शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

झापा एफसीको तेस्रो बराबरी

शुक्रबार, २२ मङ्सिर २०८०, १९ : २०
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । अन्तिम समयमा १० खेलाडीमा सीमित भएको झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा वीरगञ्ज युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको छ ।

दशरथ रंगशालामा आफ्नो चौथो खेलमा शुक्रबार अन्तिम १७ मिनेट १० खेलाडीमा सीमित झापाले वीरगञ्जलाई गोलरहित बराबरीमा रोकेको हो । यससँगै झापाले तेस्रो बराबरी गर्दै चार खेलबाट तीन अंक जोड्दै सातौं स्थानमा छ  । 

झापाले एक खेल स्पोर्टिङ इलामसँग हारेको थियो । पुछारको टोली वीरगन्जले चार खेलमा दोस्रो बराबरी गर्दै दुई अंक छ । त्यसअघि खेलको पहिलो आक्रमण ११औँ मिनेटमा झापा एफसीले ग¥यो । लक्ष्मणले रुचालको कर्नर पासमा ओचिलोच समान्डरले करिब १० यार्ड टाढाको गोल प्रयास वीरगन्जका गोलकिपर दीप कार्कीले मुस्किलले बचाए ।

त्यसको एक मिनेटपछि नै झापाको अर्को सशक्त आक्रमण गोलमा परिणत हुन सकेन । ३५ यार्डबाट समान्डरको सट दोस्रो बारमा ठोक्किँदै गोलकिपर दीपको खुट्टामा लागेर पनि फर्कियो । २५ औँ मिनेटमा पेनाल्टी बक्सभन्दा केही बाहिर जर्ज सान्चेजको गोल प्रयास दीपले सफल हुन दिएनन् । झापाका लागि लक्ष्मणले ३२औँ मिनेटमा गोलकिपर दीपसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् ।

लगत्तै लक्ष्मणकै फ्रिकिकमा अनमार्क रहेका सान्चेजले पेनाल्टी बक्सभित्र हेड गोल गर्ने अवसर खेर फाले । ३९औँ मिनेटमा वीरगन्जका सुवास गुरुङले आफ्नो टोलीको अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । तेज तामाङले लामो पासलाई सुवासको फितलो हेडर झापाका गोलकिपर स्टेफन सुपिचले सहजै रोके । ४२औँ मिनेटमा पेनाल्टी बक्सभित्रबाट सान्चेजको शक्तिशाली सट दीपले उत्कृष्ट बचाउ गरे । छिरिङ लामाले मध्यभागबाट दिएको लामो पासमा अफसाइड बिट गर्दै सान्चेजले आक्रमण बुने पनि सफल भए । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

४७औँ मिनेटमा नै वीरगन्जका कृपाकान्त थारुले हानेको सट दोस्रो बारमा ठोकिएर फर्कियो । सोही क्रममा रिबाउण्ड बललाई ओबेद ओसुउले आठ यार्डबाट गरेको प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट बचाउ गरे । त्यसको तीन मिनेटपछि झापाका आवास लामिछानेले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहँद गोल गर्न सकेनन् । वीरगन्जका ओबेदले अर्को अवसर खेर फाल्न पुगे । विलियम ओपोकुले दिएको बललाई उनले करिब १० यार्डबाट गोल गर्न सकेनन् । ६९औँ मिनेटमा काउन्टर प्रयासमा ओबदको लामो प्रहार सफल हुन सकेन ।

वीरगन्जले ७३औँ मिनेटमा काउन्टर प्रयासमा गोल गर्ने अवसर पायो । अन्तिम डिफेन्डर बिट भइसकेको अवस्थामा झापाका योगेश गुरुङले वीरगन्जका ओपोकुलाई पछाडिबाट तान्दै लडाए । त्यसलगत्तै गोल स्कोरिङ गर्ने अवसरमा फउल गरेपछि खेलका रेफ्री राम दसनले योगेशलाई रातो कार्ड दिए । त्यससँगै झापा १० खेलाडीमा सीमित भयो । त्यसको दुई मिनेटपछि नै वीरगन्जका दीपेन्क ठकुरीले करिब ३० यार्ड  टाढाबाट गरेका शक्तिशाली प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट पन्च गर्दै रोके ।

झापाका समान्डरले ८६औँ मिनेटमा गरेको लामो सट वीरगन्जका गोलकिपर दीपले पन्च गरे । त्यसको तीन मिनेटपछि लेफ्ट साइडबाट वीरगन्जका तेज तामाङको फ्रिकिक माथिल्लो बारमा लागेर बाहिरिन पुग्यो । इन्जुरी समयमा झापाका उज्वल राईले लेफ्ट साइडबाट गरेको प्रहार दोस्रो बारको कर्नरमा लागेर बाहिरियो । समान्डरले वीरगन्जका डिफेन्डर बिट गर्दै दिएको पासमा अनमार्क रहेका उज्वलले गोल गर्न सकेनन् । त्यससँगै खेल बराबरीमा सकियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप