शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय

बसाइँसराइ रोक्न तीन वटै सरकार सजक हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

मङ्गलबार, १२ मङ्सिर २०८०, १२ : ३३
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइँसराइ रोक्नका लागि तिन वटै सरकार सजक हुनु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मंगलबार राजधानीमा आयोजना गरेको जनसङ्ख्या र बसाइसराइ व्यवस्थापनको सबलीकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाइसराइको चाप सहरी क्षेत्र र तराईमा बढेको र पहाडको घटेको बताउँदै बेलैमा व्यवस्थापन गर्न नसकिए त्यसले समस्या निम्ताउने बताएका हुन् । 

मन्त्री बस्नेतले भने,  ‘ बसाइँसराइ व्यवस्थापन  गर्ने काम राज्यको कुनै एक निकायको प्रयासले मात्र सम्भव छैन । यसमा राज्यका तिन वटै सरकारको सहकार्य आवश्यक छ । जनसङ्ख्या व्यवस्थापन बहु सरोकारवाला मुद्दा हो । यसको समाधान सहकार्यका माध्यमबाट गर्नु पर्छ । ’ हिमाल र पहाडबाट जनसङ्ख्या सहरी क्षेत्रमा बसाइसराइ बढ्दै जाने र सहरी क्षेत्रमा जनसङ्ख्याको चाप थेग्नै नसकिने गरी बढ्नु भविष्यका लागि समेत चिन्ताको विषय भएकोले यसको समाधानमा अहिले देखि नै सरोकारवाला लाग्नु पर्नेमा मन्त्री बस्नेतको जोड थियो । चिकित्सा शिक्षा पढ्न नपाएर पनि धेरै जसो युवा जनशक्ति विदेश पलायन भइरहेको दाबी गर्दै निकट भविष्यमै चिकित्सा शिक्षा ऐन संशोधन गरेर नेपाल भित्रै पढ्न पाउने वातावरण बताउने दाबी मन्त्री बस्नेतले गरे । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले नेपालीको औसत आयु बढ्दै जानु र जन्मान्तर घट्दै गइरहेको बेला यसका विषयमा पनि विज्ञहरूले चासो राख्नु पर्नेमा जोड दिइन् । मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क वाराकोटीले सरकारले अगामी १६ औँ पञ्चवर्षीय योजनामा यो विषयलाई प्राथमिकताका साथ संशोधन गर्नु पर्ने आवश्यकमाथि जोड दिए । 

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनकी प्रतिनिधि हेनेल फोर्सले खुला सिमानाका कारण पनि नेपालमा बसाइसराइ बढेको बताउँदै राज्यले बसाईसराईलाई व्यवस्थित गर्न सके विकासले गति लिन सक्ने बताइन । 

कार्यक्रममा तथ्यांक कार्यालयका निर्देशक ढुन्डीराज लामिछानेले बसाइसराइ व्यवस्थित सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप