मागभन्दा आपूर्ति बढी भएपछि बजारमा तरकारी फालाफाल

काठमाडौँ । बजारमा मागको तुलनामा आपूर्ति बढी भएपछि तरकारी फालाफालको अवस्था छ । आन्तरिक उत्पादन बढे पनि त्यस अनुसार उपभोक्ता नहुँदा तरकारी बिक्नै छाडेको व्यापारीहरू बताउँछन् ।
काउली, बन्दा, ब्रो काउली, विभिन्न प्रकारका हरियो साग, गाजर, मुला लगायत मौसमी तरकारीको थोक मूल्य कम्तीमा १० देखि ५० रुपैयाँ प्रतिकिलो छ । तरकारीको मूल्य घट्नुमा माग कम, आपूर्ति बढी हुनु नै मुख्य कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
उपभोक्ता कम, तरकारी बढी भएर मूल्य घटेको तरकारी व्यवसायी राजेन्द्र रिजाल बताउँछन् । ‘युवाजति विदेश गए, अहिले खाने मान्छे छैन, तरकारी बढी भएर मूल्य घट्यो,’ उनले भने ।
रिजालले किसानबाट खरिद गरी ल्याएको तरकारी दुईदेखि तीन दिन राख्छन् । सो अवाधिमा तरकारी बिक्री नहुँदा कम मूल्यमा बेच्नुपर्ने या त कुहिएर फाल्नुपर्ने उनको गुनासो छ । ‘एक बोरा तरकारी ल्याउँदा कम्तीमा पाँच हजार खर्च हुन्छ,’ उनी भन्छन्, ‘तीन दिनमा तरकारी बिकेन भने कि घाटा खाएर बेच्नु प¥यो, कि फाल्नु पर्छ ।’
कालीमाटी बजारमा तरकारीको आपूर्ति नियन्त्रण नभएकाले पनि आपूर्ति बढी भएको समितिले उल्लेख गरेको छ । कालीमाटी बजारमा दैनिक आठ सय मेट्रिक टन तरकारी आपूर्ति हुने समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले बताए ।
‘यहाँ आपूर्ति हुने कृषि उपजमध्ये करिब ८० प्रतिशत हरियो तरकारी हुन्छ,’ उनले भने । वार्षिक रुपमा कालीमाटी बजारमा ६३ प्रतिशत आन्तरिक उत्पादन आपूर्ति हुन्छ भने ३७ प्रतिशत आयातित कृषि उपज भित्रिने पौडेलले बताए ।
चार महिनामा करिब १२ अर्बको तरकारी आयात
चालु आर्थिक वर्षको चार महिनामा झन्डै १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँको तरकारी उपभोग गरेका हुन् ।
विभागका अनुसार चार महिनामा ११ अर्ब ८७ करोड रुपैयाँको तरकारी आयात हुँदा ४२ करोड ८९ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । ११ अर्ब ४४ करोड रुपैयाँ तरकारीमा नेपालको व्यापार घाटा भएको विभागले उल्लेख गरेको छ । चार महिनामा तरकारी आयात–निर्यात गर्दा नेपालले २ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा
-
खुट्टाले बताउँछ तपाईँको स्वास्थ्यको अवस्था !
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा