केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी

काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो ।
विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले जानकारी दिए । केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन् । उनका अनुसार भारतीय एक सय ३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश नौ, थाइल्याण्ड आठ, बोलिभिया पाँच, मलेसिया चार, फिलिपिन्स तीन, अमेरिका तीन, जर्मनी तीन, सुडान तीन रहेका छन् ।
साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका एक/एक जना कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेतले बताए ।
विदेशी कैदीबन्दीमध्ये लागुऔषधका धेरै
कारागार प्रशासक बस्नेतका अनुसार केन्द्रीय कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये लागुऔषध मुद्दाका बढी कैदीबन्दी रहेका छन् । उनका अनुसार एक सय १३ विदेशी नागरिक अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन् । त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेको देखिन्छ । त्यसबाहेक अवैध रुपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा आठ, जीउ बेच्ने मास्नेमा सात र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन् ।
नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको कारागार प्रशासक बस्नेतले बताए । नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र दुई विदेशी रहेका छन् । केन्द्रीय कारागारको क्षमता एक हजार सात सय रहेपनि हाल तीन हजार चार सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ ।
तीन वटा कारागार भवन रहेको केन्द्रीय कारागारमा केन्द्र जेलमा एक हजार आठ सय ६६, भद्र जेलमा एक हजार एक सय ३९ र महिला जेलमा चार सय ६४ कैदीबन्दी रहेका छन् । महिला जेलमा ११ नाबालक कैदीबन्दीसँगै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ ।
कारागार प्रशासक बस्नेतले काठमाडौँमा उपचारका लागि विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण हुँदा केन्द्रीय कारागारमा कैदीबन्दीको सङ्ख्या बढ्न गएको बताए । “अड्डा अदालतदेखि उपचारका लागि विभिन्न अस्पताल काठमाडौँमा हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय कारागार आउने कैदीबन्दी बढेका छन्”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको छैन
-
ग्रामथान गाउँपालिकाका जनप्रतिनिधिको गाडी सुविधा कटौती
-
नेमकिपाको अध्यक्षमा विजुच्छेँ सर्वसम्मत चयन
-
श्रममन्त्रीसँग जापानीज राजदूतको भेट, दक्ष नेपाली कामदार लैजाने विषयमा छलफल
-
दशौँ राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल
-
चिकित्सक संघका ३२ अध्यक्षको इतिहास समेटिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन