केही बदमास सहकारीका कारण अविश्वास बढ्यो, विश्वास बढाउन सबै जुटौँ : अभियन्ता
काठमाडौँ । नेपालका सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा विश्वसनीयता गुम्दै गएको चिन्ता व्यक्त गरेका छन् । शुक्रबार राजधानीमा आयोजित ‘सहकारीको ‘पैसा कहाँ गयो ?’ विषयक कार्यक्रममा सहकारी अभियन्ताहरुले सहकारीप्रति विश्वासको कमी भएको बताउँदै सो जागरको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारीको पैसा उद्यमशीलतामा जानू पर्नेमा त्यहाँ नगएको बताउँदै सहकारी क्षेत्रमा समस्या आउनुमा नियामक निकायको ठुलो कमजोरी रहेको आरोप लगाए ।
सजिलोसँग नाफा कमाउने सोचका कारण सहकारी क्षेत्रको पैसा अनुत्पादक क्षेत्रमा गएको उनको भनाइ छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रको पैसा गैरसरकारी क्षेत्रमा गएको र केही रकम घरमा थन्किएको बताए । उनले केही रकम विदेशमा पनि गएको बताए । सहकारीप्रतिको विश्वास गुमेको कारण पैसा बाहिरिएको बताउँदै उनले अब सहकारी बचाउन सबै जुट्नुपर्ने बताए ।
‘विशेषगरी सहकारी क्षेत्रमा विश्वासको वातावरण बढाउन अभियन्ता, मिडिया र सदस्यहरु सबै जुट्नुपर्छ । सहकारीमा तरलताको अवस्थामा सिर्जना भइरहेका बेला उत्पादक क्षेत्रमा नगएको भन्दा पनि विश्वासको वातावरण बनाउनुपर्छ’ उनले भने,‘हो, यतिबेला केही पैसा गैर सहकारी क्षेत्रमा गएको छ । केही घरमा बसेको छ, केही विदेश गएको होला तर तत्कालीन अवस्थामा विश्वासको वातावरण बनाउनतर्फ लाग्नुपर्छ ।’
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमात्रै नभई यतिबेला समग्र वित्तीय क्षेत्रमा नै समय रहेको बताए । यसको प्रमुख कारण सहकारीप्रति आम बुझाइ र विश्वासको कमी नै रहेको उनले दोहो¥याए ।
‘विश्वास गुमेपछि अलिकति बैंकमा राखे, अलिकति घरमा लगेर राखे होलान् । तर सबै सहकारीहरु खराब छैनन्’, उनले भने, ‘केही बदमास सहकारीका कारण समस्या देखियो । तर सबैतिर त्यस्तो छैन ।’ उनले कार्यदलले बुझाएको प्रतिवेदनमा सहकारीका सबै समस्याहरु र समाधानका उपायहरु तयार गरेको जानकारी दिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले जे उद्देश्यका लागि लगानी गर्नुपर्ने हो त्यहाँ लगानी नगर्दा समस्या देखिएको बताए ।
‘गर्नुपर्ने क्षेत्रमा लगानी नगर्नु कानुन अनुरुप होइन । सहकारीमा आएको पैसा कसरी आयो ? के का लागि आएको हो ? र कहाँ लगानी भयो ? भन्ने विषयका बारेमा पहिले अध्ययन हुनुपर्छ’, उनले भने,‘उत्पादन र सेवाका क्षेत्रमा लगानी नहुनु सहकारीको मूल्य मान्यता होइन । संस्था आफ्नै कारणले पनि अविश्वासको वातावरण बनाइरहेका छन् । नियमन गर्ने सरकारले मात्र होइन संस्था आफैँ जिम्मेवार बन्नुपर्छ ।’
कार्यक्रमका बारेमा प्रष्ट पार्दै हिमशिला मिडिया कम्पनीका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले अभियन्ता, नियमक निकाय, सरोकारवालाबिच आपसी संवाद, अन्तरक्रियाको अभाव हुँदा पनि सहकारी अभियानमा अविश्वासको वातावरण बढेको बताए । उनले सहकारी क्षेत्रका मुद्दाका विषयमा आफूहरुले नियमित बहस, छलफल र अन्तरक्रिया गर्दै संचारमाध्यमबाट आवाजहरू उठाउँदै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन