शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
विज्ञान/प्रविधि

सभ्यताहरूमाथि प्रश्न उठ्दै र परिवर्तन हुँदै आजको विज्ञान–प्रविधिसम्म आइपुग्दा...

शनिबार, २३ मङ्सिर २०८०, १२ : ५३
शनिबार, २३ मङ्सिर २०८०

मानिसले विभिन्न कालखण्डमा विविध किसिमका वस्तु, यन्त्र तथा संयन्त्रको विकास वा आविष्कार गर्दै आएको छ । मानव सभ्यता विविध चरणमा विकास भएको पाउँछौँ— एप्स (६० लाख वर्षपहिले), अस्ट्रलोपिथेकस (२५ लाख वर्षपहिले), होमो हेबिलिस (२४ लाख वर्ष पहिले), होमो इरेक्टस (२० लाख वर्षपहिले) र आजको मानिस होमो सेपियन्स (तीन लाख वर्षपहिले) हुँदै । यी सबै अवस्थामा मानिसले आफ्नो सभ्यताको विकास गरेरै यहाँसम्म आइपुगेको हो । ओढारमा बस्नु, कला, हातहतियारको प्रयोग गर्नु, सिकार खेल्नेजस्ता अनेकौँ सभ्यता हुँदै यहाँसम्म आउँदा अनेकौँ विकास भए, ती सबै आ–आफ्नो युगका साधनमा आधारित थियो अर्थात् सभ्यता थियो । 

सभ्यता भनेको विभिन्न काल खण्डका निर्मित मूल्य–मान्यता, भाषा, कला, साहित्य र वस्तु तथा आविष्कारहरू हुन् । जसले तत् समयको समयाबोध र सभ्यतालाई परिचित गराएर उभिएको हुन्छ । सभ्यता समयअनुसार फरक हुन्छ । कुनै सभ्यता लामो समय टिकेको देखिन्छ भने कुनै छिटै समाप्त भएको पनि पाइन्छ, तर ती सबैको कारण समयानुकूल परिष्कृत र परिमार्जनमा निर्भर रहेको हुन्छ । समय सापेक्षित सभ्यता लामो समय टिके भने समय सापेक्षित नभएका सभ्यता छिटै विनाश भए । कुष्ठरोगलाई ईश्वरको श्रापको परिणाम मान्ने सभ्यतालाई हाम्रो पुस्ताले विनाश गरेर वैज्ञानिक उपचार पद्धतिलाई स्थापित गरेको छ । अवैज्ञानिक, अतार्किक, अलौकिक वा विश्वासमा आधारित कतिपय सभ्यतामाथि प्रश्न उठ्दै आए भने त्यस्ता कतिपय सभ्यता विस्थापित समेत भए । 

लिपिको विकास हुनु एउटा सभ्यता थियो । समय अनुसार लिपि परिमार्जन हुनु त्यो अर्को सभ्यता हो । आज हाम्रो समयमा जुन लिपि छ, त्यसको प्रयोगको स्वरूप विगतको भन्दा आज फरक छ । जसरी पुराना कानुन आज हाम्रा लागि अनौठो र कठिन छ, त्यसैगरी आजको लिपि भोलिका पुस्तालाई कठिन र अनौठो नहोला भन्न सकिन्न । विज्ञान–प्रविधिले निरन्तर विकासमा धकेलिराखे लिपिको नयाँ स्वरूप विकास हुनु अनिवार्य र अपरिहार्य होला । आजको लिपिलाई गौरव, सम्मान र रक्षा गर्दै आफ्नो सभ्यताको विकास भोलिका पुस्ताले पनि गर्नेछन् ।

यस्ता अनेकौँ सभ्यताले सजिएको हाम्रो मानव सभ्यतालाई अझै विकसित गरेर हाम्रो युगको सभ्यतामा परिणत गर्नुपर्छ । पुराना सभ्यताको रक्षा र हाम्रो समयको सभ्यता निर्माणले हामीलाई अझ अघि नधकेले हाम्रो सभ्यताको चरण समाप्त भई हाम्रो अस्तित्व समाप्त हुन्छ । हामीले आफ्नो सभ्यता नबनाउने र पुरानै सभ्यतालाई बोकिराख्ने हो भने हामी सभ्यताविहीन युगका मानवका रूपमा इतिहासमा चित्रित हुनेछौँ । तसर्थ आजको सभ्यता निर्माण गरेर मात्र हाम्रो युगलाई हामीले अन्य युगभन्दा भिन्न बनाउन सक्छौँ ।

हाम्रो युगको सभ्यता के हो ? आजको सभ्यता हाम्रो भाषा, कला, साहित्य, रीतिरिवाज, वेशभूषा, अर्थतन्त्र, सरकार आदि सबैै सभ्यता हुन् । तर यिनीहरू हिजाको जस्तै विद्यमान रह्यो भने त्यो हाम्रो युगको सभ्यता होइन । जुन समयमा विकास भएको हो, त्यही युगको सभ्यता कहलिनेछ । तसर्थ यी सबै विषयलाई हाम्रो युगको बनाउन सक्यौँ भने मात्र यो हाम्रो युगको सभ्यता बन्छ ।

दास युगको सभ्यता दास राख्नु हो भने हाम्रो युगको सभ्यता विज्ञान प्रविधि हो । जुन विगतभन्दा बिल्कुल भिन्न र समयसापेक्षित छ । विगतको कुनै पनि समय आजको विज्ञान–प्रविधिमैत्री थिएन । तसर्थ यो हाम्रो युगको मुख्य सभ्यताको उपज मान्नु र विकास गर्नुपर्छ । यसले निम्त्याउने सबै आयामले हाम्रो युगलाई विगतसँग छुट्ट्याउने र भावी पुस्ताले यसैमा हामीमाथि गौरव गर्नेछन् । जसलाई हामीले सचेततापूर्वक निर्माण गर्ने र आउने पुस्तालाई हस्तान्तरण गरिनुपर्छ ।

आजको हाम्रो सभ्यता फेसबुक, ट्विटर, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जाल हुन् । यस्ता सामाजिक सञ्जालले हामीलाई एउटा नयाँ सम्भावना र चुनौती मात्र दिएको छैन । यसले हामीलाई विगतभन्दा भिन्न बनाएको छ । जसलाई सभ्यता मान्नुपर्र्छ । यसले एकैपटक ठूलो मात्रामा सञ्जालमार्फत सम्पर्क स्थापना गरेको छ । जुन इतिहासमा कहिल्यै नघटेको घटना हो । यसलाई हामीले सभ्यताको मानक मानेर यसको सही सदुपयोग र विकासमा टेवा दिनुपर्छ तर विगतमा रेडियो प्रयोगका लागि राज्यले लगाउने प्रतिबन्धको इतिहासलाई सम्झाउने गरी टिकटकको बन्देज गरिनुले सभ्यताको विकासमा अनुरोध गरेको भान हुन्छ । होला यसको सही प्रयोग नभएको हुन सक्छ, तर त्यसको नाममा यसलाई बन्देज लगाउनुभन्दा नियमन गरिनुपर्नेमा, विज्ञान–प्रविधिले मजबुद्ध भएको प्रजातान्त्रिक सभ्यताको धज्जी उडेको छ ।

विज्ञान–प्रविधिका कारण यातायातको विकास हुनाले यात्रालाई सजिलो बनाउँदा हिजोको घुमन्ते युगको सभ्यताबाट हामीलाई विकास गरेर निकै माथि उठाएको छ । आजको यातायातको साधन हाम्रो युगको सभ्यता हो । जसले हामीलाई सहज यात्रा सम्भव भएको छ । विज्ञानले यातायातको साधनमा अझ विकास गर्ने लक्षण देखाएको छ । त्यसले फेरि अर्को सभ्यता निर्माण गर्नेछ । आज जे छ, त्यो नै हाम्रो सभ्यता हो । यसलाई हामीले सगौरव लिएर नेपालीको विदेशमा आफ्नो ज्ञान, सीप, क्षमता, प्रयोग हुने अवस्था बनेको छ । जसले हिजोको लाहुरे सभ्यताभन्दा अझ माथि उठाएको छ । 

प्रत्येक गाउँमा उद्योग, कलकारखाना, सबै हाँसी–खुसी भएको परिवार, स्वास्थ्य, शिक्षा, रोजगार, घरघरमा पु¥याउने र सबैका आधारभूत अधिकार सुनिश्चित भएको समाज नै आजको सभ्यता हो । यसका लागि हामीले अधिकतम मात्रामा विज्ञान–प्रविधिलाई आत्मसात् गरेको हुनुपर्ने हो, विडम्बना त्यसो नभएर हाम्रो समाज पुरानै सभ्यतामा अल्झेको देखिन्छ ।

मन्दिर, गुम्बा हाम्रा विगतका सभ्यताका प्रतीक हुन्, तिनको रक्षा गरिनुपर्छ भने हाम्रो आफ्नो सभ्यताको निर्माण पनि सँगै गरिनुपर्छ । हामी विगतको सभ्यतामा जसरी गौरव गरेका छौँ, त्यसैगरी हामीले भावी सन्ततिले गौरव गर्ने सभ्यतालाई जन्माउनुपर्ने दायित्वलाई बिर्सेका छौँ । आज हामीले हाम्रो सभ्यता नदिने हो भने भोलिको पुस्ताले हामीलाई सम्झने छैन र हामी इतिहासका सभ्यताले थिचिएर सभ्यताविहीन युगका कहलिने छौँ । हामीले आफनो सभ्यताको निर्माण नगर्दा समाजको गति नै रोकिएको छ । हामीले विज्ञान–प्रविधिलाई आधार मानेर अनेकौँ सभ्यता निर्माणको सुवर्ण अवसरलाई प्रयोग गर्ने बेला आएको छ । यसतर्फ सबैको ध्यान जानुपर्छ ।

[email protected] 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश अधिकारी
प्रकाश अधिकारी
लेखकबाट थप