शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

झापा एफसीको काठमाडौँ रेजर्ससँग गोलरहित बराबरी

सोमबार, १८ मङ्सिर २०८०, १९ : १५
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । कप्तान अञ्जन बिष्ट बिनाको झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा दोस्रो बराबरी गरेको छ । दशरथ रंगशालामा सोमबार भएको आफ्नो तेस्रो खेलमा झापाले काठमाडौँ रेजर्ससँग गोलरहित बराबरीको नतिजा सामना गरेको हो । 

पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० ले हार व्यहोरेको झापाले दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरीको नतिजा सामना गरेको थियो । सोही खेलमा झापाका महत्त्वपूर्ण खेलाडी एवं कप्तान अञ्जन घाइते भएका थिए । त्यसकारण तेस्रो खेलमा झापाले कप्तान अञ्जनबिना खेले पनि काठमाडौँलाई रोक्न सफल भयो । जारी सिजन अपराजित काठमाडौँले झापाविरुद्ध राम्रो प्रदर्शन गर्न नसक्दा अंक बाँड्यो ।

यसअघि काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराउँदै सुखद सुरुवात गरेको थियो । तर, त्यसपछि एफसी चितवनसँग १–१ को बराबरी खेलेको काठमाडौँले तेस्रो खेलमा पनि बराबरीको नतिजा सामना ग¥यो । यससँगै काठमाडौँ तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा यथावत् छ । झापा भने तीन खेलबाट दुई अंकसहित आठौं स्थानमा छ । त्यसअघि खेलमा राम्रो अवसर सिर्जना हुन १४औँ मिनेटसम्म कुर्नुप¥यो । काठमाडौँ रेजर्सका कुलदीप कार्कीको लामो पास नियन्त्रणमा लिँदै हिसुब थपलियाको वान टच प्रहार झापाका गोलकिपर स्टेफन सुपिचले सहजै रोके ।

२७औँ मिनेटमा झापाले पहिलो अवसर बनायो । प्रदीप लामाको थ्रु बल नियन्त्रणमा लिँदै जर्ज सान्चेजको पेनाल्टी क्षेत्रभित्र बाट गरेको प्रहार काठमाडौँ गोलकिपर बचाए । ३१औँ मिनेटमा काठमाडौँका सोखरुख महर्जनको फ्रिकिक प्रहार माथिल्लो बार हुँदै बाहिरियो । त्यसको तीन मिनेटपछि नै झापाका समिराज थोकरले पेनाल्टी क्षेत्रको लेफ्ट साइडबाट गरेको फितलो प्रहार काठमाडौँका गोलकिपर अभिसेक बरालले सहजै नियन्त्रणमा लिए । पहिलो हाफको थप समयमा सान्चेजले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेनन् ।

प्रदीप लामासँग वान टु पासमा खेल्दै सान्चेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको फितलो प्रहार काठमाडौँका गोलकिपर बरालले सहजै रोकिदिए । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमै रोकियो । दोस्रो हाफको सुरुवातमा नै झापाका सान्चेजले अग्रता बनाउने अवसर खेर फाले । अन्तिम डिफन्डर छक्याउँदै उनको फितलो प्रहार काठमाडौँका गोलकिपर बरालले सहजै रोके । ६४औँ मिनेट झापाका समान्डर ओचिलोभको प्रहार गोलकिपर बरालले उत्कृष्ट पन्च गर्दै बाहिर पठाए । ओचिलोभको सशक्त प्रहार काठमाडौँका अन्जन राईसँग डिफ्लेक्ट भएर दिशा परिवर्तन गरे पनि बरालले उत्कृष्ट बचाउ गरे ।

लगत्तै ओचिलोभको सशक्त प्रहार पनि काठमाडौँका खेलाडीलाई ठोकिएर बाहिरियो । काठमाडौँका तोजिडिनोभ कोमिवानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट गरेको फ्रिकिक प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो । ८६औँ मिनेटमा एनकेङ्ग्यु जुनियरले काठमाडौँ रेजर्सलाई अग्रता दिलाउने अवसर गुमाए । राजीव लोप्चनले दिएको पासमा नियन्त्रण गर्दै अगाडि बढेका जुनियरको पेनाल्टी क्षेत्रबाट प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको संकट टारे । त्यसपछि बाँकी समयमा पनि गोल हुन सकेन र खेल बराबरीमै टुङ्गियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप