सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

यस्ता छन् आजका शीर्ष दश समाचार

बिहीबार, १४ मङ्सिर २०८०, २१ : ३५
बिहीबार, १४ मङ्सिर २०८०

आज मिति २०८० साल मंसिर महिनाको १४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

कालोसूचीलाई निरन्तरता

युरोपेली सङघ (इयू)ले नेपालका विमान सेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएकोे छ । इयुले बुधबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्यससम्बन्धी पत्र पठाउँदै आफ्नो आकाश खुला नगरिएको जनाएको हो । नियामक र सेवा प्रदायक निकाय बेग्लाबेग्लै हुनुपर्ने भन्दै इयुले नेपाली वायुसेवामाथि दशवर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ ।

बुधवार बेलुकाका काठमाडौँ–दुबई उडानको क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजमा ३१ जना यात्रु काठमाडौँमै छुटेपछि निगमको आलोचना भएको छ ।  यो प्रकरणमा पर्यटनमन्त्रीले माफी मागेका छन् ।

 

कृषि जमिनमा महिलाको स्वामित्व

नेपालका ३४ दशमलब ४ प्रतिशत महिलाले कृषि जमिनको स्वामित्व पाएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३४ दशमलब ४ प्रतिशत महिलासँग कृषि जमिनको स्वामित्व छ ।

मध्यावधिको चर्चा

प्रमुख विपक्षी दलहरू नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र मध्यावधि निर्वाचनको एजेन्डाले स्थान पाएको छ । संसद्को दोस्रो दल एमाले र चौथो दल रास्वपाले मध्यावधि निर्वाचनको सम्भावना औँल्याउँदै कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन् ।

भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदनमाथिको सुनुवाइ करिबकरिब सकिएको छ । शुक्रबार खाजा समय अगाडि सबै बहस सकाएर साँझसम्म आदेश आउने सम्भावना रहेको छ ।

यूएईमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।

कोप–२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोग्नु परेको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउने जानकारी दिए ।

मधेस राजनीति

पछिल्लो समय प्रमुख राजनीतिक दलहरु विभिन्न बहानामा मधेसमा आफ्नो गतिविधि बढाउन थालेका छन् । मधेसमा केन्द्रीय कार्यसमिति, सचिवालयजस्ता केन्द्रीय निकायका बैठक दलहरुले आयोजना गरेका छन् ।

भारतीय गाडीमा सांसद

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशमशेर राणा बिहीबार भारतीय नम्बर प्लेटको गाडीमा सिंहदरबार पुगेका छन् । भन्सार अनुमतिको म्याद सकिएको भारतीय नम्बर प्लेटको गाडीमा उनी सिंहदरबार पुगेका हुन् ।

एमालेको संकल्प यात्रा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संकल्प यात्रा सुरु गरेको छ । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको संकल्प यात्रा बिहीबारदेखि सुरु भएको हो ।

अध्यक्ष ओलीले नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेका हुन् ।  

भर्चुअल बहस

बिहीबारदेखि ६ वटा उच्च अदालतबाट अनलाइनमार्फत बहस गर्न सकिने भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले थप चारवटा इजलासमा भर्चुअल बहसको शुभारम्भ गरेपछि यस्तो इजलासको सङ्ख्या ६ वटा पुगेको हो ।

यो पनि...

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विभिन्न निकायबिच समन्वय नहुने हो भने देश विकास हुन गाह्रो रहेको गुनासो पोखेका छन् । उनले समन्वयको अभावमा भूमिगत तार बिछ्याउने काम अलपत्र हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सब–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार बुढानिलकण्ठ नगरपालिकाका सब–इन्जिनियर   टिकाराज राईलाई ८० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा। गुणराज लोहनीलाई नियुक्त गरेको छ । डा  लोहनीलाई बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजका बैठकमा उनले त्रिपालमुनि बसिरहेका भूकम्प पीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित रहेको बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्यालेस्टाइनको हमास समूहले बन्दी बनाएका विपिन जोशीको रिहाइका लागि सांसदहरूको प्यालेस्टाइन भ्रमणको व्यवस्था गर्न माग गरेका छन् ।

 

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप