शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माओवादी-नेसपा एकता

जाजरकोट भूकम्पले जुराएको प्रचण्ड–बाबुराम सहमति

हात्तीवनमा भएको सहमति १६ महिनासम्म किन भएन प्रगति ?
मङ्गलबार, १२ मङ्सिर २०८०, ११ : ५३
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । पार्टीको तीन महिने रुपान्तरण अभियानको सिलसिलामा मंसिर ३ गते बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट आर्मीको हेलिकप्टरमार्फत सिधै रुकुम(पूर्व) पुगे । त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएर विकट गाउँका रुपमा परिचित पुथा उत्तरगंगा मैकोट पुगेका उनले पार्टी एकताका लागि बाबुरामसहित विप्लवसँग कुराकानी भइरहेको बताए ।

वार्ता सकारात्मक भइरहेको भन्दै प्रचण्डले छिट्टै पार्टी एकता प्रक्रिया अगाडि बढाउने घोषणा गरे । माओवादी घटकबाहेक अन्यसँग एउटै समाजवादी केन्द्र बनाउने विषयमा निरन्तर छलफल भइरहेको उनको दाबी थियो ।

मंसिर १ गते बिहान नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग भेटवार्ता गरेका उनले साँझ ५ बजे नेसपाका अध्यक्ष बाबुराम भट्टराईसँग एक घण्टा छलफल गरेका थिए । शीर्ष नेताबिचको भेटवार्तामा विगतका अविश्वासलाई हल गर्दै एकताका लागि समायोजन समिति बनाउने सहमति भएको दुवै पक्षले पुष्टि गरेको छ ।

मंसिर २ गते नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगा श्रेष्ठसँग प्रचण्डले छलफल गरे । छलफल पश्चात शीर्ष तहमै एकता समायोजन समिति बनाउन प्रचण्ड र बाबुरामबिच सहमति भएको थियो । शीर्ष नेताबिच भएको सहमति अनुसार ३ गते दुवै पार्टीका वार्ता टोलीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाउन एकता समितिलाई सुझाव दिने निर्णय भयो ।

तीन दिनसम्म भएको कार्यप्रगतिलाई हेरेर उत्साहित भएका प्रचण्डले रुकुम पूर्वमा पुगेर यसबारे जानकारी दिएका थिए । वार्ता टोलीको निर्णयलाई लिएर ४ गते बिहान केन्द्रीय कार्यालय सुविधानगरमा नेसपाका अध्यक्षद्वय बाबुराम, महिन्द्र, सहअध्यक्ष गंगा र महासचिव रमेश यादवबिच गम्भीर छलफल भयो । बैठकमा शीर्ष नेताबिच भएको छलफल, वार्ता टोलीले गरेको निर्णय, एकताको आधार, वार्ता टोलीले माओवादीलाई पठाएको ९ बुँदे पत्र र एकतासम्बन्धी माओवादीको पत्राचारको विषयमा गहन छलफल भएको थियो ।

सोही दिन दिउँसो अध्यक्षद्वय र प्रधानमन्त्री निवास बालुवाटारमा समेत छुट्टै छलफल भएको बालुवाटार स्रोतको दाबी छ । तीन नेताबिच भएको भेटवार्तालाई नेसपाका उच्च नेताले पनि पुष्टि गरेका छन् ।

वार्ता सकारात्मक भएपछि सोही दिन आफ्नो निवास टोखामा बाबुरामले शीर्ष नेताको बैठक बोलाए । राति ८ बजे सुरु भएको बैठक मध्यराति १२ बजेसम्म चलेको थियो । शीर्ष बैठकमा माओवादी केन्द्रसहित समाजवादी धारसँग एकता र धु्रवीकरण गर्ने सहमति भएको थियो । सोही सहमतिलाई भोलिपल्ट बिहान केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले अनुमोदन गरेको थियो । दिउँसो बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले पदाधिकारी बैठकको निर्णय अनुमोदन ग¥यो ।

मंसिर ६ गते बसेको नेसपाको केन्द्रीय समिति बैठकले एकता र धु्रवीकरणका लागि बाबुरामको नेतृत्वमा एकता समायोजन समिति बनायो । जसमा अर्का अध्यक्ष महिन्द्र, सहअध्यक्ष गंगा, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेश सदस्य छन् । बैठकले माओवादीसहित विचार मिल्ने पार्टीसँग एकता र धु्रवीकरण गर्ने सर्वसम्मत निर्णय ग¥यो । समाजवादी मोर्चा घोषणा र एकतासम्बन्धमा माओवादीको पत्राचारले पानी बाराबारको स्थितिमा पुगेका प्रचण्ड–बाबुराम बिचको एकता प्रक्रियाले अर्को सकारात्मक खुट्किलो पार गरेको छ ।

जाजरकोट भूकम्पले नजिकिएका प्रचण्ड–बाबुराम

पार्टी एकता गर्ने पूर्वसहमति तोडिएको खण्डमा पार्टी र नेता नै अप्ठ्यारोमा पर्ने स्थिति आएपछि नेसपाका अध्यक्ष महिन्द्र र सहअध्यक्ष गंगा निकै सक्रिय भए । दुई नेतालाई महासचिव रमेशले पनि साथ दिए । प्रचण्ड–बाबुरामलाई नजिक्याउन उनीहरूले अनेकौं उपाय खोजी गर्न थाले । साथसाथै दुवै पार्टीका वार्ता टोलीहरूबिच पनि यस विषयमा बारम्बार छलफल भयो ।

नेतृत्वलाई सहमतिमा ल्याउन माओवादी केन्द्रका दोस्रो तहका नेताहरू पनि निकै सक्रिय भए । माओवादीबाट वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेल लगायतका नेताहरूले प्रचण्डलाई भेटेर एकताका लागि लबिङ गरे । नेसपाबाट संयोजक गंगा, अध्यक्ष महिन्द्र, महासचिव रमेश लगायतले बाबुरामलाई भेटेर दबाब सिर्जना गरे । दसैँ लगत्तै उनीहरूले प्रचण्ड र बाबुरामलाई बेग्लाबेग्लै भेटेर सहमतिमा ल्याउन प्रयास गरे । व्यवस्थामाथि नै प्रहार गर्ने गरी सडकमा भइरहेका प्रदर्शन लगायत विषयलाई लिएर प्रतिगमनकारी शक्तिहरू सक्रिय रहेको अवस्थामा दुई पार्टीबिच एकता हुनुपर्छ भन्दै दुवै पार्टीका नेताहरूले दबाब दिए ।

अग्रगमन शक्तिहरूबिच सहकार्य हुनुपर्छ भन्ने निष्कर्ष महिन्द्र र गंगाले निकाले । यी शक्तिहरू नमिले प्राप्त उपलब्धि नै समाप्त हुने दिशामा जान सक्ने भन्दै उनीहरुले प्रचण्ड–बाबुरामलाई चेतावनी दिए । यही व्यवस्थाको जगमा टेकेर संस्थागत गर्दै तीव्र सामाजिक र आर्थिक रुपान्तरणमा जाने विषयमा शीर्ष नेताहरूबिचको असमझदारी हल गरी एकता गर्नु पर्छ भनेर निरन्तर प्रधानमन्त्री र बाबुरामबिच भेट गराएको महिन्द्र र गंगा दुवैले स्वीकार गरेका छन् ।

यसरी दुई नेतालाई भेट गराउने वातावरण मिलाउँदै गर्दा कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र भएर शक्तिशाली भूकम्पले कर्णाली प्रदेशका जिल्लाहरूमा जनधनको क्षति भयो । पीडितलाई सहयोग तथा पुनर्निर्माणका लागि १० लाखको चेक बोकेर कात्तिक २७ गते बिहान बाबुराम बालुवाटार प्रवेश गरे, र प्रधानमन्त्रीलाई हस्तान्तरण गरे । त्यसैबेला दुई शीर्ष नेताबिच अलग्गै कुराकानी भयो ।

त्यसपछि कात्तिक २८ गते पनि प्रचण्ड–बाबुरामबिच भेट भएको नेसपाका शीर्ष नेताहरूको दाबी छ । दुई दिनको छलफलले देशको समग्र राजनीति स्थिति, सडक, सामाजिक सञ्जालमा भइरहेको गतिविधि र पार्टी एकताबारे गम्भीर छलफल भएको दुवै पार्टीका नेताहरूले स्वीकार गरेका छन् । भेटवार्तामा समाजवादी मोर्चा गठन र पत्राचारसम्बन्धमा भएका असमझदारी हल गर्न ती भेट महत्त्वपूर्ण भएको नेताहरूको भनाइ छ ।

‘शीर्ष नेताहरूबिच भेटवार्ता नहुँदासम्म दुवै नेताहरूको अलगअलग विचार थियो । संवादहीनताको अवस्था थियो । एकले अर्कालाई अशंका गर्ने कुरा हुन्थ्यो । बेकारको आशंका थियो । यी दुवै नेताबिच संवाद हुने बित्तिकै सकारात्मक वातावरण बन्यो,’ नेसपाका वार्ता टोली संयोजक श्रेष्ठले भने, ‘भेटवार्तापछि दुवै नेताको प्रतिक्रिया सकारात्मक आयो । भेटवार्तामा पार्टी एकतालाई एउटा निष्कर्षमा पु¥याउनु पर्छ भन्नेमा दुवै नेता पुगे ।’

उनका अनुसार ठोस निष्कर्ष कसरी निकाल्ने भन्नेमा दुवै नेताबिच बहस र छलफल भयो । पार्टी एकता संयोजन समिति बनाउने प्रस्ताव प्रचण्डले गरे । उनको प्रस्तावलाई बाबुरामले सकारात्मक रुपमा लिए । शीर्ष नेताहरुबिचमा सहमति भएपछि महरा र गंगाबिच एकता समायोजन समिति बनाउने सम्बन्धमा सहमति भयो ।

निर्वाचनअघि देखि नै प्रचण्ड–बाबुरामलाई एक ठाउँमा ल्याउन भूमिका खेलेका गंगा शीर्ष नेताबिचको पछिल्लो समझदारीबाट निकै आशावादी छन् । ‘जनयुद्धकालमा प्रचण्ड–बाबुराम एक ठाउँमा हुँदा २४० वर्षे राजतन्त्र ढालेर संघीय लोकतान्त्रिक गणतन्त्र ढाल्न सजिलो भयो । अहिले व्यवस्थामाथि प्रहार हुँदा यी दुई नेता एक ठाउँमा उभिन जरुरी छ । सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्न पनि यी दुई नेता मिल्नुको विकल्प छैन । मलाई विश्वास छ, पछिल्लो सहमतिले एकताको ढोका खुल्छ’, आशावादी हुँदै श्रेष्ठले भने ।

अब माओवादीबाट पनि प्रचण्डको नेतृत्वमा एकता समायोजन समिति गठन भएपछि माओवादीलाई यसअघि पठाएको ९ बुँदे एकता आधार पत्र बमोजिम विचार, राजनीति सिद्धान्त, अर्थशास्त्रीय र समाजशास्त्रीय सोचका साथ प्रक्रिया अगाडि बढाउने उनले बताए । ‘पार्टीमा चाहिने सबै कम्पोनेन्टको सम्बन्धमा एकीकृत प्याकेज दिएका छौँ ।  वैचारिक, सैद्धान्तिक रुपले क्याटोगरिकल्ली रुपले सहमत गर्दै जानेछौँ’, श्रेष्ठले भने, ‘अर्को प्राविधिक रुपमा पार्टीको नाम, झण्डा र संगठनात्मक संरचना र नेतृत्व सबै कुरा सहमतिको आधारमा एकता समायोजन समितिले टुङ्ग्याउँदै जानेछ ।’

अथक प्रयास पछि दुई नेतालाई सहमत गराउन सफल भइएको भन्दै यसलाई जीवन्त बनाउँदै लैजान सबैको सकारात्मक पहल जारी राख्नुपर्नेमा उनले जोड दिए ।

माओवादी केन्द्रका महासचिव एवं वार्ता टोली सदस्य देव गुरुङले एकता प्रक्रिया अगाडि बढाउन शीर्ष नेतृत्वबिच भएको समझदारी सकारात्मक कदम भएको भन्दै बाँकी काम एकता समायोजन समितिले टुङ्ग्याउँदै लैजाने बताए । पार्टीको बैठक बसेर एकता समायोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए ।

‘दुई शीर्ष नेताबिच भएको समझदारीले सकारात्मक आशा जगाएको छ । पार्टीको बैठक बसेर एकता समायोजन समिति बनाउँछौं । प्रधानमन्त्री कोप–२८ को सम्मेलनबाट फर्किएर आएपछि यसबारेमा निर्णय होला’, उनले भने ।

समाजवादी मोर्चा घोषणा र एकता पत्राचारले चिसिएको थियो सम्बन्ध

निर्वाचनपछि २०७९ पुस १० गते एमालेसँग माओवादीको गठबन्धन भयो । प्रचण्ड प्रधानमन्त्री बने । त्यतिबेला राष्ट्रपतिमा बाबुरामलाई अघि सार्ने चर्चा भएको थियो । यस्तै एमालेबाट सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल लगायतको नाम त्यतिबेला चर्चामा थियो । एकीकृत समाजवादीबाट माधव नेपाल र झलनाथ खनालको नाम अघि सारियो । त्यही सन्दर्भमा सम्भावना भयो भने बाबुराम राष्ट्रपति र आफू प्रधानमन्त्री हुँदा राम्रै हुन्छ भन्ने प्रचण्डको कुरा थियो । तर बाहिर बाबुरामले राष्ट्रपति नपाएर वा प्रचण्डले नबनाएर दुई नेताबिच सम्बन्ध चिसिएको भन्ने हल्ला चलेको नेसपाको नेताहरूको भनाइ छ ।

नेसपाका एक उच्च नेताका अनुसार खासमा बाबुरामलाई बाइपास गरी जब समाजवादी मोर्चा घोषणा भयो, त्यसपछि बाबुराम असन्तुष्ट भएका हुन् । ‘समाजवादी मोर्चा घोषणाको एउटा पृष्ठभूमि छ । समाजवादी मोर्चा वा समाजवादी केन्द्रको भाष्य बाबुरामले बनाएको हो । बाबुरामले नेतृत्व गरेको पार्टी नै मोर्चामा नअटिसकेपछि स्वाभाविक रुपमा बाबुराम र नेसपालाई आशंका लाग्ने कुरा भइहाल्यो’, ती नेताले भने ।

मोर्चा असारको ४ गते घोषणा भयो । त्यसलाई रोक्न बाबुराम र गंगा असार १ गते बालुवाटार गएर प्रधानमन्त्रीलाई दबाब दिएका थिए । मोर्चा घोषणा ४ गते नै नगरौँ, एकाध महिना पर धकेलौँ भनेर बाबुरामले प्रस्ताव गरेका थिए । छलफलपछि प्रचण्ड र बाबुरामबिच ४ गते घोषणा नगर्ने सहमति भएको स्रोतको दाबी छ । तर सहमतिविपरीत ४ गते मोर्चा घोषणा भयो । त्यसपछि बाबुराम प्रचण्डसँग ‘फायर’ भए ।  यस विषयमा सत्यतथ्य बुझ्न असार ६ गते विहान गंगा बालुवाटार गएका थिए ।

बाबुरामले आफूलाई ‘ह्युमिलेट’ गर्न मोर्चा बनाइयो भन्ने शंका गरे । यता प्रचण्डलाई उपेन्द्रले बाबुराम कि आफूमध्ये कुनै एक रोज्न दबाब दिएको खुलेको छ । मोर्चामा बाबुराम भित्र्याउने भए आफू बाहिरिने उपेन्द्रले चेतावनी दिएपछि प्रचण्ड हच्चिएको बुझिएको छ । सरकार निर्माणका लागि उपेन्द्र निर्णायक शक्ति थिए ।

त्यतिबेला केपी ओलीले कहिले उपेन्द्र, कहिले रवि त कहिले माधवलाई प्रधानमन्त्रीको लोभ देखाएको प्रधानमन्त्रीको सचिवालयको दाबी गरेको छ । माधव र उपेन्द्रको सहयोगबिना सरकार बचाउने अवस्था थिएन । जसका कारण उनीहरू मोर्चामा हामी भए । बाबुराम भिजन हुँदाहुँदै मोर्चाबाट बाहिरिनु पर्ने बाध्यता भयो ।

अर्को एकता पत्र काण्डले समस्या ल्याएको नेसपा अध्यक्ष महिन्द्र राय यादवको बुझाइ छ । भदौ ३० गते एकै दिन प्रचण्ड र बाबुराम देश बाहिर गएका थिए । यता प्रचण्ड र देव गुरुङको हस्ताक्षरसहितको पत्र आफूलाई आउँदा बाबुराम र पार्टीलाई झस्काएको उनको बुझाइ छ ।

‘यसबारे मैले माओवादीका महासचिव देव गुरुङजीसँग बुझेँ । पत्र दुवै अध्यक्षको नाममा काटेको हो भन्ने जवाफ आयो । बाबुराम अहिले यहाँ नभएकाले उहाँको पत्र यहीँ छ भन्नुभयो । मेरो नामको पत्र सामाजिक सञ्जालमा भाइरल भयो’, यादवले भने, ‘हामीलाई पनि बाबुराम र आफूलाई जुधाएर केही गर्न खोजिएको हो कि भन्ने आशंका जन्मायो । तर वास्तविकता त्यस्तो नभइ दुवैलाई पत्र काटेको रहेछ । यद्यपि त्यसले वातावरण अलिकति बिगा¥यो । एक ढंगले बोलचाल नै बन्दजस्तो भयो । संवादहीनताको अवस्थामा दुई नेता पुगे ।’

प्रचण्ड–बाबुराम एक ठाउँमा आउने ग्राउण्ड कसरी बन्यो ?

२०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि आधारभूत रुपमा एउटा कोर्स पूरा भएको निष्कर्ष बाबुरामले निकाले । असोज ९ गते उनले माओवादी परित्याग गरे । त्यतिबेलाको अवस्थाबारे चित्रण गर्दै गंगाले भने, ‘२०६२÷६३ को जनआन्दोलनले २४० वर्षे एकात्मक राज्य ढालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसपछि तत्कालीन एनेकपा(माअ‍ेवादी)भित्र विग्रह सुरु भयो । मोहन वैद्य समूह संसदीय व्यवस्थामा फसेर कहाँ जनवादी क्रान्ति नहुने निष्कर्षमा पुग्यो । प्रचण्ड र बाबुरामलाई अब सच्याउन नसकिने भयो, विद्रोह गर्नुपर्छ भनेर वैद्य समूहले विद्रोह ग¥यो । बाबुरामलाई हिमाल, पहाड, तराई एक ठाउँमा ल्याइसकेपछि आन्तरिक राष्ट्रिय एकता सुदृढ गरिसकेपछिको जगमा समृद्धि प्राप्त हुन्छ । समाजवादमा जान सकिन्छ भन्ने लाग्यो ।’

गंगाका अनुसार प्रचण्ड पनि एमाले जस्तो एउटा ठूलो जनाधार भएको पार्टीको ग्राउण्डमा समाजवादमा पुग्न सकिन्छ भनेर एमालेसँग पार्टी एकता गर्नेतिर लागे । ०७२ देखि यहाँसम्म आउँदासम्म सबैले आ–आफ्नो प्रयोग गरेको उनको भनाइ छ । ‘पवित्र भावनाले गरेका प्रयोग थिए ती । मान्छेहरूले विभिन्न व्यक्तिगत सम्बन्ध पनि जोड्न खोज्लान् । तर त्यस्तो होइन । सैद्धान्तिक र वैचारिक अवस्थामा नै एउटा अवस्था अन्त्य भएर अर्को अवस्था जब सुरुवात भयो, त्यसपछि यसरी होला कि, त्यसरी होला कि सबैले आ–आफ्नो प्रवित्र उद्देश्य प्रयोग गरे,’ उनले भने, ‘त्यो प्रयोगले परिणाम राम्रो आएन । कोही पनि सफल भएको देखिएन । त्यसपछि पुनर्समीक्षा सबै पार्टीभित्र हुन थाल्यो । अब माओवादी घटक अलग अलग होइन एकताबद्ध हुनुपर्छ भन्ने बोध दुवै पार्टीका नेतालाई भयो ।’

विशेष गरेर दोस्रो पुस्ताका नेताहरूले बढी समीक्षा गरेको उनको भनाइ छ । । ‘झण्डै तीन वर्ष देखिनै माओवादी केन्द्र र नेसपाका दोस्रो पुस्ताका नेताहरूबिच छलफल चलिराखेको थियो । समीक्षामा अलग अलग बसेर हुँदैन, माओवादी मात्र भनेर पनि समस्या हल हुँदैन । पहिलो पुस्ताका नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेतृत्व गरिसक्नुभयो । अब पनि उहाँहरूलाई पनि सधैँभरि कचकच गरेर हुँदैन । हामी नयाँ ढंगले युनिफाइड हुनुपर्छ भन्नेमा माओवादीभित्र वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर र नेसपाबाट म लगायत नेताहरू सहभागी थिए,’ उनले भने, ‘यो वार्ता गत साल चुनावको मुखमा आउँदा घनिभूत भयो । नेताहरूलाई अलग अलग बसेर हुँदैन । एकतावद्ध हुनुपर्छ भन्ने निष्कर्षमा दुवै पार्टीको नेता पुगे । तर बारम्बारको छलफल र भेटवार्ता सफल हुन सकेन । यद्यपि छलफल जारी राख्ने हामीहरूबिच सहमति भएको थियो ।’

हात्तीवनमा प्रचण्ड–बाबुराबिच पार्टी एकता गर्ने सहमति, महिन्द्रको कारण रोकिएको थियो

चुनावभन्दा अगाडि नै पार्टी एकता गरेर जानुपर्छ भन्नेमा दुवै पार्टीका नेताहरूले प्रचण्ड–बाबुराममाथि दबाब दिए । जसपाबाट बाबुराम अलग भएपछि नेसपा बनाउने तयारीमा बाबुराम थिए ।

पार्टी पुनर्गठनको तयारी भइरहेकै बेला २०७९ साउन ५ गते प्रचण्डका भान्जाको घर हात्तीवनमा प्रचण्ड र बाबुरामबिच भेटवार्ता भएको थियो । त्यहाँ माओवादीबाट प्रचण्ड, नारायणकाजी, महरा, जनार्दन, शक्ति लगायतका नेताहरू सहभागी भएका थिए । नेसपाबाट बाबुराम, महिन्द्र, गंगा लगायतका नेताहरू सहभागी थिए ।

सोही बैठकमा गंगाले एउटै चुनाव चिह्न र साझा घोषणापत्र लिएर निर्वाचनमा जान प्रस्ताव गरेका थिए । पार्टी एकतासहित निर्वाचनमा जान गरिएको प्रस्तावमा सबै शीर्ष नेता सहमत भएको बुझिएको छ ।

समाजवाद निर्माणको चरणमा रहेकाले अलग अलग बसेर भन्दा एकतावद्ध भएर जाँदा परिणाम सुखद आउने निष्कर्ष निकालिएको थियो । समाजवाद निर्माणका लागि वैचारिक, सैद्धान्तिक रुपले एक ठाउँमा उभिन जरुरत रहेको र त्यसका लागि चुनावी मोर्चामार्फत जनताको जनमत जितेर आउने कुरा महत्त्वपूर्ण हुनेमा सबै एकमत भएका थिए ।

पार्टी ठुलो सानो अलग कुरा हो । मुख्य कुरा मनोविज्ञान जोड्न सकिन्छ कि सकिँदैन, प्रचण्ड र बाबुराम पार्टी एकतामा आए भन्ने बित्तिकै त्यसले दिने परिणाम, मनोवैज्ञानिक प्रभाव र अलग अलग हुँदा पार्ने मनोवैज्ञानिक प्रभाव फरक हुन्छ । त्यसकारण मिलेर जाँदा संघीय निर्वाचनमा तीनदेखि पाँच सिट फरक पर्न सक्ने आकलन थियो । त्यही रेसियोमा प्रदेश निर्वाचनमा सिट संख्या फरक पर्छ भन्ने सबै एक मत भएको बुझिएको छ ।

प्रचण्डले पार्टी एकता संयोजन समिति बनाएर जान प्रस्ताव गरेका थिए । त्यसमा बाबुरामले पनि सहमति जनाएका थिए । महिन्द्रले केही प्राविधिक समस्या हुन्छ भनेर विमति राखेका थिए । अहिले पार्टी एकता गरिनहालौँ भन्ने उनको प्रस्ताव थियो ।

माओवादीप्रति मधेसमा हेर्ने नजर बदलिएकाले तत्काल एकता गर्दा सन्देश राम्रो नजाने उनको बुझाइ थियो । त्यसो भए अहिले एकल चुनाव चिह्न लिएर जाउँ, चुनाव पछाडि तुरुन्तै पार्टी एकता गर्ने भन्ने सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप