मेलम्चीको पानी पिउन काठमाडौँमा बन्यो संघर्ष समिति
काठमाडौँ । धारामा मेलम्चीको पानी आउन बन्द भएर ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यतामा पुगेपछि काठमाडौँमा मेलम्चीको पानी पिउनका लागि संघर्ष समिति नै बनेको छ ।
हालै काठमाडौँ महानगरपालिका वडा नम्बर ३२, कोटेश्वरका स्थानीय मिलेर बनाएको मेलम्ची खानेपानी सङ्घर्ष समिति केवल समितिमा मात्रै सीमित नभई काठमाडौँमा पानी ल्याउनका लागि दौडधुपसमेत थालेको छ ।
समितिका ६ जना सदस्य स्थलगत अवलोकनका लागि पानी ल्याउने मुहानस्थल अम्बाथान पुगेर फर्किएका छन् । स्थलगत अवलोकन गरेर काठमाडौँमा आएका उनीहरुले मेलम्चीको पानी ल्याउन खासै समस्या नभएको औंल्याएका छन् ।
काठमाडौँ पानी पठाउने मुख अर्थात् इन्टेकमा फलामको पाताले छेकिएको पाइएकोले सो पाता हटाएर सुरुङभित्र पानी पठाएर काठमाडौँ ल्याउन सकिने उनीहरुको दाबी छ ।
शुक्रबार कोटेश्वर महादेवस्थनमा संघर्ष समितिले गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक गोविन्दराज पन्तले समाचारमा आएको जस्तो मेलम्चीको पानी ल्याउन समस्या नभएको निष्कर्ष सुनाए । संघर्ष समितिले स्थलगत अवलोकन गर्दा पाइएको विषयहरुका फोटो तथा भिडियो पनि उनले देखाए ।
मङ्सिर ८ गते संघर्ष समितिले निर्णय गरेर ६ जना सदस्य मेलम्चीको वास्तविक अवस्था स्थलगतरुपमै थाहा पाउन मेलम्ची आयोजनाको हेडवक्र्ससम्म पुगेका थिए ।
मेलम्ची खानेपानी शीघ्र काठमाडौँ उपत्यकामा ल्याउन जनदबाब दिन आवश्यक भएकाले समिति बनाइएको पन्तले बताए । महानगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दाहरूको पहलमा उपत्यकाका उपभोक्ताहरू समेत भेला भइ स्वतःस्फुर्त रुपमा मेलम्ची खानेपानी सङ्घर्ष समिति गठन गरिएको संयोजक पन्तले जानकारी दिए ।
करिब ७० अर्ब रुपैयाँ खर्च भएर २०७७ सालमा उद्घाटन भएर अझै राज्यले निरन्तर लगानी गरिरहेको तर वर्षायाम सकिएको २ महिनाभन्दा बढी समय बितिसक्दा पनि मेलम्चीको पानी वितरणमा सरकार उदासीन हुँदा उपत्यकाका ४० लाखभन्दा बढी जनता निराश भएकोप्रति संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
समाचारमा आएजस्तो जटिल अवस्था नभएको दाबी
मेलम्चीको पानी काठमाडौँ ल्याउन गत गत असारदेखि बन्द भएको थियो । गत साउनमा गएको बाढीले आयोजनालाई ठुलो क्षति पुर्याएको र हेडवक्र्स अगाडि थुपारेको २० देखि २५ मिटर अग्लो गेग्रान हटाउन ठुलो धनरासी, लामो समय लाग्ने, अझै तीन चार महिनासम्म पानी आउनै नसक्ने भन्ने समाचार आए पनि स्थलगत रुपमा त्यस्तो अवस्था नभएको संयोजक पन्तले बताए ।
उनले भने, ‘यी सबै समाचार वास्तविकताको नजिक छैनन् । हाम्रो टोलीले सो ठाउँका जनता र जनप्रतिनिधिसँग गरेको छलफल तथा त्यस ठाउँमा खिचिएका तस्बिरहरूले उल्लेखित कुरालाई खण्डित गरेको छ । बाढी आउनुभन्दा अघिनै हेडवक्र्स बन्द गरिएकाले इन्टेक पूर्णरुपमा सुरक्षित रहेको पाइयो । इन्टेकमा फलामको पाता राखिएकाले हेडवक्र्स पूर्णरुपमा सुरक्षित रहेको छ ।’
न्यून मात्रामा थुप्रिएको गेग्रान दुई तीन दिनमै हटाउन सक्ने देखिएको उनले बताए । नहरमा जम्मा भएको हुनसक्ने केही माटो र बालुवाका कणहरू फ्लस गरिएमा सहजै सफा हुन सक्ने उनको भनाइ छ । इन्टेकमा राखिएको फलामको पाता झिकेर सुरुङमा पानी पठाएमा काठमाडौँमा पानी आउने उनको दाबी छ ।
मेलम्चीबाट फर्किएपछि मन्त्रीलाई ज्ञापनपत्र
मेलम्चीबाट फर्किएपछि उनीहरुले मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीदेखि खानेपानी मन्त्रीसमेतलाई भेटेर ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझेका मन्त्रीले आफ्नो ध्यानाकर्षण भएकाले पानी ल्याउनका लागि आफूले कदम चाल्ने बताएका थिए । शुक्रबार खानेपानी मन्त्री महिद्रराय यादव सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् ।
उनीहरुले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकलाई ध्यानाकर्षण पत्र बुझाउँदै मेलम्ची आयोजनाको संक्षिप्त बस्तुस्थिति खुलाएर ३ दिनभित्र पानी खोल्न अल्टिमेटम समेत दिएका थिए ।
आफूहरुसँगको भेटमा खानेपानी मन्त्री यादव सकारात्मक देखिएको र १ हप्ताभित्र पानी खोल्ने बचनबद्धता दिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले स्थलगत भ्रमणको क्रममा मेलम्ची खानेपानी आयोजनाको काम छोडेर भागेको इटालीयन निर्माण व्यवसायी सीएमसीबाट स्थानीय व्यवसायीले झन्डै ११ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेकाले त्यो समस्या सरकारले समाधान गर्नुपर्ने बताए ।
भुक्तानी नपाएका व्यवसायीले पानी पठाउने कुरामा अवरोध गर्न सक्ने भएकाले खानेपानी मन्त्रीको पहलमा अर्थ मन्त्री प्रकाशशरण महतसँग स्थानीय हेलम्बु गाउँपालिका अध्यक्ष र भेण्डर प्रतिनिधिसहित पानीको नियमित आपूर्तिका लागि छलफल गरेको, केही कानुनी जटिलताका बाबजुद रकम निकासाका लागि सरकार सकारात्मक देखिएको संयोजक पन्तले दाबी गरे ।
साथै मुहानसम्म पुग्ने बाटो खोलाको छेउबाट बनाएको पाइएकाले सडकमा बढी क्षति भएकाले खोलाभन्दा माथिबाट मुहानसम्म पहुँचमार्ग बनाउन उनीहरुले सुझाव दिएका छन् । साथै स्थायी पहुँचमार्गका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेर त्यसका लागि रकम व्यवस्था गर्न र सो मार्गको काम नसकिएसम्म बहुवर्षीय योजनाको रुपमा रकमको सुनिश्चितता गर्न आग्रह गरिएको उनले जानकारी गराए ।
यस्तै काठमाडौँ निर्वाचन क्षेत्र २ ‘क’ का प्रदेश सांसद सुनील केसीले काठमाडौँका ४० लाख जनसंख्याले पानी खान नपाउने कुरालाई सहेर नबस्ने बताएका छन् । खानेपानी छिटो ल्याउनका लागि पहल गर्न जहाँ जानुपर्छ, आफू तयार रहेको उनले बताए ।
पन्तले भने, ‘काठमाडौंवासीलाई पानी नदिने यस्तो अन्याय सहेर बस्न सकिँदैन । पानी ल्याउनका लागि कहाँ जानुपर्छ, के गर्नुपर्छ त्यहाँ जान तयार छु । हामी मिटर अनुसार पैसा तिर्छौं भन्दा पनि पानी दिइएको छैन । जलस्रोतको दोस्रो धनी देश भने पनि दुधभन्दा पानी महँगो भएको छ । पानी छिटो ल्याउनका लागि कहाँ धर्ना बस्ने हो, कसलाई गएर भेट्ने हो त्यसका लागि तपाईंहरुको साथमा छु ।’
मेलम्ची आयोजना प्रमुख अन्सारी भन्छन्– हल्ला चलाइएजस्तो तत्कालै पानी आउने अवस्था छैन
यता मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारीले पानी तत्काल सहजै ल्याउन सकिन्छ, एक दिनमै आउँछ, दुई दिनमै आउँछ भनेर हल्ला फैलाएजस्तो अवस्था नभएको बताए ।
शुक्रबार खानेपानी मन्त्री महिन्द्रराय यादवसँगै मेलम्ची खानेपानी आयोजना स्थल पुगेका अन्सारीले बाढी पहिरोले आयोजनास्थल पुरिएको, हेडवक्र्स पुरिएर समस्या उत्पन्न भएको बताए । टनेलको मुखबाट पानी हाल्ने ठाउँमा समस्या नभए पनि पानी बगाउनका लागि प्रयोग हुने अर्को प्रेसर टनेलमा समस्या रहेको उनले बताए ।
अन्सारीले भने, ‘पानी प्रेसर गराउने त्यो सिष्टमको टनेलको मुखमा १५ मिटर उचाइ पुरिएको छ । हेडवक्र्सको त्यो प्रणाली सञ्चालन गर्न सकिएन भने टनेलमा पानी जान समस्या हुन्छ । काठमाडौँ पानी पठाउन अम्बाथानको सुरुङको मुख र ९ नम्बर सुरुङको मुख हामीले खोल्नुपर्छ । यसका लागि हामीले निर्माण व्यवसायीहरुलाई परिचालन गरिसकेका छौँ ।’
हेडवक्र्ससम्म जाने बाटो तयार भइरहेको र बाढीले थुपारेका ठुला–ठुला ढुङ्गा हटाउने काम भइरहेको उनले बताए । त्यसका लागि ४ वटा डोजर परिचालन गरिएको उनको भनाइ छ ।
अन्सारीले भने, ‘मन्त्रीज्यू, सचिवज्यू सहित मेलम्ची खानेपानी आयोजनाका हामी पदाधिकारी पनि आयोजना स्थलमा छौँ । यहाँको अवस्था के छ, कसरी छिटोभन्दा छिटो पानी पठाउन सकिन्छ भन्ने बारेमा अवलोकन गरिरहेका छौँ ।’
मेलम्ची खानेपानी संघर्ष समितिले गरेको अवलोकन आम सर्वसाधारणको जस्तो अप्राविधक भएको उनले बताए । प्राविधिक रुपमा संघर्ष समितिले भनेजस्तो तत्काल पानी पठाइहाल्न सम्भव नभएको उनको भनाइ छ । टनेलबाट पानी छिराउँदैमा काठमाडौँ नजाने र त्यसअघि प्रेसर सिर्जना गर्ने टनेललाई सुचारु गर्नुपर्ने उनले बताए ।
अन्सारीले भने, ‘काठमाडौँमा पानी पठाउन आयोजना स्थलमा अब काम निरन्तर अगाडि बढ्छ । काम नरोकी अब लगातार काम गर्दा छिटोभन्दा छिटो पानी कहिले पठाउन सकिन्छ, त्यसका लागि प्रयास गरिरहेका छौँ ।’
वर्षात् सकिएको ३ महिना सकिँदा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने काम अघि नबढ्दा सरकारमाथि दबाब बढेको छ भने सर्वसाधारणहरु ट्याङ्करको पानी किनेर पिउन बाध्य भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट आउने सामानमा अतिरिक्त महसुल लगाउँदै ट्रम्प
-
प्रादेशिक अस्पताल गौरमा पहिलो पटक आङ खस्ने रोगको अपरेसन
-
सिरहाबाट नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो