काल : आत्महत्या रोक्न ड्रामाथेरापी
(पत्रकारितामा विश्वव्यापी बहस छ — रिपोर्टिङका क्रममा ‘आत्महत्या प्रयास, आत्महत्याको प्रयास असफल’ जस्ता वाक्यांशको प्रयोग गर्नु गलत हो । किनभने यस्ता वाक्यांशले आत्महत्यालाई सफलताको रूपमा अर्थ्याउँछ । यो आलेख यसैसँग सम्बन्धित भएकाले यहाँ यो डिसक्लेमर (अस्वीकरण) राखिएको हो । यद्यपि, आत्महत्या कम गर्न संसारभरि विभिन्न आयामबाट बहस, छलफल तथा प्रयास भइरहेकै छन् ।)
मञ्चभरि डोरीहरू झुन्ड्याइएका छन् । डोरीलाई साहित्य वा कलामा सामान्यतः आत्महत्याकै प्रतीकका रूपमा बुझिन्छ । यसबाहेक डोरीले सम्बन्ध, सहारा, जोडाइ, कसाइ (कस्ने काम)लाई पनि संकेत गर्छ । साहित्यको विषयवस्तु वा कथानकमा आएका आयाम अनुसार, डोरीलाई विभिन्न विम्ब वा प्रतीकका रूपमा ल्याउन सकिने नै भयो ।
प्रसङ्ग, थापागाउँस्थित कुञ्ज नाटकघरमा मञ्चन भइरहेको नाटक ‘काल’को हो । रामभजन कामतको लेखन, निर्देशन र परिकल्पना रहेको यस नाटकमा वरिष्ठ रङ्गकर्मी सुनील पोखरेल (निर्देशक कामतका गुरु पनि) युवाको भूमिकामा छन्, पोखरेलका अर्का शिष्य प्रवीण खतिवडा (प्रधानपात्र) वृद्धको भूमिकामा देखिएका छन् ।
पश्चिमाको परिभाषाबाट हेर्दा ‘काल’ नाटक ‘फार्स’ र ‘ब्ल्याक कमेडी’ शैलीको देखिन्छ भने पूर्वीय (भारतीय) परिभाषामा हेर्दा स्वाङ (हिन्दीमा स्वांग) शैलीको।
नाटकको सुरुवातमै निर्देशकको मृत्यु भइसकेको र उसको फोटोमा माला लगाएको दृश्य छ, यो दृश्य झुक्किएजस्तो गरी ल्याइन्छ । अर्कोतिर, नाटकको सुरुवाततिरै भनिन्छ, पत्रकार र वकिलले अभिनय गर्न थाले, यी कलाकार (मञ्चमा उपस्थित) लाई काम भएन । यसरी हास्य–व्यङ्ग्य शैलीमा रङ्गमञ्च र वास्तविक समाज वा जीवनको दूरी मेट्दै नाटक अगाडि बढ्छ र आत्महत्याको विषयलाई कथानकमा घुसाउँछ ।
नाटककै बीचमा वृद्धको भूमिका निभाउने प्रवीण र युवाको भूमिका निभाउने सुनीलले आफ्नो नक्कली कपाल झिकेर वास्तविक संसारमा आउँछन् । अर्थात् यस नाटकले अनुकरण र अभिनय दुवैका माध्यमबाट दर्शकलाई आत्महत्या गलत हो भनी बुझाउन खोजेको छ ।
मंगलबार नाटक हेरेर बाहिर निस्कँदा बाहिर प्रांगणमा समेत केहीबेर नाटककै अंशस्वरूप पात्र सुनील पोखरेल नाटकका अन्य कलाकारलाई आत्महत्या गलत हो भनी बुझाउँदै थिए । यसरी यो नाटकले जीवनका अँध्यारा पक्षमा छलफल गर्न प्रेरित गरेको बुझिन्थ्यो ।
आनन्द निवासको वृद्ध (प्रधानपात्र)लाई सजिलो गरी आत्महत्या गर्ने तरिका सिकाउन दया अधिकारी (सुनील पोखरेल)लाई नियुक्त गरिएको हुन्छ, मासिक ५० हजार रुपैयाँ तलब तोकेर र अग्रिम पाँच लाख रुपैयाँ दिएर । दयाले दिएको अनेक तरिकाबाट प्रधानपात्र चाहेर पनि मर्न सक्दैन । झुन्डिन खोज्दा एकपटक रुखको हाँगा भाँचिन्छ, संयोग भनौँ । करेन्ट लगाएर कोसिस गर्दा झ्याप्प बत्ती जान्छ, लोडसेडिङको समस्या । डुब्न खोज्दा गोही र माछाहरूले जोगाउँछन् । गाडीको अगाडि जाँदा सानी बच्ची आइपुग्छिन् । यसरी नाटकमा देशसँगै एउटा व्यक्तिले भोगेको आर्थिक मन्दी लगायत समस्या र मानवीय संवेदना प्रस्तुत गरिन्छ । माछाहरूले जोगाउनुलाई आत्महत्या प्राकृतिक होइन भन्न खोजेको बुझिन्छ ।
मंगलबार नाटक हेरेर बाहिर निस्कँदा बाहिर प्रांगणमा समेत केहीबेर नाटककै अंशस्वरूप पात्र सुनील पोखरेले नाटकका अन्य कलाकारलाई आत्महत्या गलत हो भनी बुझाउँदै थिए । यसरी यो नाटकले जीवनका अँध्यारा पक्षमा छलफल गर्न प्रेरित गरेको बुझिन्थ्यो ।
उसले जतिपटक मर्ने दुस्साहस गर्छ, त्यति नै पटक अर्को पात्रलाई दुखेको दृश्य मञ्चमा देखाइन्छ । त्यो दुखेको पात्रलाई आश्वासन दिन दया अँगालो हाल्न पुग्छ । यही दृश्यमार्फत कथानकको मूल भाव अभिव्यक्त गर्न खोजेको बुझिन्छ । यद्यपि यो दृश्य त्यति स्पष्ट र दर्शकसँग जोडिएजस्तो लाग्दैन । यसलाई खास प्रकाश, ध्वनि र सेट (साजसज्जा)ले स्पष्ट पार्ने ठाउँ देखिन्छ ।
एउटा दृश्य छ, प्रधानपात्र वृद्धसँग दया अधिकारीले भूकम्पको बारेमा कुरा गरिरहेको हुन्छ । यस दृश्यमा वर्तमानको वृद्ध पात्रको केही दूरीमा आठ वर्षअघिको उसैलाई उभ्याइएको छ, उसको भूमिकामा अन्य पात्र उपस्थित छन् । वर्तमानको वृद्ध पात्रसँग कुरा गर्दागर्दै दया आठ वर्षअघिको उसैसँग कुरा गर्न पुग्छ । फ्ल्यासब्याकमा जाने यो शैली यस नाटकमा अद्भुत देखिएको छ ।
आजभन्दा १० वर्षअघि शंकर खरेलले लेखेको ‘काल’ शीर्षकको कथाबाट प्रभावित भएर कामतले यो नाटकको कथानक विकास गरेका रहेछन् । यो दश वर्षमा आफूले यस नाटकको १० वटाभन्दा बढी ड्राफ्ट तयार गरेको कामत बताउँछन् । उनले नाटक लेख्दै जाँदा देश र संसार नै प्राकृतिक विपतको चपेटामा प¥यो । सुरुमा भूकम्प आयो, त्यसपछि विश्वव्यापी कोरोना महामारी । त्यसअघि नै देशले १० वर्षे जनयुद्ध भोगेको थियो । पछिल्लो समय नेपालमा आत्महत्या बढ्नु चिन्ता र बहसको विषय बनेको छ । आफ्नै छरछिमेक र आफन्तले आत्महत्या गर्न खोजेका अनेक कथा निर्देशक कामतसँग छन् ।
‘यो नाटक डिस्कोर्समा जानुपर्छ । आत्महत्या गर्ने समस्याबारे छलफल हुनुपर्छ । आत्महत्या गर्नेको दृष्टिकोणमा समस्या ठूलो होला, तर छलफलमा ल्याउँदा ती समस्या ठूला होइनन् । ड्रामा थेरापीकै रूपमा मैले यो नाटक तयार गरेको हुँ,’ निर्देशक कामत भन्छन्, ‘अहिले मानिसको काम–व्यवसाय चौपट भएका छन् । मानिसमा निराशा छ । उनीहरूका समस्यालाई राज्यले सुनिदिनुपर्छ ।’
नाटकको प्रधानपात्रको मञ्चमा उदय नै बाकसभित्रबाट हुन्छ । यस्तो लाग्छ, यो पात्र एउटा मानसिक विक्षिप्तता फोडेर निस्केको छ । एकपटक जिउँदो प्रधानपात्र वृद्ध लास राख्ने खटमा आनन्दले बस्छ । यो दृश्यले यही संकेत गर्न खोजेको बुझिन्छ — आखिर मृत्यु अकाट्य छ, अन्ततः सबैको बाटो उही हो, त्यहाँ जान हतार किन गर्ने ? बरु समस्याहरूमाथि आनन्दले बसेर सोच्नुपर्छ ।
नाटक हेरिसकेपछि मैले यस नाटकका कलाकार (सुनील र प्रवीण)सँग पनि छलफल गरेको थिएँ । उनीहरूका अनुसार, यस नाटकका कतिपय दृश्य रिहर्सलकै क्रममा विकास भएका हुन् । नाटकभरि मञ्चमा झुन्ड्याइएका डोरीहरू हट्दैनन् । तल्र्याङतुर्लुङ डोरीहरूका बीच नाटक सुरु हुनु र सकिनुले कलात्मक अर्थ त बोकेकै छ । एक खालको निरसता देखाउन एकै खालको सेट भइरहनुलाई पनि कला मान्न सकिएला ।
यद्यपि, नाटक हेरिरहँदा दर्शकको रूपमा मलाई लागेको थियो, कम्तीमा नाटकको अन्त्यतिर समस्याको यो निरस संसार हटेर अर्को सुन्दर संसार आओस् । दर्शकलाई आत्महत्या जस्तो एक खालको दलदलबाट निस्केको आभास होस् । ‘हो है, यो आइडिया पनि ठीक हो,’ सुनीलले भने ।
नाटकमा आत्महत्याका दृश्य राखिएका छन् । कतै यसले उस्तै दर्शकको मानसिकतामा नकारात्मक प्रभाव त पार्दैन ? ‘यो ब्ल्याक कमेडी हो । कला–साहित्यमा सधैँ पोलिटिकल्ली करेक्ट भन्ने हुँदैन,’ सुनील भन्छन्, ‘हामीले नाटकको अन्त्यतिर आत्महत्या गलत हो भन्ने किसिमले छलफल गरेका छौँ । र, आत्महत्या गर्न खोज्ने वृद्ध नै नाटकमा छैन, उसको भूमिका निभाइएको मात्र हो भन्ने हामीले नाटकभित्रै देखाएका छौँ ।’
नाटकको सुरुवातमै निर्देशकको मृत्यु भइसकेको र उसको फोटोमा माला लगाएको दृश्य छ, यो दृश्य झुक्किएजस्तो गरी ल्याइन्छ । अर्कोतिर, नाटकको सुरुवाततिरै भनिन्छ, पत्रकार र वकिलले अभिनय गर्न थाले, यी कलाकार (मञ्चमा उपस्थित)लाई काम भएन । यसरी हास्य–व्यङ्ग्य शैलीमा रङ्गमञ्च र वास्तविक समाज वा जीवनको दूरी मेट्दै नाटक अगाडि बढ्छ र आत्महत्याको विषयलाई कथानकमा घुसाउँछ ।
कलाकार प्रवीण भन्छन्, ‘पोलिटिकल्ली करेक्ट वा इन्करेक्टभन्दा पनि नाटकको फम्र्याटले नै आत्महत्याका दृश्यलाई सिम्बोलिक राख्न भन्छ । काम गर्दै जाँदा केही इरर भए कि भन्ने मलाई पनि लागेकै हो ।’
जेहोस्, आत्महत्यालाई कम गर्न हामीले विभिन्न ढंगले बहस गर्न आवश्यक छ । आत्महत्या गर्नुका पछाडि विभिन्न कारण वा समस्या हुन सक्छन्, त्यसमा राज्यले र समाजले सोच्न आवश्यक छ । योसँगै रङ्गमञ्चका माध्यमबाट कथा कसरी भन्ने, यो पनि गम्भीर छलफलको विषय छ ।
सामाजिक मुद्दालाई हेर्दा यस नाटकमा ‘बाहुनको छोरालाई कोटा नभएको’ संवाद समेत आएको छ । यो आवाजले पछिल्लो समय समाज (खासगरी सामाजिक सञ्जालहरु)मा ठूलै स्वर गरेको देखिन्छ । यहाँनेर के स्पष्ट हुनुपर्छ भने, कोटाको अभ्यास विभिन्न क्षेत्रमा बाहुन–क्षत्री हालीमुहाली भएका बेला भएको थियो । अझै पनि सरकारले तथ्यांक निकालेको छैन । निजामती सेवा, सेना, प्रहरी, शिक्षक लगायतमा कुन जात (भनिएको) र कुन जाति वा समुदायका व्यक्ति कति छन् भनी तथ्यांक निकाल्नुपर्ने हुन्छ । अहिले पनि जनजातिको कोटामा नेवारका पनि शाक्यले जागिर खाए, महिलाका कोटामा बाहुन–क्षेत्री महिला नै बढी आए भन्ने छ । मसँग एकजना ठकुरी साथीले भन्दै थिए, कोटा ठकुरीलाई पनि चाहिन्छ । समाजमा जातीय र वर्गीय विभेदको खाडल नहट्दासम्म सामाजिक न्याय स्थापनाका लागि सरकारी ‘रोटी’ (रोजगारी) समानुपातिक रुपमा बाँडेको राम्रो । खुला पदमा भिड्ने व्यवस्था नराखी आ–आफ्नो कोटामा लड्ने हो भने, खासगरी समाजमा सबैभन्दा पिँधमा रहेको दलित र खासगरी महिलाले अवसर पाउने थिए । यसमा रङ्गकर्मीजस्ता अलि चेतनशील भनिएको वर्ग सचेत हुन आवश्यक छ ।
वरिष्ठ रङ्गकर्मीदेखि बालकलाकार (सुरभी कामत)ले काम गरेको यस नाटक अभिनयका दृष्टिकोणले सशक्त छ । यो नाटकले यो पनि सन्देश दिएको छ, पुरानो र नयाँ पुस्ताको सहकार्यमा नाटकहरू बन्नुपर्छ, त्यसो हुँदा कथा भन्ने शैली र तरिका विकास हुन, नयाँपन वा फरकपन आउन सक्छ ।
मञ्चमा
सुनील पोखरेल, प्रवीण खतिवडा, चन्द्र नेपाली, निता राई, केशव शाही, आशिष घिमिरे, अर्जुन सिवाकोटी, सन्देश (घनेन्द्र) कार्की, रोशन चन्द, सलिना क्षत्री, सुरभी कामत ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
-
जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्दै एमाले
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?