आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

दुध निर्यातमा ध्यान, आन्तरिक व्यवस्थापन भद्रगोल

भारतबाट अवैध तरिकाले पाउडर आइरहेको दुध व्यवसायीको गुनासो
बिहीबार, १४ मङ्सिर २०८०, १९ : ४२
बिहीबार, १४ मङ्सिर २०८०

विराटनगर । पाँच वर्ष अगाडिसम्म दुध उत्पादन कसरी बढाउने भन्ने बहस हुने कोशी प्रदेशमा अहिले भने विदेश निर्यातको चर्चा हुन थालेको छ । प्रदेश सरकारले त दुग्धजन्य वस्तुको निर्यात गरे अनुदान दिन भन्दै ४ करोड बजेट नै छुट्ट्याएको छ ।

नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले बिहीबार विराटनगरमा दुध उत्पादक, संकलन र उद्योगीहरु तथा सरकारी निकाय सम्मिलित एक कार्यक्रम ग¥यो । केन्द्रको कृषि विभाग, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीहरु सहभागी कार्यक्रममा दुधको निर्यात कसरी गर्ने र बजार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भयो ।

छलफलका क्रममा व्यवसायीहरुले भारतबाट अझै पनि अवैध तरिकाले पाउडर दुध आउँदा स्वदेशी दुधको खपत नभएकाले दुधको लागत खर्च घटाउनुपर्नेमा जोड दिए । नेपालमा दुध अन्तर्राष्ट्रिय मूल्यभन्दा महँगो भएकोले भारतबाट आयात भएको उद्योगीको दाबी थियो । उनीहरुले डेरी उद्योगलाई विद्युत् महसुलमा छुट दिनुपर्ने, दानाको मूल्य नियन्त्रण गर्नुपर्ने, दुग्धजन्य वस्तु आयातमा कर लगाउनु पर्ने र यहाँ उत्पादित दुग्धजन्य वस्तुमा लगाएको १३ प्रतिशत कर घटाउनु पर्ने विषय उठाएका छन् ।

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध सहकारी संस्थाका अध्यक्ष यादव ढकालले काठमाडौँका गोदाममा भारतबाट आयातित २० हजार बोरा पाउडर दुध रहेको दाबी गरे । ‘मैले गोदाम पनि हेरेँ, २५० रुपैयाँ प्रतिकिलोले भारतबाट स्किन मिल्क पाउडर भनेर आयात भइरहेको छ,’ उनले भने, ‘यसलाई सरकारले रोक्नु प¥यो ।’

अन्तर्राष्ट्रिय बजारमा २५ किलोको एक बोरा पाउडर दुध नेपालमा आउँदा ५ हजार सस्तो पर्ने भएकाले चोरी पैठारी तथा नाम परिवर्तन गरेर भन्सारबाटै आउने गरेको उनको दाबी थियो । ‘२५ किलोको एक बोरामा ५ हजार सस्तो छ भारतमा । अनि हाम्रो दुध कसरी निर्यात हुन्छ ? आयात भएको पाउडरलाई रोकौँ न, यहाँ भएकाले नै पुग्दैन,’ ढकालले भने, ‘आज पनि वीरगञ्ज र जोगवनी नाकाबाट १ हजार टन पाउडर आएको छ । यसको अन्त्य हुँदैन भने हामी किसान रहँदैनौँ ।’

ढकालले दुग्धजन्य परिकार बाहिरबाट आउन नदिने व्यवस्था गर्न पनि माग गरे । उनले दुग्धजन्य वस्तुमा लगाएको १३ प्रतिशत भ्याट पनि हटाउन माग गरे । ‘गरिब किसानले उत्पादन गरेको दुधको पाउडरमा किन १३ प्रतिशत भ्याट लगाएको ? यो नीतिगत समस्या हो । पनिर, घिउमा किन कर ? आयात रोकौँ, भ्याट हटाउँ, दुधको बजार हामी खोज्छौँ,’ उनले भने ।

विराटनगरमा ७० हजार लिटर खुला दुध बिक्री भइरहेको र त्यसमा १५ हजार लिटर पानी मिसाइएको ढकालको दाबी छ । ‘धनकुटा र तेह्रथुमको शुद्ध दुध भने बिक्री भइरहेको छैन । यहाँ दुधको रुपमा पानी बिक्छ तर शुद्ध दुध बिक्री हुँदैन । हामी वार्षिक ७० लाखभन्दा बढी ट्याक्स तिर्छाैं । तर, खुला दुध बिक्री गर्नेहरुले कुनै ट्याक्स पनि तिर्दैनन् । यसले व्यावसायिक वातावरण कसरी बन्छ ?,’ उनले गुनासो गरे ।

तेह्रथुमका दुग्ध सहकारी संस्था संघका अध्यक्ष मुक्ति बरालले भारतबाट आयातित धुलो दुधका कारण बजारमा समस्या आएको बताए । उनले आफ्नो जिल्लामा लम्पी स्किन रोगको कारण पशुपालन व्यवसाय संकटमा आउन सक्ने बताए ।

झापाको विर्तामोडमा रहेको एनएमसी डेरी उद्योगका अध्यक्ष रामचन्द्र उप्रेतीले सरकारले निर्यातका लागि छुट्याएको पैसा खर्च हुन नसक्ने हो कि भन्ने आशङ्का गरे । ‘सरकारले छुट्याएको पैसा खर्च हुनेमा शंका छ । निर्यातमा अनुदान भनिएको छ । निकासीमा निरन्तरता छैन । हामीले पहिलो पटक यो प्रयास गर्दैछौँ । कोसिस हामी सबैले गरौँला,’ उनले भने, ‘यदि त्यसरी दुग्धजन्य वस्तु निर्यात गर्न नसकिएको खण्डमा स्टक मालमा पनि राहत दिनुपर्छ । ४ करोडलाई डाइभर्ट गरेर अनुदान दिनुपर्ने अवस्था पनि आउन सक्छ ।’

तर, हिजो दुध बढाउँ भन्दै गर्दा आज बजारीकरणमा सहयोग गरिदेउ भन्नुपर्ने अवस्था विकास भएको दाबी उनले गरे । अब उत्पादनलाई विविधिकरण गर्न राज्यले सहयोग गर्नुपर्ने उनको धारणा थियो । ‘अहिले पनि १ सय ग्रामको बटर अमुलकै किन्नु परेको छ । हामीले उपभोक्ताको चाहनामा आधारित क्वालिटी, क्वान्टिटी अनुसारको वस्तु उत्पादन गर्नुपर्ने देखिन्छ । आन्तरिक खपतका ठाउँहरुमा पनि राज्यले ध्यान दिन आवश्यक छ,’ उप्रेतीले भने, ‘अहिलेका लागि नाफा नै चाहिन्छ भन्ने कुरा भएन । अहिले बाँच्नु प¥यो । त्यसैले अनुदान स्टक मालमा पनि अनुदान केन्द्रीत गर्नुप¥यो । अहिलेको समस्या भनेको दुधको मूल्य नपाउनु र दुध बिक्री नहुनु नै हो ।’

कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले दुधको मूल्य घटाउन नहुने तर अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा दुधको मूल्य भने बढी रहेको बताए । उत्पादन लागत घटाउनतिर लाग्नुपर्नेमा जोड दिँदै उनले उत्पादित दुधको विविधिकरण आवश्यक भएको बताए ।

व्यावसायिक पशुपालनले उत्पादनबाट बजारीकरणमा फड्को मारेको बताउँदै सचिव दाहालले अब अन्तर्राष्ट्रिय बजारमा पनि नेपालको दुध तथा दुग्धजन्य वस्तुहरुको निर्यात हुने कुरा धेरै राम्रो भएको बताए । ‘पाँच वर्ष अगाडिसम्म दुध अरु देशमा निर्यात गर्ने भन्दा मान्छे हाँस्थे । तर, अहिले हामीले दुध निर्यातमा अनुदान दिने भनेर बजेट राखेका छौँ । विकासको चरणमा निर्यातमा अनुदान दिनुपर्छ भनेर हामीले बजेट राखेका हौँ । व्यवसायीले पनि देशभित्र बिक्री कति गर्ने र देश बाहिर कति पठाउने भनेर निर्णय गर्नुपर्छ,’ दाहालले भने, ‘सरकारले ०७५ सालमै पाउडर दुध आयातमा प्रतिबन्ध लगाएको छ । लिगल बाटोबाट आए पनि त्यो गैरकानुनी हो । यो रोकिनुपर्छ ।’

दुग्धजन्य वस्तुहरुमा भ्याट नलगाउने विषयमा संघीय सरकारसँग कुरा राख्ने उनले बताए ।

चीनले खोरेतको कारण घिउ लान नदिएको बताउँदै दाहालले चीनको तिब्बतमा घिउको बजार धेरै राम्रो भएको व्यवसायीलाई बताए । ‘अब खोरेत मुक्त पालिका बनाउने भनेर सोचिरहेका छौँ । अहिले चाहिँ इलामको सूर्योदय नगरपालिकालाई बनाउँ भनेर सोचिरहेका छौँ । त्यसकारण नेपाल सरकारसँग मिलेर हामी खोरेतमुक्त घोषणा गर्न लागिरहेका छौँ । त्यसपछि क्रमशः अन्य पालिकामा हामी जान्छौँ,’ उनले भने ।

मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी

यसैबिच दुध सहकारी तथा दुध व्यवसायीहरुले प्रदेशका मुख्यमन्त्री केदार कार्कीविरुद्ध नाराबाजी गरेका छन् । विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री प्रमुख अतिथि थिए । कृषि मन्त्रालयको सहयोगमा आयोजित उक्त कार्यक्रमको समय ११ः३० बजेलाई राखिए पनि मुख्यमन्त्री करिब डेढ घण्टापछि पुगेका थिए ।

त्यसपछि कार्यक्रम उद्घाटन गरेर एउटा कार्यपत्र प्रस्तुत भयो । आयोजकले मुख्यमन्त्रीको कार्यव्यस्तता रहेको बताउँदै मन्तव्यका लागि बोलाए ।

त्यसपछि ३–४ जना दुग्ध व्यवसायीले मुख्यमन्त्रीले हाम्रो कुरा सुन्नुपर्छ भन्दै हो–हल्ला गरे । मुख्यमन्त्री कार्कीले आफू व्यस्त रहेको र मुख्य समस्या के हो, एक दुई जनालाई समस्या सिधै राख्न आग्रह गरे । त्यसबेला मुख्यमन्त्री कार्की आफैँ पोडिएममा गएका थिए । ३ जना व्यवसायीले कुरा राखिसकेपछि मुख्यमन्त्रीले मैले कुरा बुझेँ भनेर रोक्न खोजेपछि होहल्ला बढ्यो । त्यसबिचमा मुख्यमन्त्री कार्की र गठबन्धनविरुद्ध मुर्दावादको नारासमेत लाग्यो । त्यसपछि मुख्यमन्त्री कार्यक्रमलाई सम्बोधन नै नगरी बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप