शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
यात्रा–निबन्ध

लुक्ला कि नलुक्ला

शनिबार, १६ मङ्सिर २०८०, १० : ४२
शनिबार, १६ मङ्सिर २०८०

‘दाइ, तपाईं बेस क्याम्प जाने हो ? कति जना हो अनि भारी कति छ ?’

अपरिचित शेर्पा भाइको यो मिठो आशाले भरिएको मायालु प्रश्नले म अलमलिन्छु । तेन्जिङ–हिलारी विमानस्थल, लुक्लामा ओर्लिएर विमानस्थलकै आगमन कक्षतिर आउँदै गर्दा सबै आगन्तुकतिर तिनको प्रश्न यसरी नै तेर्सिदोरहेछ ।

‘मेरो झोला आठ किलो मात्रै हो भाइ । म एक्लै हो । म आफैँ बोकेर हिँड्ने हो मेरो झोला ।’ मेरो यस्तो उत्तर तिनका लागि के मन पर्नु र ? सायद ‘एउटा कानले सुनेर अर्के कानले उडाइदिए’ मेरो कुरा तिनले । मलाई हेर्दा पनि नहेरी उनी अरू आगन्तुकतिर झुम्मिन गएको हेर्‍याहेरै भएँ म । तिनी जस्ता यस्ता शेर्पा, कुलुङ राईहरू यहाँ भारी बोक्ने आशामा यसरी नै नवागन्तुकसँग सोधखोज गर्दारहेछन् ।

उमेरले के रोक्नु ? उचाइले के छुनु ? उन्नति, प्रगतिमा बाधक को हुनु ? गरे आफ्नै लागि, नगरे पनि आफ्नै लागि । भोको पेटलाई चित्त बुझाउन सकिँदैन । भरपेट अघाएकोलाई कुनै मतलव नहुने रहेछ । कसैको व्यथा, कसैलाई कथा । कसैको पीडा, कोहीलाई के को चिन्ता र चासो ?!

खुम्बुक्षेत्रमा भारी बोकेर जीवन गुजारा गर्नेहरूको पीडा निकै कहालीलाग्दो लाग्यो । न उमेरले रोकेको देखियो, न जाडोले छेकेको भेटियो । पेट पाल्नका लागि पनि उनीहरूको यो काम हरेक दिन विमानस्थलको आगमन कक्षको ढोकामा पर्खिनु हुने रहेछ । विचराहरू बिहानैदेखि त्यहाँ हातमा डोरी, ढाकर र मनमा मिठो आशा लिएर बस्दा रहेछन् ।

विमानस्थल ओर्लिएर बाहिर निस्किँदै गर्दा जीवन यापनका लागि जीवन खोज्दै गरेका युवाहरूका रूपरङ देखेर नमज्जा महसुस हुन्छ । कति विदेशीहरूले के सोचे होला ? नेपालको सुन्दरता हेर्न आएकाहरू नेपाली युवाको हविगत देखेर थाहा छैन के, कस्तो असर पर्‍यो होला । पहिलो पटक देखेको यो दृश्यले मेरो चाहिँ मन छोयो ।

Gyanendra Bibas (3)-001

विमानस्थल बाहिर पैदलयात्रीका भारी बोक्न पाइने आशामा युवाको यस्तो लाइन थियो । जहाँ अब केहीछिनमै कामको मारामार हुन्छ अथवा कुनै प्रतियोगिता हुँदैछ । हुन पनि लुक्लादेखि पर्यटकहरू घटीमा पनि दुई साता खुम्बुक्षेत्रको भ्रमणमा निस्किन्छन् ।

विश्वप्रसिद्ध सगरमाथा पदयात्राको साहसिक मार्ग यो । सगरमाथाको पहिलो प्रस्थान बिन्दु लुक्ला । दिनदिनै पदयात्रीहरू यहाँ आउँछन् । पैदल हिँँड्नेको भीडले बाटो खचाखच हुन्छ । विश्वका धेरै पदयात्री लुक्लाबाट नाम्चेबजार हुँदै सगरमाथा फेदीसम्म पुगेर फर्किन्छन् ।

यसरी यो यात्रा निकै लामो र जोखिमपूर्ण हुनुका साथै यात्राभरि उकालो र ओह्रालो पैदलै हिँड्नु पर्छ । यो हिँडाइका साथ प्रत्येक यात्रीको खानेकुरादेखि लुगाफाटो, औषधी आदिको ठुलै र धेरै भारी हुन्छ । तिनै भारी बोकेर कतिपय स्थानीयले राम्रै रोजगारी पाउँदै आएका रहेछन् । तर त्यहाँ यसरी पालो पर्खिने सबैले भारी बोक्ने अवसर कहाँ पाउनु र ?!

‘खै दाइ, पाइन्छ कि भनेर बसेका छौँ । तर गाइडहरूले आफ्नै मान्छेको व्यवस्था गरेका हुन्छन् । कहिले पाइन्छ, कहिले त कुर्नु मात्रै हुन्छ । तैपनि आशाले पर्खाउँदो रहेछ ।’

अर्का एक शेर्पा भाइले यति भनेको के थियो अर्कोले कुरा थप्यो– ‘अचेल घुम्न आउनेहरू आफैँ भारी बोकेर हिँड्न थालेका छन् । हामीले काम पाउन पनि अब कठिन हुन थाल्यो ।’

ती शेर्पाले मलाई नै व्यङ्ग्य हानेको हो कि भन्ने लाग्यो । तर भरियाहरूको हुलमुलमा धेरै बोल्नु मैले उचित ठानिनँ । उनीहरूकै बाहुल्य छ जहाँ, त्यहाँ उनीहरूकै पक्षमा नबोले फेरि अर्को आपत् आइलाग्यो भने के गर्ने ?

‘भर्खरै ओर्लिएका खैरेहरूका झोला टन्नै छन् भाइ, म नेपाली एक जनाको झोला हलुकै छ । मैले कहाँ भरिया लिएर हिँड्न सक्नु र ! विदेशीले जस्तो हामीले कहाँ धेरै खर्च गर्न सक्छौँ र ?’ यति बोलेर म बाटोमा निस्किएँ ।

यति कुरा हुँदै गर्दा झोलाका अनेक पोकापन्तुरा बोकेर गाइडहरू बाहिर निस्किए । उनीहरूका आफ्नै मान्छे भारी बोक्ने भरिया तयारी हुँदारहेछन् त्यहाँ । तिनले नसकेर बाँकी रहेका सामान अरू पर्खिनेहरूले पालो पाउने रहेछन् ।

एकछिनमा त्यहाँ ग्वारग्वार्ती भरियाहरू भेला भए । आ–आफ्नो ‘ग्रुप’ को सामान मिलाउन थाले । एकछिनमा झोला मिलाउँदै भारी बोकेर भरियाहरू धमाधम बाटो लाग्न थाले । त्यहाँ लाइन लागेर बसेकाहरूमध्ये थाहा छैन कतिले काम पाए, कतिले पाएनन् । मैले देखेसम्म दस जनामा मुस्किलले एक जनाले पाए होलान् ।

भरियाहरूकै हुलको पछि लागेर मैले पनि पाइला चालेँ । विमानस्थलभन्दा मास्तिरको तारबारले घेरिएको बाटो भएर जाँदा सानो र साँघुरो विमानस्थलमा पालैपालो तारा एयर अवतरण गर्‍यो । त्यसबाट यात्रीहरू ओर्लिसकेपछि सीता एयर आयो, त्यसपछि समिट एयरले यात्री ओराल्यो । लुक्लामा यिनै तीनवटा विमान कम्पनीलाई बिहानी समय भ्याइनभ्याइ हुँदोरहेछ ।

बाटै छेउको डाँडामा रहेको रेस्टुरेन्टमा नेपाली र विदेशी यात्रीहरू चिया पिउँदै, खाजा खाँदै विमान अवतरण र उडान भएको रमिता हेर्दै थिए । हेराइसँगै तिनीहरूले गरेको कुराकानी मलाई जानकारीमूलक लाग्यो । म पनि चिया पिउन त्यतै लागेँ । चिया पिउने बाहनामा विमानस्थलका बारे निकै तथ्य थाहा भयो । विमानका पाइलट, परिचारिका र अन्य धेरै थिए त्यहाँ । तिनका बोली सुन्दा डर पनि लाग्थ्यो, साहस पनि बटुलिन्थ्यो ।

समुन्द्री सतहबाट २८४५ मिटरको उचाइमा रहेको लुक्ला । विमानस्थलको धावनमार्ग अन्य विमानस्थलको भन्दा छोटो छ । ५२७ मिटर लम्बाइ र २० मिटर चौडाइ मात्र भएकोे विमान उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरू बताउने गर्छन् । उडान र अवतरणका बेला अचानक समस्या देखिए कुनै वैकल्पिक व्यवस्था गर्न नसकिने भएका कारण लुक्ला विमानस्थल विश्वकै बढी जोखिम भएको विमानस्थलका रूपमा चिनिएको रहेछ ।

विमानस्थलको तल्लो छेउमा ७०० मिटर अग्लो डरलाग्दो भीर छ । हेर्दै डरमर्दो भएको र यस्तो स्थानमा विमानलाई सुरक्षित अवतरण गर्नु पाइलटको चुनौतीपूर्ण काम हुने रहेछ । यसले गर्दा पनि तेन्जिङ–हिलारी विमानस्थल संसारकै डरलाग्दा १० विमानस्थलमध्ये एक मानिन्छ । लुक्ला विमानस्थलमा अनुभवी विमानचालकले पनि प्रत्येक दिन ‘उडानमा नयाँ चुनौती झेल्छन्’ भन्ने कुरा मैले काठमाडौँमै सुनेको हो । रेस्टुरेन्टको चिया–गफमा पनि सोही कुरा सत्य भएको पुष्टि भयो । 

Gyanendra Bibas (2)-001

एक जना पाइलट विदेशीहरूलाई भनिरहेका थिए– लुक्ला विमानस्थल इन्जिनियरिङको नमुना भए पनि नागरिक उड्डयनका हिसाबले अत्यन्तै चुनौतीपूर्णमध्ये एकमा पर्छ । विमानस्थलमा ‘रन्वे अप्रोच’ गर्नुअघि खाल्डो जमिन उक्लिएर त्यहाँ पुग्नुपर्छ । तर मौसमी प्रतिकूलता र स्थानीय स्तरमा बन्ने बादलले तत्कालै ‘भिजिबिलिटी’ बिगार्ने कारण ‘लो अप्रोच’ मा तामाकोशी र दुधकोसी किनारैकिनार आउने जहाज दुर्घटनामा पर्न सक्ने सम्भावना बढी हुन्छ । त्यसैले विश्वका डरलाग्दा विमानस्थलको सूचीमा लुक्ला पनि पर्छ र यहाँ दुर्घटना हुने सम्भावना बढी रहेको बताइन्छ ।

‘विमान उडाउँदा कस्ता जोखिमहरूको सामना गर्नुपर्छ ?’ भनी एकजना पर्यटकले जिज्ञासा राखे ।

आफूले सयौँ चोटि गरेर तीन हजार घण्टाभन्दा बढी लुक्ला विमानस्थलमा विमान उडाएको बताउँदै पाइलटले भने– ‘भिरालो विमानस्थलको बनावट र तल्लो भेगमा भीर भएकाले उड्ने बेला निश्चित गति लिइसकेपछि विमानमा समस्या नै देखिए पनि रोक्ने सुविधा हुँदैन । दुधकोशीबाट हुस्सु माथि उठिरहने र बत्तीको सहाराले अवतरण गर्न सकिने अवस्था पनि नहुनु विमानस्थलको जटिल पक्ष मानिन्छ ।’

लुक्लामा विमान उडाउने अधिकांश विमान चालकहरूको साझा अनुभव यस्तो सुनियो– ‘अरू स्थानका कठिन विमानस्थलहरूमा एक–दुई चुनौती हुन्छन् । तर लुक्लामा अन्यत्र हुने थुप्रै चुनौती एकैचोटि आइलाग्छन् ।’

लुक्लामा हवाई दुर्घटना भएकामध्ये २०६५ सालमा समिट एयरको कार्गो विमान दुर्घटनाग्रस्त भएको थियो । सो घटनामा १२ जना जर्मन नागरिकसहित १८ जनाको मृत्यु भएको थियो । पछिल्लो घटना २०७७ सालमा सोही समिट एयर विमान दुर्घटना हुँदा ३ जनाले अकालमा मृत्युवरण गरेका थिए ।

गफगाफ सुन्दा आधा घण्टा समय बित्यो । पाइलट, परिचारिका घडी हेर्दै चियाको अन्तिम घुट्को घुट्क्याएर विमानतिर दौडिए । अरू पर्यटकहरू पनि हिँड्ने तर्खरमा लागे । मैले पनि ओरालै लुक्ला बजारतिर पाइला चालेँ ।

गौतम बुद्ध र पद्मसम्भवको मूर्ति रहेको प्रवेशद्वारबाट बजार पस्दा पदयात्राका लागि आवश्यक सामानले भरिभराउ पसल देखिए । सुविधा सम्पन्न होटलहरू पनि त्यत्तिकै । पर्यटकको चहलपहल पनि उत्तिकै । बाटोमा हिँड्नेको पनि घुइँचो उस्तै । मैले लुक्लालाई पर्यटकहरूकै भीडमा कतै लुकिरहेको महसुस गरेँ । साँच्चै लुक्ला ‘लुक्ला’ कि ‘नलुक्ला ?’ भनी मैले जिज्ञासा राखेको थिएँ ।

‘लुके पनि लुक्ला, नलुके पनि लुक्ला ।’ मेरा मित्र गम्भीर श्रेष्ठले एकदमै सही प्रतिक्रिया जनाएको सम्झन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप