शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पोखरा थन्डर्स शीर्ष स्थानमा

बुधबार, २० मङ्सिर २०८०, १९ : २१
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । पोखरा थन्डर्स जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा बुधबार स्पोर्टिङ इलामलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा आफ्नो चौथो खेलमा इलाममाथि १–० को साँघुरो जित निकाल्दै पोखरा शीर्ष स्थानमा उक्लिएको हो । 

चार खेलमा इलामले तेस्रो हार सामना गर्दा पोखराले भने दोस्रो जित निकालेको छ । इलामले एक मात्र जित झापा एफसीमाथि निकालेको थियो । यता, अपराजित पोखराले यसअघि एफसी चितवनलाई हराउँदा ललितपुर सिटी र झापासँग बराबरी गरेको थियो । यो जितसँगै पोखरा आठ अंकसहित शीर्ष स्थानमा रहँदा इलामको तीन अंक छ ।

पोखराले इलामविरुद्ध दबाबमा रहेर खेलको सुरुवात गरे पनि दोस्रो हाफमा पुनरागमन गर्‍यो । पहिलो हाफमा पोखराले एउटा पनि आक्रमण बनाउन सकेन र पूर्ण रूपमा इलामको दबाबमा रहेर खेल्यो । दोस्रो हाफमा मार्की खेलाडी आयुष घलानको प्रवेशसँगै पोखराले पुनरागमन गर्‍यो । त्यसअघि छैटौं मिनेटमा नै इलामको पहिलो आक्रमण बन्यो । इब्राहिम जितेको पासमा ओमार थिओमको हेडर माथिल्लो बारभन्दा केही माथिबाट बाहिरिन पुग्यो । १३ औं मिनेटमा फोडे क्यामराले कर्नर साइडबाट गरेको प्रहार दोस्रो नजिकैबाट बाहिर गयो । इलामले २३औं मिनेटमा फ्रिकिक प्रहार सदुपयोग गर्न सकेन ।

करिब २५ यार्डबाट इब्राहिमको प्रहार पोखराका गोलकिपर प्रिसो सहजै रोके । २९ औं मिनेटमा फोडको प्रहार प्रिसो डाइभ गर्दै बाहिर पठाए । आशिष गुरुङले ४२ औं मिनेटमा इलामलाई अग्रता दिलाउने अवसर गुमाए । पेनाल्टी क्षेत्रमा उनको फ्रिहेडर पोस्टको दिशामा रहन सकेन । इलामका लागि ४५ औं मिनेटमा ओमरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार प्रिसोले रोक्दै संकट टारे । पहिलो हाफमा इलामले एकपक्षीय रूपमा दबाब बनाए पनि गोल हुन भने सकेन । पोखराले दोस्रो हाफको सुरुआतमा नै गोल गर्‍यो ।

४६औं मिनेटमा मोसे तुमले पेनाल्टी क्षेत्रबाट गरेको सशक्त प्रहार पहिलो बारमा ठोक्किँदै इलामका गोलकिपर विकेश कुथूको ढाडमा लागेर गोललाइन हुँदै अर्को कर्नर पुग्यो । सोही बल नियन्त्रणमा लिँदै पोखराका आयुष घलानले गरेको प्रहार इलामले क्लियर गरिदिए । आयुषकै कर्नर प्रहारमा इलामका ओमारको खुट्टा डिफ्लेक्ट भएको बललाई पोखराका सञ्जीव विष्टले वान टचमार्पmत गोलमा परिणत गराएका हुन् । महत्त्वपूर्ण खेलाडी आयुष दोस्रो हाफमा मैदान प्रवेश गरेसँगै दबाब बनाउन सुरु गरेको पोखराले गोल पनि गर्‍यो । खेलको पहिलो आक्रमणमा नै पोखराले गोल गरेको हो ।

६७औं मिनेटमा इलामका डिफेन्डर विमल पाण्डेले गोल गर्ने सुन्दर अवसर खेर फाले । करिब ३५ यार्ड टाढाबाट फोडेको फ्रिकिक प्रहारमा अनमार्क रहेका विमलको हेडरले सही दिशा लिन सकेन । इलामका इब्राहिमले ८०औं मिनेटमा खेलमा फर्कने अवसर सदुपयोग गर्न सकेनन् । पेनाल्टी क्षेत्रबाट उनको प्रहार पोखराका गोलकिपर प्रिसोले सहजै रोके । इन्जुरी समयमा पोखराका सुरज ज्युठकुरीको लामो प्रहार ललितपुरका गोलकिपर विकेशले पन्च गर्दै बाहिर पठाइदिए । त्यसपछि पनि पोखराले केही आक्रमण बनाए पनि थप गोल हुन सकेन र इलाममाथि साँघुरो जित निकाल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप