वास्तुदोषले समस्याको बोट हुर्काउँदै त छैन !
जगत् पञ्च महाभूतबाट सिर्जित छ । यही जगत्मा पञ्चतत्त्वबाट निर्मित मानव उत्कृष्ट प्राणीका रूपमा बास गरेको छ । जीवन उत्कृष्ट बनाउन मानिसले निरन्तर प्रयत्न गरिरहेको छ । हरक्षण नयाँ नयाँ शोध र अनुसन्धान गर्दै जीवन सुखमय बनाउने अभीष्ट पूरा गर्न तल्लीन मानिसका लागि वास्तु व्यवस्थापन पनि एउटा महत्त्वपूर्ण पाटो बन्ने गरेको छ । ‘वास’ अर्थात् निवास । पञ्च तत्त्व (पृथ्वी, जल, अग्नि, वायु र आकाश) को परिवेशमा निर्मित निवासमा पनि तत् तत् तत्त्वका आधारमा व्यवस्थित रूपले स्थापित हुनुपर्छ भन्ने वास्तुको मूल मान्यता हो । प्रकृतिका पाँच तत्त्वलाई भवन निर्माण या वस्तु स्थापनामा समुचित स्थानको चयन गरिने पद्धतिलाई वास्तुशास्त्र अनुकूल मानिन्छ । हरेक वस्तुमा आफ्नै ऊर्जा हुन्छ र त्यो ऊर्जालाई मानव जीवन अनुकूल बनाउनुपर्छ भन्ने वास्तुशास्त्रको मूल ध्येय हो । प्रकृतिका तत्त्वहरूको आधारमा निर्माण भएको भवनमा सकारात्मक ऊर्जा हुन्छ भने विपरीत भए ऊर्जा नकारात्मक बन्छ । मूलतः वास्तुको चुरो कुरो यत्ति हो ।
पञ्चतत्त्वको सही व्यवस्थापनसहित निर्माण भएको भवनमा बास गर्ने मानिसको जीवनमा सुख, शान्ति, खुसी, निरोगिता, सकारात्मकता र समृद्धिले वास गर्छ । सूर्यको प्रकाश, निर्मल जल, स्वच्छ पवन, सफा आकाश र उर्वर भूमिसहितको निवास प्राकृतिक ऊर्जाले भरिएको हुन्छ । प्राकृतिक ऊर्जा र तत्त्वको कमी हुन नदिनका लागि निर्माण गरिने भवनमा पनि प्रकृति अनुकूलको व्यवस्थापन अपरिहार्य हुन्छ ।
विश्वकर्मा प्रकाश या मयमत जस्ता वास्तुका पौराणिक शास्त्रहरूको मत पनि के छ भने प्रकृति अनुकूलको निर्माण सुखद र आनन्ददायी हुन्छ । कृत्रिम निर्माण गर्दा प्राकृतिक तत्त्वको सकारात्मक सदुपयोग गरिनुपर्छ भन्ने मान्यता बोकेको वास्तुशास्त्र वास्तवमै वैज्ञानिक र विधिसम्मत छ । मानिसले प्राकृतिक स्रोतको अधिकतम सदुपयोगका लागि पञ्चतत्त्वको सकारात्मकतालाई व्यवस्थित गर्ने र गराउने विधि वास्तुशास्त्रमा छ । वास्तुशास्त्रीय विधिमा निर्मित निर्माणले जीवनको समग्रतालाई बढावा दिएको हुन्छ । जसले त्यहाँ बास गर्नेको जीवन सुखद बन्छ ।
मानिस कहीँ न कहीँ बास गर्छ । निवास गाउँमा होस् या सहरमा । सानो छाप्रोमा होस् या भव्य महलमा मानिसले निवास गर्छ र काम गर्छ । बस्ने ठाउँ या काम गर्ने ठाउँमा वास्तु अनुसारको वस्तु व्यवस्थित छ भने उसमा सकारात्मक ऊर्जाले साथ दिइरहेको हुन्छ । निवासको विषयमा परम्परादेखि नै वैदिक विधि उल्लेखित छ । पछिल्लो समयमा आधुनिक वास्तु, वैज्ञानिक वास्तु, आधुनिक वैज्ञानिक वास्तु जस्ता उपमा दिइए पनि वैदिक शास्त्रले निर्माणको पूर्वमै विश्वकर्मा देवताको कल्पना र शिल्प शैलीको विषयमा उल्लेख गरेको छ । त्यही वैदिक वास्तुलाई नयाँ नामकरण र आधुनिकता दिने प्रयत्न भइरहेको छ । जेहोस् पश्चिमा देशमा पनि वास्तुको सकारात्मक चर्चा हुनु र वास्तुशास्त्रलाई व्यवस्थित गर्न विभिन्न वैज्ञानिक खोज अनुसन्धान हुन थाल्नु सकारात्मक पक्ष हो । यसले जनजनमा वास्तुको चेतना जाग्न थालेको छ । यस आलेखमा आमजनमानसको जानकारीका लागि केही वास्तुशास्त्रसम्मत निर्माणका लागि दिशा, तत्त्व र स्थानको चर्चा गरिएको छ ।
घर या निवासको पहिलो आधार भूमिको चयन हो । उपयुक्त र उर्वर भूमिको चयन जरुरी हुन्छ । भूमिमा पञ्चतत्त्वको सकारात्मक पहुँच र आवागमन अत्यावश्यक हुन्छ । मानव निवासका लागि उत्तर–पूर्व ढल्किएको जमिन सबैभन्दा उपयुक्त मानिन्छ । इशान कोण ओरालो छ भने त्यो जमिनमा निवास निर्माण गर्दा त्यसले सधैँ सकारात्मक फल दिन्छ । दक्षिण–पश्चिम ओरालो अथवा नैऋत्य दिशामा ओरालो भएको जमिन निवासका लागि उपयुक्त मानिँदैन । पश्चिम र दक्षिण दिशा उच्च र उत्तरपूर्व निम्न भएको जमिन चयन गर्नु पहिलो आधार हो । यसरी चयन भएको जमिनको आकारका आधारमा पनि छानबिन हुनुपर्छ । जमिनको लम्बाइ चौडाइका आधारमा त्यसको गुण निर्धारण गरिन्छ । सम्भव भएसम्म समकोणको जमिन सबैभन्दा उपयुक्त हुन्छ भने इशान कोण बढेको जमिन भेटिए सुनमा सुगन्ध हुन्छ । तर नैऋत्य कोणमा बढेको जमिन मृत्युदायक हुन्छ । यस्तो जमिनमा निवास कदापि बनाउनु हुदैन भन्ने वास्तुशास्त्रको विधान छ ।
भवनका लागि भूमि चयन भइसकेको पछि निर्माण गर्दा मुख्य प्रवेशद्वारको विषयमा विशेष चनाखो बन्नुपर्छ । पूर्वमा मुख्यद्वार र स्नानस्थल, आग्नेयकोणमा पाकशाला दक्षिण–पश्चिममा शयनकक्ष बनाउन सकिन्छ । जग्गा र कक्षका आधारमा नैऋत्यको भाग शुद्ध गरेर बनाइएको शयन कक्ष वास्तवमै सुखद र उपलब्धिदायक मानिन्छ ।
मानिसको जीवनमा गास पहिलो आवश्यकतामा पर्ने भएकोले भवन निर्माण गर्दा पाकशाला अर्थात् भान्साको सही व्यवस्थापन अनिवार्य रहन्छ । तसर्थ सामान्यतया अग्निकोण अर्थात् दक्षिण–पूर्वको कोणमा निर्माण गर्नु राम्रो मानिन्छ । भवन र स्थानको क्षेत्रका आधारमा यसको शुद्धताले थप सकारात्मकता दिन्छ । राम्रो र शुद्ध तथा पुष्टिवद्र्धक खानाले शरीर निरोगी रहन्छ । निरोगिता र आरोग्यता पनि सम्पन्नता हो । त्यसैले सामान्यजनले पनि आफ्नो वास्तु आफैँ मिलाउन सकिन्छ । आवास निर्माणको क्रममै प्रवेश, शयनकक्ष, भान्साघर, धनस्थान तथा शौचालयको सही स्थान छनोट गर्न सक्दा पछि पछुताउनु पर्दैन । पूर्वोत्तर कोणमा धर्मस्थान र जलीय व्यवस्थापन मिलाउनुभयो भने त्यसले तपाईंको आवास साँच्चै निवासयोग्य बन्छ । जन्मका आधारमा हरेक व्यक्तिको घरको अवस्था फरक फरक हुने भए पनि पञ्चतत्त्वका आधार उल्लेखित तरिकाले मिलाउन सक्ने हो भने अधिकतर शुभ हुन्छ तर भवनको मध्यस्थान भने अनिवार्य रूपमा सबैभन्दा हलुका र खाली हुनै पर्छ ।
हरेक मानिसले आफ्नो जीवन सहज र सकारात्मक रहेसम्म वास्तुको विषयमा खासै चासो राखेको हुँदैन । जबसम्म समस्या आउँदैन तबसम्म मानिस वास्तुशास्त्रीय मान्यतालाई बेकार ठान्छ जुन प्रायः घातक मानिएको छ । मानिसले समस्याको बीउ कहाँबाट हुर्कंदै छ भन्ने थाहा पाएको हुँदैन । नकारात्मक वास्तु समस्याको बीज हो । त्यसैले आफ्नो निवास निर्माण गर्दै गर्दा या गरिसकेपछि वास्तुको सही व्यवस्थापनमा ध्यान दिनु अनिवार्य हुन्छ । सबै बिग्रिसकेपछि खोजेको वास्तु उपायहरूले थप बिग्रन नदिए पनि पुरानो रोग निको बनाउन कठिन हुन्छ । कतै तपाईंको घरमा पनि नकारात्मक वास्तुले अर्थात् वास्तुदोषका कारण समस्याको बोट हुर्किंदै र झाँगिँदै त छैन ? समयमै दोष निवारण गरी वास्तुसम्मत आवासमा निवास गरौँ ।
ज्ञवाली दक्षिण एसियाली ज्योतिष महासङ्घका कार्यवाहक महासचिव हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
-
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
-
रुखको हाँगा लागेर एक जनाको मृत्यु
-
रविलगायतविरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो
-
राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त
-
५ महिनामा देशको व्यापार घाटा ५ खर्ब नाघ्यो