प्रतिबन्धित विषादी प्रयोग गरे दुई लाखसम्म जरिवाना र एक वर्ष कैद
काठमाडौँ । चितवनस्थित एक एग्रोभेटमा २०७८ सालमा जैविक मल भनेर विषादी भएको पदार्थ बिक्री गरेको फेला पर्यो । अनुसन्धानका क्रममा सो पदार्थमा साइपरमेथ्रिन विषादी भएको पाइयो । मिसावट गरी विषादीको कारोबार गर्ने ती भारतीय नागरिक फरार रहेकाले कारबाहीको मुद्दा प्रक्रिया अगाडि बढाउन नसकिएको ‘प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र’ ले जनाएको छ ।
यस्तै सोही वर्ष कास्कीको पोखरास्थित बीजी एग्रोमा नेपालमा प्रतिबन्धित विषादी ‘कार्बोफ्युरान’ भेटियो । सो प्रतिबन्धित विषादीको विषयमा थप अनुसन्धान गर्दा ललितपुरको लगनखेतस्थित बुढाथोकी एग्रोभेटबाट खरिद गरिएको बिल फेला पर्यो । अनुसन्धानका क्रममा भैरहवास्थित चौरसिया बिज भण्डारसमेत सो कारोबारमा संलग्न भेटियो । ती तीन एग्रोभेटविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भयो । अदालतले ती एग्रोभेटहरूलाई जीवनाशाक विषादी ऐन २०७६ बमोजिम जनही ५० हजार जरिवनासमेत तिराएको थियो ।
नेपालमा २०५७ देखि २०७६ सालसम्म २४ वटा विषादी प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित विषादी कृषि उपज तथा अन्य प्रयोजनमा प्रयोग गरेमा ‘जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६’ अनुसार कानुनी कारबाही गरिने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले बताए ।
कानुनी कारबाही के छ ?
ऐनमा प्रतिबन्धित जीवननशक विषादीको उत्पादन, निकासी, पैठारी, व्यावासयिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ, पुनः प्याकिङ वा विसर्जनसम्बन्धी प्रचलित मापदण्डविपरीत कार्य गरे गराएमा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना र एक महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।
नेपालमा प्रतिबन्धित विषादी
नेपालमा खेतीबालीमा लाग्ने रोग तथा कीरा नियन्त्रणका लागि प्रयोग हुने विषादी २०५७ सालबाट प्रतिबन्ध लगाउन थलिएको हो । खेतीबालीमा लाग्ने रोग तथा कीरा नियन्त्रण मात्रै नभई मित्रजीव नष्ट, मनाव स्वास्थ्यमा हानि गर्नेलगायतका कारणले विभिन्न विषादीमा प्रतिबन्ध लगाइँदै आएको छ । २०५७ सालमा नेपालमा क्लोरडेन, डीडीटी, डार्डअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, लिन्डेन, फस्फामिडन र अर्गेनो मर्करी क्लोराइड गरी १२ वटा विषादी प्रतिबन्ध लगाइएको थियो । यस्तै २०६४ सालमा मिथाइल पाराथियन, मोनोक्रोटोफस र इन्डोसल्फान विषादीलाई प्रतिबन्ध गरिएको छ । यस्तै २०७५ सालमा कार्बोफ्युरियम, कार्बारिल, डाइक्लोरभस, ट्रायजोफस र बेनोमाइल प्रतिबन्ध गरिएको हो ।
यस्तै २०७६ सालमा डायकोफोल, कार्बोसल्फान र एलम्युनियम फोस्फाइड ३ ग्राम टेब्लेट जस्ता विषादीमा सरकारले प्रतिबन्ध लगाएको हो ।
नेपालमा प्रतिबन्धित विषादीको विवरण
स्रोत : प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र
विषादीले पार्ने असर ?
खेतीबालीमा प्रयोग हुने विषादी कडाखाले रसायन हो । यसले छाला चिलाउने, श्वास प्रश्वास नलीको माथिल्लो भागमा असर गरी रक्त सञ्चार प्रणालीमा छिर्छ, छालामा भएका ससाना प्वालबाट पसेर या खाँदा, मिर्गौला र फोक्सो काम नलाग्ने बनाइदिन्छ ।
विषादीबाट मानव स्वास्थ्यमा तत्काल देखिने असर :
- रिँगटा लाग्नु,
- पक्षपात आक्रमण÷मुर्छा पर्नु,
- थाकेको महसुस हुनु,
- होस हराउनु,
- टाउको दुख्नु,
- वान्ता हुनु,
- स्वाँ स्वाँ हुनु,
- खोकी लाग्नु,
- छाती दुख्नु, गह्रो हुनु,
- मांसपेशी थाक्नु, कम्पन हुनु,
- वाक वाक लाग्नु,
- पेट बटारिनु,
- दिसा, पखाला लाग्नु,
- छाला लाटो हुनु,
- छाला फुट्नु, चिलाउनु, फोका आउनु,
- छाला रातो हुनु, सेतो हुनु,
- लडखडाएर हिँड्नु,
- अनिन्द्रा
- आँखी भौँ फरफरउनु,
- आँखा रातो हुनु, पोल्नु, आँसु बहनु,
- नाक पोल्नु, पातलो सिँगान बगिरहनु,
कृषिजन्य वन्यवस्तुमा विषादी प्रयोग गर्दा माथिका समस्या तत्काल देखिन्छन् ।
विषादीबाट मानव स्वास्थ्यमा देखिने दीर्घकालीन असर :
- क्यान्सर, ट्युमर
- स्वासप्रस्वाससम्बन्धी रोग,
- स्नायुजन्य र व्यवहारजन्य असर, शरीरिक विकासमा असर र जन्मजात अपाङ्गता, प्रतिरोध क्षमतामा असर
- प्यारालाइसिस,
- वंशाणुगत पविर्तन,
- कलेजो खराबी,
- मानसिक असन्तुलन,
- एलर्जी
वातावरणमा नकारात्मक प्रभाव
- ओजोन तहमा छिद्र
- ग्लोबल वार्मिङ
- जैविक विविधतामा ह्रास
- माटो प्रदूषण (प्रयोग गरेको विषादीमध्ये ८० प्रतिशत माटोमा टुङ्गिन्छ ।)
- वायु प्रदूषण
- जल प्रदूषण
- खाद्यन्न, तरकारी, फलफूल, मासु तथा दुग्ध पदार्थ विषादीको अवशेष
- शत्रुजीवमा विष पचाउने क्षमतामा वृद्धि
- कृषि उत्पादनमा कृषि लागत बढ्नु
जीवनाशक विषादीको सुरक्षित प्रयोग तथा व्यवस्थापन
बालीबिरुवामा लाग्ने विनाशकारी कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शङ्खेकीरा, मुसा, चरा, अवाञ्छित झारहरू तथा रोग लगाउने सूक्ष्म जीवाणुढुसी, ब्याक्टेरिया, भाइरस जस्ता पक्षले हानि पुर्याउँछ । बिरुवालाई हानि पुर्याउने विनाशकारी प्राणीहरूलाई यथोचित व्यवस्थापन गर्नका लागि विषादी प्रयोग गरिन्छ । तर तिनीहरूको प्रयोगमा सावधानी नअपनाएमा वा उचित रूपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, अरू मानिस, घरपालुवा पशु, वन्यजन्तु र लाभकारी कीरालाई समेत हानि पुर्याउँछ । यसले वातावरणलाई समेत नोक्सान गर्दछ । ‘सबैभन्दा महत्त्वपूर्ण कुरा विषादी विष हो, औषधी होइन’ आचार्यले भनिन्, ‘यस कुरालाई मनन गर्नुपर्छ ।’
सामान्य सिद्धान्त
- अनावश्यक रूपमा विषादी प्रयोग नगर्ने, नगराउने ।
- सम्भावित खतराबाट सधैँ सावधान रहने ।
- विषादीको चिह्न (लेबल) र अन्य पर्चाहरू राम्रोसँग पढ्ने ।
- केटाकेटीले नभेट्ने ठाउँमा विषादीलाई राख्ने ।
- विषादी उपयोग गर्दा ध्यान दिनुपर्ने पक्ष–
- सकेसम्म सामान्यरूपले खतरनाक र सुरक्षित विषादीको छनोट गर्नु पर्छ ।
- प्राविधिकको सल्लाह लिएर मात्र विषादी किन्नुपर्छ ।
- विषादीलाई सुरक्षित ठाउँमा तालाबन्दी गरी राख्नुपर्छ ।
- विषादीलाई खाद्य पदार्थभन्दा टाढा राख्नु पर्छ ।
- स्प्रेयर र डस्टर तथा विषादी प्रयोग गर्ने उपकरण सही अवस्थामा हुनु पर्छ ।
मिश्रण बनाउँदा र छर्दा
- विषादीको प्रयोग गर्नुभन्दा पहिले डब्बामा दिएका निर्देशन र सावधानीलाई राम्ररी पालना गर्नु पर्छ ।
- विषादीले छालामा विष लाग्दा पोल्ने भएकाले सुरक्षात्मक पहिरन लगाउनु पर्छ । जस्तैः पूरा बाहुलाको कमिज, लामो पतलुन वा पाइन्ट, मोजा, जुत्ता, बुट, चौडा किनारा भएको टोपी, हातमा रासायनिक पदार्थले असर नगर्ने रबरको पन्जा, मास्क, कृत्रिम श्वास उपकरण आदि ।
- अन्य ठाउँमा विषादी नफैलियोस् भन्नका लागि विषादीको प्याकेटलाई सावधानीपूर्वक खोल्नु पर्छ ।
- हावाको गति कम भएको बेलामा छर्ने गर्नु पर्दछ, हावाको विपरीत दिशातर्फ छर्नु हुँदैन ।
- गर्मी ठाउँमा मध्य दिनमा कहिल्यै विषादी छर्नु हुँदैन ।
- विषादी छर्दै अगाडि बढ्नु हुँदैन, पछाडि सर्नुपर्छ ।
- विषादी छर्दा नोजल बन्द भएमा मुखले फुक्नु हुँदैन ।
- विषादीको प्रयोग गर्दागर्दै कुनै चिज खानु हुँदैन, जस्तैः चुरोट वा धूमपान गर्नु हुँदैन ।
- विषादी प्रयोगपछि अपनाउनुपर्ने सावधानी–
- विषादीको प्रयोग गरेका कागजी पदार्थलाई सुरक्षित स्थानमा जलाएर वा गाडेर नष्ट गर्नु पर्छ ।
- हातमुख साबुनपानीले राम्ररी धुनु पर्छ ।
- प्रयोग गरिएको भाँडा कम्तीमा तीन पटक साबुन पानीले सफा गर्नु पर्छ ।
- प्रयोग गरेका उपकरण राम्ररी सफा गरेर राख्नु पर्छ ।
नेपालमा दर्ता भएका विषादी
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालमा गत वर्षसम्ममा एक सय ६२ वटा साधारण नामका विषादी दर्ता भएका छन् । चार हजार ७ सय ६२ वटा व्यापारिक नामले विषादी दर्ता भएका छन् । नेपालमा प्रचालित कीटनाशक विषादी ५६ वटा साधारण नामबाट र दुई हजार तीन सय ४० वटा व्यापारिक नामले दर्ता भएका छन् । यस्तै ढुसीनाशक ४२ वटा विषादी साधारण नाम भए पनि बजारमा भने १ हजार ३ सय २९ वटा बिक्री भइरहेका छन् । यस्तै ब्याक्टेरियानाशक १ साधारण नामको विषादी छ भने व्यापारिक नाम २० वटा छ । नेमाटोडनाशक १ साधारण नाम र २ व्यापारिक नामको छ । यस्तै झारनाशक ३० वटा र ७ सय ९४ व्यापारिक नाम रहेको केन्द्रले जनाएको छ । सुलसुलेनाशक ५ वटा साधारण र ४१ वटाले व्यापारिक नाम विषादी दर्ता भएका छन् । यस्तै शङ्खेकीरानाशक २ वटा विषादी साधारण नाम र ४ वटा व्यापारिक नामले बजारमा बिक्री हुने केन्द्रले जनाएको छ । यस्तै मुसानाशक २ वटा साधारण नाम र ४९ वटा व्यापारिक नामका विषादी छन् । जैविक विषादी १४ वटा साधारण नाम भए पनि १ सय ६३ वटा व्यापारिक नाम दर्ता भएका छन् । वनस्पतिजन्य विषादी ११ वटा साधारण र २० वटा व्यापारिक नामले दर्ता भएको केन्द्रले उल्लेख गरेको छ ।