मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, १० मङ्सिर २०८०, २१ : ११
आइतबार, १० मङ्सिर २०८०

आज २०८० मंसिर १० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्ने तयारी !, दुर्गा प्रसाईंले दर्ता गराएको रिट निवेदन खारेज, एमाले सचिवको गाडी तोडफोड, राष्ट्रियसभाका अध्यक्षसहित सातै प्रदेशका सभामुख, उपसभामुख अस्ट्रेलिया जाँदै, समाजवाद कि पुँजीवाद भन्नेबारे जनमत संग्रह गर्न विप्लवको प्रस्ताव, स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न गोविन्द केसीको माग, सेयर बजारमा उछाल लगायत छन् ।

१. नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्ने तयारी !
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ सम्म महाधिवेशन आयोजना हुने घोषणा गरे पनि त्यस अनुरुप तयारी भएको छैन । मिति तोक्नुबाहेक अन्य कुनै तयारी नभएका कारण नेकपा एकीकृत समाजवादीको महाधिवेशन सर्ने लगभग निश्चित भएको नेताहरु बताउँछन् ।  

२. दुर्गा प्रसाईंले दर्ता गराएको रिट निवेदन खारेज
सर्वाेच्च अदालतले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । औचित्य सकिएको भन्दै न्यायाधीश कुमार चुडालको  एकल इजलासले आइतबार रिट खारेज गरेको हो ।

३. एमाले सचिवको गाडी तोडफोड
नेकपा एमाले केन्द्रीय सचिव समेत रहेका प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेको सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले जानकारी दिए ।

४. राष्ट्रियसभाका अध्यक्षसहित सातै प्रदेशका सभामुख, उपसभामुख अस्ट्रेलिया जाँदै
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आइतबार राति अस्ट्रेलिया जाने भएका छन् । वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२  सदस्यीय प्रतिनिधिमण्डल अस्ट्रेलिया जान लागेको हो ।

५. समाजवाद कि पुँजीवाद भन्नेबारे जनमत संग्रह गर्न विप्लवको प्रस्ताव
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताले समाजवाद चाहन्छन् कि पुँजीवाद चाहन्छन् भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् । आइतबार माडी गाउँपालिका–२ रोल्पा, घर्तीगाउँमा पार्टीको कार्यक्रममा बोल्दै उनले पञ्चायतले समेत जनमत संग्रह गरेको अवस्थामा जनताको मताधिकारलाई रोक्न नमिल्ने बताए ।
६. स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न गोविन्द केसीको माग
अभियन्ता डा.गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गरी डा. केसीले मन्त्री बस्नेतमाथि माफियाको पक्षपोषण गरेको आरोप लगाएका हुन् ।

७. लैंगिक हिंसाविरुद्ध सचेतनामुलक कला प्रदर्शन
वसन्तपुरको काष्ठमण्डप अगाडि लैङ्गिक हिंसाविरुद्ध सचेतनामुलक कला प्रदर्शनी गरिएको छ । आइतबार महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन गरिएको हो ।

८. सेयर बजारमा उछाल
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ४७.७५ अंकले बढ्दै १९ सय ७.९५ अंकमा उक्लिएको छ । आइतबार २ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
९. क्यानाडाका लागि राजदूतमा पौड्यालको नाम अनुमोदित
क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ विषेश समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको जसपाका सांसद प्रकाश अधिकारीले जानकारी दिए ।

१०. कोशी : आर्थिक अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मतबाट पारित
कोशी प्रदेशसभको आइतबार बसेको बैठकले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । सोमबारदेखि विनिनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक’ माथि छलफल सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप