शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
पर्यटन

नेपालको हरिहर क्षेत्र

शनिबार, २३ मङ्सिर २०८०, १३ : ३८
शनिबार, २३ मङ्सिर २०८०

नेपालको हरिहर क्षेत्र भनेर देवघाट, त्रिवेणीघाट र गजेन्द्रमोक्षधामलाई मानिन्छ । यी स्थानलाई हरिहर क्षेत्र भन्ने आधार यस्ता छन् ।

देवघाट

देवघाट कालीगण्डकी र त्रिशूली नदीको सङ्गम तथा चिनवन, तनहुँ र नवलपुरको त्रिकोणमा रहेको छ । यसलाई उत्तरगया पनि भनिन्छ ।  

मुस्ताङको दामोदर कुण्ड र मुक्तिनाथ, विष्णु क्षेत्रदेखि अनेक नदीहरू मिसिँदै शालिग्रामलाई आफ्नो गर्भमा राख्दै र बगाउँदै आएकी कालीगण्डकी र गोसाइँकुण्ड शिवजी सुतेको शिला पखाल्दै अन्य गण्डकीहरूसँग मिसिँदै र बहँदै  आएकी त्रिशूली नदी भेट भएको सङ्गम नै प्राकृतिक रूपले हरिहर क्षेत्र हो । हरि भनेको विष्णु कालीगण्डकी र हर भनेको शिवाजी त्रिशूली हुनुहुन्छ । 

देवघट्टबाट देवघाट बनेको भनाइ पाइन्छ । यस सङ्गममा राति ब्रह्ममुहूर्तमा देवताहरू स्नान गर्ने भेटघाट गर्ने  स्थल भन्ने बुझाउँछ । यस घाटमा शिवजी र विष्णुको भेटघाट हुने भएकाले अन्य देवताको ठुलो जमघट हुने स्थान भनिएको हो । यसै भएर होला त्रेतायुगमा मर्यादापुरुष श्रीरामले आफ्नो १४ वर्ष वनवासकालमा यहाँ आएर यस क्षेत्रलाई उत्तरगया मानेर आफ्ना पितृहरूलाई तर्पण तथा तीर्थश्राद्ध गर्नुभएको भन्ने पाइन्छ । यसको केही समयपछि रामका कुलगुरु वशिष्ठ यहीँ आएर तपस्या गरेको र सीतामाता पनि यहीँ आएर ब्रह्मलीन हुनुभएको भन्ने पाइन्छ । यी कुराको पुष्टि पनि वशिष्ठ गुफा र सीता गुफाले प्रमाणका रूपमा लिने गरेको पाइन्छ । यी आधारका साथै देवघाटका बारेमा अनेकौँ सांस्कृतिक कथा पाइन्छन् ।

चक्रेश्वर शिला

अर्को आधार पनि प्राकृतिक रूपको नै छ । त्यो हो चक्रेश्वर शिला । यो चक्रेश्वर शिला आफैँमा एउटा शालिग्राम हो । शालिग्राम भनेको विष्णुको प्रतिमूर्ति शिला भन्ने बुझिन्छ । तर यो शिलामा प्रकृतिक रूपमा नै छवटा ॐ लेखिएको छ । यो ॐ ले शिवजीलाई अथ्र्याउँछ । यसरी प्राकृतिक रूपमा नै विष्णुस्वरूप शालिग्रामा शिवस्वरूप ॐ लेखिएर प्राकृतिक तरहले नै हरिहर क्षेत्रको प्रतीक बनेको छ । 

करिब ३०० वर्ष पहिला पाल्पाका राजा मणिमुकुन्द सेन राज्य विभाजनपछि देवघाटमा आएर तपस्या गरे रे । त्यही समयमा मणिमुकुन्द सेनले तपस्या गरेकै स्थान नजिकै एक माझीले माछा मार्ने क्रममा कालीगण्डकीमा जालबाट यो शिला निकालेको भन्ने इतिहास पाइन्छ । 

सुरुमा जालबाट निकाल्दा शिलाबाट माछाका रूपमा रगत पनि आएको भन्ने सुन्नमा आएको छ । हालको भन्दा निकै सानो ठुलो लोहोरो जस्तो मात्र थियो रे । शालिग्रम शिलाबाट रगत पनि आएको र शिलामा ॐ पनि भएकाले यसबारेमा चर्चा भएछ ।  यसैले यस शालिग्रमशिलालाई मणिमुकुन्दसेनको तपस्या गरेकै स्थानमा मन्दिर बनाएर राखिएको छ । हाल यो शिला क्रमशः बढेको छ भनेको पाइन्छ । हाल यो शिला एक मिटर लम्बाइ र एकै मिटर जति गोलाइको रहेको छ ।

त्रिवेणीघाट : हरिहरक्षेत्र 

यो हरिहर क्षेत्रको शृत्रला देवधाटधामबाट सुरु भएर शिवघाट (नारायणी र राप्ती नदीको दोभान) र गजेन्द्रमोक्षधाम हुँदै त्रिवेणीघाटसम्म पुगेको छ ।   

त्रिवेणी (नारायणी, स्वर्णभदा र पूर्णभदा नदी) को सङ्गम हो । पहिला पहिला यो क्षेत्र लुम्बिनी अञ्चलमा पर्दथ्यो । हाल गण्डकी प्रदेशको नवलपुर जिल्लाको भारतसँग सीमाना जोडिएको क्षेत्रमा पर्दछ । त्रिवेणीको नेपालतर्फ नन्दीश्वर महादेव र लक्ष्मीनारायण मन्दिर रहेका छन् । यस त्रिवेणीधामलाई किन हरिहर क्षेत्र भनियो ? भन्दा यसको सांस्कृतिक र धार्मिक आधार यस प्रकार रहेको पाइन्छ । 

पहिला कुनै समयमा शङ्कलायन नाम गरेका ऋषिले त्रिवेणीघाटमा घोर तपस्या गर्दा ऋषिको दायाँकोखबाट शिवजी प्रकट हुनु भयो रे । तपाईंको कोखबाट जन्मेको हुँदा म तपाईंको छोरा भएँ, नाम राख्नुहोस्भन्दा ऋषिले उहाँको नाम नन्दी राख्नुभयो रे । ऋषिले के भन्नु भएछ भने म तपाईं (छोरा शिव स्वरूप नन्दी) को भक्त भएकाले यस त्रिवेणी घाटमा विष्णुजीको दर्शन गर्ने इच्छाले बसिरहेको छु । हे नन्दी ! तपाईं तुरुन्त मथुरा मेरो आश्रममा जानुहोस् र त्यहाँ  गाईको बथान लिएर बसेका विष्णुस्वरूप आमुष्यायणलाई लिएर आउनुहोस् । सोही अनुसार नन्दीले विष्णु स्वरूप आयुष्यायणलाई त्रिवेणीघाटमा ल्याउनुभयो । यसरी जुन दिन शिवस्वरूप नन्दीले विष्णुस्वरूप आयुष्यायणलाई गोधनसहित ल्याएर त्रिवेणीमा ऋषि शङ्कलायनसँग भेटाउनु भयो त्यसै समयदेखि यो त्रिवेणीघाट पनि हरिहर (शिवस्वरूप नन्दी र विष्णुस्वरूप आयुष्यायण) क्षेत्र भयो रे । यो कुरा स्कन्द पुराण हिमवत् खण्ड परिशिष्ट (क) गण्डकीक्षेत्र महात्म्य नवौँ अध्याय त्रिवेणी वर्णनमा उल्लेख गरिएको छ ।  

यसको करिब पाँच किलोमिटर पूर्वचितवनको राष्ट्रिय निकुञ्जभित्र वाल्मीकि आश्रम रहेको छ भने दुई किलोमिटरभन्दा केही उत्तरतर्फ गजेन्द्रमोक्षधाम रहेको छ । यसरी यहाँ वाल्मीकि आश्रम, त्रिवेणीघट र गजेन्द्रमोक्षधामलाई हरिहर क्षेत्र भनिन्छ । यसैले त्रिवेणीघाटभन्दा तल शालिग्राम पाइँदैन । यहाँदेखि तल कल्पवास पनि बसिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप