बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कविता

म फेरि बगेको खोला हुनेछु

शनिबार, २३ मङ्सिर २०८०, १३ : ००
शनिबार, २३ मङ्सिर २०८०

मेरो बहावको अस्तित्व नकारी
मेरो मितेरीमा अभाव जोडी
चट्टक्क साइनो मसँग तोडी
मलाई टुहुरो बनाई
मलाई एक्लो तुल्यायौ ।

चुपचाप भएँ म 
आफैँभित्र चिच्याएँ
धुरुधुरु रोएँ
विकल्प पनि केही थिएन 
आफैँ मर्दै गएको 
अझ नुँ मारिँदै गएको हेर्न 
हेरिरहेँ अनि सहनु सहिरहेँ ।

बन्द कोठाभित्र 
निस्सासिनु मेरो नियति थियो
भित्रभित्रै बाफझैँ बाफिनु
मेरो भाग्य भयो
संसार हेर्ने नजर 
बन्द कोठाभित्र कैद बन्यो
भित्रभित्रै निस्सासिनु
कराउनु 
उफ्रिनु सिवाय
अरु के गर्न सक्थे र ?

केवल पर्खाइ थियो साँचेको 
चाँडै आवोस्
ताल्चा खोलोस्
स्वतन्त्र बनाओस् 
मेरो अस्तित्वलाई
सलल बग्न देओस्
मेरो पंंखलाई 
फरर उड्न देओस्
ममा पनि रहरहरू छन्
मभित्र पनि चाहहरू छन्
तिमीजस्तै खित्का छोडेर अट्टहास गर्न सकँु
स्वतन्त्रले बाँच्न सकँु ।

तर यो बन्द कोठा
अनि एक्लो म
भनिन्छ, सपना देख्न अरु चाहिँदैन
बन्द आँखाभित्र 
सपना देख्नुपर्छ
सपनामा भए पनि 
हाँस्नुपर्छ
तर, यो अँध्यारो कोठामा
निद्रा पट्टकै लाग्दैन
ओल्टे–कोल्टे फेर्दै
रात बित्छ
सायद यसरी नै 
दिनहरू पनि बित्छन् 
साँच्चै भनँु भने
रात र दिनको पत्तो नै हुँदैन 
यो अँध्यारो कोठामा
अनि सपना देख्नु पनि 
सपना नै हुन्छ
भन त अब
म कसरी सपना देखुँ ?
उजाड ती फाँटहरूमा
अलिकति सिञ्चित गर्ने रहर थियो
हावा सँगै खुला आकाशमुनि
थोरै नाच्ने उमङ्ग थियो
मैलाई मभित्र बन्द गरी
महलहरू तिमीले ठ्ट्यायौ
अस्तित्व मेरो मिचिमिची
खै कसरी हो ?

बगर तिमीले बनायौ
भो सम्झन्न अब 
त्यो बन्द कोठा
तिमीलाई थाहा नै भएन
एक दिन साँचो आउनेछ
साँचोले ताल्छा खोल्नेछ
बन्द कोठा उज्यालो हुनेछ
सपना कति मिठो हुन्छ
म गहिरो श्वास फेर्छु 
अस्तित्वभित्र रमाउँदै 
म फेरि बगेको खोला हुनेछु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप