बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कथा

‘शुभयात्रा’मा लुकेका जीवनका तरङ्ग

शनिबार, १६ मङ्सिर २०८०, ११ : ५२
शनिबार, १६ मङ्सिर २०८०

जेठ महिना अन्तिम अन्तिम हुँदै थियो । अत्यास लाग्दो लामो दिन, तुवाँलोले छोपेको वनपाखा अनि पहाडको दृश्यहरूले उराँठ लाग्नु स्वाभाविकै हो । दिनहरू जस्तोसुकै बेचैनी भए पनि कृषकको खेतीपाती सुरु हुने बेला हो । मुठी खाएर मुरी फलाउने काम गर्ने बेला हो ।

बा आँगन डिलको ठुलो ढुङ्गामा बसेर बसिलो उदाउँदै भन्नुभयो, “हेर केटा अब यसपालि अलि छिटो गर्नु पर्छ, रोपाइँ पोहोर जस्तो ढिलो गर्नु हुन्न ।”

मैले टाउको हल्लाएर हुन्छ भनेँ ।

बा उदाएको बसिलोले चिलाउनेको ठुटो ताछ्दै हलोको आकृति बनाउँदै मसँग सोध्नु भयो, “तेरी आमा र बहिनी अझै आइपुगेको छैन बजारबाट ?”

मैले छैन मात्रै भनेँ । अरू केही बोलिनँ ।

आमा र बहिनी बिहानै हाटमा गएका थिए । बेलुकीपखा आमा र बहिनी फर्के । बाले ताछ्न सुरु गरेको हलो बनिसकेको थियो ।

बेलुकी भयो । खाना खाएर सुत्ने तरखरमा थियौँ हामी । एक्कासि आकाश गड्याङगुडुङ गर्न थाल्यो । हावाहुरी चल्यो । जस्तापाताले छाएको छाना झन्डैझन्डै उड्न मात्रै बाँकी थियो । बिस्तारै हावाहुरी रोकेर पानी पर्न थाल्यो ।

बर्खा मासमा पानी पर्नु हामी कृषकको निम्ति थियो खुसीको कुरा । रात भरी पानी पर्‍यो । बा खुसी हुँदै, “ल भोलि बिहानै तिमी र म तल गैरीखेतमा जानुपर्छ । भल पसेर खेतको गराहरू भिजे होलान् । जोत्न सजिलो हुन्छ ।”

बा त्यत्ति भनेर सुत्न आफ्नो कोठातर्फ लाग्नुभयो ।

म पनि आफ्नो बिस्तारामा गएर पल्टेँ ।

बिहान सबेरै उठी बा र म गोरु, हलो–जुवा लिएर खेतमा गयौँ । आधा बिहान हुँदै गर्दा आमा र बहिनी पनि आए । खाजा खायौँ । पुनः काममा लागिरह्यौँ नसकुन्जेलसम्म ।

बा खुसी हुनुभयो बेलैमा खेत जोतेर रोप्न खेत तयार गरेको कुराले ।

“हेर केटा मैले भनेको जस्तै भयो रोपाइँ बेलैमा गर्न पाए दसैँ अगाडि नै पाक्छ धान । डाँडा घरे पण्डित बाले भनेका छन्– यो पालिको दसैँ अलि ढिलो छ ।”

दुई दिनपछि रोपाइँ भयो । अलिकति हल्का महसुस भयो ।

यो साल विगत केही वर्षयताकै धेरै झरी परेको वर्ष बनेको छ । वर्षा ज्यादै भएर धेरै ठाउँमा धेरै पहिरो गएको खबर रेडियोबाट सुन्नमा आएको छ ।

हाम्रो खानी गाउँमा पनि दिनदिनै जस्तो परेको पानीको कारण धेरै ठाउँमा पहिरो गएको छ । गाउँको तल बेँसीमा पर्ने खेतसँगै सधैँ बग्ने खानिखोला यो साल निक्कै हुँक्कार दिँदै बग्दैछ ।

साउनको महिना जताततै हरियाली छाएको छ । असारमा रोपेको गैरीखेतको धान घुँडाभन्दा माथि आइसकेको छ । दोस्रो पटक गोडिसकेको छ । मज्जाले सप्रेको छ यो पाला । बाले भने जस्तै छिट्टै रोपाइँ गरेर पो हो कि । कृषकको पसिना र मेहनतमा लहलह झुल्दै गरेको धान खेत देख्दा मनमा खुसी नछाउने कुरै भएन ।

फेरि झरी पर्‍यो । चाहिनेभन्दा पानी बेँसी भएर खेतको कुनाकुनामा नाला काटियो । झरी रोकेन दुई दिन तीन दिन हुँदै झरी निरन्तर परिरहेको कारण खुसी भएको बा दुखी हुनुभयो ।

“यसरी अझै केही दिन झरी र्पयो भने केही न केही अनिष्ट हुन्छ केटा ।” भन्नुभयो बाले ।

नभन्दै झरी रोक्दै रोकेन । अविरल झरीको कारण हाम्रो गाउँदेखि उता पर्ने सल्लेभिर पहिरो बनेर खानी खोलामा खस्यो । खानी खोला थुन्यो । तत्काल थुनेको खोला खोल्न सम्भव थिएन । पहिरोले खोला थुनेको कुरा गाउँ, जिल्ला हुँदै केन्द्रसम्म पुग्यो । ताजा खबर बन्यो । पत्रकारहरूका लागि खुराक बन्यो । पत्रिकाको हेडलाइन नबन्ने कुरै भएन ।

थुनेको खोला खोल्न सक्ने उपाय थिएन भन्दा हुन्छ । किनभने त्यो ठाउँसम्म जाने यातायातको निम्ति सहज बाटो बनेको थिएन ।

भगवान भरोसामा बस्नुको विकल्प थिएन । झरी निरन्तर भइरहेको थियो । दुई, तीन, चार हुँदै छैटौँ दिनमा खानी खोलामा थुनेको पहिरोलाई ठेलेर पानी आफैँ बाटो खोज्दै फुटेर आयो ।

खानी खोला बौलाएको थियो । उसको वेग बेग्लै थियो पहिलाकोभन्दा । बौलाएर बग्दै आएको खानी खोलाले वरपर किनारामा भएको केही छोडेन । सबै सबै आफैँसँग बगाएर लगे । हाम्रो खेत पनि बगाएर लगे । हाम्रो मात्रै होइन खोलाको किनारामा भएको सबैको खेत बगायो ।

बा दुःखी हुनुभयो । यत्ति धेरै दुःखी भएको पहिले कहिल्यै देखेको थिइनँ । खोलाले खेत बगाए । खेतसँगै लहलहाउँदो धान बाली बग्यो । हामी कृषकको खुसी बग्यो । सब थोक सल्लेभिरको पहिरो सँगै खानी खोला बनेर बग्यो ।

हप्ता दस दिनपछि झरी रोकियो । आकाश खुल्यो । घाम मज्जाले उदायो । तर हामीहरूको मेहनत र जिन्दगीमा पीडा छायो । मन दुखेर आयो । मन दुख्दैमा खोलासँगै बगेर गएको खुसी फर्केर आएन ।

खेत भएको ठाउँ बगरमा परिणत भयो । कसको खेत कता थियो भन्ने कुरा छुट्याउनु सकेन कसैले । हामी कृषकको भाग्य बगर बन्यो । अब जीवन गुजारा कसरी चलाउने भन्ने पिडाले सताउन थाल्यो ।

बाले दुःख पोख्नु भयो, “हेर केटा जो सोझो उसैको मुखमा घोचो भनेको हो रहेछ, दैव लागेपछि कसको के पो गर्न सकिँदो रहेछ र ।”

पुरै खानी गाउँ दुखेको थियो । पिडामा थोरै उधारो मलम लगाउन हाम्रै क्षेत्रको माननीय सांसदले अनुगमन गरेर क्षतिपूर्ति दिलाउने आश्वासन दिएर फर्कनुभयो ।

विडम्बना त्यो आश्वासन कहिल्यै यथार्थ बनेर आएन हाम्रो गाउँको पीडित परिवारहरूमा ।

दिनहरू बित्दै गयो । दसैँ आयो । तर दसैँलाई कसरी मनाउने हो भन्ने चिन्ता पनि सँगसँगै आयो । फूलपाती भन्दा केही दिन अगाडि बाले मलाई बोलाएर भन्नुभयो, “हेर बाबु अब हाम्रो बाँच्ने आधार टुटेको छ ।”

म बाको कुरा सुनेर चुपचाप बसिरहेँ ।

बा बोल्दै हुनुहुन्थ्यो एक्लै निरन्तर, “म त डाँडापारी पुगेको घाम जस्तै हो । कहिले अस्ताउँछ थाहा छैन । तर तिम्रो जिन्दगीको त भर्खरै सुरुवात हुँदै छ । मैले नचाहेर होइन नसक्ने भएर मनग्ये शिक्षा पनि दिन सकिन तिमीलाई । तिमीसँग योग्यता नभएपछि कुनै राम्रो ठाउँमा काम पाउला भनेर सोच्नु भनेको एका देशको कथा हो । त्यहीँमाथि हामी जस्तो सीमान्तकृत मान्छेले राम्रो जागिर राम्रो ठाउँमा पाउनु भनेको मात्रै कल्पनामा हो ।”

बाको कुराले मेरो मनमा चिसो पस्यो । आफ्नो सिङ्गो जिन्दगी । आफ्नो कर्तव्यको बारेमा डुब्दा डुब्दै समय निकै बित्यो । आमाको चर्काे आवाजले झस्किएँ ।

“के भयो बाउछोरालाई ? केही दिनपछि दसैँ भित्रिँदै छ घरमा । केही कुराको जोरजाम गरेको छैन ।”

आमाको कुराले अझै बेसी मनमा चिसो पस्यो । बाआमा र म बसेर सल्लाह गरी यसो कतै केही ऋण पायो भने टर्ने थियो गर्जाे । तर दसैँको मुखमा देलान् कल्ले ऋण ।

जीवनलाई सम्झेँ । ऊ मेरो मिल्ने साथी । भर्खरै साउदी अरबबाट दसैँको लागि आएको छ । भेट भएको छैन अहिलेसम्म । मन मनै सङ्कल्प गरेँ । भोलि भेटेर कुरा गर्छु ।

भोलिपल्ट बिहानै उठेर जीवनलाई भेट्न गएँ । मनको कुरा साटासाट गरेँ । उनले बिताएको परदेशको कुरा गरे । म स्वदेशमा बसेर जिन्दगीलाई निल्दै गरेको बेकामे कथा सुनाएँ । सहजै मेरो कुरालाई आत्मसात् गरेर ठूलो सहयोग गर्‍यो । दुःख गरेर दसैँ मनायौँ ।

जीवनसँगको भेटले भित्र कताकता परदेशको भूत चढिसकेको थियो । दसैँ सकिएलगत्तै बाआमासँग विदेश जाने भन्ने कुरा राखेँ । सुरुमा आनाकानी गरे पनि मनाई छाडेँ । उहीँ साथीमार्फत परदेश जाँदा गर्नुपर्ने प्रक्रियाहरू बुझेँ । उनले धेरै सहयोग गर्‍यो । मुकाममा गएर पासपोर्ट बनाएँ । जीवन गएको म्यानपावर कम्पनीमार्फत अरब जाने निर्णय गरेँ ।

निर्णय साकार गर्न निक्कै दौडधुप गरेँ । म्यानपावरको मालिकले भनेबमोजिमको नगदको जोरजाम गरेँ । जीवनबाटै लिएँ केही रकम । पुगनपुगमा आफन्तहरूको कान बुच्चो पारेर राम्रै ब्याजको लोभ दिलाएर उठाएँ । सबै कुरा समयमै भयो । मेरो भाग्य अरब मुलुकको नबुझिने अरबी अक्षरमा परिणत भएर आयो ।

बाआमाको फुङ्ग उडेको चेहरामा अलिकति उधारो खुसीको चमक देखियो । मनमनै तयार गरेको कोरा योजनाहरूमा उत्कृष्ट सफलताको महलहरू खडा गरेँ । गजबको छ, देउताको सृष्टि पनि फगत भ्रममा पनि खुसी हुन्छ मान्छे ।

सहरबाट खबर आयो– लु तपाईंको फ्लाइट पर्सि हुँदै छ । भोलि बेलुकी सम्ममा काठमाडौँ आइपुग्नू ।

एकाएक खुसीयाली छायो घरमा ।

मलाई पुर्‍याउन बा र बहिनी मसँगै काठमाडौँसम्म जाने । आइपुग्यौँ काठमाडौँ । सीमित समय थियो । सीमित समयको सदुपयोग पशुपतिनाथ, बौद्ध र स्वयम्भू दर्शन गरेर बितायौँ । मन मनै नबोल्ने देउताहरूसँग धेरै सफलता को माग राखेर । समयले परदेश उड्ने दिनको तय गर्‍यो ।

घाम पश्चिम क्षितिजको ढिकमा पुगिसकेको थियो । आफ्नै छाया आफूभन्दा लामो हुँदै थियो । चरणमा चर्न गएको चौपाया गोठ फर्कने क्रममा होलान् । हावामा कावा खाँदै घुम्न निस्केका चरी गुँड फर्कन आतुर गर्दै होलान् । बाटोमा हिँड्दै गरेको बटुवा बास पाउने ठाउँमा पुग्न लम्केर हिँड्दै होलान् ।

यस्तै घाम डुबी नसकेको, रात पर्न बाँकी रहेको उदास साँझ बा, बहिनी र म त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको प्रस्थान गेट छेउमा उभिरहेको छौँ ।

जिन्दगीको लामो यात्रा गरिसक्नुभएको मेरो बाको मनमा के कुरा चल्दै होला ? जीवनको सुरुवाती हिँडाइमा तल्लीन मेरी बहिनीको भावनामा कस्तो कुराको हलचल हुँदै होलान् ? रुँदै रुँदै उजेली गाईको दही खुवाएर घरबाट बिदाइ गरेर पठाएको आमाको हालत कस्तो होला ?

–भित्रको म जिउँदै मरे तुल्य भएको छ । बिछोडले बिछ्याइएको आलो वियोगान्त कथाको कारणले, माटो छोड्नुपर्ने वियोगले । अलिकति रहर, धेरै बाध्यताको निरीह भरिया बनेर आफ्नै पैसामा बेचिएर अरूको देशको अनजान सहरमा खुसी खोज्न निस्केको छु ।

देशको एउटै मात्र अन्तर्राष्ट्रिय विमान स्थलमा प्रदर्शन भइरहेको दृश्यहरूले एकाएक मनदेखि मस्तिष्कसम्म छियाछिया पर्ने गरी घोचिरहेको छ । कारुणिक दृश्यहरूले ।

–एक हुल मान्छे बिलौना गरेर रुँदै छ, केही बेरमा रातो बाकसमा बन्द भएर आएको अधुरो सपना अनि तन्नेरी युवाको पार्थिक शवले अनायास परेली भिजाइदिन्छ । रातो बाकस, अधुरो सपना, अनि छेउमै उभिरहेको नाबालक सानी नानी जसलाई जीवन के हो, मृत्यु के हो थाहा छैन । भोलिपर्सि ठुली भएपछि बुझ्नेछिन् । उनीसँगै अर्धमूर्छित युवती जो ती सानी नानीको आमा होलान् । तिनको क्रन्दन वर्णन असमर्थ भएँ म ।

 

–आर्काे हुल मान्छे हुइलचेयर समातेर पर्खिरहेको छ कसैलाई । उनीहरूको पर्खाइलाई समाप्त गरिदियो एकजना अङ्गभङ्ग भएको घाइते बिमारी आइपुगेर । उनको उमेर उस्तै थियो, मेरो उमेर जस्तै । जाँदा सकुशल सग्लो थियो होला उनी । फर्कंदा जिन्दगीलाई आधा बनाएर फर्केको छ । हातमा र एउटा खुट्टामा ब्यान्डेज बाँधेको प्रस्ट देखिन्छ । उनले हातको साथसाथै खुट्टा गुमाएको हुनुपर्छ ।

–फेरि आर्काे हुलमा नजर पुग्यो मेरो । उनीहरूको प्रतीक्षाको समय तब समाप्त भयो । जब उनीहरूको सुन्दर सपनाहरू खोज्न गएको मान्छे परदेशी जेलबाट सीधै डिपोट गरेर, जुत्ताबिनाको खुट्टा, काट्न नपाएको जिङ्ग्रिङ्ग भएको कपाल, नुहाउन नपाएको, पेटभरि खान नपाएर दुब्लाएको सिङ्गो शरीर देखेर उनिलाई समर्पित दुई थोपा आँसु अर्पण गरेँ । मेरो अगाडि हुनै गएको उनलाई देखे पनि नदेखे झैँ गरेर मैले मेरो ध्यान मोडेँ ।

यस्तै यस्तै कारुणिक दृश्यहरूको दृष्टिपानले एकाएक देशलाई सम्झेँ, देश चलाउने शासकहरूलाई सम्झिन पुगेँ ।

–देश त मेरो सुन्दर छ । मेरो देशमा के पाउँछ होइन के पाउँदैनन् भनेर सोधे हुन्छ । पृथ्वीको शिर सगरमाथा छ यहाँ । शान्तिको दूत बुद्धको जन्म स्थल हो नेपाल । देव भूमि हो मेरो देश । हिमाल छ, पहाड छ, तराई छ ।

कमी मात्रै एउटा कुराको छ । त्यो हो कुशल शासक । मौजुदा शासकहरूको कलुषित कर्मले गर्दा म जस्तै युवाहरू बिकिरहेको छ, खुसी र रहर निख्रेको परदेशी शहरहरूमा, तन्नेरी बैँसलाई थारो बनाएर ।

मेरो मौनता देखेर सँगै उभिरहेको बाले सोध्नुभयो, “बाबु के भो तिमीलाई ? किन त्यसरी टोलाएको ?”

बाको कुराले म झस्केँ । “केही होइन बा ठिकै छ” मात्र भनेँ ।

हृदयमा उम्लिरहेको तीखो कुराहरू सुनाउने दुस्साहस गरिनँ । प्रस्थान गेटको लाइन सर्न थाल्यो । गेट छेउमा उभिइरहनु भएको सुरक्षाकर्मीले ल है, श्रमपत्र, टिकट, पासपोर्ट हातमा लिएर तयार हुनु सबैजना ।

कतार एयरलाइन्सको बोर्डिङ पास केही समयमा खुल्दै छ । नजिकै निन्याउरो अनुहार लिएर उभिइरहनु बालाई भनेँ, “बा १ अब मेरो जाने बेला भयो ।”

मेरो कुरा सुनेर बाले हो र भन्नुभयो ? गहभरी आँसु बोकेर बाले बहिनीलाई डाक्नुभयो नजिक, “ए नानी झोलामा भएको टीका र माला निकाल ।”

बहिनी ले हस् भन्दै निकाली झोलाबाट टीका र माला । बाले टीका र मालासँगै धेरै आशीर्वाद दिनुभयो । “राम्रोसँग जानू । शुभयात्रा बाबु” भनेर रुँदै बिदा गर्नुभयो ।

बहिनीले पनि मेरो छुटिने दीपावलीहरूको सम्झना स्वरूप अग्रिम माला र टीका लगाइदिँदै भनिन्, “दाइ राम्रोसँग जानू ‘शुभयात्रा’ तपाईंलाई ।”

देखिन्जेलसम्म हेरिरहेको थिए बा र बहिनीले । मैले पनि देखिन्जेल फर्किफर्की हेरेँ ।

हाम्रो भौतिक देह छेक्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको भवनका भित्ताहरूले । गाह्रो भयो । मन दुख्यो । र पनि विवश भएर अघि बढिरहेँ । बोर्डिङ पास लिए । आमाको हातले बनाएको गुन्द्रुक, सिन्की, मकैभटमास सौजन्यका उपहारले भरेको लगेज जोखेर पठाएँ ।

अध्यागमन पुगेर डकुमेन्ट देखाएँ । पूरै डकुमेन्ट पल्टाई–पल्टाई हेरेर अध्यागमनको अधिकारीले स्ट्याम्प लगाए । यात्रा सुखदायी होस् भन्दै उनले पठाए ।

सबै कामकुरा सकेर बोर्डिङको गेटको हलमा गएर बसेँ । फोन गरेँ । बा र बहिनी त अझै उहीँ ठाउँमा रहेछन्, जुन ठाउँमा मैले छोडेर आको थिएँ ।

बालाई भनेँ, “अब फर्कनू, रात छिप्पेपछि गाडी पाउन मुस्किल हुन्छ ।”

मसिनो स्वरमा “हुन्छ बाबु राम्रोसँग जानू” भनेर फोन राखिदिनुभयो ।

केही समयपछि उडान भर्‍यो जहाजले ।

मनमा खुसी पनि छ । किनभने म सफल सपनाहरू खोज्न जाँदैछु । बाआमा र बहिनीको आशा र अभिलाषा पूरा हुन्छ । पीडा पनि छ । किनभने म आफ्नो देश छोडेर जाँदैछु अरूको देशमा । के कस्तो छ त्यो देशमा केही थाहा छैन । स्विकार्नु पर्ने रहेछ समयले पस्केको अनेक परिवेशलाई ।

सयौँ किलोमिटर पार गरेर मलाई पुर्‍याउन आउनुभएको बा र बहिनी फर्कें । दुई दिनमा पुग्छन् घर । म भने आफ्नै घरको आँगनमा आइपुग्न दुई वर्ष कुर्नु पर्ने छ ।

मानिसको व्यापार गर्ने प्राइभेट कम्पनीको हाकिम सापको भनाइअनुसार । मन भारी हुँदाहुँदै परिस्थितिको अगाडी म समर्पित भइसकेको छु । घरदेखि आमाले फोन गरेर रुन्चे स्वरमा बाबु राम्रोसँग जानू भन्दै “शुभयात्रा” भन्नुभयो ।

म मात्रै होइन दैनिक दुईदेखि तीन हजारको हाराहारीमा सफल सपनाहरू टिप्न निस्केका धेरै युवायुवती हुन्छन् । यस्तै “शुभयात्रा” शब्द ग्रहण गरेर अरब जित्न हिँडेको नेपाली सपुतहरू ।

सोचाइमा डुब्दाडुब्दै फ्लाइट टेकअप हुने सूचना जारी गर्‍यो । निर्धारित समयमा । लामबद्ध भएर जहाजभित्र चढियो । एयरहोस्टेसको सहयोगबाट आफ्नो सिटमा पुगेर बसेँ । केही बेरमा जहाजले जमिन छोडेर आकाशको बाटो हुँदै गन्तव्य ताकेर उड्यो ।

बादलको बुट्टाहरू चिर्दै बडेमानको जहाज पश्चिम क्षितिज ताकेर आफ्नै रफ्तारमा उड्दै थियो । सँगै सिटको साथी कम्बल ओढेर सुत्ने प्रयत्न गर्दै थियो ।

म भने कल्पनाको सुन्दर फाँटमा ओर्लेर सुनिश्चित भविष्यको सफलतामा रम्दै थिएँ । यथार्थमा दुखे पनि नदुखेको अभिनय गरेर यात्रामा सरिक हुँदै थिएँ ।

कानमा निरन्तर गुन्जिरहेको थियो । बाआमा र बहिनीले छुट्ने बेला बोलेको शब्द शुभयात्रा‘ शुभयात्रा...!

थाहा छैन मेरो प्रवासी जीवन शुभ हुन्छ कि अशुभ । तर आफ्नाहरूको धेरै शुभ आशीर्वाद बोकेर निस्केको छु घरबाट पहिलो पटक ।

यात्रा आधी भएको छ । केही घण्टा पछि पुग्नेछ हवाई जहाज आफ्नो गन्तव्यमा ।

भोलि बिहानको आगमनसँगै सुरुवात हुनेछ मेरो जीवनको प्रवासी दिनचर्या । आशा गरेको छु, राम्रै हुन्छ भन्ने कुराको ।

पाँचखाल, काभ्रेपलाञ्चोक 

हाल : लिमासोल, साइप्रस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप