सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

बुधबार, २० मङ्सिर २०८०, २१ : १६
बुधबार, २० मङ्सिर २०८०

आज २०८० मंसिर २० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आरती साह मृत्यु प्रकरण

सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो । यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको छ । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरू दुवै जना हाल थुनाबाहिर थिए । यसअघि आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेको थियो । 

एनसेल प्रकरण

 कानुनी छिद्रमा टेकेर निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री प्रक्रिया अघि बढेको छ । नीति निर्माताहरुले बनाएको अस्पष्ट कानुनी व्यवस्थामा टेकेर मलेसियन कम्पनी आजियाटा र बेलायती कम्पनी स्पेक्ट्रलाइटबिच खरिद–बिक्री प्रक्रिया अघि बढेको हो । विदेशी लगानीको विषयमा नेपालका दुई वटा कानुनले छट्टाछुट्टै व्यवस्था गरेको छ । एनसेल विदेशी लगानीबाट सञ्चालित दूरसञ्चार कम्पनी हो । सोहीकारण, एनसेललाई ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ र ‘दूरसञ्चार ऐन, २०५३’ले समेट्छ ।

मन्त्रीको पार्टीभित्रै आलोचना

नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री भएकाहरूको कार्यसम्पादन नतिजा राम्रो नभएको भन्दै पार्टीभित्र चर्को आलोचना भएको छ । पार्टीबाट मन्त्री बनेका नेताहरूले राम्रो काम गर्न नसकेको भन्दै देशभरका नेता कार्यकर्ताले आलोचना गरेका हुन् ।

कर्मचारीको चरम अभाव झेल्दै कोशी प्रदेश

प्रदेश संरचना कार्यान्वयन भएको ६ वर्ष पूरा हुन लागेको छ । तर, कोशी प्रदेशमा कर्मचारीको चरम अभाव छ । भएका कर्मचारीमध्ये पनि झण्डै ५४ प्रतिशत कर्मचारी झापा, मोरङ र सुनसरी केन्द्रित रहेको पाइएको छ ।

अर्थ समितिमा गभर्नरको ब्रिफिङ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वर्तमान आर्थिक स्थिति सहज अवस्थामा रहेको दाबी गरेका छन् । बुधवार अर्थ समितिको बैठकमा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धमा संक्षिप्त रिपोर्ट पेस गरेका गभर्नर अधिकारीले आन्तरिक तथा बाह्य चुनौतीका बाबजुद पनि मुलुकको वर्तमान आर्थिक स्थिति सहज रूपमा अघि बढिरहेको दाबी गरेका हुन् । 

राष्ट्रिय सभा निर्वाचन

आगामी फागुन २० पछि राष्ट्रिय सभाको दलीय हैसियत उलटफेर हुने देखिएको छ । माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनपछि राष्ट्रिय सभामा सत्तारुढ नेकपा माओवादी केन्द्र पहिलो दल बन्ने लगभग निश्चित छ ।

जाजरकोट भूकम्प

तीन वर्ष अघिमात्रै चार लाखभन्दा बढी खर्च गरेर बनाएको घर भूकम्पले चिराचिरा पारेपछि ३१ वर्षीय सन्दिपा पुनलाई राम्रोसँग न निन्द्रा लागेको छ, न ढुक्कले पेटभरि खान सकेकी छन् । नलगाड नगरपालिका–१, कलपटकी सन्दिपाको एउटा मिर्गौला छैन ।

सुन प्रकरण

काठमाडौँ महानगरपालिका–२२ स्थित न्यूरोडमा सञ्चालित दुईवटा सुन पसलमा छापा मारेर प्रहरीले ७ किलो ८ सय ग्राम सुन बरामद गरेको छ । न्यूरोडमा सञ्चालित ‘ओम पर्ल गोल्ड प्रा.लि’ र  ‘कैलाश ज्वेलर्स प्रा.लि’मा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

आरती साह मृत्यु प्रकरण

नेपाली नागरिकलाई ‘भिजिट भिसा’ मा रुसको सेनामा भर्ना हुन पठाउने गिरोहको साथबाट प्र्रहरीले २७ लाख ६० हजार बरामद गरेको छ । ओखलढुंगा घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीया सुजता दाहाल र चितवन घर भएका २५ वर्षीय गोकर्ण अर्यालको साथबाट प्रहरीले १४ लाख १८ हजार ५ सय नगद बरामद गरेको छ ।

रोकिएन आयात

नेपालमा पछिल्लो समय गहुँ खेतीको क्षेत्रफल र उत्पादन बढेको छ । तर गहुँ, गहुँको बिउ तथा गहुँजन्य वस्तुको आयात भने रोकिएको छैन । चालु आर्थिक वर्षको चार महिनामा मात्रै ९८ करोड ६७ लाख रुपैयाँ बराबरको २० हजार २ सय ७९ मेट्रिक टनको गहुँजन्य वस्तु आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप