर्नुपर्ने हुन्थ्यो । अञ्चलाधीशले सरसरर्ती हेर्दा आपत्तिजनक नभएको हुनाले बजारमा पठाउन स्वीकृति दिइएको छ भनेर लिथो कागज दिएपछि मात्र छाप्न पाइन्थ्यो तर त्यो साह्रै जटिल कार्य हुन पुग्यो भन्छन् शर्मा । त्यस क्रममा पास हुन धेरै दिन लाग्ने, कैयौँ लेखरचना झिक्नुपर्ने, कालो पोत्न लगाउने जस्ता झन्झटले दर्ता भएका पत्रिका पनि बन्द हुन पुगेका थिए ।
पञ्चायती शासनले जनताका अभिव्यक्ति स्वतन्त्रतालाई मात्र निषेध गरेन सिर्जनात्मक अभिव्यक्तिलाई पनि नियन्त्रण गरेको थियो । शर्माले ‘अभिव्यक्ति’ प्रकाशन गर्दासम्म पत्रिकाको खडेरी जस्तै अवस्था थियो । भानु, रचना र रूपरेखा जस्ता केही साहित्यिक पत्रिका मात्र प्रकाशन हुन्थे । “यी पत्रिकामा मैले एउटा रचना छपाएँ भने रमाउने म मात्र हुन्थेँ” उनी भन्छन्, “तर मैले एउटा पत्रिका प्रकाशन गर्दा ३०, ३५ जना रमाउँछन् र मलाई कृतज्ञता ज्ञापन गर्छन् भन्ने सम्झिएँ ।”
त्यो बेला भैरव अर्यालको डेरा पनि रोचक घिमिरेकै घरमा थियो । शर्मा, भैरव अर्याल, रोचनक घिमिरे, जगदीश घिमिरे रोचककै घरमा बस्ने, तास खेल्ने गर्दथे । त्यही क्रममा उनले अहिले पत्रिकाको खडेरी परेको छ, म पनि पत्रका निकालौँ कि क्यो भनेर सुनाए । तर उनीहरूले दर्तै गर्न सक्दैनस्, कुरै नगर भनेर डर देखाए । तर शर्माले ‘धनमणि बनारस पढ्दाको मेरो साथी हो, उसलाई भनेर आजै दर्ता गर्न सक्छु’ खुब सहासका साथ जवाफ दिए । यो सुनेपछि उनका साथीहरूले एकै स्वरमा ‘तुरुन्तै आजै दर्ता लिई, तैँले नसके हामी चलाउँछौँ’ भनेछन् ।
त्यतिबेला धनमणि आचार्यका बुवा विष्णुमणि मुख्य अञ्चलाधीश तथा बागमती अञ्चलका अञ्चलाधीश थिए । उनी पनि शर्माको घरनजिक चाबेलमै बस्थे । “उनसँग गएर पत्रिका दर्ता गर्नुपर्यो, बुवालाई भनिदिनु पर्यो भनेको, अर्को कोठामा उनका बुवाले सुनिरहेका रहेछन्, तिमीलाई काङ्ग्रेसले उचाल्यो कि क्या हो भने ?” त्यो बेलाको दर्ता गर्नुपर्ने अनिवार्य परिस्थिति सम्झँदै शर्मा भन्छन्, “त्यति बेला विष्णुमणि राजाका एक्का नै थिए, उनले जे चाह्यो त्यही हुन्थ्यो ।” अञ्चलाधीशले शर्मालाई पञ्चायत र राजका पक्षमा लेख्नु, कांग्रेसका पक्षमा लेख्ने होइन भनेर सचेत पनि गराएका थिए । वीरबहादुर शाही त्यतिबेला बागमती अञ्चलका सहायक अञ्चलाधीश थिए, उनलाई फोन गरिदिए । सहायक अञ्चलाधीशले शर्मालाई केरकार गरी एक जना सहायक कर्मचारी चन्द्रबहादुरलाई सबै कुरा मिलाई ‘अभिव्यक्ति’ दर्ता गर्ने व्यवस्था मिलाइदिन अह्राएको उनी सम्झन्छन् ।
“ती चन्द्रबहादुरले पत्रिकाको सम्पूर्ण काम सक्नु र प्रकाशनका लागि पठाउने बेला भएपछि एक हप्ता अगाडि आउनुस् भनेर सल्लाह दिए,” अनि पत्रिकाको तयारीबारे जानकारी दिँदै शर्मा भन्छन्, “रोचक, जगदीश, भैरव मिलेर सामग्री सङ्कनका लागि त्यो बेलाका नाम चलेका लेखक तथा साहित्यकारको लिस्ट बनाए ।” उनले भीमनिधि तिवारी, केदारमान व्यथित, मोहन कोइराला, शङ्कर लामिछाने, पारिजात, भूपि शेरचनकहाँ गएर सिर्जना मागे । रचना सङ्कलन गर्ने काम शर्माले गरे भने प्रेसको सबै काम उनका साथीहरूले गरे ।
अभिव्यक्तिको पहिलो अङ्कमा मोहन कोइरालाबाहेक सबै स्थापित साहित्यकारहरूका रचना छापिएपछि निकै महत्त्वपूर्ण बन्यो । त्यतिबेला केदारमान व्यथित मन्त्री थिए ।
त्यतिबेला रोचक घिमिरेको घरमै ‘व्यास प्रेस’ थियो, उनका पिता सोमनाथ व्यास पण्डितले स्थापना गरेको । त्यो पत्रिका प्रकाशनका लागि सिर्जना खोज्दै हिँडे । त्यसबेलाका चर्चित साहित्यकारहरू पारिजात, मोहन कोइराला, भीमनिधि तिवारी, भूपि शेरचन, शङ्कर लामिछानेका घरघर उनी साइकल चढेर रचना माग्दै दौडन थाले । जोजोसँग रचना मागे, प्रयः सबैले दिए । प्रिप्रेस र प्रेसको सबैजसो काम रोचकले नै गरिदिएको उनी सम्झन्छन् । त्यसैले आफ्ना भाइ, भतिजालाई साहित्यिक पत्रकारिकाताका गुरु मान्छन् शर्मा ।
अभिव्यक्तिको पहिलो अङ्कमा मोहन कोइरालाबाहेक सबै स्थापित साहित्यकारहरूका रचना छापिएपछि निकै महत्त्वपूर्ण बन्यो । त्यतिबेला केदारमान व्यथित मन्त्री थिए । उनले समय समयमा राष्ट्रव्यापी सेमिनारहरू गर्दथे । झापामा भएको सेमिनारमा शर्मा अभिव्यक्तिका ती प्रतिहरू बोकेर गएको उनी सम्झन्छन् । “त्यहाँ त नेपाली भाषा बोल्ने नेपालभरिका र विदेश दार्जिलिङ, देहरादुनबाट मानिसहरू आएका थिए, सबैलाई उपलब्ध गराएँ,” उनी सम्झन्छन्, “यति व्यापक भयो कि छाप्न नसक्ने गरी लेख रचनाहरू हुलाकमार्फ आउन थाले ।” उनी त्यो सेमिनरमा अञ्चलाधीशले छानेका साहित्यकारहरू मात्र आए पनि विशेष थिए भन्छन् ।
सर्जकहरूले पठाएका तर छाप्न नसकेका रचना अझै पनि उनीसँग छन् । अलि अलि लुकीचोरी सरकारविरोधी रचनाहरू पनि आउँथे, म पनि सरकारविरोधी छाप्दिनथेँ, थेरै घोचपेच चाहिँ छाप्थेँ, मलाई केही गरेनन्”, उनी भन्छन्, “उग्र विरोधीहरूले भनेजस्तो तर्साउने पञ्चायतकाल थिएन, मन्त्रीलाई घुस्याहा भनेर लेखेको छापेको छु !” सीधै राजा र व्यवस्थालाई गाली गरेको चाहिँ पञ्चायतलाई पच्दैन थियो भन्छन् उनी ।
यसको नाम अभिव्यक्ति नै किन राख्नुभयो भन्ने प्रश्नमा शर्माले भन्छन्– दर्ता गर्ने सिलसिलामा नाम, पृष्ठ, सङ्ख्या उल्लेख गर्र्नुपर्छ भनेर चन्द्रबहादुरले भनेपछि मैले नेपाली शब्दकोश, संस्कृत शब्दकोश सबै पल्टाएँ, रातभरि छटपटाएँ, उठेर अनेक नाम लेखेँ तीमध्ये अभिव्यक्ति नै मन पर्यो अनि राखेँ ।
यसको प्रकाशन गर्नका लागि चाहिने खर्च उठाउन कहाँ कहाँबाट विज्ञापन माग्ने भनेर रोचक घिमिरे र भैरव अर्यालले नै लिस्ट बनाएर शर्मालाई दिएका थिए । एनसीसीएन भन्ने निर्माण कम्पनी, यातायात संस्थान, इँटा टायल कारखाना, नेसनल ट्रेडिङ, जनकपुर चुरोट कारखाना, गुठी जीर्णोद्धार लगायतका संस्थाले ५०, ६०, १०० रुपियाँसम्मका विज्ञापन माग्न गएपछि उपलब्ध गराएको उनी सम्झन्छन् । “सय रुपियाँका कसै कसैले मात्र दिन्थे, नत्र ५०, ६० रुपियाँको,” उनी भन्छन्, “साइकल चढेर गएर दरखास्त दियो, कसैले यसपालि छैन भन्थे, कसैले अलिअलि दिन्थे । नपुगेको सय रुपियाँ आफैँले हाल्थेँ ।” आफैँ अफिस अफिस धाएर दुःख नसम्झी विज्ञापन सङ्कलन पनि गरे । प्रकाशनकै क्रममा उनलाई त्यस्तो कुनै कठिनाइ नभएको बताउँछन् । किनभने उनको आफ्नो रहरले प्रकाशन थालेका र आर्थिक रूपमा पनि कमजोर नभएका उनलाई खर्चको समस्या परेन ।
सम्पादक व्यक्तित्वमै वाहवाही
अभिव्यक्ति प्रकाशन भएपछि शर्मा चर्चित भए । धेरैले उनलाई लेखकभन्दा सम्पादकका रूपमा सम्बोधन गर्न थाले । “नजानिँदो तरिकाले मेरो लेखक व्यक्तित्वलाई सम्पादक व्यक्तित्वले छोप्दै गयो,” उनी भन्छन्, “त्यसपछि सम्पादक व्यक्तित्वमै वाहवाही पाउन थालेँ, त्यसैमा रमाउन थालेँ ।”
अभिव्यक्तिले कतिलाई साहित्यकार बनायो भन्ने तथ्याङ्क लेखक स्वयंले बताउँदा मात्र थाहा हुने उनी बताउँछन् । तर १०, ८ जनाको नाम भने उनलाई याद छ । ज्ञानुवाकर पौडेलको पहिलो कविता २०३५ मा उनले नै छापेका थिए । त्यो कवि पौडेलले नै भनेर उनलाई थाहा भएको हो । “कोही कोहीले त अभिव्यक्तिमा मात्रै निरन्तर छापेर विते, जस्तो शरदचन्द्र शाह,” उनी भन्छन्, “उनले धेरैले लेखेका छन्, ती साहित्यिक रचना चाहिँ अभिव्यक्तिमा मात्र छापेका छन् ।” नृपेन्द्रसिंह केसी, श्यामप्रसाद उपाध्याय ज्योती जङ्गललगायतले अभिव्यक्तिमा मात्रै छापेका छन् । तर कतिपय चाकडीबाजहरूले अभिव्यक्तिमा छापेका कविता साभार पनि नभनी अन्य पत्रिकामा छापेकोमा भने उनले आक्रोश व्यक्त गरे । अहिले अभिव्यक्तिको २२२ औँ अङ्क प्रकाशन भइसकेको छ ।
उनको एउटा अन्तर्वार्ता सुनेर एक शुभेक्षुक पाठक जीवा लामिछानेले यसलाई निरन्तरता दिन एउटा फन्ड स्थापना गर्न आग्रह पनि गरे । उनले आफ्ना शुभेच्छुक साहित्यकारहरू वसन्त चौधरी, कमलमणिलगायतको नाम पनि सम्झिए अनि ५, ७ लाख रुपियाँ उठाउन सक्छु कि भन्ने आँट उनमा आयो ।
अभिव्यक्तिले निरन्तरता पाओस् भन्ने आकाङ्क्षा
सुरुमा द्वैमासिकका रूपमा प्रकाशित यो पत्रिका जुन साइजमा, जसरी प्रकाशन हुन्थ्यो अहिले पनि त्यस्तै रूपमा प्रकाशित हुँदै आएको छ । आफूले प्रकाशन गरेको पत्रिका शेषपछि पनि प्रकाशित होओस् भन्ने उनको चाहना छ । २०२७ देखि हालसम्म निरन्तर प्रकाशित भएको छ । तर बिचमा उनी नेपालमा नरहँदा प्रकाशित हुन नसकेको हो पनि भन्छन् । “२०३२ सालतिर मलाई सेडाले अमेरिका पठाइदियो, म गएपछि बन्द भयो,” उनी सम्झन्छन्, “अमेरिकाबाट आएपछि २०३४ सालदेखि निरन्तर प्रकाशन गरेँ ।”
उनको एउटा अन्तर्वार्ता सुनेर एक शुभेक्षुक पाठक जीवा लामिछानेले यसलाई निरन्तरता दिन एउटा फन्ड स्थापना गर्न आग्रह पनि गरे । उनले आफ्ना शुभेच्छुक साहित्यकारहरू वसन्त चौधरी, कमलमणिलगायतको नाम पनि सम्झिए अनि ५, ७ लाख रुपियाँ उठाउन सक्छु कि भन्ने आँट उनमा आयो । करिब १५, २० लाख रुपियाँ सङ्कलन गर्न सकिए त्यसको व्याजबाट अभिव्यक्ति निरन्तर प्रकाशन गर्न सकिने रहेछ भन्ने उनलाई लाग्यो । “मैले तपाईंले दिएको एक लाखमाथि मेरो एक लाख थपेर दुई लाखको खाता खोलेँ, कति सहयोग गर्न सक्नुहुन्छ गर्नुस् भनेर खाता नम्बर पठाएँ,” शर्मा भन्छन्, “जीवा लमिछानेले दुई तीन लाख रुपियाँ थप पठाइदिए, तर जसले लाख लाख सहयोग गर्लान् भनेको उनीहरूले थाहा पाएको नपाई गरे ।” त्यसपछि पनि सहयोगको जानकारी शर्माले अभिव्यक्तिकै सम्पादकीयमार्फत प्रसारण गरे तर प्रत्यक्ष सहयोग गर भनेर कसैलाई भनेन् ।
आफ्ना नजिकका साथीहरूले पनि अत्यन्त न्यून सहयोग गर्ने आश्वासन दिए । “मैले पाँच हजार घटी लिन्न भने,” उनी भन्छन्, “कसैले १० हजार, कसैले २५ हजार सहयोग गरे, भाइ जगदीश बिरामी भए पनि लाख रुपियाँ दियो ।” यसरी अभिव्यक्ति निरन्तर प्रकाशनका लागि करिब १२ लाख रुपियाँ सङ्कलन गरे । केही वर्ष यसैको व्याजबाट उनले अभिव्यक्ति प्रकाशन पनि गरे । तर सहकारीले त्यसको व्याज दिन छोड्यो । एक दुई वर्षदेखि सहकारीले व्याज दिएको छैन, दिन्न भनेको पनि छैन, मेरै खल्तीबाट खर्र्च गरिरहेको छु भन्छन् शर्मा ।
“अहिले यो पत्रिका प्रकाशन गर्न करिब ३०, ३५ हजार लाग्छ,” उनी भन्छन्, “२० हजार जति विज्ञापन आउँछ । ४, ५ हजार अपुग हुन्छ, त्यो म आफैँ हाल्छु । सहकारीले त्यो पैसा खायो भने चन्दा उठाएको त्यो १२ लाख रुपियाँ म शोधभर्ना हालिदिन्छु ।” त्यही १२ लाखको अक्षयकोषबाट अभिव्यक्तिले निरन्तरता पाउने विश्वासमा उनी छन् ।
करिब दुई वर्षअघि ८४ वर्ष पुगेपछि अभिव्यक्ति प्रकाशनको जिम्मा उनले विश्वासिला व्यक्तिलाई हस्तान्तरण गर्न खोजे । अनि पवन आलोक र देविका तिमिल्सिनालाई सम्पादन र प्रकाशनको जिम्मा दिएका छन् । आर्थिक हिसाबकिताब चाहिँ शर्मा आफैँले गर्दै आएका छन् । उनले आफ्नो जीवनकालमै स्मुथ्ली चलेको हेर्न चाहे पनि अभिव्यक्तिको फाइनल कपी देखाउने भने आउने गरेका छन् ।
साहित्यिक पत्रकार सङ्घको अध्यक्ष
२०२९ सालमा भवानी घिमिरेको नेतृत्वमा साहित्यिक पत्रकार सङ्घको स्थापना हुँदा उनी कार्यसमितिको सदस्य थिए । घिमिरेपछि नगेन्द्रराज शर्मा त्यसका सभापति भए । “संस्थापकमध्येको म पनि हुँ तर पहिलो अध्यक्ष म होइन, दोस्रो हुँ ।” उनी भन्छन्, “मैले दुई कार्यकाल चलाएँ, ३२ सालदेखि ३७ सालसम्म ।”
शर्माले जीवन निर्वाहका लागि सुरुमा टिम्बर अफ कर्पोरेसन काठमाडौँ २०२० सालमा जागिर सुरु गरे । २०२३ सालमा प्रमोसन दिएर उनलाई हेड अफिस हेटौँडामा सरुवा गरियो ।
अध्यक्ष भएपछि उनी सबै साहित्यिक पत्रिकालाई राज्यबाट सहयोगको व्यवस्था हुनुपर्छ भन्दै हिँडे तर कसैले सुनेन् । जो सञ्चारमन्त्री हुन्छ उसकहाँ गएर साहित्यिक पत्रिकाका लागि सहयोग गर्नुस् भन्दै उनी हिँडे । भवानीकै पालादेखि ४५ सालसम्मका सबै सञ्चारमन्त्रीकहाँ गएर घचघच्याउने र सहयोग माग्ने काम गरेको तर कसैले सहयोग नगरेको उनी सम्झन्छन् । तर माओवादी सरकारमा आएपछि उनीहरूकै पत्रिकाका लागि नियम बनाउँदा सबै साहित्यिक पत्रिकालाई दिनुपर्ने नीतिगत निर्णय नै गरेपछि मात्र केही सहयोग भएको शर्मा बताउँछन् ।
सरकारबाट त्यो सहयोग पाउन उनले धेरै झन्झट बेहोरे । पत्रिकाको अडिट रिपोर्ट, प्रेस काउन्सिलमा बुझाउनु पर्ने, क, ख, ग, घ को वर्गीकरणमा पर्नुपर्ने, भ्याट, प्यान दर्ता गर्नुपर्ने जस्ता काम गर्दा उनले १०, १२ हजार उल्टै खर्च गरे । तर उनको क वर्गमा पर्यो । अहिले १५, १६ हजार रुपियाँ काउन्सिलले दिन्छ भन्छन् शर्मा ।
जगिरे जीवनका सुखद पाइला
शर्माले जीवन निर्वाहका लागि सुरुमा टिम्बर अफ कर्पोरेसन काठमाडौँ २०२० सालमा जागिर सुरु गरे । २०२३ सालमा प्रमोसन दिएर उनलाई हेड अफिस हेटौँडामा सरुवा गरियो । त्यो बेला हेटौँडामा औलोको जगजगी थियो । औलोको डरले उनका पिताले जागिर छोड्न दबाब दिएपछि २०२३ सालमा जागिर छोडे ।
रामेछाप घरमा २००७ सालमा कांग्रेसले धेरै पल्ट दुःख दिएपछि सपरिवार तराई झरेको शर्मा बताउँछन् । “हाम्रा बुवाहरू जमिनदार टाइपका थिए, बन्दुक देखाएर धेरै पटक चन्दा मागेर लुटे,” उनी भन्छन्, “अनि पहाड बस्न सकिँदैन भनेर २०१७ सालमा मधेश झरेर जनकपुरमा बुवाले घर बनाउनुभयो, त्यतै सर्यौँ ।”
टिम्बरको जागिर छोडेपछि उनी आफ्नो घर जनकपुर गएर बसे । “२४, २५, २६, २७ चार वर्ष खालि बसेँ, त्यही समय मैले दुईवटा उपन्यास लेखेँ,” उनी भन्छन्, “अनि २६ सालमा काठमाडौँ आएँ, २७ सालमा सेडामा जागिर पाएँ ।” सुरुमा उनको तलब चार सय थियो । त्यतिबेला पढेलेखेका, टाठाबाठा मानिस कम थिए, जागिर पाउन त्यति गाह्रो नभएले उनलाई तत्कालीन मन्त्री नवराज सुवेदीले सेडामा काममा लगाइदिएको उनी सम्झन्छन् । त्यतिबेला सेडामा पशुपति शमशेर डाइरेक्टर र प्रकाशचन्द्र लोहोनी डेपुटी डाइरेक्टर थिए । उनीहरूले अन्तरर्वावार्ता, लिखित आदि गरेर नियुक्ति दिएको शर्मा सम्झन्छन् । विसं २०४० सालसम्म शर्माले सेडामा समर्पित भएरै काम गरे ।
त्यसपछि ओकुरा भन्ने कम्पनीको एजेन्टमार्फत शर्मालाई कलकत्ता बसेर काम गर्न भए भनेजति तलब दिने प्रस्ताव आयो । उनी भन्छन्, “जापानी ओकुरा भन्ने कम्पनीले टिचिङ हस्पिटललगायतका बिल्डिङहरू निर्माण गर्दै थियो, त्यसको ठेकदार मोहन गोपाल खेतान, उसले नभ्याएर अरू कसैलाई दियो, त्यसले पनि नसकेर मलाई जिम्मा दिएको थियो ।” ती बिल्डिङका निर्माण सामग्री कलकत्ता गएर छुटाएर नेपाल ल्याउने काम थियो शर्माको ।
“मैले थाहा पाएका साहित्यिक पत्रकारिताका कुनै पनि पुरस्कार पाउन बाँकी छैन, साहित्यकारका रूपमा चाहिँ मैले धेरै पुरस्कार पाएको छैन, ५, ७ वटा पाएको छु” उनी भन्छन्, “महाकवि देवकोटा पुरस्कार नेपाल सरकारले दियो ।”
अत्यन्त झन्झटिलो काम भएकाले र सन्तोषजनक रूपमा काम गरेकाले ओकुरा कम्पनीले उनलाई खानबस्न र यातायात खर्चसहति ५०, ६० हजारको जागिर सुरु गरे । “कलकत्ता बसेर काम गरेँ, त्यसले भुटानमा पनि सामान सप्लाई गर्दो रहेछ, भुटान गएँ,” उनी भन्छन्, “भुटानमा जब विद्रोह भयो, नेपाली लखेटिन थाले, अनि छोडेर आएँ ।” भुटानमा सुरक्षा दिए पनि हुलमुलमा परिन्छ भनेर २०४५ सालमा छोडेर नेपाल आएका थिए ।
ओकुराका जागिर छोडेपछि प्रेस स्थापना गरेर उनले आफ्नै व्यवसाय सुरु गरे । केही समय साझाका, प्रज्ञाका पुस्तकहरू उनले छापे । “तर भूतले खाजा खाने बेलामा परेछ, अफसेट आउने र प्रेस जाने बेला परेछ, चलेन,” उनी भन्छन्, “चार लाखमा किनेको प्रेस २०६३ सालमा चालीस हजारमा कवाडीलाई बेचेँ ।” अहिले उनी आराम गरिरहेका छन् ।
पाउन कुनै बाँकी छैनन् साहित्यिक पत्रकारिताका पुरस्कार
अहिले उनलाई सम्मान गर्न भनेर धेरैले बोलाउँछन् । उमेरका कारण उनी जान सक्दैनन् तर नगई नहुने कार्यक्रममा भने जाने गर्छन् । सबभन्दा पहिलो उनलाई २०५२ मा सडक नाट्य समूहले चितवनमा पुरस्कृत गरेको सम्झन्छन् । त्यो पनि अशेष मल्लहरूले सिफारिस गरेको हुन सक्ने उनी बताउँछन् । तर सम्मान भनेर खादा ओडाएको चाहिँ उनलाई मन पर्दैन, पुरस्कार भने सबै मन पर्छ ।
पुरस्कारहरू कति पाउनुभयो भन्ने प्रश्नमा उनी भन्छन्, “मैले थाहा पाएका साहित्यिक पत्रकारिताका कुनै पनि पुरस्कार पाउन बाँकी छैन, साहित्यकारका रूपमा चाहिँ मैले धेरै पुरस्कार पाएको छैन, ५, ७ वटा पाएको छु” उनी भन्छन्, “महाकवि देवकोटा पुरस्कार नेपाल सरकारले दियो ।”