शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
ओशो रचित कथा

कुवाको भ्यागुतो

आइतबार, १० मङ्सिर २०८०, १४ : ३३
आइतबार, १० मङ्सिर २०८०

एउटा कुवामा एक भ्यागुतो बस्थ्यो । त्यसै कुवामा फेरि सागरबाट अर्को एक भ्यागुतो आयो । त्यस कुवाको भ्यागुताले स्वाभाविक रूपमा सोध्यो–“कहाँबाट आउनु भयो मित्र ?”

 उसले भन्यो– “सागरबाट आएको हुँ ।”

कुवाको भ्यागुतोले फेरि सोध्यो– “सागर ? त्यो कति ठुलो छ ?” 

सागरको भ्यागुतोले चारैतिर हेर्‍यो । यो कुरा कसरी बताउने कुवाको भ्यागुतोलाई ? किनकि त्यो भ्यागुतो कुवामै जन्मेको थियो, कुवामै हुर्केको थियो । कुवाभन्दा बाहिरको संसार देखेकै थिएन ।

सागरबाट आएको भ्यागुतोले भन्यो– “तपाईंलाई सम्झाउन मलाई मुस्किल छ । तपाईं सधैँभरि यही कुवामा रहिरहनुभएको छ ? सागर कस्तो हुन्छ, देख्नु नै भएको छैन ।”

उसले भन्यो– “पहिलेदेखि नै यही कुवामा रहिआएको छु । योभन्दा त सारै सानो होला नि सागर ?”

सागरको भ्यागुतोले भन्यो– “होइन, सानो छैन ।”

त्यसपछि कुवाको भ्यागुतो बुर्लुक्क उफ्य्रो । एकतिहाइ कुवामा छलाङ हान्यो र सोध्यो– “यति ठुलो छ सागर ?”

सागरको भ्यागुतो हाँस्न थाल्यो । उसले भन्यो–“होइन, होइन यसभन्दा ठुलो छ । तपाईंलाई बताउनै मुस्किल छ ।”

उसले फेरि दुई तिहाइ कुवामा छलाङ मार्‍यो र सोध्यो– “यति ठुलो छ ?”

सागरको भ्यागुतोले अस्वीकार गर्दै भन्यो–“होइन, होइन यतिले काम चल्दैन ।” 

उसले पूरै कुवामा छलाङ हान्यो । तर सागरको भ्यागुतोले भन्यो– “होइन, होइन यसभन्दा पनि ठुलो छ । यति ठुलो छ, जसलाई भन्नै सकिँदैन । यस कुवाबाट त्यसको आकार अनुमान गर्नै सकिँदैन । यसको आधारमा त्यसलाई तुलनै गर्न सकिँदैन । यसको मापदण्डबाट त्यसलाई नाप्नै सकिँदैन ।”

त्यसपछि कुवाको भ्यागुताले भन्यो– “यहाँबाट निक्लिहाल । झुटो कुरा गर्छस् । बाहिर गइहाल् । यसबाहिर योभन्दा ठुलो कुनै सागर न छ, न हुनै सक्छ ।”

मानिसको विचारको कुवा ठिक यस्तै छ । यसैमा हामी पैदा हुन्छौँ । यसैमा हामी ठुलो हुन्छौँ । यसैमा हामी जिउँदछौँ । बुद्ध पुरुषहरू सागरबाट आउँछन् । उनीहरू सागरलाई देखेर हाम्रो कुवामा आएका हुन्छन् ।” 

हामी उनीहरूलाई भन्दछाैँ– “छैन, कुवाभन्दा ठुलो सागर कहाँ हुन सक्छ र ! यसबाट काम चल्दैन ।”

बस् यसको यति नै अर्थ हुन्छ, बुद्ध जब ईश्वरलाई इन्कार गर्छन् । उनी भन्छन्– “यस कुवालाई मापदण्ड बनाउन सकिँदैन । तिमी जे–जे भन्छौ र तिम्रो भाषाले जे भन्छ, मैले त्यसलाई होइन नै भन्नुपर्दछ । होइन, होइन, होइन अर्थात् नेती नेती नै भन्दै जानु पर्दछ ।

(एस धम्मो सनन्तनोबाट) 

अनुवाद ः पुण्य कार्की       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप