शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

वीरगन्ज युनाइटेडलाई पहिलो अंक

मङ्गलबार, १९ मङ्सिर २०८०, १९ : २८
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । वीरगन्ज युनाइटेडले मंगलबार ललितपुर सिटी एफसीलाई २–२ को बराबरीमा रोक्दै जारी नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा पहिलो अंक प्राप्त गरेको छ ।

निकै रोमाञ्चक बनेको खेलमा वीरगन्जले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई बराबरीमा रोक्दै अंक बटुलेको हो । यसअघिका दुई खेल हारेको वीरगन्जले तेस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन ग¥यो । यता बराबरीसँगै ललितपुरले अंकतालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाउन पुग्यो । चार खेलबाट ललितपुरले एक जित र तीन बराबरीका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानको धनगढी एफसी भने तीन खेलबाट सात अंक छ ।

तीन खेल खेलेको वीरगन्जको भने एक अंक छ । त्यसअघि खेलको पाँचौं मिनेटमा ललितपुर सिटीले दुई अवसर सिर्जना ग¥यो । ओमालाजा करिमको फ्रिकिक प्रहार वीरगन्जका डिफेन्डर एकिङ्स बाफौरले हेडमार्फत क्लियर गरिदिए । सोही कर्नरमा पनि ललितपुरले गोल अवसर बनायो । अनिल महर्जनको कर्नरमा अनन्त तामाङको हेडर वीरगन्जका गोलकिपर दीप कार्कीले बचाए । तर दबाबमा रहेको वीरगन्जले १० औँ मिनेटमा नै मिडफिल्डर विलियम ओपकुको गोलबाट अग्रता लियो । बक्सबाहिर अनिलले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै औबेद औसुले विलियमलाई दिएको पास कप्तान अनन्तले क्लियर गर्न खोजे । तर, अनन्तले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै विलियमले लेफ्ट फुटेड प्रहार गोलमा परिणत गराए ।

उनको प्रहार ललितपुरका गोलकिपर जेफ्री विली मार्सेललाई बिट गर्दै पोस्टको जाली चुम्यो । यससँगै फ्रेन्च गोलकिपर जेफ्रीले जारी सिजन पहिलो गोल व्यहोरे । यसअघिका तीन खेलमा ललितपुरले शतप्रतिशत क्लिन सिट राख्न सफल भएको थियो । तर वीरगन्जको अग्रता तीन मिनेट पनि टिक्न सकेन । १३ औँ मिनेटमा मिडफिल्डर सेसेहाङ आङ्दाङ्बेको लङ रेन्ज थ्रु बललाई सदुपयोग गर्दै फरवार्ड इमोन एजिकिलले सुन्दर गोल गरे । इमोनले डिफेन्डर जाजे गुस्ताभोलाई छक्याउँदै वीरगन्जका मार्की तथा कप्तान दीप कार्कीलाई बिट गर्दै गोल गरेका हुन् ।

२४औँ मिनेटमा इमोनको प्रहारले पुनः क्षति पु¥याउन लाग्दा मिडफिल्डर भिसोन गुरुङले बललाई क्लियर गरिदिए । २७औँ मिनेटमा ललितपुरले निखिल कदमको गोलमा अग्रता लियो । बुटवलका डिफेन्डरले पेनाल्टी क्षेत्रभन्दा केही बाहिर नियन्त्रणमा लिन नसकेको बल खोस्दै कदमले गोल गरेका हुन् । कदमको प्रहार सशक्त नभए पनि वीरगन्जका गोलकिपर दीप कार्की सहज गोल खान पुगे । ३४औँ मिनेटमा मिनेटमा दिनेश हेन्जनको उत्कृष्ट पासमा सेसेहाङ आङदेम्बेले पेनाल्टी क्षेत्रमा गोल गर्ने अवसर खेर फाले । त्यसको तीन मिनेटपछि नै वीरगन्जका ओबेद ओसुयुले खेलमा फर्कने अवसर सदुपयोग गर्न सकेनन् ।

भिसोन गुरुङको पासमा पेनाल्टी क्षेत्रमा रहेका आबेद फ्रिहेडरमा गोल गर्ने अवर गुमाएका हुन् । त्यससँगै पहिलो हाफमा ललितपुर २–१ ले अगाडि रह्यो । ४६औँ मिनेटमा इमोनको फ्रिकिक प्रहार वीरगन्जका गोलकिपर कार्कीलाई समस्या हुन सकेन । वीरगन्जले ५२औँ मिनेटमा कृपाकान्त महतो थारुको गोलबाट खेलमा फर्कियो । ओपोकुले करिब ३० यार्ड टाढाबाट गरेको सशक्त प्रहार माथिल्लो बारमा लाग्दै फर्कने क्रममा ललितपुरका कप्तान अनन्तको खुट्टामा डिफ्लेक्ट भएको बल नियन्त्रणमा लिँदै कृपाकान्तले नजिकैबाट गोल गरेका हुन् । ५७औँ मिनेटमा जय गुरुङको सशक्त प्रहार भाग्यशाली बनेन ।

करिब २२ यार्ड टाढाबाट उनले गरेको प्रहार दोस्रो बारमा लागेर फर्किँदा ललितपुरका गोलकिपर जेफ्रीको ढाडमा ठोक्किए पनि गोल हुन सकेन । इन्जुरी समय ललितपुरको दुई राम्रा अवसर गोलमा परिणत हुन सकेन । दिनेश हेन्जनको उत्कृष्ट प्रहार वीरगन्जका गोलकिपर दीपले जोगाए । ललितपुरले अर्को अवसर पनि बनायो । कप्तान अनन्त तामाङको सशक्त फ्रिकिक प्रहारमा वीरगन्जका गोलकिपर दीप कार्कीले उत्कृष्ट डाइभ गर्दै आफ्नो टोलीको संकट टारे । त्यसपछि बाँकी समयमा दुवैले गोलका लागि धेरै अवसर सिर्जना थरे पनि थप गोल हुन सकेन र खेल बराबरीमै टुङ्गियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप