सीमा क्षेत्रमा अवैध गतिविधि रोक्ने नेपाल–भारतका सुरक्षा अधिकारीको प्रतिबद्धता

जनकपुरधाम । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक जनकपुरधाममा सम्पन्न भएको छ । भारतको मधुवनी जिल्ला र सोसँग सीमा जोडिएका मधेस प्रदेशका चार जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा भएको बैठकले द्विपक्षीय हकहितका लागि दुई देशका सुरक्षा चासोबारे सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपणि पाण्डेले जानकारी दिएका हुन् ।
आगामी पुस १ गते जनकपुरमा हुने विवाह पञ्चमी मेलामा आउने तीर्थालुको सहजीकरण, सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप र सुरक्षा चुनौती, मदिरा, हातहतियार ओसारपसार नियन्त्रण, दशगजा क्षेत्रमा अवैध रूपमा बनाइएका संरचना हटाउनेलगायत विषयमा एकअर्कालाई सहयोग गरेर अगाडि बढ्ने निर्णय भएको पाण्डेले बताए ।
नेपालका सबै नाका सवारी आवागमनका लागि खुला नरहेको अवस्थामा दुई देशका जनताबिच रहेको रोटीबेटीको सम्बन्ध, विवाह व्रतबन्धलगायत सामाजिक गतिविधिमा सहजीकरण गर्न दुवै पक्ष सहमत भएका छन् ।
त्यसैगरी, नेपाली भूमितर्फको दशगजामा रहेका सीमा स्तम्भको मर्मत तथा पुनर्निर्माण सुरु गरिसकेकाले भारतीय पक्षले चाँडै आफ्नो भागका सीमा स्तम्भ मर्मत गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
नेपाल–भारतका सुरक्षा अधिकारीहरूबिच हरेक चार–चार महिनामा संयुक्त बैठक हुने गरेको छ भने सीमासँग जोडिएका जिल्लाका सुरक्षा निकायका प्रतिनिधिबिच हरेक एक–एक महिनामा बैठक बस्ने गरेको छ । बैठकमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी तथा भारतको मधुवनी जिल्लाका प्रमुख अरविन्द कुमारलगायत दुवै देशका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय आइतबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध
-
दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास
-
कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु