बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
साहित्य

नवोदित ‘बहर कवि’ र अलिअलि दाइएका ‘गोरु कवि’मा कोलाहल किन मच्चियो ?

संग्रौला ‘साहित्यकार’को सातो किन टिप्छन् ?
शनिबार, २३ मङ्सिर २०८०, ०९ : ५३
शनिबार, २३ मङ्सिर २०८०

खगेन्द्र संग्रौला को हुन् ? किन ‘साहित्यकार’को सातो टिप्छन् ? यसै त उनी सबैको सातो लिन्छन् । साहित्यकार कुन खेतको ‘मुली’ हो र बाँकी बक्यौता राख्थे । अलिक अघिको कुरो हो, जतिबेला छापा माध्यम (पत्रिका)को रजगज थियो । उनी चल्तीका पत्रिकाको नियमित स्तम्भकार थिए । त्यसबेला उनको कोपभाजनमा परिएला भनेर सहरका कुलीन सम्भ्रान्तहरू थर्कमान हुन्थे रे । संग्रौलाको स्तम्भमा नाम नपरेको दिन ती सम्भ्रान्तहरू ‘आज चैँ संग्रौलाबाट बचियो’ भनेर लामो सास फेर्थे रे । यसै कारण उनको नाम ‘गाली शिरोमणि’ जुराए । कतिपयले उनलाई गाली पुराणका प्रमुख वाचक नै ठान्छन् ।

हिन्दु धार्मिक साहित्यमा १८ पुराणको व्यवस्था छ । सम्भवतः वेदव्यास यतिखेर भएको भए ‘संग्रौला लेखन प्रवृत्ति’लार्ई बुझेर थप एक पुराण ‘गाली पुराण’ पनि रचना गर्थे होलान् । १८ पुराणमा लिङ्ग पुराण लेख्ने व्यासले गाली पुराण नलेख्ने त कुरै भएन । लिङ्ग पुराणको सोझो अर्थ जेसुकै होस् । तर यो पुराणको प्रस्टीकरण खाप्नेले लिङ्ग पुराण शिवजीको जनेन्द्रियसँग सम्बन्धित नभएको परिभाका लगाउँछन् । बरु शिवजीको ‘पहिचान चिनो’ हो भन्छन् । यद्यपि जति नै प्रस्टीकरण खापे पनि शिवजीको पुजिने चिजवस्तु लिङ्ग नै हो । यस्ता अनेकन् प्रकरणमा पुराण लेख्नेले गाली पुराण नलेख्ने त कुरै भएन ।

संग्रौला को हुन् ?

खगेन्द्र संग्रौला उर्फ कुन्साङ काका साहित्यको दुनियाँमा बेलाबखत हस्तकलम गरिने नाम हो । लिम्बुवान पान्थर सुभाङ यिनको उत्पत्ति थलो हो । जीवन विचरण गर्दै जाँदा यिनी खाँटी नेपाली मास्टर भए । कथा, नाटक, व्यंग्य, उपन्यास, अनुवाद विधाका सिद्धहस्त कालीगढ हुन् । यिनी स्थायी विद्रोहको कैरनकर्ता पनि हुन् । विभिन्न विधामा यिनका एक दर्जन पोस्तक प्रकाशित छन् । विश्व प्रगतिशील साहित्यका त्यत्तिकै संख्यामा पोस्तक अनुवाद पनि गरेका छन् । पत्रिकामा लेखेका स्तम्भहरू गणित गरेर त साध्य लाग्दैन ।

यिनै संग्रौलाले गत शनिबार रातोपाटी नामको बिजुली पत्रिकामा कालो अक्षरले झर्रो भाकामा भ्वाक्क लेखे, ‘तपाईंको यो पाण्डुलिपिमा कविताको तत्त्व तातोभुत्लो केही फेला पार्न सकिनँ ।’ यति के लेखेका थिए, उदयीमान र नवोदित ‘बहर कवि’ र अलिअलि दाइएका ‘गोरु कवि’मा कोलाहल नै मच्चियो । यो वाक्य लेख्दा सायद संग्रौलाले पारसमणि प्रधानलाई याद गरेका हुनन् । भारत वर्षमा बसेर नेपाली भाषा साहित्यको सेवा गरेका पारसमणि प्रधान हुन् । उनले कविताको बारेमा खँदिलो तर्क राखेका थिए, ‘कवि कविता होस्, कविता कवि होस्, शब्द थुपारीकन के हुन्छ, भाव भए पो हुन्छ ।’ तब त के थियो संग्रौलाले बियाँलो नगरी भनिदिए, ‘तपाईंको यो पाण्डुलिपिमा कविताको तत्त्व तातोभुत्लो केही फेला पार्न सकिनँ ।’  

कवित्व र कवि

कवित्व भनेको कविता वा काव्य रचनाको क्रिया, गुण, विशेषता वा शक्ति हो । कवि भनेको कविता वा काव्यको रचना गर्ने व्यक्ति हो । जब कविता रचना गर्ने व्यक्तिले आफ्नो रचनामा क्रिया, गुण, विशेषता र शक्ति हाल्न सक्तैन, कविता नै बन्दैन । कविताको यो त सैद्धान्तिक पक्ष मात्र हो । यसका अन्य तत्त्वको अनिवार्यता त्यत्तिकै जरुरी छ । ती सबै यहाँ छलफल गर्न सम्भव छैन । सैद्धान्तिक प्रस्तावनासम्म ख्याल नगरी कविताको बाहिरी रेखाङ्कन हुन्न । यसभन्दा बाहिर गएर कन्दै लेखिएका चिजवस्तु शब्द खाँदेको धोक्रो मात्र हो । आजभोलि हरेक साक्षर मान्छे कविता लेखेर सहज ख्याति कमाउन खोज्दछ । पारसमणिको शाश्वत वाक्यको ख्यालै गर्दैन । कवि कविताजस्तो हुँदैन । कविता कविजस्तो हुने त कुरै भएन । शब्दको थुप्रो बाह्रखरी छरिएको बिस्कुन जस्तो भइदिन्छ । यसैले संग्रौलाले भन्दिए, कवितामा कविताको तत्त्व तातोभुत्लो छैन ।  

कविताको धुन

एकदेव ज्ञावालीले नेपाली महिलाको उत्पीडन र पीडालाई उजिल्याउन ‘आमा दिदी बहिनी हो’ बोलको कविता लेखे । जेबी टुहुरेले यही कवितालाई संगीतको धुनमा ढाले । यही कविता गीत गाएर टुहुरे प्रख्यात भए । यो गीत टुहुरेको ब्रान्ड भयो । 

गोपालप्रसाद रिमालले थुप्रै उम्दा कविता रचना गरे । रिमालले लेखेको ‘आमाको सपना’ हरेक क्रान्ति र आन्दोलनको स्वर हो । रिमालका कवितामा अन्याय, अत्याचार, शोषण, दमन, कुरीति र भ्रष्टाचारविरुद्ध क्रान्तिकारी आवाज छन् । नेपाली जनजीवनका इच्छा, आकांक्षा, क्रान्ति, विद्रोह एवम् सामाजिक विद्रोह तथा परिवर्तनका आवाज मुखरित छन् । सरल भाषा, विम्ब, प्रतीक, अलंकारको शुद्ध समायोजन गरी गद्य लयमा कुँदिएका रिमालका कविता कालजयी छन् । प्रधानले भनेजस्तै रिमाल कवि कविताजस्ता, कविता कवि रिमालजस्तै एकाकार भए । यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । यसका अतिरिक्त थुप्रै कवि सिद्धिचरण श्रेष्ठ, भूपि शेरचन, बम देवानदेखि कृष्ण सेन इच्छुकसम्म आइपुग्दा कवि कविताजस्ता र कविता कविजस्ता देखिए । प्रायः यी सबै कविका कविता र कविको जीवन नियालेका बिरलाकोटीका संग्रौलाको रुद्रघण्टीबाट कवित्व नभएको कविताले नछिचोल्नु अस्वाभाविक हैन । र, झोँकाझोँक लिम्बुवानी शैलीमा भने, ‘कवितामा तातोभुत्लो केही भेटिनँ हाव ।’  

संग्रौलाको शब्द भण्डार

संग्रौलाकै शब्दमा ख्याँसख्याँस लेखेर शब्द थुपार्दैमा कविता बन्दैन ।  यसरी शब्दको गुजुल्टो मात्र बन्छ । गाउँघरमा पाखे बैदारले घुँडामा काँचो कागत राखेर कपाली तमसुक वा भर्पाइ दादै लेखन गरे जसरी कविता निर्माण हुन्न । लेखन्दासले लेखे जसरी कविता लेखन लहडी लेखन मात्र हुनेछ । यसरी लेखेर मखलेल हुनु व्यर्थ छ । खरायोले पाठापाठी हुतुतु जन्माएजस्तो कविता फुर्ने होइन । सुचीकारले सफाइ गर्छन्, सुजिकारले सिउँछन्, चर्मकारले चर्म रक्षा गर्ने जुत्ता सिलाउँछन् । जीवनका लागि यी वस्तुका उत्पादनकर्ता पनि मूल्याङ्कनयोग्य हुन् । 

कविता लेख्नु मात्र ख्यातिको एक मात्र काम होइन । त्यो पनि कवित्व नभएको कविता लेखेर समय बर्बाद गर्दा त सुन्ने पढ्नेलाई पनि दिक्दारलाग्दो हुनेछ । जबरानन्द हिसाबले लेखेको कविताले त रनभुल्लमा मात्र पार्छ । हल्लुँड बनाउन पनि सीप चाहिन्छ । सीप भएन भने हल्लुँड सिनोमा परिणत हुनेछ । कविता लेखनमा पनि सिद्धान्त, सीप सबै चाहिन्छ । यस्ता कविताको भूमिका, समीक्षा लेखेर स्वर्ण लेपन लगाउनुको अर्थ हुन्न । तबैतारे संग्रौलाले छाती ठोकेर भने हुनन्, ‘कवितामा तातोभुत्लो केही भेटिनँ ।’  

व्यर्थको पाण्डुलेखन

पाण्डुलेखन खेस्रा वा मस्यौदा तयार गर्ने काम हो । खेस्रा वा मस्यौदा तयार गर्दा नै भाँती पुगेन भने पाण्डुलिपि तयार गर्नु नै बेकार हुन्छ । उनकै भाकामा भन्दा रस न लालित्य, रङ्ग न प्रकाश, न स्पन्दन न सूक्ष्म अन्तरदृष्टि, न ताल न तुक स्वकल्पित कविताको यो लोकमा कुनै गुन्जाइस छैन । संग्रौला लेख्छन्, ‘लहडी मलका कविको जब्बरे आग्रहबारे मलाई केही कुरा नभनी भा’छैन । लेख्छन् त्यस्तो अनि भूमिका वा मन्तव्य लेखिमाग्न आउँछन् । भन्नुस् त मान्यवर यस्तोमा के गर्ने ?’ यस्तो अप्ठेरोबाट उक्सिनका लागि वेद पढ्न छाडेर सिधै भन्दिए, ‘कवितामा तातोभुत्लो छैन ।’ 

लिखतमा सार्वजनिक पत्र

केही नलागेरै हुँदो हो, अन्ततः उनलाई अकवि के नामे सार्वजनिक पत्र नै जारी गर्ने नौबत आयो । प्रतीक, विम्ब, रूपक, मिथक, स्मृति, सपना, स्वैरकल्पना, नारा तथा अभिव्यक्ति, अलंकारको विशिष्ट प्रयोगद्वारा कविता निर्माण नभएको गम्भीर ध्यानाकर्षण निजको सार्वजनिक पत्रले गरेको छ । कवितामा एक शब्द, एक वाक्य वा एक अनुच्छेदले अनेक शब्द अनेक वाक्यांश, अनेक वाक्य वा अनुच्छेद बराबरको अर्थ दिने सार्वजनिक पत्रमा उल्लेख छ । 

कविता संकेतमा भनिन्छ, सूत्रमा उनिन्छ, लक्षणामा बोल्छ । भन्नु मात्रै गद्य कविता, गद्य कविताको पनि आफ्नै लय, ताल हुन्छ । काव्य जगतका धुरुन्धर ज्ञानीहरूको हवाला दिँदै साझा पत्रमा जोड गरिएको छ, ‘पाठकको चित्तमा गहिरो छाप पारेर स्मरणीय अस्सली कविताको चुम्बकीय शक्ति हो ।’ यसरी एकबारको जुनीमा ख्याति र अमरत्वको ख्यालीपुलाउ नपकाउन उनले नम्र निवेदन गर्र्दै कुराको बिट मारेका छन् । लेखोटको पेटबोलीले शीर्षककै कुरा बोकेको छ, कविता तातोभुत्लो भएन । 

रहलपहल

लगभग चार कोरी हिउँद बर्खा टेक्नै लागेका संग्रौलाले टाउकाको कपालमा हिमाल फुलाइसकेका छन् । आस्तिक भए चावहिलको त्यो कुनामा एक हजार माला गेडी गन्दै बस्ने बेला हो । तर, जीवनको सत्त्व बुझेकाले विभिन्न विधामा सक्रिय लेख्न–पढ्नमा व्यस्त छन् । 

यिनको विशेषता ज्येष्ठ नागरिकको होइन, श्रेष्ठ नागरिकको छ । तन्नेरी–तरुनीका लागि पनि यिनको भूमिका लोभलाग्दो हुनुपर्छ । यसै कारण हुन सक्छ, अकविहरूले यिनको ‘फलो’ गर्न छाडेका छैनन् । यिनका कलमबाट अकविताको उद्धार गर्न तम्सिन्छन् । नत्र त यिनी सरकारी विन्यासका प्राज्ञ पनि होइनन् । कुनै पार्टी विशेषको झोले, बैठके, गुइँठे पनि होइनन् । प्रगतिशील लेखक संघ नामको अपुताली संगठनमा पनि छैनन् । ‘पोइट आइडल’को जाँचकी पनि होइनन् । हुन त केवल स्वाभिमानी लेखक । त्यसैले ज्ञानको स्वाभिमान बन्धकी राख्न चाहेनन् । र, सिधै भन्दिए तिम्रो कवितामा कवित्व तातोभुत्लो छैन । साझा पत्रमा ऐक्यबद्धतासहित नोगेन ।  

टिप्पणीका लागि : [email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भवानी बराल
भवानी बराल
लेखकबाट थप