बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड ६२ वर्षपछि स्तरोन्नति हुँदै
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति अन्तर्गत डीपीआर निर्माणको काम सुरु भएको छ ।
विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि काम सुरु भएको हो ।
उक्त सडक बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम थालिने भएको छ । जस अनुसार गोरुसिङ्गे–चन्द्रौटा खण्डमा डीपीआर तयार पार्न कर्मचारीहरू फिल्डमा खटिएका छन् ।
बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसीले ठेक्काको प्रक्रिया पनि चाँडै सुरु हुने जानकारी दिए ।
उनका अनुसार गोरुसिङ्गे–चन्द्रौटा सडक खण्डका लागि एक विदेशी कम्पनीले डीपीआरको काम सुरु गरेको छ ।
परियोजना प्रमुख एसीले सडक स्तरोन्नतिका लागि साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग छलफल गरिरहेको बताए । हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ ।
उनले विद्युत् कार्यालयसँग छलफल गर्दा पोल सार्न झन्डै ४४ करोड लागत अनुमान गरेको तर त्यस विषयमा अझै टुङ्गोमा नपुगेको प्रस्ट पारे । यस्तै वनसँग रुख नम्बरिङ्गका लागि आग्रह गरिएको छ । अन्तिममा वन विभागको अनुमति प्राप्त गरेपछि रुख कटानको काम सुरु हुनेछ । ती दुई प्रक्रिया पूरा हुना साथ ठेकेदारलाई काम गर्ने बाटो खुल्ने र काम धमाधम चल्ने परियोजना प्रमुख एसी बताउँछन् ।
तत्कालीन राजा महेन्द्रको पालामा बनेको सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । तीन वर्षभित्र काम सम्पन्न हुने गरी ठेक्का लगाउने तयारी भइरहेको छ ।
सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठुला सवारी चलाउनका लागि पनि सहज हुने अपेक्षा गरिएको सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर भीम लामाले बताए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम चलिरहेको छ । चाइना स्टेट कम्पनीले विगत तीन वर्षदेखि उक्त खण्डमा सडक विस्तारको काम जारी राखेको छ ।
सडक स्तरोन्नतिसँगै बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माण गर्ने सडक कार्यालयको तयारीे छ ।
सडक स्तरोन्नति भइसकेपछि बुटवल बजारलाई पनि थप चलायमान बनाउन मद्दत पुग्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा रविविरुद्धको मुद्दामा ४ घण्टा बहस, सरकारी वकिलले के–के भने ?
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड
-
भन्सार जाँचपास सम्बन्धि प्रक्रिया सहज बनाउन सरकारलाई सुझाव