मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

सृष्टिको अपवादमा दुष्ट मान्छे

शनिबार, २३ मङ्सिर २०८०, १३ : ०६
शनिबार, २३ मङ्सिर २०८०

रोएको देख्दा फकाएजस्तो गर्ने
हाँसेको देख्दा रुवाउन खोज्ने
बिनाकारण हृदयका भावहरूमा
आत्मीयता दर्शाएर पुनः
शून्यता भर्न सक्ने ।

स्मृतिको वक्र रेखाहरूमा
सजिलै बहकिन सक्ने
वर्तमानको बेजोड तालमा डुबुल्की मारेर
भविष्य वाणीमा पोख्त देखाउने
आफूलाई होइन अरुकै निमित्त
आडम्बरिताको खोल ओढ्न सक्ने ।

केही छैन आफ्नो तर मरिहत्ते सधैँ
सारा चराचरको स्वामित्वकर्ताझैँ
मानवता बेगरको मन छ कठोर
समाज सेवाको ठूलै तक्मा पाउन गर्छ रहर ।

चिहान देखेर एक निमेष सोच्दैन
कुकर्म र अहंकार पाली बस्छ मनमा
अनि जलाउन थाल्छ दियो र अगरबत्ती
त्योभन्दा पहिले धन र अरुको ईष्र्यामा
खरानी भएको छ मती । 

फाइदा पाउनेसँग गर्छ सधैँ भक्ति
केही नपाउनेसँग देखाउने गर्छ शक्ति
दीनदुःखी देखेर धज्जी उडाउँछ
फेरि आफ्ना बनेर स्वार्थसिद्ध गर्न विवेक जमाउँछ ।

लाचार हृदयलाई दिन्छ बिनाकारण चोट
आफ्नो इच्छा अनुसार नगर्नेलाई लगाइहाल्छ खोट
उसको पूजा गरुन्जेल मायालु बनिदिन्छ
गर्न थाले आफ्नै कर्म घमण्डी भनिदिन्छ ।

हे सृष्टि के के देख्नुपर्छ  यो नरलोकमा
जता गयो उतै पक्षपात विभेद अनि रुष्टताको ज्वालामा
घरीघरी पिसिनुपर्छ कोमल आत्मा ।

उसले माया गरिरह्यो उसलाई म चाहिँदा
मेरो जरुरतमा चिन्नै छाड्यो दोबाटोमा भेटिँदा 
विधाताको लेखन हो कि यो जन्मको पाप
मानव भएर हेरेको छैन फेरि लगाउँछ नाता ।

विवेकहीन तरिकाले लगाउँछ कानुन
उसकै शक्तिले सित्तै दिएझैँ गर्दछ बाँच्नलाई नुन 
मै ठूलो मै जान्ने मै पराक्रमी
को छ यहाँ मलाई गल्तीमा औँला उठाउनी ?
भनी सदा दुष्ट मनुष्य फुलाई हिँड्छ छाती
को आफ्नो को पराई हृदयमा हुन्छ
तर मुख अगाडि बन्न खोज्छ सदा सर्वदा जाती ।

कालको मुख कहाँनेर आको छ थाहा हुन्न
पक्कै पनि त दुष्टको अन्त्य सुखसँग हुन्न
कहिले सोच्दैन यो धर्तीमा पुनः माटो बन्न बाँकी छ
निर्धालाई गरेको कुकर्म साँवा–ब्याजसहित
तिर्न त बाँकी नै छ
गर जति चतु¥याइँ तिम्रो हिसाब कतै लेखिएको छ
यो सारा प्रकृतिको चक्रमा सुरक्षित छ
न त बूढो भएर न त तरुण न त बालक भएर छुट छ
ईश्वरको किताबभित्र अर्को एउटा शीर्षक  छ
सत्य कर्मको असल नतिजा नै आजसम्मको दृष्टान्त छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशिला शर्मा
सुशिला शर्मा
लेखकबाट थप