बर्दिया पठाइयो चितवनको बाघ

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको भए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
अन्दाजी चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गत साउनमा नियन्त्रणमा लिइएको थियो ।
कसराको खोरमा चारवटा र सौराहामा दुईवटा हिंस्रक बाघ छन् । केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको अन्दाजी १० वर्षको पोथी बाघ सौराहामा राखिएको छ । यस्तै सौराहामै गत वर्ष मेघौलीमा मानिसलाई आक्रमण गरेको अन्दाजी १० वर्षको भाले बाघ पनि छ ।
तिवारीका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा गत भदौमा अमलटारीबाट ल्याइएको अन्दाजी दुई वर्षको भाले बाघ छ । यसैगरी बाँकेबाट दुईवर्ष अघि ल्याइएको अन्दाजी नौ वर्षको भाले बाघ त्यही खोरमा राखिएको छ । माडीको वनकट्टाबाट ल्याइएको अन्दाजी १३ वर्षको पोथी बाघ र तीन वर्षअघि देवनगरको बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिई ल्याइको अन्दाजी १२ वर्षको भाले बाघ कसरामा रहेका छन् । थप बाघ नियन्त्रणमा लिनु पर्दा तत्कालै राख्ने ठाउँ छैन ।
निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बनाउँदै छ । सोही ठाउँमा बाघ राख्नका लागि दुईवटा खोर बनाइँदै छ । देवनगरका खोरमा राखिएका बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापन गरिँदै छ ।
हिंस्रक बाघ बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको छ । एउटा बाघलाई एक दिन बिराएर पाँच किलो राँगाको मासु खुवाउने गरिएको छ । ठाउँ, जनशक्ति र आहाराका कारण बाघको व्यवस्थापन कठिन बनेको हो ।
सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ र देशभर तीन सय ५५ वटा बाघ छन् । निकुञ्जले यस आर्थिक वर्षमा दुईवटा हिंस्रक बाघलाई स्थानान्तरण गरेको छ । यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : शेरबहादुर देउवा
-
काठमाडौं विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) को प्रदर्शन
-
तीन सातादेखि नागढुंगा सुरुङमार्गमा स्थानीयको अवरोध, निर्माण ठप्प
-
शिक्षकहरुको आन्दोलनमा माओवादी केन्द्र बागमती प्रदेशको ऐक्यबद्धता
-
तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग
-
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीयः सभामुख