रुकुम पश्चिम । कार्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको पनि एक महिना पुगेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार भूकम्पले जाजरकोट र रुकुम पश्चिमका मात्रै करिब ६० हजारभन्दा बढी परिवारलाई घरबार विहीन बनाइदियो ।
यतिबेला बस्तीहरू उजाड अवस्थामा छन् भने उजाड बस्तीका बिचबिचमा त्रिपालमुनि नागरिकहरूले कष्टकर दैनिकी गुजारिहरेका छन् । दिनानुदिन बढिरहेको चिसोले पालमुनिको बसाइ निकै कष्टकर बनिरहेको छ, भूकम्प पीडितको ।
त्रिपालमा बसेकाहरूलाई चिसो छेक्नका लागि न्याना कपडाहरू छैनन् । विशेषगरि बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई त्रिपालको बसाइ थप कठिन छ । जाजरकोट सदरमुकाम खलङ्गादेखि भेरी नदी वारिपारि रुकुम पश्चिमको आठबिसकोटको राडी बजारसम्म त्यस्ता दर्जनौँ बस्तीहरू छन्, जो उजाड बनेका छन् ।
विभिन्न राजनीतिक दलहरूले घरहरुका भग्नावशेषलाई पन्छाउने काम गरिरहेका छन् । ठाउँ–ठाउँमा स्वयंसेवकहरू अस्थायी आवास निर्माण गरिरहेका भेटिन्छन् । भेरी नगरपालिका–१, रावतगाउँ भूकम्पले बढी क्षति पुर्याएको ठाउँ हो । त्यहाँ राजनीतिक दलका स्वयंसेवकले घरहरू पन्छाइदिएका छन् । यद्यपि अस्थायी आवास भने निर्माण भएको खासै देखिएन ।
सोही वडाको रिम्ना बजारक्षेत्र र आसपासका बस्तीहरू नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले निकट युवा संघ, कांग्रेस निकट नेविसंघ लगायत संगठनहरुले भग्नावशेष घरहरू पन्छाउनेदेखि केही अस्थायी आवास निर्माण गरेको देखियो ।
शुक्रबार रातोपाटी प्रतिनिधि त्यहाँ पुग्दा एमालेबाट खटिएको टोलीले त्यहाँ केही अस्थायी आवास निर्माण गर्नुका साथै र घरहरूको भग्नावशेष पन्छाएको पाइयो । एमालेको टोली त्यहाँबाट अर्को वडामा पुगेका थिए ।
त्यस्तै अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन भुलको नेतृत्वमा करिब १०० जनाको टोली त्यहाँ काम गरिरहेको पाइयो । स्वयंसेवकहरूले जस्ताका पाता लगायत आवास निर्माणका लागि आवश्यक सामाग्रीहरूको अभावका कारण आवास निर्माणका समस्या भएको बताए । यसले गर्दा स्वयंसेवकहरू भग्नावशेष पन्छाउने काममा सीमित हुन बाध्य बनेका छन् ।
उपाध्यक्ष भुलको टोलीले रिम्नाको माथि डाँडा बस्तीमा ७ वटा अस्थायी आवास निर्माण गरेका छन् । पन्छाएको घरबाट निकालिएका काठहरूको प्रयोगबाट स्थानीयको माग अनुसार कोठा बनाइएको भुलले बताए । उनले अहिलेसम्म २८ वटा घरहरूको भग्नावशेष पन्छाउने काम गरेको पनि बताए । रिम्नामा भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका थिए भने सयौँ घरहरू भत्किएका थिए ।
रुकुमतर्फ बाँके जिउला, भल्मा, घेत्मा, चिसापानी लगायतका बस्ती पर्छन् भने जाजरकोटतर्फ कालिमाटीसम्म बगरा, पाली, कलपट, चिउरी, डाँडा गाउँ, दल्ली लगायतका बस्ती छन् । यी सबै बस्तीहरू यतिबेला जीर्णअवस्थामा छन् । आठबिसकोट–१४ ज्यामिरेमा एमाले निकट युवा संघले घरहरू पन्छाइरहेको भेट्टियो ।
नलगाड–१, कलपटको बिचगाउँ भूकम्पले पूर्ण रूपमा ध्वस्त भएको छ । स्थानीयका अनुसार समर्ग कलपटमा ३६० बढी घरधुरी थिए भने मुख्य कलपट गाउँमा मात्रै करिब २०० घरधुरी छन् । त्यसमध्ये ८० प्रतिशत घरहरू ध्वस्त भएका छन् । ठाडो अवस्थामा रहेका घरहरू पनि बस्न नमिल्ने खालका छन्, १४० भन्दा बढी त्रिपालमा सिंगो गाउँ बसेको छ ।
यहाँ केयर नेपाल नामक संस्थाले त्रिपाल सहयोग गरेको छ भने युनिसेफ लगायतका संघसंस्थाहरुले शौचालय बनाउनेदेखि बालबालिकाका लागि परामर्श केन्द्र समेत खोलेको पाइयो । यद्यपि यो बस्ती भन्दा माथिको पहाड नै चर्किएकाले तल खोँचमा रहेको बस्ती असुरक्षित भएको भन्दै बस्ती सार्नुपर्ने माग स्थानीयहरूले गरिरहेका छन् । अहिले पनि भूकम्पले पहिरो आई बस्ती भन्दा अगाडि (पश्चिमतिर) सडक अवरुद्ध छ । मान्छे आवतजावत गर्न समस्या छ ।
७ जनाको ज्यान गएको यो बस्तीका नागरिकका लागि युवा संघ र नेकपा माओवादी केन्द्र सुर्खेतको टोलीले अस्थायी आवास निर्माण गरिरहेको छ । युवा संघको टोलीले २० वटा आवास निर्माण सकेको छ भने माओवादी सुर्खेत कमिटीले त्यहाँ काम गरिरहेको छ । जिल्ला सचिव टोप बहादुर दर्लामीको नेतृत्व तथा विवि सुतार कार्कीको प्राविधिक टोलीमा खटिएको उक्त टोलीले २३ वटा आवास ठड्याइसक्यो भने पाँच वटामा त जस्तापाता पनि बिच्छ्याइसक्यो । अझै ७ वटासम्म बनाउने तयारी रहेको कार्कीले बताए ।
बनाएका आवासहरूमा पनि जस्ताको अभावका कारण छाना हाल्ने काम भएको छैन । दलित, मगर र ठकुरी समुदायको बाहुल्यता रहेको यो बस्तीका पीडितहरूलाई खाद्यान्नको समस्या पनि छ । एउटै ठाउँमा गहुँ गराको बिचमा बसिरहेका यहाँका पीडितहरू यही अवस्था लामो समय रहिरहे विभिन्न खालका रोगहरू बढ्ने बताउँछन् ।
भूकम्पमा परी घाइते भएका जनक परियारका अनुसार भूकम्पले खानेपानीको मुख्य मुहान नै भत्किएपछि अहिले खानेपानीको समस्या रहेको बताए ।
तस्बिरमा हेर्नुहोस्, उजाड बस्ती र बनाइएका अस्थायी संरचनाहरू
प्रतिक्रिया