मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सफल उद्यमीका रूपमा पहिचान बनाएका कोमल प्रसाद मैनाली

शुक्रबार, २३ पुस २०७८, २१ : ५४
शुक्रबार, २३ पुस २०७८

राष्ट्र निर्माण हुने भनेको सबैले आ-आफ्नो क्षेत्रमा दक्षता हासिल गरी व्यक्तिगत, व्यावसायिक र सामूहिक तवरले योगदान गरेरै हो । त्यस अभियानमा कुनै पनि काम सानो ठूलो हुँदैन, सबैको उल्लेखनीय भूमिका रहन्छ । राष्ट्र निर्माणको यस महा अभियानमा आफ्नो उल्लेखनीय योगदान गरेका व्यक्ति हुन्, कोमल प्रसाद मैनाली । व्यवसायिक नेतृत्व गरेर नेपालमा यहाँका बासिन्दाहरूले उनीहरूले खोजेको र मन पराएको सामग्रीहरू उपलब्ध गराउनु उनको खुबी हो । मैनाली विजिनेस कन्सर्न, मैनाली विजिनेस कन्सर्न प्रालि र मैनाली स-मिलमार्फत लामो समयसम्म व्यावसायिक सफलता हासिल गरेका उनले राष्ट्र निर्माणमा रोजगारी सिर्जना, गुणस्तरीय सामग्रीहरू उपलब्ध गराएर, सरकारलाई उल्लेख्य राजस्व तिरेर र देशका सम्पदाहरूको सही उपयोग गरेर योगदान दिएका छन् । तिनै योगदानहरूको यहाँ चर्चा गर्नु वाञ्छनीय देखिएकाले यो लेख त्यसतर्फ केन्द्रित रहेको छ ।  

सर्लाहीमा २०२२ सालमा जन्मिएका कोमल प्रसाद मैनालीले गाउँमै आफ्नो प्रारम्भिक शिक्षा हासिल गरी उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आएका थिए । र अध्ययनकै क्रममा उनले आफ्नो व्यावसायिक जीवनीको सुरुवात गरी जीवनको रथलाई अगाडि बढाए । यिनै व्यवसायिक जीवनको एक हिस्सा मैनाली विजिनेस कन्सर्न हो । उक्त कन्सन २०७३ सालबाट कोमल मैनालीको एकल स्वामित्वको रूपमा महाराजगञ्ज, काठमाडौँबाट सञ्चालित रहेको व्यवसाय हो । मैनाली आफैँ प्रमुख सञ्चालक रहेको यस कम्पनीमा १५ जना कर्मचारीहरू पूर्णकालीन रूपमा कार्यरत रहेका छन् भने अल्पकालीन रूपमा आवश्यकता अनुसार ४०-४५ कर्मचारीहरूलाई नियुक्त गरी काम गराउने गरिएको छ ।

यस कम्पनीले युरोपबाट सिल्क प्लास्टर र मिक्स आर्टको पहिलोपटक व्यापारिक तवरमा पैठारी गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । सिल्क प्लास्टर प्राकृतिक रेशम तथा अघुलनीय रेसादार वस्तुबाट बनेको भित्तामा प्रयोग गर्न मिल्ने कलात्मक आवरण हो । यसको प्रमुख काम भनेको भित्ताको सौन्दर्य बढाउन विलासी तथा खस्रो रूप दिनु हो । यसको दिगोपन, लचकता तथा वातावरणीय रूपमा उपयुक्त मिश्रण भएकाले यसलाई मन पराइन्छ । यसको आवरण तथा यसलाई छुँदा मौलिक भान हुने भएकाले यसको लोकप्रियता बढिरहेको छ र भित्तालाई ढाक्ने परम्परागत सामग्रीहरूको विकल्पको रूपमा आएको छ । यो भित्तामा लगाउन पनि सजिलो छ र यसको आवरण राम्रो देखिने, यसलाई स्पर्श गर्दा नरम हुने, यसले चर्किएका भित्तालाई ढाक्ने, यसलाई सार्न मिल्ने र यसको दिगोपन कम्तीमा दश वर्ष जति रहेकाले यसको प्रयोग बढ्दै गएको छ । बाहिर लगाइने रङहरुको मिश्रण (एक्सटेरियर कलर मिक्स आर्ट) भनेको घरको बाहिरी भागमा विभिन्न रङहरूलाई मिलाएर लगाउने विधि हो । अहिले नेपालका प्रमुख सहरहरूमा १०२ बिक्रेताहरूले सिल्क प्लास्टर र मिक्स आर्टका सामग्रीहरूको बेचबिखन गरिरहेका छन् । उनीहरूलाई यी सामग्रीहरूसँग अभ्यस्त बनाउन र त्यसको प्रयोगमा सहजता ल्याउन कम्पनीबाट प्राविधिकहरूले स्थलगत रूपमा भ्रमण गरी तालिम प्रदान पनि गर्ने गरेका छन् । 

त्यस्तै उनले मैनाली विजिनेस प्रालि मार्फत निर्माण सामग्रीहरू तथा वस्तुहरूको आपूर्ति गरी आफ्नो व्यावसायिक यात्रालाई विविधिकरण गरी अगाडि बढाए । यस क्रममा विभिन्न परियोजना, विभिन्न व्यक्तिहरूका घर बनाउनका लागि सामग्रीहरू उपलब्ध गराइयो । विदेशबाट बाथरूम तथा भान्साकोठामा प्रयोग गरिने कमोड, युरिनल, पेडिस्टल बेसिन, ज्याकुजी, ड्राइस्ट्रीम, इनक्लोजर, किचेन सिङ्क, धाराजस्ता सामग्रीहरूको आयात गरी आफ्नै ब्रान्डबाट तथा उत्पादककै ब्रान्डबाट सामग्रीहरू उपभोक्तामाझ पुर्याएको छ । आफ्ना सामानको गुणस्तर कायम राख्न, बजारमा अलग्गै पहिचान बनाउन, बजारीकरण गर्न यो विधिमार्फत सहज भएको छ । यस व्यवसायको लागि तयार पारिएको व्यवसायी, कालिगड, अन्य प्राविधिक, कम्पनीका प्रतिनिधिहरूको देशव्यापी सञ्जालले कोमल मैनालीको व्यावसायिक क्षमतालाई झल्काएको छ । कम्पनीका सामग्रीहरूको बजारीकरण, वितरण, मूल्य निर्धारण जस्ता विषयमा रणनीति बनाउने र कम्पनीका नीतिहरू बनाउने काममा मैनालीकै संलग्नता तथा नेतृत्व रहेको छ । उनले नेपाल चेम्बर अफ कमर्समा पनि सक्रिय रूपमा संलग्न भई व्यापारिक वातावरण बनाई सबैको व्यवसाय विस्तारका गर्नका लागि मद्दत गरे । 

व्यवस्थापन संकायमा स्नातक तहको अध्ययन गरी स्नातकोत्तर तहको अध्ययनको क्रममा नै व्यावसायिक यात्रामा होमिएका कोमल मैनालीले सुरुमा मैनाली स मिल नामक कम्पनी दर्ता गरी काष्ठ उद्योगमा आफूलाई स्थापित गरे । २५ वर्ष उक्त क्षेत्रमा संलग्न हुँदा त्यस कम्पनी मार्फत घर निर्माणको लागि आवश्यक पर्ने झ्याल, ढोका, फर्निचर लगायत ग्राहकको माग अनुसारका विभिन्न जातका काठका सामग्रीहरू उपलब्ध गराई उनीहरुका आवश्यकतालाई पूर्ति गरिएको थियो । यस व्यवसायमा नेपालका विशेष गरी तराई क्षेत्रबाट काठहरू खरिद गरी त्यसको प्रशोधन मार्फत माग बमोजिमका सामग्रीहरूको उत्पादन गरी बिक्री वितरण गरिएको थियो । उक्त उद्योग मार्फत ५०-६० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ । यस कम्पनीमा संलग्न हुँदै गर्दा मैनालीले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघमा पनि नेतृत्वदायी भूमिकामा संलग्न रहे । उक्त महासंघको रजत जयन्तीको अवसरमा पूर्वी तराई क्षेत्रमा सवा लाख बिरुवा वृक्षरोपण गर्ने कार्यलाई मैनालीले सक्रिय रूपमा सघाए । उहाँले उद्योगीहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्न पनि उल्लेख्य भूमिका खेखे । यिनै योगदानहरू समेतका लागि महासंघले उनलाई आफ्नो रजत वर्षको उपलक्ष्यमा कदर पत्र समेत उपलब्ध गराएको थियो । 

यी सबै कम्पनीहरू मार्फत गरिएका कामहरूले प्रथमत: सम्बन्धित उपभोक्ताहरूका आवश्यकताहरूलाई पूर्ति गर्ने कार्य भयो । त्यसका साथै व्यावसायिक रूपमा तिरेका करहरूले राज्यलाई आवश्यक राजश्व प्राप्त भयो । रोजगारीको सिर्जना गर्नु अर्को उल्लेख्य योगदान रहेको छ । लामो समयसम्म व्यावसायिक क्षेत्रमा सक्रिय रहेर आफ्नो व्यवसायलाई देशभरी नै विस्तार गर्नु एक सफल उद्यमीको पहिचान हो । त्यसमा मैनाली खरो उत्रिएका छन् । आफ्ना व्यवसाय सम्बन्धित संगठनहरुमा पनि सक्रिय रहेर उनले नेतृत्वदायी भूमिका खेली र समग्र व्यावसायिक वातावरणलाई अगाडि बढाउने काम गरे । यी कुराहरूले उनको उद्यमशीलता र नेतृत्वदायी गुणहरू प्रदर्शित भएका छन् । उनको आफ्ना व्यवसायहरूबाट देश र समाजलाई पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंशा वाञ्छित हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप