आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पर्यटक बोक्ने गाडीमा ‘साडी–कुर्ता’ तस्करी, नागढुंगाबाट ३० लाखको कपडा बरामद

बिहीबार, २२ चैत २०७४, १५ : ४१
बिहीबार, २२ चैत २०७४

काठमाडौं– भारतको नयाँदिल्लीबाट नेपालगञ्ज हुँदै काठमाडौं आएको पर्यटक बोक्ने गाडीमा ३० लाख मूल्य बराबरको भन्सार छलेको साडी र कुर्ता फेला परेको छ । बिहीबार पत्रकार सम्मेलन गरेर काठमाडौं प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरेलले विशेष सूचनाका आधारमा ठुलो परिणाममा भन्सार छलेर ल्याएको कुर्ता र साडी बरामद गरिएको जानकारी दिएका छन् ।  

बुधवार मध्यान्ह ३ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाका इन्सपेक्टर केशव भट्ट कमाण्डको प्रहरी टोलीले ना. ६ ख. ६३०२ नम्बरको गाडी सहित अवैध कपडा नियन्त्रणमा लिएको थियो ।

 कालो नम्बर प्लेटको गाडीमा पर्यटक लेखेर विभीन्न साईजका फल्स बटनमा लुकाएर काठमाडौं आएको साडी–कुर्ता र गाडीलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग पठाईने एसएसपी पोखरेलले जानकारी दिए । 

रिलायन्स लोटस फाइनान्सको लगानी रहेको उक्त गाडीको स्वामित्व माधव गौतम हुँदै ‘मिलन’ भन्ने रमेश खड्काको नाममा नामसारी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले उक्त गाडीका चालक नियन्त्रणमा लिएपनी गाडी धनी रमेश खड्का भने भाग्न सफल भएका छन् । चालकको प्रराम्भिक बयानमा गाडी धनी रमेश खड्का ‘प्रहरी मिलाउँछु’ भन्दै नागढुंगा भन्दा केही मिटर अगाडी ओर्लिएका थिए । 

नेपालगञ्जबाट आफैं गाडी हाँकेर आएका खड्का गाडीलाई प्रहरीले नियन्त्रणमा लिएपछि सम्पर्क विहीन भएको र उनको खोजी कार्य जारी रहेको काठमाडौं प्रहरीले जनाएकोे छ ।

 भारतको नयाँ दिल्लीबाट चैत्र २० गते काठमाडौंका लागी छुटेको उक्त गाडीले प्रहरी र भन्सारका कर्मचारीलाई झुक्याउनका लागी कालो प्लेटको सार्वजनिक सवारीलाई पर्यटक प्रिन्ट गरेको बताइएको छ । लामो समयदेखि तस्करीकै लागि प्रयोग हुने उक्त गाडीमा जम्मा १५ जना यात्रु काठमाडौं आएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप